आमा पृथ्वीमाथि अन्धाधुन्द दोहन : धनी देशको गल्तीको सजाय गरीबलाई

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

समस्या नपरीकन नचेत्ने, आफूलाई नघोची नदुख्ने मानवीय स्वभाव हो । केही समस्या यस्ता हुन्छन्, जसलाई समय घर्किसकेपछि समाधान पत्ता लगाउनुको कुनै अर्थ रहँदैन । पछुताउनु र प्रायश्चित गर्नुको कुनै अर्थ रहँदैन । वातावरणीय समस्या त्यस्तै एउटा विकराल समस्या हुनसक्छ ।

आर्थिक उत्पादनबाट अन्धाधुन्द प्रगति भइरहेको वर्तमान विश्वमा वातावरणीय रुपमा निराशा त्यत्तिकै बढ्दैछ । अहिले इकोनोमिक्सको ‘इको’ समृद्ध छ, खुशी छ तर ठीक विपरीत इकोलोजीका ‘इको’ बिग्रँदै छ, रोइरहेको छ ।


Advertisement

दुवैको अघिल्तिरको ‘इको’को साझा माने घर हो । त्यो घर साझा हो । के एकै घर बिग्रँदा अर्थविद्हरू खुशी र वातावरणविद्हरू दुःखी हुने स्थिति आउन हुन्छ ? घर त दुवैको साझा हो । दुवैमा खुशीयाली हामीले चोहको विश्व हो ।

आमा पृथ्वीमाथि लगातार बलात्कार भइरहेको छ । अविवेकशील मानव व्यवहार बढ्दो छ । सुखसमृद्धिको जीजिविसामा मानिस यति निर्दयी बनिसक्यो कि सृष्टिका सबै सिर्जना प्राणी, वनस्पति र चराचरमाथि एकलौटी उपभोग गरी स्वयं आफ्नै जीवन सहयाता प्रणाली (लाइफ सपोर्ट सिस्टम) विनाश गर्दैछ । मानवेतर प्राणी वनस्पतिको लगातार विनाशले प्राकृतिक चक्र (हरित गृह, ओजन तह, पानी, अक्सिजन, कार्बन प्रणाली आदि) निकै असन्तुलित भएका छन् । मानिसलाई थाहा छैन, थाहा भएर पनि बुझ पचाइरहेको छ – आफ्नै कारण, आप्mनो सभ्यता र आप्mनै सन्तान दरसन्तानको बाँच्ने अधिकार गुम्दैछ । जलवायु परिवर्तनको मौन संकट हामीले भोगिरहेको कोरोना संकटभन्दा कैयन गुणा खतरापूर्ण हुने सम्भावना छ । मानव तृष्णाले स्वयं मानव सत्तामाथि अति ओजनदार खतरा भित्र्याउँदैछ ।


Advertisement

वातावरण विनाश मौन संकट हो । यो देखिएर आउँदैन, एकैचोटी पनि आउँदैन । यसको परिमाण र प्रभाव बिस्तारै बढ्दै आउने गर्दछ । यसले मानिस मात्र होइन, समस्त प्राणी, वनस्पति र परिस्थितिलाई एकसाथ खतरातर्फ गाज्दैछ । पृथ्वीमा रहेका पौने ८ अर्ब मानिसको सबैको समान चाहना सबै बाँच्न चाहन्छन् । सबैको समान क्षमता सबै खान चाहन्छन् । त्योे खाद्य आहार प्राणी र वनस्पति नै हो । १ जना मानिस प्रतिदिन २२०० जति क्यालोरीका लागि सालाखाला ६०० ग्राम खाद्यान्न, केही सागपात, १६ किलो अक्सिजन, ४६ लिटर पानी र १.५ लिटर खनिज तेल/ग्यास उपभोग गर्दछ, करीब ४३०० शब्द बोल्छ ।

