पदको मान्छे किन यस्तो ?

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

धेरैअघि कवि भूपि शेरचनले ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता लेखेर पदका मानिसहरूको चित्रण गरेका थिए । 

केही अघि सूर्यप्रसाद लोकोजूले पनि छोटो कविता ‘पदको मान्छे’ लेखेर पदमा रहने मान्छेको फेरि अर्को चित्रण गरे । यी २ कविको कविता अन्तराल ४–५ दशक होला तर कवितामा पोखिएका भावनामा धेरै समानता छ । 


Advertisement

त्यो समानता हो – पदमा रहनेहरू, अझ भनौं ठूलो होओदामा रहनेहरू अरुलाई सानो देख्ने गर्दछन् । 

किन त्यसो भएको होला ? 


Advertisement

सबैखाले मानिसमा भावनाहरू रहन्छन्, भोगाइ र अनुभूति पनि रहने नै भए तर कवि, साहित्यकार भोगाइ र अनुभूति पोख्न सामर्थ्य हुन्छन् । कविहरू स्वतन्त्रताप्रेमी हुन्छन्, अन्याय र अत्याचारप्रति कि आगो ओकल्छन् वा त्यसो नगरे पनि भावनालाई पोख्ने गर्छन् । कि त व्यंग्य गर्छन् । उनीहरू समाजको सिर्जनशील निर्माणमा निरन्तर लागिरहेका हुन्छन् ।


दुवै कविको लेखाइले एउटा सत्यको उद्घाटन गरेको छ – ओहोदामा पुगेपछि, शक्ति अभ्यासको स्थानमा पुगेपछि बहुदा मानिसहरू अरुलाई सानो र आफूलाई ठूलो देख्छन्, अरुलाई होचो र आफूलाई अग्लो देख्छन्, अरुलाई सामान्य र आफूलाई असाधारण देख्छन् । अथवा हेराइको दष्टिकोण नै बदलिन्छ । 

पदको मान्छे ठूलो हुनुमा मनोविज्ञानको दोष हो कि शक्तिको उन्माद ? प्रश्न अनुत्तरित छ र धेरै लामो समयसम्म मनोवैज्ञानिक र समाजशास्त्रीलाई यो रोजगारीको क्षेत्र पनि हो । कथम् उत्तर पाइएमा स्वयं उत्तरदाता उन्मादको सिढी नचढोस् ।


पदले चेतना र विवेक बढाउने हो कि पदमा पुगेपछि चेतना र विवेक साँघुरिन्छ ? पदमा पुग्न नै बुद्धि र विवेक चाहिने कि पदमा पुगेपछि बुद्धि र विवेक पाइने हो ? बहुधा बुद्धिजीवीका लागि मष्तिस्क मथिङ्गलको विषय हो । 

समाजशास्त्री र अनुसन्धाताले खोजिरहनु पर्दैन, पदको विशेषता र पहिचान जिम्मेवारी हो । पदको स्तर र उचाइ बढ्नु भनेको जिम्मेवारी र दायित्वको दायरा बढ्नु हो । ठूला मानिसहरू स्वाभाविक रुपमा चेतनशील र विवेकशील हुन्छन् । त्यसैले उनीहरू ठूला भएका हुन् । सृष्टिको सर्वश्रेष्ठ जाति मानिस आफूहरूबीचको भिन्नता कर्म र ज्ञानले सिद्ध गर्दछ, जिम्मेवारीले पुष्टि गर्दछ, परिणामले विश्वास जित्ने गर्दछ । विश्वासले वैधता बढाउने गर्दछ ।  

पदको मान्छे अरुको आकार र स्तरलाई सानो देख्छ । आफू उच्च र अरुलाई निम्न ठान्छ । आफू महान र अरुलाई सामान्य सोच्छ । आफू सगरमाथा र अरुलाई भुरेटाकुरे सम्झन्छ । 

