विनियोजन विधेयक २०७७ स्वीकृत , कोरोना नियन्त्रणमा रकम अभाव नहुने प्रतिवद्धता

प्रतिनिधि सभाको सोमवारको बैठकमा ‘विनियोजन विधेयक २०७७’ स्वीकृत भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्मा प्रस्तुत गरेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।


Advertisement

विधेयक स्वीकृत हुनुपूर्व विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदले कोरोना नियन्त्रण र त्यसबाट प्रभावित भएका नागरिकको सुरक्षामा ध्यान दिनुपर्ने बताएका थिए ।

सांसदको जिज्ञासामा अर्थमन्त्री डा. खतिवडाले स्वास्थ्य क्षेत्रमा यसपालिको बजेट केन्द्रित भएको स्पष्ट पारे । उनले स्वास्थ्य सामग्री खरीदका लागि ५ अर्ब थप निकासा गरिसकिएको र कोभिड–१९ संक्रमण रोक्न राहत कोषमा २ अर्ब ३१ करोड जम्मा भइसकेको जानकारी दिए । मन्त्री खतिवडाले भने, ‘उक्त कोष र विपद् व्यवस्थापन कोषबाट पनि केही रकम परिचालन गर्न सकिने अवस्था छ, सबै स्वास्थ्यका सामान खरीद र ल्याब टेष्टको सामग्रीमा खर्च गर्ने हो, सरकारको प्राथमिकतामा रोग नियन्त्रणमा नै छ, रकम अभाव हुन दिइने छैन ।’


Advertisement

उनले सांसदलाई तथ्यमा रहेर आलोचना गर्नसमेत आग्रह गरे । तथ्यमा आधारित भएर आलोचना भयो भने प्रोत्साहित हुने मन्त्री डा. खतिवडाको भनाइ थियो ।   

सोमवारको बैठकमा मन्त्री डा खतिवडाले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७७’ र ‘ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक २०७७’ समेत सदनमा प्रस्तुत गरेका छन् ।  आव २०७७/७८ मा नेपाल सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न राष्ट्र ऋण उठाउन वाञ्छनीय भएकाले विधेयक ल्याइएको मन्त्री डा. खतिवडाले बताए ।

उनले संसद्मा सोमवारै ‘ऋण तथा जमानत .चौबीसौं संशोधन) विधेयक २०७७’ समेत प्रस्तुत गरे । बजेट कार्यान्वयनका लागि खर्च व्यहोरिने विभिन्न स्रोतमध्ये विदेशी सरकार वा दातृ निकायबाट लिइने रकमको सीमा १२ खर्ब रुपैयाँबाट बढाएर १४ खर्ब कायम राखिने विधेयकमा उल्लेख छ ।

सरकारले लिएको ऋणबाट कार्यान्वयनमा रहेको योजना र असार मसान्तसम्म हुन सक्ने भुक्तानी तथा नेपाल सरकारले जमानत दिएको रकमलाई समेत ध्यानमा राखी गरी आगामी वर्ष २ खर्ब ९९ अर्ब ५० करोड बाह्य ऋण परिचालन गर्ने लक्ष्य विधेयकमा छ । विक्रम संवत् २०७६ फागुन मसान्तसम्म भुक्तानी गर्न नेपाल सरकारको बाह्य ऋण ६ खर्ब ९९ अर्ब हुनेछ । 

कमेन्ट गर्नुहोस्