जीवनकालमा एकव्यक्तिले सरदर १५९५१ पिन्ट दूध, १०३५१ बोतल बियर पिउँछ, ४ वटा ठूला पशु, २१ भेडा, १५ सुंगुर, १२०० कुखरा, १३३४५ अण्डा, ४२८३ पाउरोटी, ५७७२ स्याउ खान्छ । ४२८३ रोल ट्वाइलेट पेपर प्रयोग गर्छ, ५३३ पुस्तक र २४४५ पत्रिका पढ्छ । २४८८७ किलोमिटर बाटो हिँड्छ । यो आकडा सांकेतिक तथ्यांक हो । जीवनकालमा संसारभरका पौने ८ अर्ब मानिसले कति प्राणी र वनस्पतिको संहार गर्छन् होला ? आमा पृथ्वी १ सन्तानले अरुहरूप्रति गरिरहेको यो शोषण कसरी हेरिरहेकी छन् होलिन् ?

भनिरहन पर्दैन, उपभोगको यो प्रवृत्तिले वातावरणीय स्रोतहरू रित्तिँदै निख्रिँदै छन् । स्वस्थ मानिसका लागि आवश्यक अक्सिजनका लागि कम्तीमा १२ वयस्क वृक्ष चाहिन्छ । जीवजन्तु र वनस्पतिको आश्रयस्थल जंगल नासिँदैछ । विश्वमा बाँकी रहेको जंगल कूल भूभागको २१ प्रतिशत वन–बुट्यान मानव अतिक्रमणको चपेटामा छ । आश्रयस्थल वन मासिएपछि २५ प्रतिशत प्राणी, वनस्पति लोपहुने खतरामा छन् । १ दशकभित्र १० लाख जातिप्रजाति लोप भइसक्नेछन् । इकोसिस्टमहरू खतरापूर्ण असन्तुलनमा छन् । महत्त्वपूर्ण प्राकृतिक स्रोत भण्डार रित्तिँदै छ । यही प्रवृत्ति रहेमा ३०० वर्षमा कोइला, १७० वर्षमा तेल र ग्यास १६५ वर्षमा रित्तिइसक्ने छ । अर्थतन्त्र मात्र होइन, जीवन प्रणाली नै ऊर्जामूलक भएर गएकाले त्यसको चाप वातावरणमाथि अझ बढी पर्ने निश्चित छ । गुम्दै गएको वातावरणको भारबहन चाहेर पनि बढाउन सकिँदैन । 

जीवनकालमा संसारभरका पौने ८ अर्ब मानिसले कति प्राणी र वनस्पतिको संहार गर्छन् होला ?


 
ताजा पानीका अजस्र भण्डार सेता चम्किला हिमाल हाँस्न छाडेर अँध्यारा हुँदैछन् । वातावरण प्रदूषित हुनेक्रम बढ्दो छ । पानीका मूलहरू भटाभट सुक्दैछन् । प्रमुख नदीमा पानीको मात्रा र बहाव घट्दैछ । भूगर्भको पानी वार्षिक ३ फीट तल झर्दै गएको डेढ दशक नाघिसक्यो । मनसुनको प्रकृति र प्रवृत्ति फेरिएको छ । पछिल्ला दिनहरू तातो बन्दैछन् । विश्व वायुमण्डलको तापमान वृद्धि अर्को शताब्दी लाग्दासम्म ‘वेल विलो टु’मा सीमित राख्ने जलवायु प्रतिबद्धता पूरा हुने विश्वास छैन । वायुमण्डलको तापमान ३ डिग्री सेल्सियस बढे विश्वको स्थिति के होला ? समस्त जीवजन्तु, वनस्पति कसरी अस्तित्वको संघर्षमा रहलान् ? हाम्रा सन्तान कति छट्पटिएर हामीलाई सराप्लान् ?

वातावरण विनाशले अहिले नै थुप्रै प्रभाव छाडिसक्यो । वातावरणको बढ्दो विनाशले जलवायु परिवर्तन तीव्रत्तर छ । जनजीवनका सबै पक्ष असर देखिएर वा नदेखिएर सख्त प्रभावित छन् । माटोको उर्बरत्व गुम्न थाल्यो । पानीको अभावले जनस्वास्थ्य बिग्रँदै छ । 