पदमा पुग्नुअघि सुखदुख साट्ने साथी एक कदम अघि बढ्ने बित्तिकै दुःखको साथी चटक्कै भुल्छ र नयाँ वृत्तमा पुग्छ तर वृत्तात्मक सोच राख्दैन । सफलतामा शुभकामना दिँदा पनि प्रत्युत्तरका न शब्द हुन्छन्, न फुर्सद नै । अझ कति त आफू माथिल्लो पदमा पुग्ने कुराको संकेत नै बडप्पनबाट दिने गर्छन् । सार्वजनिक ओहोदाका मानिसहरू आप्mनो प्रमोसनको संकेत ठूलोको पहिचानबाट दिन्छन् ।

साथीलाई बेवास्ता गर्ने, खासै महत्त्व नदिने र मतलब हुने विषय सन्दर्भमा मात्र महत्त्व दिने प्रवृत्ति देखिन्छ । पद प्राप्ति पछिको व्यवहारहरू सामान्य देखिँदैनन् । अपवादमा सामान्य देखिनेहरूप्रति आफ्नै सर्कलबाट अर्को व्यवहार गरिन्छ । सहपाठी र सुखदुःखको साथीबाट अलग्गिनु वा उसबाट विशेष व्यवहार खोज्ने प्रवृत्तिले वृत्तिमाथि नै गम्भीर प्रश्न उठाउँछ – के कुर्सीमा नशा छ र त्यहाँ बस्नेहरू मातमा देखिन्छन् ? 

पदको मान्छे पदेन विद्वान बन्दछ । आहोदा चढ्नुको भ्रम विद्वता र ज्ञान पनि स्वतः बढ्छ भन्नेमा छ । पदले विद्वता दिन्छ, सुविधा र कुर्सीले विद्वता पनि स्वतः दिन्छ भन्ने मान्यता राखिन्छ । साना पदका मानिसमा बुद्धि र विद्वता सम्भव देखिँदैन, सर्वसाधारणको त कुरै छोडौं । बैठक, भेलामा राखिने सही तर्कलाई ठूलाको तर्कले थिच्छ, मानौं तर्क पनि आहोदा र पद सापेक्ष कुरा हो । जब ठूला तर्कले तथ्य तर्कलाई थिच्छ, गलत निष्कर्ष निस्कने नै भयो । गलत निष्कर्ष र गलत निर्णयले समस्त समाजलाई नै क्षति पुर्‍याउँछ । स्वयं ‘पदको मानिस’लाई पनि क्षति पुर्‍याउँछ तर उसको वैयक्तिक प्राज्ञले त्यो क्षतिको वास्ता गर्दैन र समाधान फेरि गलत भैदिन्छ । यो क्रम शृंखलामा रहन पुग्छ । त्यसैले त समाजले राम्रो परिणाम पाउँदैन । 

पदका मानिसहरू आफूप्रति अरुबाट विशेष व्यवहार चाहन्छन् । सामान्य शिष्टाचारमा पनि विशेष सम्बोधनकै अपेक्षा गरिन्छ । एकै सम्बोधनमा पनि दोहोरोतेहोरो विशेषणयुक्त शब्दहरू खोजिन्छ । हाम्रो समाजमा एउटा उदाहरण नै काफी छ – ‘श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू’ । ‘श्रीमान’ भनिसकेपछि फेरि किन ‘ज्यू’ भन्नु परेको होला ? ‘श्री’ जस्तो महान् शब्द पछिको ‘ज्यू’ ले ‘श्री’ लाई आदर गर्छ कि उपेक्षा थप्छ ? वाक्यांशको अन्तमा ‘ज्यू’ फेरि किन चाहियो ? ‘श्री प्रमुख जिल्ला अधिकारी’ वा ‘प्रमुख जिल्ला अधिकारीज्यू’ मात्र भन्दा नहुने ? तर ‘श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू’ नै समाज, संस्था र सेवाग्राहीको संस्कृति बन्यो । के जसका सेवा खातिर पद सर्जिना गरियो, त्यै सेवाग्राहीले यतिविध्न विशेषणयुक्त सम्बोधन गरेर सेवा लिनु उचित हो ? खास पद त्यति बढी मर्यादायुक्त सम्बोधनको अपेक्षी हुनहुन्छ ? नैतिक रुपमा ती मर्यादा पदाधिकारीले लिनु हुन्छ ? 

