डायलसिसमा चरम लापर्बाही

वीरगन्ज — पर्साको बहुदरमाई गाउँपालिका–७ भौराटारका २७ वर्षीय कृष्ण ठाकुरले गत वैशाख ३० मा वीरगन्जको नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा डायलसिस गराए । डायलसिसपछि घर फर्किएका ठाकुरको स्वास्थ्य अचानक बिग्रियो । उनलाई पुन: नेसनलकै आईसीयूमा भर्ना गरियो । अन्तत: जेठ ५ मा उनको मृत्यु भयो ।

सरकारले नारायणी अस्पताललाई लेभल–२ स्तरको कोभिड–१९ अस्पताल घोषणा गरेपछि सरकारकै सिफारिसमा त्यहाँ डायलसिस गराइरहेका बिरामी पनि उपचारका लागि नेसनल जाँदै आएका छन् । कृष्णका भिनाजु सन्तोष ठाकुरका अनुसार नेसनलमा डायलसिस गरेको पहिलो पटकदेखि नै उनको स्वास्थ्य बिग्रिन थालेको थियो । ‘नारायणी अस्पतालमा करिब ४ वर्षसम्म डायलसिस गराउँदा कुनै गम्भीर समस्या आएको थिएन,’ सन्तोषले भने ।
उनका अनुसार नारायणीबाट नेसनलमा डायलसिस गराउन आएका अन्य बिरामीभन्दा २७ वर्षीय कृष्ण तन्दुरुस्त नै थिए । नारायणीमा डायलसिस गराउँदा उनी एक्लै १९ किलोमिटर टाढा रहेको घरबाट वीरगन्ज आइपुग्थे । ‘नेसनलका चिकित्सक यहाँको डायलाइजरको रसायन नारायणीको भन्दा फरक भएकाले समस्या आएको र केही दिनमा बिरामी सुहाउँदो भइहाल्छ भन्थे,’ सन्तोषले भने, ‘तर रसायन बिरामी सुहाउँदो बनाउँदा–बनाउँदै उसको ज्यानै गयो ।’


Advertisement

गत वैशाख ९ मा वीरगन्ज महानगरपालिका–१२ मुर्ली नैयका टोलका ४५ वर्षीय नासरिन बानो श्रीमान् मोहम्मद कलाम शेखलाई साथमा लिएर डायलसिसका लागि नेसनल पुगिन् । ‘डायलसिस गर्दागर्दै अवस्था गम्भीर भएपछि उनलाई आकस्मिक कक्षमा लगियो,’ शेख भन्छन्, ‘आकस्मिक कक्षमा पुर्‍याएको केही समयभित्रै उनको मृत्यु भयो ।’ नारायणीमा डायलसिस गराउँदासम्म श्रीमतीको स्वास्थ्य स्थिर रहेको उनी बताउँछन् ।

रौतहट नगरपालिका–६ सवगौडा निवासी ५० वर्षीय तैबुन नेशा विगत २ वर्षदेखि नारायणी अस्पतालमा डाइलसिस गराउँदै आएकी थिइन् । सरकारले नारायणीका मिर्गौला बिरामीलाई नेसनलमा उपचार गराउन भनेपछि उनी पनि त्यहाँ डायलसिस गराउन गएकी हुन् । जेठ ८ मा डायलसिस गराएर फर्किंदा बाटोमै उनको अवस्था बिग्रियो । ‘डायलसिस गराएर मोटरसाइकलमा घर फर्किंदै थियौँ, आधा बाटोमा तैबुनले उल्टी गरिन्,’ नेशाका श्रीमान् शेख सफिउल्लाहले भने, ‘भोलिपल्ट राति १ बजेर १० मिनेटमा उनले प्राण त्यागिन् ।’


Advertisement

नारायणीमा अस्पतालका अनुसार यहाँ डायलसिस सेवा बन्द भएपछि नेसनल पुगेका ४० जना मिर्गौला रोगीमध्ये ७ जनाको डायलसिस गर्ने क्रममै मृत्यु भएको छ । करिब पाँच साताको बीचमा रौतहटका रञ्जित मण्डल र तैबुन नेशा, वीरगन्जका नागेन्द्र झा र नसरिन बानो, सर्लाही हरिवनका अजय कार्की, बारा देवतालका नन्दलाल महतो र कृष्ण ठाकुरको मृत्यु भएको नारायणी अस्पतालका मिर्गाैला विभागका स्वास्थ्यकर्मी नरेन्द्र कुशवाहाले बताए ।


‘नारायणी अस्पतालमा डायलसिस गर्दासम्म सबै बिरामीको स्वास्थ्य स्थिर नै थियो,’ उनले भने, ‘उता गएपछि केही मिलेन होला, त्यसैले ज्यान गएको हुन सक्छ ।’ ७ जनाको मृत्यु भएपछि डायलसिस गर्नुपर्ने अन्य बिरामी पनि सशंकित बनेको उनले बताए । ‘अहिले अरू मिर्गौला रोगीले फोन गरेर अब हामी पनि मर्छौं भन्छन्,’ उनले भने ।

उपचारमै समस्या

वीरगन्जका एक मिर्गौला रोगीका आफन्त रामविश्वास कुशवाहाका अनुसार नेसनलका स्वास्थ्यकर्मीले नारायणीका बिरामीको डायलसिस गर्दा डायलाइसिस मेसिन द्रूत गतिमा चलाउँछन् । स्वास्थ्यकर्मीको लापरबाहीले नै ती मिर्गौला रोगीको मृत्यु भएको उनको दाबी छ । मिर्गौला रोगीका आफन्तले गत जेठ १४ मा पर्साका प्रमुख जिल्ला अधिकारीलाई छोटो समयमा धेरै मिर्गौला रोगीको मृत्यु भएको घटनाबारे छानबिन गरी आवश्यक काराबाहीका लागि ज्ञापनपत्रसमेत बुझाएका थिए ।

