भिक्षां देही : मोक्ष कि रोटी

वन डडेलोले निलेर
फुङ्ग उडेको पुरानो झोडाजस्तै
उजाड छन्,
आजभोलि मान्छेका मनहरू !
टाँटरी फूल चुसेर
भर्खरै उडेको एउटा भमरा
जमिनमा झरेको छ - तातो खरानीमाथि !
यस्तो लाग्छ,
फूलहरू फूल होइनन्
ती कुनै निर्जीव कारखानाहरू हुन्
जहाँ जीवन देखाएर
मृत्युका जाली तमासुकहरू लेखिन्छन्  !

दुबोझैँ झाङ्गिएर
हलक्कै उम्रिएका छन्
शंकै-शंकाका बग्रेल्ति ऐँसेलु बुट्टयानहरू !
बलौटे धापमा टुसाएर
सिङ्गो बगरलाई ढाक्ने खरूकी घाँस
यतिखेर,
किन यसरी सर्लक्कै मुर्झाएको छ ?
र काठेकिराले खाएर होला
आज झरिरहेछन्
जीवनको पिरामिडबाट पातहरू !
थाहा छैन
विचार शुन्यतामा डुबेर
आज किन मष्तिष्क मरुभूमि बनिरहेछ ?


Advertisement

आफैँप्रतिको भरोसा गुमाएर
ठिङ्ग उभिएका छन्- आस्थाका हिमालहरू
र त मुहान छोडेर
निरन्तर भागिरहेछन्- यी कायर नदीहरू !
युद्धका सिपाहीहरूझैँ
लस्करै तैनाथ यी थुम्केली पहाडहरू
आज किन होला
आफ्नै विश्वासको धुलेपहिरो झरिरहेछन् ?
सृजना ब्यूँझिएर
खुसीहरू मुस्कुराउने बलेफी फाँटहरू
यतिखेर किन होला
पेटको पुरानो ब्याकरणमात्र रटिरहेछन् ?

शायद,
भोकको काव्यभन्दा ठूलो
यो धर्तीमा अर्को कुनै महाकाव्य छैन होला !


Advertisement

बुद्धको निर्वाण अलापेर
निरन्तर गुडिरहेछन्
ट्युबलेस टायरजस्ता भगौडा भिक्षुहरू !
कहाँ गएर टुङ्गिन्छ
रोटीभन्दा बाहिर त्यो मोक्षको खोजी ?
श्रमको रङ बिर्सिएर
शान्तिको अनुहार खोज्नेहरू हो !
थाहा छ कि छैन
पिपलको बोटमुनि बसेर
ध्यानमग्न सिध्दार्थको प्राण बचाउन
बुद्धत्वभन्दा माथि थियो
सुजाताले दिएको एक डबका खिरको मूल्य !

तिमीले बुझ्यौ या बुझेनौ
छाल बनेर
मोक्ष-यात्रामा दौडिएको समुद्र
किन कहिँ नपुगेको होला, केवल अशान्त छ !
भन भद्रिका !
यी क्षतिग्रस्त समुद्री किनाराहरू
किन होला
आजसम्म यति बिघ्न स्थिर र शान्त छन् ?

सोचेर त हेर
यो पेटको सारङ्गी रेटेपछि
निस्किने धुनको लय
तिम्रो मोक्षको हुन्छ या एक टुक्रा रोटीको ?
कहाँसम्म हो
तिम्रो खोजको आखिरी गन्तव्य ?
मलाई लाग्छ
शान्तिको अमूर्त स्वादमा भन्दा
रोटीको मूर्त स्वादमा जीवनको घनत्व बढी छ !

भोकले डडेर
खङ्ग्रङ्ङ सुकेको आँत भिजाउन
कुनै एक दिन,
'भिक्षां देही' भन्दै आयौ भने
भन भन्ते !
म तिमीलाई के दिऊँ : मोक्ष कि रोटी ?

****

प्रथा

कमेन्ट गर्नुहोस्