जनताका मत लिएर आएका प्रतिनिधि जनताजस्तै भएर जनताकै स्वर बोल्नुपर्ने कर्तव्यमा रहन्छ । निर्वाचित निर्वाचकको वारेस (ट्रस्टी) हो तर निर्वाचित हुने बित्तिकै आफैंले आफ्नाअघि ‘माननीय’ जस्ता सम्बोधनबाट पहिचान दिने संस्कृति विकास भएको छ । माननीय, आदरणीय, श्रीमान् जस्ता आदरार्थी पदावली उसलाई अरुले प्रयोग गर्ने हो, त्यो पनि व्यक्तिको व्यवहारका सापेक्षमा । आफैंले बोल्दा, लेख्दा, परिचय दिँदा आदरार्थी शब्दको प्रयोगले पहिचानभन्दा अहम् पहिला पुष्टि हुन्छ । आदरमा अभिमान देखिनु हुँदैन । आफ्ना दृष्टिमा आफू नै माननीय, आदरणीय, श्रीमान् बन्न कदापि सक्दैन । मानिस आफूले आफूलाई सम्बोधन गर्दैन, त्यो उसको कर्म, आचरण र संस्कृति सुहाउने कुरा पनि होइन तर पदीय संस्कार र संस्कृति जबरजस्त बसाइँदैछ । 

धरातल भुल्नु पदको विशेषता हो । पद प्राप्तिपछि आफू उभिएको धरातल भुल्दा मनोवैज्ञानिक तुष्टि मिल्ने गर्छ पदाधिकारीलाई । हात मिलाउनेबाट नमस्कार खोज्छ, नमस्कार आफैं गर्थ्यो, अब नमस्कार मात्र खोज्दैन, मीठा र बनावटी शब्द खोज्छ । तँबाट हजुर र बक्स्यिोस् खोज्छ । हार्दिक भावनाबाट औपचारिकता खोज्छ । मान खोज्छ, मर्यादा खोज्छ तर उ भने अरुलाई मान गर्दैन, मर्यादा दिँदैन, सामान्य आदर पनि गर्न भेर लाउँदैन । जिद्दी गर्छ, आदेश गर्छ, आफैं जान्ने हुन्छ । अरुलाई, अरुका भावनालाई इग्नोर गर्छ र आफैं मख्खिन्छ । पदको नशा र पदमाथिको रतन्धोपन ! 

अब त पदका मानिसहरू कवि बन्न थाले, गीत र कविता कोर्न थाले । जीवनी र आत्मकहानी लेख्न थाले ।  कविता पनि बोल्ने कविता । चित्रका कविता । भाव नभएका कविता, मन नपोखिएको गीत र भावना नबगेको निवन्ध लेख्ने पदका मानिसलाई के भन्ने ? अभावमा पो भाव हुन्छ, परिश्रममा सिर्जना फुल्छ । सुखसयल अनि रामरौसमा भावना कसरी पोखिन्छ ? पोखिए पनि ती कति जीवन्त बन्दछन् ? कति हार्दिक बन्दछन् ? कति प्रेरणादायी बन्छन् ? 

पदीय अभिमानहरू कार्यालय र औपचारिक स्थानमा मात्र देखिएन, समुदाय, समाज र परिवारमा पनि देखिन थालेको छ । कला, साहित्य र सिर्जना सर्जकमा पनि देखिएको छ । समाज, समुदाय र संस्थाहरू अभिमानले नभई अरुप्रतिको आदरमा महान बन्ने हुन् । 

पदमा मदमत्त हुनु हुँदैन । पदले जिम्मेवारी दिने हो, मात दिने होइन । पदमा राप हुन्छ तर ताप दिने होइन । धरातलबाट उठेकाहरू धरातलप्रति अन्यायी बन्नुहुन्न । पद अभिनय र अभिमान होइन । पद क्षणिक हो, जीवन साश्वत छ । पदका मानिसहरू त अरु विनयशील, सरल र सहृदयी हुनुपर्छ । पद त सिद्धान्त र नियम पनि हो, स्वयं अनुशासन र कर्तव्य पनि हो । उ उदाहरणीय बन्नु पर्छ । उ झुक्नुपर्छ । ‘फलेको वृक्ष नझुकेको कहाँ छ र ?

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्