कुशवाहाका अनुसार नेसनलमा एउटा डाइलाइजरबाट १० पटकभन्दा बढी डायलसिस गरिन्छ । जब कि नारायणी अस्पतालमा एउटा डायलाइजरबाट बढीमा दुईपटक मात्र डायलसिस गरिन्थ्यो । यस्तै, नारायणीमा प्रत्येक बिरामीको कम्तीमा ३ घण्टासम्म डायलसिस हुन्थ्यो । नेसनल भने यो समय साढे एक घण्टा मात्रै रहने गरेको थियो । नारायणी अस्पतालका मिर्गाैला विभाग प्रमुख डा. निरज सिंहका अनुसार एउटा डाइलाइजर ३/४ पटकभन्दा बढीपटक प्रयोग गरिँदैन । ‘एउटा बिरामीलाई कम्तीमा ३ देखि साढे तीन घण्टासम्म डायलसिस गर्नुपर्छ,’ डा.सिंहले भने, ‘३ घण्टासम्म डायलसिस गरिएन भने बिरामीको शरीरबाट विकार वस्तु नै निस्किँदैन । अनि बिरामी कसरी स्वस्थ्य हुन्छ ?’

नेसनल मेडिकल कलेजका निर्देशक वशरुद्दिन अन्सारीले नारायणी अस्पतालका मिर्गौला रोगी थपिएदेखि तनाव बढेको बताउँछन् । ‘आफ्नो मात्र बिरामी हुँदा आफ्नो हिसाबले डायलसिस गथ्र्यौं,’ निर्देशक अन्सारीले भने, ‘पहिले तीन सिफ्ट चलाउने डायलसिस नारायणीका बिरामी हुँदा ५ सिफ्टसम्म चलाएका छौं ।’ उनले बिरामीको मृत्यु हुनुमा अस्पताल जिम्मेवार नभएको दाबी गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन इकाईले गत चैत ३० मा नेसनललाई पत्राचार गर्दै नारायणी अस्पतालमा कोभिड–१९ पोजिटिभ बिरामीहरुको उपचार व्यवस्थापन सुरु गर्नुपर्ने भएकाले उक्त अस्पतालमा भर्ना भएका एवं अस्पतालबाट पठाइएका बिरामीहरुको स्वास्थ्य बिमा बोर्डले तोकेको सेवा शुल्कभन्दा बढी नहुने गरी सेवा प्रदान गर्न निर्देशन दिएको थियो । सरकारको निर्देशनअनुसार वैशाख २ देखि नारायणीमा आकस्मिकसहित डायलसिस सेवासमेत बन्द भएपछि त्यहाँ उपचाररत बिरामीलाई नेसनल जान सिफारिस गरिएको थियो ।

‘नारायणीलाई कोभिड अस्पताल बनाएपछि त्यहाँ डायलसिस गराउँदै आएका ४० मध्ये ७ जना बिरामी नेसनलमा उपचार नपाएर मरे,’ बहुदरमाई नगरपालिका–३ नगरदाहाका मिर्गौला बिरामीका आफन्त तैयव मियाँ भन्छन्, ‘सरकारले बिरामी त सार्‍यो तर डायलसिसको उचित व्यवस्था मिलाउन र नियमन गर्न सकेन ।’

वीर अस्पतालमा कार्यरत एक वरिष्ठ मिर्गौला रोग विशेषज्ञका अनुसार स्वास्थ्य मन्त्रालयले बिनाकुनै तयारी नारायणी अस्पतालमा उपचार गराइरहेका बिरामीलाई नेसनलमा सार्न उर्दी जारी गर्दा यो अवस्था आइपरेको हो । ‘कुनै एउटा अस्पतालमा डायलसिस गराइरहेका बिरामीलाई अन्त सार्नुपरे समयदेखि सबै मिलाउनुपर्छ,’ उनले भने ।

उनका अनुसार कोभिड–१९ को उपचारका लागि तोकिएका केन्द्रहरुबाट यसरी बिनाकुनै तयारी अन्यत्र बिरामी सार्ने हो भने धेरैको ज्यान जाने अवस्था आउन सक्छ । ‘सबै जना कोभिड–१९ भनेर त्यसको पछाडि दौडिरहेका छन् । अरू बिरामीलाई के भइरहेको छ, कसैले वास्ता गरेको छैन,’ उनले भने, ‘एउटा अस्पतालबाट बिनाकुनै पूर्वाधार विस्तार अर्को अस्पतालमा नियमित डायलसिस गर्नुपर्ने बिरामी सार्नु भनेको सय किलो भारी बोक्न सक्नेलाई हजार किलो बोक्न लगाएर हिँड्नुजस्तै हो ।’

नारायणी अस्पताललाई कोभिड–१९ अस्पताल घोषणा गरिएसँगै यहाँका बिरामीलाई सरकार कै सिफारिसमा नेसनल मेडिकल कलेजको शिक्षण अस्पतालमा पठाइयो । यसरी पठाइएकामा डायलसिस गराउँदै आएका ४० जना पनि थिए । बिरामीका आफन्तहरुका अनुसार नेसनलमा एउटा डायलाइजरबाट १० पटकभन्दा बढी डायलसिस गरिन्छ, जबकि नारायणीमा बढीमा दुईपटक मात्रै गरिन्थ्यो । कान्तिपुर दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्