अलबिदा रत्न शमशेर थापा !

छविरमण सिलवाल 

‘स्वर्ग कि रानी माया कि खानी नजाऊ तर्केर ... ।’
‘! ... ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो ... ।’


Advertisement

यिनै मिठा अनि सुरिला भाकामा नेपालका ख्याती प्राप्त गायक–गायिकाको स्वरमा सञ्चारमाध्यममा दिनहँु घन्किने आवाजको गीतका रचनाकार हुन् रत्न शमशेर थापा । नेपाली साहित्य तथा नेपाली गीतका पारखीका लागि चिरपरिचित नाम हो रत्न शमशेर थापा । गत जेठ १५ गते थापाको निधन भयो ।

विक्रम संवत् १९९६ साल साउनमा पिता तीर्थ शमशेर र माता तुलकुमारी थापाबाट काठमाडौंको कमलपोखरीमा जन्मिएका थापा निश्चल, निडर र आफ्नो स्वाभिमान लिएर सधैं नेपाली साहित्य आकाशमा दौडिरहे ।


Advertisement

‘! ... दुनियाँ बैगुनी हुँदामा बित्यो जिन्दगी रुँदामा ...’ गीतमा २०१४ सालमा आफैंले गाएर प्रतियोगिताबाट गोल्ड मेडल प्राप्त गरेका थापाले त्यसपछि गायन क्षेत्रलाई निरन्तरता दिन सकेनन् । ‘गीतहरू कोमल र मन छुने खालका हुनुपर्छ’ भन्ने थापाका गीतहरू जनजिब्रोले राम्ररी फट्कार्न सक्ने र मर्मस्पर्शी छन् । कविता विधामा भने उनका भावनाहरू कठोर हुन्छन् । साहित्य समाजको ऐना हो । त्यसकारण समाजमा जे देखिन्छ, जे भोगिन्छ, त्यही कुरालाई सिर्जनामार्फत पोख्ने गर्छन् रत्न शमशेर थापा ।

समाजका सत्यतथ्य कुरालाई साहित्यमार्फत पुनः समाजमा फिजाउन सफल छन् उनी । सधैं नयाँ प्रयोग गर्न रुचाउने थापा, छोटा मुक्तक पनि लेख्ने गर्छन् । नयाँ प्रयोग गर्न सक्ने र नवयुगमा आफ्नो प्रयोगको अमिट छाप छोड्न व्यस्त छन् । उनीद्वारा सिर्जित एउटा मुक्तक –

लाग्छ यो मधुमास पनि, पतझरको दास जस्तो,
लाग्छ यो आकाश पनि, एउटा रित्तो क्यानभास जस्तो ! 
डढेउलीले चपाइचपाई थुकेको, जिन्दगीलाई हेर्दा, 
लाग्छ यो चिसो बतास पनि विषालु ग्यास जस्तो !! 

छोटा, मिठा र थोरै शब्द चयन गरेर समाजका थुप्रै कुरालाई समेट्न सक्नु नै उनका विशेषता हुन् । हामीलाई लाग्दथ्यो, रत्म शमशेर थापा गीत मात्र लेख्छन् तर उनी मिठो गायक साथै तवला बादक पनि थिए । नयाँ सिर्जना गर्दा उनी म्युजिकको तालमा रम्थे । राम्रो शब्दको चयनमा थुप्रै रात बित्छ, एस्ट्रेमा थुप्रै चुरोटका ठुटाहरू हुन्छन्, जीवनको उत्तराद्र्धमा पनि जोशजागरका साथ सिर्जनामा तल्लिन थिए उनका कलमहरू । 

पिताजीबाट पढाइमा मात्र ध्यान दिनुपर्ने बाध्यताका आफ्नी आमा र मामा रेमन्तबहादुर कार्कीको प्रेरणाले हरेक साँझ आफ्नो घरमा सांगीतिक कार्यक्रममा सरिक भएर आफैं तबला बजाउँदा–बजाउँदै गीत संगीतको झन्कारले छोएको महसूस गर्थे उनी । डाक्टर बन्ने लक्ष्यलाई थाती राखेर त्यो सपना अधुरो रहे पनि गीत/साहित्यकार भएकोमा सन्तुष्ट थिए थापा । बुवाको स्वाभिमानी व्यक्तित्वबाट प्रभावित भएर स्वाभिमानी बनेको अनुभव थियो उनलाई ।

विक्रम संवत् २००८ सालबाट लेखन प्रारम्भ भएपनि २०१३/१४ सालबाट प्रेस र गीतको रेकर्डमा व्यस्तता भएको थियो । साहित्यमा चेपारे प्रवृत्ति बढेको बताउँथे थापा । कसैको पाउँमा जी–हजुर भनेर शिर निहुराउने प्रवृत्ति थिएन उनमा । स्वाभिमान बेचेर खाने प्रवृत्ति बढेको बताउने थापा स्वाभिमानको खातिर थुप्रै हण्डर र ठक्कर खाएको बताउँथे । 

