भावनात्मक राष्ट्रियता : नेपाल–भारत सीमा निर्क्योल नगरी पर्खाल लगाउनु कति सम्भव ?

आजभोलि छिमेकी राष्ट्रसँगको सीमा विवादको चर्चा चुलिएको छ । कसैकसैले सीमामा स्थायी प्रकृतिको पर्खाल लगाउनुपर्ने आवाज उठाइरहेका छन् ।

अहिले जस्तो सीमामै विवाद भएपछि पर्खाल कहाँ लगाउने ? छिमेकीले छाडेको बाँकी भागमा ? सीमामा पर्खाल लगाउन त सामान्य हिसाबले छिमेकीको पनि सहमति चाहिने होला अथवा तेस्रो पक्ष राखेर निर्क्योल गरेकै ठाउँमा लगाउने होला नि !


Advertisement

हाम्रो र भारतको खुला सीमा करीब १६९० किलोमिटर छ । त्योमध्ये करीब ३६० किलोमिटर जति महाकाली र मेची नदीको सिमाना छ । करीब १८० किलोमिटर जति भागमा अनियन्त्रित खोला नदीको भाग छ । हाल रहेका सीमा नाकामा भएको सीमा पर्खाल करीब ५० किलोमिटर होला । बाँकी रह्यो १ हजार १०० किलोमिटर भाग जहाँ पर्खाल लगाउनुपर्ने आकलन गर्न सकिन्छ । 

यसका लागि सामान्य ३ मिटर उचाइको काँडेतार लगाउँदा हुने खर्च करीब साढ़े ४ अर्ब रुपैयाँ हुन आँउछ । इच्छाशक्ति र राष्ट्रभक्ति भयो भने आर्थिक स्रोत पनि जुटाउन सकिएला तर अहिले जस्तो सीमा विवाद कायमै भएपछि पर्खाल कहाँ लगाउने ?


Advertisement

अमेरिका र मेक्सिकोको सिमाना करीब ३ हजार १०० किलोमिटरमा समेत अमेरिका जस्तो शक्तिशाली र केही हदसम्म स्वावलम्बी देशले पर्खाल लगाउन नसकेर धम्की मात्र दिँदै बस्छ, उसँग पर्खाल लगाउने पैसा नभएर नलगाएको होला त ?

सीमामा पर्खाल लगाउने कुरा गुह्य कूटनीतिक विषय हो । फेरि मानव निर्मित पर्खाल उनै दुष्ट मानवले उल्लंघन नगर्लान् भन्ने के ग्यारेन्टी ? तसर्थ यो विश्वासको संकट हो । युरोपेली शक्तिशाली राष्ट्र जर्मनीको १० राष्ट्रसँग सीमा जोडिएको छ र अपवादबाहेक कतै सीमा पर्खाल छैन । बरु पूर्वी जर्मनी र पश्चिम जर्मनीबीच लगाएको पर्खाल विश्वासको संकट टुंगिएपछि आफैं भत्काएको हामीलाई राम्रै थाहा छ । सौहार्द सम्बन्ध भयो भने नेदरल्याण्ड र जर्मनीले जस्तो संयुक्त बाटो बनाएपनि फरक पर्दैन ।

स्वाभिमान भयो भने सानो र ठूलो देश भनेर आत्मग्लानी पनि पाल्नु पर्दैन । उदाहरणको लागि नेदरल्याण्ड र जर्मनीलाइ लिन सकिन्छ । ४१ हजार ५४३ वर्ग किलोमिटर क्षेत्रफल र २२ हजार सेना भएको नेदरल्याण्डले ३ लाख ५७ हजार ४०० वर्ग किलोमिटर क्षेत्रफल र १ लाखभन्दा बढी सेना भएको जर्मनीसँग डटेर सामना गरेकै छ । दुवैको झगडा हुन्छ भने केवल विकासका लागि हुन्छ र आक्कलझुक्कल फूटबलका लागि हुन्छ । सीमा भनेको विश्वासको आधार हो, स्वाभिमानको टक्कर हो । स्वाभिमानमा ठेस लाग्यो भने कसैलाई सैह्य हुँदैन तर त्यो स्वाभिमान उपयुक्त बेलामा प्रकट हुन सकेन भने केही अर्थ पनि रहँदैन । 

