सरकारलाई विज्ञको सुझाव : १५ दिन कर्फ्युजस्तै लकडाउन गरौँ

विगत २ हप्ता उता नेपाल कोरोना संक्रमणको कम जोखिम अवस्थामा थियो । यो २ हप्तामा सिमानाका चोर बाटोबाट धेरै व्यक्तिहरू नेपाल पसेका छन् । त्यस्तै कमजोर सुरक्षा एबम योजना बिना लकडाउन खुकुलो गर्दा संक्रमित क्षेत्रबाट हजारौं व्यक्तिहरू काठमान्डौ लगायतका सहरमा आएका छन् । लकडाउनले सुरक्षित भएका सहरमा खुकुलोपनको फाइदा लिंदै धेरै व्यक्तिको आवतजावत बढ्न गयो । यसले गर्दा संक्रमितहरू सहरका कुनाकुनामा पुगे ।
.
घना जनसंख्या भएका क्षेत्रमा परीक्षणको संख्या दयनीय छ । ४० लाख जनसंख्या भएको काठमाडौंउपत्याकामा ४ हजारको पनि पीसीआर परिक्षण भएको छैन । त्यस्तै देशभर र्‍यान्डम स्याम्पलिङको आधारमा एक लाख जनाको पीसीआर परिक्षण भएको भए संक्रमणको अवस्था थाहा हुन्थ्यो । स्वास्थ्य मन्त्रालयको योजनाबिहिन नीतिको कारण कोरोना नियन्त्रणको प्रभावशाली काम हुन सकेको छैन ।
.
देशले लामो समय लकडाउन खेप्न सक्दैन । यो १५ दिन कर्फ्युस्तरको लकडाउन गर्ने हो भने संक्रमित जहाँ छन्, त्यहीं रहनेछन् । यो १५ दिन सरकारले परिक्षणको दायरा ब्यापक बढाएर संक्रमितलाई आइसोलेसनमा राख्ने अवसर हुनेछ । त्यस्तै परिक्षणबाट छुटेका घरभित्र रहंदा उनीहरूलाई या त आफै निको हुनेछ वा बिरामी भएर अस्पताल जानेछन् । उनीहरूले अन्य व्यक्तिलाई संक्रमण सार्ने अवस्था कडा लकडाउनले रोक्नेछ । अहिले संक्रमण भएका व्यक्तिको १५ दिनपछि भाइरल लोड घट्ने भएकोले धेरैलाई सार्न सक्नेछैनन् ।
.
यो १५ दिनमा सिमाना १०० % शील गर्न सुरक्षाकर्मी थप्ने, स्थानीयसंग मिलेर २४ सै घण्टा गस्ती गर्ने तथा संक्रमित क्षेत्र शील गर्ने गरेमा संक्रमण आयात हुन पाउँदैन । यति गर्न सक्यौं भने जेठ २० गतेपछि लकडाउनलाई बिस्तारै पर्ख र हेर नीति अनुसार खोल्न सकिन्छ । लकडाउन सुरक्षित रुपमा खुकुलो बनाउनको लागि भिजन भएका बिज्ञसंग सल्लाह लिएर सरकारले बिभिन्न चरण प्रकाशित गरेर आम समुदायमा छलफल गराउन सक्दछ । यदि लकडाउन पहिलेजस्तै खुकुलो भयो भने यसको कुनै अर्थ हुँदैन ।
.
लकडाउन असिमित समयको लागि गर्न असम्भव छ । लकडाउनले लाखौँको रोजीरोटी गुमिरहेको छ । देशको अर्थतन्त्र चौपट भएको छ । सरकारले जेठ २० सम्म कर्फ्युस्तरको लकडाउन गर्यो भने त्यसपछि सुरक्षित भएर काम गर्ने बातावरण बनाउन सकिन्छ । जस्तै : अनिबार्य रुपमा मास्क / चस्मा / पंजा लगाउने, ६ फिटको भौतिक दुरी कायम गर्ने, ३ जनाभन्दा धेरै संगै हिंड्न नपाउने, चहलपहल हुने बिहानबेलुकाको समयमा बजार नखोल्ने अर्थात् दिउसो खोल्ने, तरकारी बजार तथा डिपार्टमेन्टल स्टोर बन्द गर्ने, स्थानीय पसलमा तरकारी / फलफुल बिक्रि गर्ने ब्यबस्था मिलाउने, मजदुरलाई अनिबार्य रुपमा आबासिय राखेर कलकारखाना चलाउने, कृषि सामग्री पसल खोल्ने, निजि अस्पताललाई फूलफेजमा खोल्ने, निजि सवारी साधनलाई जोर / बिजोरको आधारमा चलाउने, २५ % कर्मचारीले कार्यालय चलाउने, साझाबस लगायतका ठूला सवारीसाधनलाई दुरी कायम गरेर चलाउने आदि गर्न सकिन्छ ।
.
न्यून आय भएका व्यक्तिलाई बैज्ञानिक आधारमा राहत दिने, रोजगारी गुमेका व्यक्तिलाई रोजगारमा पुनर्थापना गर्ने लगायतका कामलाई प्राथमिकतामा राख्न सकिन्छ । फजुल खर्च रोक्ने, १ र्रुपिया भ्रष्ट्राचार गरे वा कमिसनमा काम गरे सिधै जेल हाल्ने, ठूला भ्रष्टाचारीको अरबौं स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्ने लगायतका काम गर्न नयाँ प्रणाली स्थापना गर्नु जरुरी छ । यो महामारीलाई लुट्ने अवसर बनाएका धेरै घटना बाहिर आएका छन्, त्यसलाई अख्तियारले द्रुत गतिमा छानबिन तथा कारबाही गर्न सिफारिस गर्ने कदम अघिं बढाउने हो भने सुशाशन कायम गर्ने यो ठूलो अवसर हो । 

जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डे


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्