जटही सीमामा त्यो ‘ज्यानमारा’ संघर्ष : खाना र उपचार नपाएर छटपटाउँदै उड्यो प्राण !

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

धनुषाको शहीदनगर नगरपालिकाका ३० वर्षीय एक पुरुषको भारतबाट घर फर्किने क्रममा नेपालस्थित जटही सीमा नाकामा बुधबार बिहान मृत्यु भयो ।

भारतको गुजरात प्रान्तको सुरतस्थित होटेलमा काम गर्ने ती व्यक्ति कोरोना भाइरस महामारीको संकटबाट बच्न काम छाडेर घरतिर लागे तर उनी घर पुग्न पाएनन् ।


Advertisement

रोग र भोकसँग लड्दालड्दै अन्ततः उनले नेपाली सीमामा पुगेर हार खाए । उनले जीवनको यात्रालाई निरन्तर अगाडि बढाउन सकेनन् ।

नेपाल प्रवेश गर्ने झन्झटिलो प्रावधानका कारण उनले समयमै खाना र उपचार पाएनन् । उनले समयमै नेपाल प्रवेश पाएर खाना र उपचार पाएको भए सायद उनी जीवितै हुन्थे कि ? यो आशा अब कल्पनामा सीमित भएको छ ।


Advertisement

जटही सीमा नाकामा राज्यको प्रतिनिधिका रुपमा उपस्थित रहेका सुरक्षाकर्मीको आँखै अगाडि छटपटाउँदै उनको मृत्यु भयो । यो हृदयविदारक घटनापछि स्थानीय स्तरमा तीनै तहका सरकारको आलोचना भइरहेको छ । ती मृतकका आमा, बुवा, भाइ, श्रीमती, ३ वर्षका छोरा र ६ महिनाकी छोरी छन् ।

कसरी भयो मृत्यु ?

मृतकका काकाका अनुसार घर परिवारको पालनपोषणका लागि भारत जानुअघि उनले केही वर्ष रोजगारीका क्रममा साउदी अरब, कतार र कुबेतमा काम गरिसकेका थिए । २ वर्षअघि उनी विदेशबाट फर्किएका थिए । 

लकडाउन हुनुभन्दा १ महिनाअघि उनी रोजगारीका लागि भारतको गुजरातको सुरत गएका थिए । होटेलमा उनले कूकको सहायकमा काम पाए तर केही हप्तामै लकडाउन भएपछि होटेलमा काम गर्ने मजदुर बेरोजगार भएर अलपत्र परे ।

‘त्यहाँ च्युरा खाएर, भोकभाकै बसेर अलपत्र पर्दा उनी बिरामी पर्न थालेका थिए, घर फर्किने कुनै विकल्प नै थिएन,’ काकाले भने, ‘केही दिनपछि उनीसहित ७ जना साथीहरूले ट्रेनको टिकट पाए र बिहारको दरभंगासम्म आए ।’ 

टे«नमा नै उनलाई ज्वरो आएको काकाले बताए । ‘दरभंगाबाट पैदल नै नेपाली सीमासम्म जाने भनेर आधा घण्टा जति हिँडेपछि उनी थला परे । त्यसपछि साथीहरू मिलेर एउटा एम्बुलेन्स भाडा गरे । आफूसँग पैसा नभएका कारण उनले आफ्नो साथीको मोबाइलबाट गाउँ फोन गरे । धेरै दिनदेखि खाना नखाएको हुनाले केही खानेकुरा र एम्बुलेन्सको भाडा तिर्नका लागि पैसा बोकेर नेपालको जटही बोर्डरमा आउन उनले भनेका थिए,’ काकाले लोकान्तरसँग भने ।

राति १० बजे फोन आएपछि गाउँका केही व्यक्तिसहित आफू पनि साढे १२ बजे नै जटही नाका पुगेको काकाले बताए । ‘तर भारतीय नाकामा रहेका एसएसबीले न त एम्बुलेन्सलाई नेपाल पस्न दियो, न त व्यक्तिलाई नै,’ उनले भने, ‘अन्तिममा उताबाट आएको एम्बुलेन्स भाडा नै नलिएर फर्कियो । बैंक खातामा पैसा पठाइदिने भनेर आश्वस्त पारेपछि एम्बुलेन्स फर्किएको थियो ।’