उनले करीब १ हजार ५०० जति गीतहरू सिर्जना गरेका छन् भने सयौं गीतहरू रेकर्ड भएका छन् । चलचित्रका गीत पनि लेख्ने थापाका गीतले नेपालीको धड्कन जस्तै भएर गुन्जिरहेका पाउँछौं । लेखन यात्रा कविताबाट भएपनि उनले निबन्ध एकांकीहरू पनि फाटफूट रुपमा लेखे । आफ्नो आत्मसन्तुष्टिको लागि कलम चलाउने थापा स्वतन्त्र कलमजीवि भएको पाउँछौं हामी । साहित्यमा स्तुतिगान भइरहेको र यसले आफैंलाई पतनको मार्गमा डोर्‍याउने मान्यतामा विश्वस्त थिए उनी । स्तुतिगान लेख्नुभन्दा कलम बन्द गर्नु नै राम्रो ठान्थे उनी । स्वरसम्राट नारायण गोपालको गीतियात्रा नै उनकै गीतबाट शुरू भएको मिठो अनुभव छ थापाको । 

‘जाग लम्क चम्क हे नौजवान हो 
नयाँ रंगले आफ्नै ढंगले देश सिगार्न ।’

प्रेमध्वज, माणिकरत्न, अम्बर गुरुङ, दिप श्रेष्ठ, योगेश वैद्य, मिरा राणा, तारादेवीका स्वरमा उनका गीत निरन्तर घन्किरहन्छन् । सधैं आफ्नो ब्रह्मले देखेको कुरा लेख्नुपर्ने मान्यता राख्ने थापाले सधैं सत्य, तथ्य, कुरा लेख्दा छुचो मान्छे, एक्लो र भुइँफुट्टेको उपाधि पनि पाए । यस्ता उपाधिले जीवनमा राम्रो हौसला मिलेको बताउँथे उनी । ढु्ंगाले हान्नेलाई फूलले हान्न सक्नु नै आफ्नो सफलता भएको ठान्थे उनी ।

बोल्नेको पिठा बिक्ने र नबोल्नेको चामल पनि नबिक्ने भनेझैं कसैको चाकडी र चाप्लुसी गर्न नजान्ने, स्वतन्त्र र निष्पक्ष भएकाले थापाको जीवन अस्तव्यस्त भइरह्यो । खाने–बस्ने ठेगान नहुने भएकाले अझ स्वतन्त्र भए जस्तो भयो । वैवाहिक जीवनमा बसेर जीवनलाई संकुचित राख्न नचाहने विचारका थिए थापा, त्यसले गर्दा ४६ वर्षको उमेरमा २०४२ सालमा भैरवी थापासँग वैवाहिक जीवनमा बाँधिए उनी । उनका २ छोरा रुपेन्द्र र रमेन्द्र भए ।

उनको रचनामा २०२० सालमा ‘ओभानो सिउँदो’ गीतसंग्रह, २०५० सालमा ‘रुझेको परेला’ गीतसंग्रह र २०३६ सालमा ‘चकला भरिको घाम’ कवितासंग्रह प्रकाशित भए । छिन्नलता गीत पुरस्कार २०४०, हरिहर शास्त्री सावित्री देवी काव्य पुरस्कार २०५०, युगकवि सिद्धिचरण पुरस्कार लगायत करीब डेढ दर्जन साहित्यिक संस्थाबाट पुरस्कृत समेत भए थापा । 

संख्यात्मकभन्दा गुणात्मक साहित्यमा बढी कलम चलाउन थापाले सुझाव दिनुहुन्थ्यो । ‘थोडा खाना वनारस रहना’ भनेझै ‘गान्धीको धोती भित्रको रहस्य बुझौं, बाहिरी बोक्रा राम्रो होइन, भित्रि गुदी राम्रो बनाऊ’ भन्ने सन्देश बाँड्न चाहन्थे थापा । प्रेम विना गीत नहुने र प्रेम विना जिन्दगी सफल नहुने मान्यता राख्ने थापा प्रेम भन्ने शब्द केटा र केटीबीच मात्र नभई साथीसँग, प्रकृतिसँग, देशसँग, सबैसँग सीमामा बसेर प्रेम गर्न सकिने बताउँथे । जीवन, प्रेम र यौन जीवनका महत्त्वपूर्ण कुरा भएपनि यसको प्रयोग सीमामा बसेर मात्र सफल हुने थापाको मान्यता थियो । अलबिदा रत्न शमशेर थापाज्यू –

फूलै फूलको मौसम तिमीलाई
तारा जुनको रमझम तिमीलाई
मेरो माया हरदम तिमीलाई ... !

कमेन्ट गर्नुहोस्