शहर ‘लकडाउन’ गरी गाउँ फर्कियो विकास

विजय उत्सव
विजय उत्सव

पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।

‘धानको बाला कोदीको कपनी
विकास गर्न आउँदैछु म पनि’ 

पाल्पाका दानबहादुर कुँवर (चन्द्र) ले गीतको टुक्का सापटी लिँदै हालै फेसबूकमा पोस्ट गरे । लकडाउनबीच गाउँका बाँझो जमिनमा धमाधम जेसीबी मशिन चलाउँदै गरेको दृश्य पृष्ठभूमिको फोटो सहितको टुक्काले सबैको ध्यान खिच्यो ।


Advertisement

कृषिबाटै समृद्धि सपनाको दृश्यसँगै धेरैले उनको कार्यको सह्राहना गरे । अझ प्रगतिको शुभकामना दिए । 

कोरोना भाइरस (कोभिड–१९) संक्रमणले विश्व नै आक्रान्त बनेको बेला त्यसमाथि २ महिनादेखि लकडाउनले शहरबजारमा बसेकाहरू निसास्सिएका छन् । पिँजडाको सुँगा झैं भएका छन् । कहिले कोरोना हट्ला ? अनेकथरिका अनुमान गरिरहेका छन् ।


Advertisement

यहीँ महामारीकै कारण देशविदेशमा रहेका नेपालीहरू बेरोजगार बने । आफ्नो रोजीरोटी गुमाए । अनुमान अनुसार विदेशमा मात्रै करीब ५० लाख नेपाली छन् । लाखौंको संख्यामा स्वदेश फर्कन चाहेका छन् । आफू जन्मेहुर्केको गाउँठाउँमा कतिखेर पुगौ र यस्तै जेसीबी, डोजर, घन, कुटो, कोदालो, हँसिया चलाउँला भनी मीठो कल्पना गरिरहेका होलान् ।

४८ वर्षीय चन्द्र पाल्पा सदरमुकाम तानसेनदेखि पश्चिम रिब्दीकोट गाउँपालिका–७ मैनादी निवासी हुन् । बाबुबाजेले परम्परागतरुपमा खेतीकिसानी गर्दैआएको थातथलोमा उनले किन यसरी जेसीबी चलाएका होलान् भन्ने खुल्दुली लाग्नसक्छ । उनी मात्रै होइन, छिमेकका ८ घरपरिवारले पाखोबारी, बाँझो डाँडापाखा, कम उत्पादन हुने ठाउँ हेरी निरन्तर गह्रा सुधार गरिरहेका छन् । किनकि अब गर्नुछ – सुन्तला खेती ।

कोरोना संक्रमण भयबीच यस्तो लाग्छ, शहर ‘लकडाउन’ भएको बेला गाउँमा भने धमाधम ‘विकासको मूल’ फुटाइँदैछ । त्यसैको बलियो उदाहरण हो यो ।

रिब्दीकोट–७ (साविक पालुङमैनादी) कृषिको पकेट क्षेत्र बन्दै गएको छ । आजभन्दा ४४ वर्षअघि गाउँका लोकबहादुर कुँवरले व्यावसायिक सुन्तला खेतीको बिजारोपण गरे । तैपनि धेरै वर्षसम्म उनको सिको गर्ने कोही देखिएनन् ।

जब गाउँसम्म मोटरबाटो जोडियो, त्यसपछि मात्र गाउँलेहरू परम्परागत खेती छोडेर क्रमशः आधुनिकतातर्फ ढल्किए । घरपरिवारलाई चाख्न २–४ बोट मात्र सुन्तला खेती गर्नेहरूले बोट संख्या थप्दै गए । केहीले टमाटर खेती थाले । केहीले तरकारीजन्य उत्पादनमा जोड दिए भने कतिपयले पोल्ट्री फार्म शुरूआत गरे । गाउँमै सहकारी स्थापनाले थोरै व्याजदरमा ऋण लिन सकिने भयो । सानो–सानो रकम बचत हुन थाल्यो भने कृषिबाटै घरखर्च गज्जब बन्यो ।

लामो समय विदेशिनेहरू पनि गाउँ फर्केपछि आधुनिक कृषिमा आकर्षित हुँदै गए । जीवनशैलीमा एकाएक परिवर्तन देखिएपछि एकअर्काले सिको गर्न थाले । यही गाउँबाट सुन्तला मात्रै वार्षिक ६० देखि ७० लाख रुपैयाँ बराबरको उत्पादन हुन्छ । गत वर्ष १८ टनसम्म सुन्तला उत्पादन भएको गाउँपालिकाको तथ्यांकमा छ । ९० लाख रुपैयाँसम्मको टमाटर उत्पादन भयो । गाउँमा खोलिएको मैनादी कृषि सहकारी संस्थामा हाल १४० जना सदस्य आबद्ध छन् ।