केही घण्टापछि एसएसबीले छाडेर जटही नाकामा पुग्दा गाउँबाट लगेका चिउरा र चाउचाउ उनले खान सकेनन् । उनको अवस्था गम्भीर देखेपछि केही व्यक्ति एम्बुलेन्स खोज्न जनकपुर आए भने केही त्यहीँ जटहीमा नै बसे । ‘जनकपुरमा आएर धेरै एम्बुलेन्सलाई फोन गरें तर चालकले पीपीई छैन भन्दै कुनै पनि एम्बुलेन्स जटही जान तयार भएनन्,’ काकाले सम्झिए, ‘त्यसपछि नेपाल रेडक्रसका अध्यक्ष नरेश सिंहलाई समेत मैले फोन गरें तर सीडीओ सा’पले भनेपछि मात्र एम्बुलेन्स दिने भनेर एम्बुलेन्स पठाउन अस्वीकार गरे ।’

बुधवार बिहान ६ बजेपछि मात्र भारतीय एसएसबीले नेपाल प्रवेश गर्न दिएको थियो । ती व्यक्तिसहित उनीसँगै आएका साथीले नेपालको नाकामा आउन पाएपनि जटही नाकामा रोकिए । बिहान ७ बज्दासम्म करीब ३०० जति नेपालीले नेपाल प्रवेश गरिसकेका थिए ।

आफन्तले उनलाई जुस दिए । उनले जुस त खाए तर केही समयपछि उनको अवस्था झन्झन् बिग्रिँदै गयो । ‘हामीले सशस्त्र प्रहरीका इन्सपेक्टर सा’पलाई समेत गएर एम्बुलेन्स बोलाइदिन भन्यौं तर उहाँले यो हाम्रो काम होइन भनेर बेवास्ता गर्नुभयो,’ काकाले भने, ‘त्यसो भए उसलाई जान दिनुस्, हामी बाइकमै लिएर अस्पताल लग्छौं भन्दा पनि इन्ट्री गराएर हेल्थ डेस्कमा चेकजाँच गराएर मात्र जान दिने भन्नुभयो ।’ उनी जीवनमरणको संघर्षमा थिए, उनको संघर्ष जटही नाकामा लम्बिँदै गएको थियो ।

बिहान ८ बजेपछि नाकामा सशस्त्र प्रहरीले इन्ट्री गर्ने र १० बजेपछि मात्र स्वास्थ्यकर्मी हेल्थ डेस्कमा आउने पर्खाइमा रहेका उनले ८ बजेतिर सडकमा नै प्राण त्यागे । कोरोनाले रोजगारी गुमाएपछि उत्पन्न संकटबाट भाग्दै सुरतबाट जटहीसम्म उनले गरेको त्यो संघर्ष ज्यानमारा बन्यो ।

घटना अत्यन्तै दुःखद भएको र यसरी मान्छेको मृत्यु नै हुनसक्छ भनेर परिकल्पना समेत नगरिएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती बताउँछन् । ‘परिवारका सदस्य तथा आफन्तले उनी अत्यन्तै बिरामी छन् भन्ने कुराको जानकारी नै हामीलाई गराएनन्,’ उप्रेतीले भने, ‘अलिकति पनि बिरामी छन् भन्ने कुराको जानकारी पाएको भए रेडक्रसको एम्बुलेन्स लगेर प्रादेशिक अस्पताल जनकपुरमा लगेर उपचार गराउँथ्यौं ।’

सीमा नाकामा प्रवेश गर्ने नेपालीको लगत संकलन गरेर डाटा इन्ट्री गर्ने, आउने मानिसको सामानसहित उनलाई पनि स्यानिटाइज गरेर हेल्थ डेस्कमा जाँच गराएर मात्र पठाउने गरेको उनले बताए । 

करीब ५ घण्टाजति सडकमा ती व्यक्तिको शव अलपत्र परेपछि नेपाली सेनाको टोलीले शवलाई एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल जनकपुर ल्याएका थिए । मृतकका काकाका अनुसार अस्पतालमा पनि चिकित्सकहरू शवको पोस्टमार्टम गर्न तयार भएका थिएनन् । १ घण्टापछि मात्रै शवको पोस्टमार्टम र कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

परीक्षणको प्रतिवेदन हालसम्म आएको छैन भने शव पनि परिवारलाई जिम्मा लगाइएको छैन । शवलाई प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्