अफ्रिकाका धेरै भूभाग पिउने पानीमा छट्पटिएका छन् । विकसित मुलुकहरू ‘नया पानी’ बनाइरहेका छन् । सबैमा यो सामथ्र्य छैन, सामथ्र्य भएकालाई पनि यो सीमिततामा छ । एसिया धेरै पानीमा डराएको वा न्यून पानीमा छट्पटाएको छ । सुविधाका शहरहरू कोलाहलका संक्रिटजंगल बन्दैछन् । तापमान बढ्ने र पानीको स्रोत घट्ने प्रवृत्तिले खेतीपाती प्रभावित छ । कतिपय बालीहरू ‘सर्भाइभल अफ फिटेस्ट’मा हारेर हराएका छन् । वनस्पतिको परागशेचन प्रणाली पनि बदलिएको छ, कति दिन ऊ संघर्षमा टिक्न सक्ला ? जीवनका लागि प्रकृतिले निःशुल्क दिएको पिउने पानी अहिले नै किन्नुपर्ने अवस्था आयो, अर्को शताब्दीमा प्रत्येक मानवजातिको पछिल्तिर अक्सिजन सिलिण्डर झुण्ड्याएर बाँच्नुपर्ने अवस्थाबाट कसरी सुरक्षित बन्ने ?

प्राकृतिक चक्र असन्तुलित भएकाले नयाँनयाँ रोग भित्रिएका छन् । एउटा रोगको उपचार विधि पत्ता नलगाउँदै अर्को रोगले महामारी रुप लिइसक्छ । पहाडहरू तीव्र दोहनमा छन् । समुद्री पिँध उकासिँदैछ । समुद्री किनारा प्रभावित हुने नै भए, टापु मुलुक अस्तित्वबाटै हराउन कति बेर ?

समुद्र प्रदूषण र तापमान बृद्धिले समुद्री खानेकुराहरू रित्तिँदैछन् । यता प्राणी, वनस्पति रित्तिने, उता खाद्य आहारको निःशुल्क स्रोत समुद्र रित्तिँदा मानव सत्ता कसरी सुरक्षित होला ?

वातावरण विकराल रुपमा बिग्रनुमा विकसित र धनी मुलुकहरू धेरै जिम्मेवार भएपनि विपन्न मुलुकको भागमा बढी भार र मूल्य परेको छ । ‘देशहरू समान छन् तर जिम्मेवारी फरक हुने’ जलवायु परिवर्तन खाका सन्धिको सिद्धान्त कार्यान्वयनमा आएन । चीन, अमेरिका, भारतहरू अन्धाधुन्द उत्सर्जन गरिरहेका छन् तर नेपाल, बंगलादेश, लाओस, इथियोपियाहरू मूल्य चुकाइरहेका छन् । विकसित र उदीयमान अर्थतन्त्र अनुकूलन क्षमता र स्रोतका कारण सुरक्षित छन्, विपन्नहरू सुख र सुरक्षाको मूल्य व्यहोरिरहेका छन् । विपन्न र अल्पविकसित मुलुकहरूले कसरी वातावरणीय (जीवन) सुरक्षा खोज्ने ?

अनुकूलन क्षमता बढाउन, उत्सर्जन घटाउन र उत्सर्जनको क्षति व्यहोर्न पेरिस जलवायु सन्धि गरियो । पेरिसको लावोर्जेमा १८८ मुलुकका ४६ हजार विज्ञ तथा राष्ट्र प्रमुखहरूले १३ दिन लगाएर तापमान बृद्धि ‘वेल विलो टु’मा सीमित राख्ने, क्षति व्यहोर्न कोष खडा गर्ने र प्रविधि एवं सिकाइहरू अल्पविकसित मुलुकलाई पनि दिने सहमतिबाट ट्रम्प प्रशासन पछि हट्ने घोषणामा पुग्यो । जलवायु सम्झौताले धनी मुलुकलाई आर्थिक भार थोपर्छ भन्ने तर्क ट्रम्प प्रशासनमा देखिएको छ । आफूहरू पनि विकासशील हो भन्ने मनोविज्ञान चीन, भारतजस्ता उदीयमान अर्थतन्त्रमा छ । नेपाल जस्ता ‘माउन्टेन इकोसिस्टम इकोनोमी’ भएका मुलुकहरूको अनुकूलन क्षमता कसरी बढाउने ?