हाम्रो देशको नेतृत्व र पदाधिकारी निजी लोभमा पर्छन् । नेतृत्वकर्ता नै कहिले छोराछोरीलाई एमबीबीएसको सिट दिलाउन, कहिले उपचार खर्चको नाममा भारतको फन्दामा परेपछि के स्वाभिमानको कुरा गर्नु ? के अस्मिताको कुरा गर्नु ? यस्तो फन्दामा यो, उ, कोही चोखो नहोला कम बढी मात्र हो ।

सीमाको सन्दर्भमा आवाज बुलन्द हुन नसक्नु ‘बोल बोल मछली मुखभरि पानी’ त्यसै भनिएको होइन होला । नागरिकका तर्फबाट पनि ‘चाँहिदाको भाँडो नचाँहिदाको ठाडो’ जस्तो व्यवहार नगरी संयमित र परिपक्व व्यवहार प्रदर्शन गर्न सक्नुपर्छ । पुत्ला जलाएर, घोक्रो सुक्ने गरी दूतावासको पर्खाल बाहिर चिच्याएर केही गल्नेवाला छैन । बरु आफ्नै सुरक्षाकर्मी दाजुभाइसँग टकराव बढ्छ, यस्तो संकटको बेला आफैंलाई घातक सिद्ध हुन्छ । यसो भन्दैमा चुप लागेर बसौं भनेको होइन, बरु विज्ञ र कूटनीतिज्ञको माध्यमबाट खबरदारी र मिडियाबाजी गर्न पनि नछोड्ने र प्रमाण जुटाएर वार्ता गर्न पहल गर्नु श्रेयकर हुन्छ ।

निराशाका कुराभन्दा अब आशालाग्दा कुरा पनि गरौं । सम्बन्ध बिग्रेको बेलामा सबै मुद्दा टुंग्याउने प्रयास गरेर घृष्टता गर्नु हुँदैन । बरु राम्रो सम्बन्ध भएकै बेलामा आफ्नो व्यवस्था मिलाउन सक्नुपर्छ । हाम्रो सीमालाई व्यावहारिक र अद्यावधिक गर्न विवादरहित स्थानबाट शुरू गर्नुपर्छ । भएका सीमा स्तम्भलाई डिजिटल स्याटालाइट म्यापिङ गरी कोअर्डिनेट सिस्टममा राख्नुपर्छ । जुन नापी विभागले आंशिक रुपमा शुरू गरे जस्तो लाग्छ । यसो गर्न सकियो भने खोला, नदी, खोंच जस्ता ठाउँको सीमा कहिल्यै नष्ट हुँदैन । बाँकी विवादित ठाउँको पनि प्रमाण जुटाउँदै लगेर स्थापित गर्ने पहल गर्नुपर्छ । अनि मात्र कालापानी, सुस्ता जस्ता अति विवादित सीमालाई अन्तर्राष्ट्रियकरण गर्न परेपनि पछाडि पर्नु हुँदैन । अब रह्यो सीमामा पर्खाल लगाउने कि नलगाउने कुरा, यो दुवै देशको हितमा र खुला आवतजावत कायमै राखेपनि अहिलेको जस्तो बेलाबेलामा संकटको बेलामा नियमन गर्न सजिलो हुने बहानामा दुवै देशले खर्च व्यहोर्ने गरी लगाउनुपर्छ, नकि रिभराइन क्षेत्रको दशगजा बनाउने जिम्मा भारतलाइ दिने जस्तो ‘ताक परे तिवारी नत्र गोतामे’ जस्तो निर्णय । 

कतिपय अवस्थामा सबै ठाउँमा पर्खाल लगाउन व्यावहारिक र नियमसंगत पनि नहुन सक्दछ । जस्तैः दुवैतिर निकुन्ज भएको ठाउँमा र खोला नदी भएको ठाउँमा वन्यजन्तु र जलचर निर्वाधरुपमा आवतजावत गर्नका लागि अग्लो पर्खाल लगाउन नपर्ने हुनसक्छ, त्यस्तो अवस्थामा रिफरेन्स पिलर राख्न सकिन्छ । नेदरल्याण्डले खुला सीमाको फाइदा लिए जस्तो फाइदा लिन र घुर्क्याउन हाम्रो सन्दर्भमा समुद्री सुविधा त नहोला तर छिमेकीसँग झगडा गरेर होइन कि विश्वास जितेर देश विकासका लागि समानता र समन्वयको सिद्धान्तमा फाइदा आदानप्रदान गर्न सकिने कुरामा भने दुईमत नहोला ।

इ. किशोर पन्थी
इ. किशोर पन्थी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्