सहकारीमार्फत मैनादी कृषि उत्पादन संकलन केन्द्र स्थापना गरिएको छ । गाउँलेहरूले उत्पादन गरेको कृषिजन्य वस्तुहरू दैनिक सोही केन्द्र हुँदै नजिकका शहरसम्म पुग्ने गरेको छ । प्रदेश ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट ढुवानीका लागि गत वर्ष जीप अनुदानप्राप्त भयो । उत्पादित वस्तु पोखरासहित पाल्पा सदरमुकाम तानसेन र बुटवलसम्मै पुग्छ ।

बिस्तारै कृषिमा फड्को मार्दै गरेको मैनादीमा गाउँपालिकाले समेत सुन्तला पहुँचमार्ग नाममा ५० हजार रुपैयाँ छुट्याएको बताइएको छ । गाउँपालिकाले सुन्तला र कागतीका बिरुवामा ५० प्रतिशत अनुदान दिएकाले कृषकहरू उत्पादनमा आकर्षित भएका छन् । त्यसैको फलस्वरुप लकडाउनबीचमा पनि चन्द्रजस्तै ८ घरपरिवारले ७ लाख रुपैयाँ खर्चेर सुन्तला खेतीका लागि गत हप्तादेखि गह्रासुधार थाले । उनीहरूको कार्यमा रिब्दीकोट–७ ले सुुन्तलाको बिरुवा खरिदमा समेत ६० हजार रुपैयाँ अनुदान दिएको छ । सबैगरी सुन्तलाका झण्डै ३ हजार बोट लगाइने योजना छ । चन्द्र एक्लैले ७०० बिरुवा लगाउने बताए ।

लोकान्तरसँग कुराकानीमा उनले भने, ‘पहिले ६ रोपनीमा १६० बोट थिए । गाउँपालिकाले समेत व्यावसायिक खेतीका लागि कृषकलाई प्रोत्साहन गरेकाले परम्परागत खेती छोडेर ३१ रोपनी जग्गामा ७०० बोट लगाउने छु ।’ पूर्व शिक्षक उनी सामाजिक कार्यकर्ता हुन् । विकासप्रेमी मानिने उनी अरुलाई पनि प्रोत्साहित गर्दछन् ।

उनका अनुसार स्थानीय केशव कुँवरले ७००, बसन्त कुँवर १५०, नारायण कुँवर ३००, शान्ता कुँवर २००, यमबहादुर कुँवर ३५०, विनय कुँवर १००, कान्ता कुँवरले १५० सुन्तलाका बोट लगाउन जेसीबी सहयोगमा खाल्डा खनेका छन् । वडा ७ सहित गाउँपालिका विभिन्न वडामा समेत यतिखेर कृषकले डाँडै किन नहोस् खारेर खाल्डो खनिसकेका छन् ।
 
गाउँपालिकाले समेत कृषि क्षेत्रमा लाग्न अनुदानका कार्यक्रमसहित प्रोत्साहित गरेको छ । आगामी आर्थिक वर्षमा गाउँपालिकाभर २० हजार सुन्तला र १३ हजार कागतीका बोट लगाइने कार्यक्रम छ । जसमा ५० प्रतिशत अनुदान व्यवस्था दिइएको गाउँपालिकाका कृषि संयोजक रञ्जित कुँवरले जानकारी दिए । सुन्तला र कागतीका बिरुवा रोप्न कम्तिमा १–१ मिटर लम्बाइ, चौडाइ र उचाइको खाल्डो हुनुपर्ने गरी गाउँपालिकाले अनुगमन गर्छ । आवश्यक मापदण्ड पूरा गरे जुनसुकै फर्म, सहकारी, व्यक्तिले आवश्यकताअनुसार बिरुवा पाउँछन् । 