जलवायु परिवर्तनका विशेषीकृत कोषहरू जस्तो कि हरित जलावयु कोष, अतिकम विकसित मुलुक कोष, अनुकूलन कोष, जलवायु परिवर्तन कोषजस्ता बहुराष्ट्रिय महासन्धिका संयन्त्र र यस बाहिरका विलमिलिण्डा फाउन्डेशन जस्ता उपकारी कोषहरू अनुसूचीमा नभएका (विपन्न्न) मुलुकमा थोरै भएपनि प्रवाहित त भए तर ती सबै गैरसकारी संस्थाले बीचमै टप्काए । हावाको पैसा हावामा नै गयो, समुदाय सधै पाखामा पर्‍यो । क्षति व्यहोर्न गरीब र विपन्नका नाममा आएको जलवायु वित्त हावामै नहराउन राष्ट्रिय प्रणाली कसरी निर्माण गर्ने ?

वातावरण विनाश र जलवायु परिवर्तनबाट वित्तीय क्षेत्रमा पनि गम्भीर जेखिम देखिन थालेका छन् । पहिलो, निर्मित संरचना, भूमि तथा पूर्वाधार निर्माण जस्ता भौतिक जोखिम देखिएका छन् । दोस्रो, राष्ट्रहरूले अवलम्बन गरेको न्यून कार्बन रणनीतिका उपभोक्ता व्यवहार, लगानी भय जस्ता संक्रमणका जोखिम पनि देखिएको छ । तेस्रो, उत्पादकत्व बृद्धिको अनिश्चियता र मुद्रास्फीति जस्ता मौद्रिक असर पनि देखिन थालेका छन् । कार्बन तटस्थ नीति त्यति कामयाव नभएपछि खुद शून्य (नेट जिरो) आर्थिक नीति अपनाउने वातावरण बन्दैछ तर कमजोर नीति तथा प्रविधि क्षमताका कारण विपन्न मुलुक कार्बन लाभ लिन सक्षम छैनन् । यसले उल्टो मुलुकहरूबीच असमानता र मुलुकभित्रको असमानता फराकिलो पार्ने सम्भावना छ । त्यसलाई कसरी हटाउने ?

जैविक विविधता संरक्षण गरी पारिस्थितिक सन्तुलन कायम गर्न नीति, योेजना र बजार संयन्त्र परिचालन गर्ने अभियान छ । मौजुदा खैरो अर्थतन्त्रलाई हरित अर्थतन्त्रमा रुपान्तरण गर्ने नीति प्रतिबद्धता छ । परम्परागत रेखीय अर्थतन्त्रलाई चक्रीय अर्थतन्त्रबाट विस्थापित गर्ने कार्यसूची मानवतावादी अभियान्ताले सुझाएका छन् तर यतिखेर रेखीय अर्थतन्त्रको अवधारणाबाट दीक्षित, सन् ५० देखि ६० तिर जन्मेकाहरूकै नीति कब्जामा विश्व अर्थतन्त्र छ, यो समूह दम्भी पनि छ, प्रवृत्तिको परिदृश्य देख्दैन । ‘गूड इकोनोमी इज गूड इकोलोजी’ कसरी बनाउने ?

वातावरणीय विखण्डन, विनाश र दोहनले मानव समाजमा मनोत्रास पनि सिर्जना गरेको छ । यो त्रास र अनिश्चयबाट विश्व समुदायलाई मुक्त गर्न राज्य प्रणाली, समुदाय र विश्व तहहरू कसरी परिचालित हुने ?

यी वातावरणीय चुनौती निराशाका चित्र होइनन्, फगत सुरक्षित भविष्य र हामीले चाहेजस्तो विश्वका लागि उल्लेख गरिएका प्रवृत्तिगत वस्तु तथ्य हुन् । जसले हामी सबै मानवजातिको मानव सत्ता सुरक्षित राख्न र हाम्रा सन्तानको जिउने अधिकार सुरक्षित गर्न आजैदेखि हामी सबैलाई जिम्मेवार बनाउन सकोस् । 

(mainaligopi@gmail.com)

 

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्