मैनादीमा उमेरबहादुर कुँवर, जनक आचार्य, तुलबहादुर कुँवर, भद्रबहादुर कुँवर, कुलबहादुर कुँवर, विष्णु गाहा, आनन्द नेपाल, कपिल नेपाल, वेनबहादुर पुन, खड्कबहादुर कुँवर लगायतले सुन्तला खेती गर्दैआएका छन् । धनकुटे जातको सुन्तला बढी उत्पादन हुने स्थानीय खेतीका लागि वातानुकूल मानिन्छ । रिब्दीकोट–७ पाखासिलीकै केशव कुँवरको मौरीपालन, जगदीश नेपाल, अँधेरीखोलाका मनबहादुर पराजुली, तल्लाबारीका राजन कुँवर, गोपाल कुँवरको आधुनिक कृषि खेती पनि प्रेरणायोग्य छ । लक्ष्मण पराजुली, बिमल नेपाल, झगबहादुर गाहा, चुन्नप्रसाद नेपाल, गोकुल घर्ती लगायतले पनि छुट्टाछुट्टै कुखुरापालन गरेका छन् । वैदेशिक रोजगारबाट फर्केर राजु सोमहरेले माछापालन थाले । यी केही पात्र मात्र हुन्, कमजोर आयस्रोत भएका परिवारमा व्यावसायिक उत्पादनले आम्दानी बढ्दै गएकाले स्वास्थ्य, शिक्षा, सञ्चार लगायतका क्षेत्रमा पहुँच बढेको छ । 

वैदेशिक रोजगारीबाट फर्केर होस् वा गाउँमै स्वरोजगारी बन्ने उद्देश्यले युवाले कृषि क्षेत्रलाई आकर्षणको केन्द्र मान्दै जानु राम्रो भएको र लकडाउनपछि अझ यो संख्या बढ्ने स्थानीय बुद्धिजीवी शालिकराम नेपालको धारणा छ । 

गाउँपालिकाबाट किसानलाई प्रोत्साहन 

रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण जिसीले गाउँपालिकाको छैठौं गाउँसभाले ३ रोपनीभन्दा माथिको जग्गामा कृषि फर्म चलाउने फर्मलाई २० हजार अनुदान दिने गरी सूचना जारी गरिएको जानकारी दिए । गाउँपालिकामा हालसम्म २४ फर्म दर्ता छन् । 

टमाटर उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत सहकारीमार्फत ८ हजार किलोसम्म बिक्री गर्ने किसानले १४ हजार रुपैयाँसम्म अनुदान पाउने व्यवस्था छ । जसमा कम्तीमा २ हजार किलोसम्म बिक्री गर्नेले पनि प्रतिकेजी साढे २ रुपैयाँ पाउँछन् । गाउँपालिकाले कृषि औजार तथा उपकरणसहित थोपा सिँचाइ, प्लास्टिक टनेलमा पनि अनुदान उपलब्ध गराउँछ । मागअनुसार मौरीघार दिन्छ । मुख्यमन्त्री विकास कार्यक्रमअन्तर्गत वडा नम्बर ६ ठिमुरेका अतिविपन्त परिवारलाई मौरी घारमा बढी प्रोत्साहित गरिएको छ । अदुवा बीउ वितरण, बाख्रापालन कार्यक्रमसहित केराउ, प्याज, च्याउ, लहरेबालीको बीउ वितरण समेत अनुदान व्यवस्था छ । 

गाउँपालिकाले चालू आवमा वडा कार्यालयको प्राथमिकता आधारमा कम्बाइन मिल र हाते ट्रयाक्टर गरी २०/२० थान किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो । थप २४ ट्रयाक्टर र १७ वटा कम्बाइन मिल वितरण गरिने गाउँपालिका कृषि संयोजक रञ्जित कुँवरले जानकारी दिए ।

सुन्तलाझैं टमाटर खेतीबाट मनग्य आम्दानी हुन थालेको छ । मैनादी कृषि सहकारी संस्थामा आवद्धमध्ये ४९ सदस्यले व्यावसायिक टमाटर खेतीबाट वार्षिक ५० हजारदेखि १० लाख रुपैयाँसम्म कमाएका छन् । 

श्रम र पसिना बगाउने युवाले वैदेशिक रोजगारीको तुलनामा स्वदेशमै राम्रो काम गर्न सकिने उदाहरण देखाउँदै आएकोमा वडाध्यक्ष नीलबहादुर रास्कोटीसमेत दंग छन् । 

बहुदलअघि वैदेशिक रोजगारी नाममा भारतनिर्भर नेपालीहरू त्यसयता सबैजसो मुलुक पुगे । यो संख्या ५० लाख बढी रहेको पाइन्छ तर विश्वमा एकाएक फैलिएको कोभिड–१९ का कारण स्वदेशमै लाखौंले रोजगारी गुमाएका छन् ।

विदेशमा भएकाहरू धमाधम फर्किए भने उनीहरूलाई रोजगारीको अवसर तत्काल नमिल्न सक्ने भएकाले पहिलो प्राथमिकतामा यी र यस्तै कृषिकर्ममा स्थानीय, प्रदेश र संघीय सरकारले कार्यक्रम ल्याउनुपर्ने स्थानीय कृषकको माग छ ।

विजय उत्सव
विजय उत्सव

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्