कोरोनाको चपेटामा पर्यटन क्षेत्र : संकटबाट सरकारले यसरी लगाउन सक्छ पार !

– तेजेन्द्र शर्मा पौडेल

कोरोना महामारीको कारण विश्वकै अर्थतन्त्र थिलोथिलो भइरहेको अवस्थामा नेपाली पर्यटन क्षेत्र पनि यसबाट अछुतो नरहेको कुरा हामी सबैसामु छर्लङ्ग छ ।


Advertisement

यतिबेला नेपालको पर्यटन व्यवसायसँग सम्बन्धित पर्यटक बोक्ने रिक्सावाला, मनोरञ्जन दिने गन्धर्व, बाटो देखाउने रुट गाइडदेखि ट्राभल टूर्स, टिकेटिङ, होटल, रेस्टुरेन्ट, गेस्ट हाउस, हेन्डी क्राफ्ट, गलैंचा र पश्मिना लगायत सबै किसिमका व्यवसाय चौपट अवस्थामा पुगेका छन् ।

पर्यटन व्यवसाय अन्तरसमुदाय र अन्तरदेशसँग सम्बन्धित व्यवसाय भएकाले कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनको पहिलो निशाना पर्यटन क्षेत्र बन्न पुगेको छ । वर्तमानमा हामीले भोगिरहेको कोरोना संकट र भविष्यमा पनि आउनसक्ने यस्तै संकटलाई छिचोल्दै निरन्तर चलायमान बनाउनको लागि हामीले अब यस क्षेत्रसँग सम्बन्धित नीतिमा केही परिमार्जन गर्नुपर्ने देखिन्छ ।


Advertisement

कोरोना संकट र समस्या

कोरोना संकटले पर्यटकसँग सम्बन्धित रहेर दैनिक उत्पादन गरी जीविकोपार्जन गर्ने रिक्सावालदेखि ठूला पर्यटन उद्योगीलाई बेकामे बनाएको छ । पर्यटन व्यवसायसँग आवद्ध सबै क्षेत्र यतिबेला स्थिर बनेका छन् । लाखौंले रोजगारी गुमाएका छन् । लगानी गरिएको पूँजीले उत्पादन गर्न सकेको छैन । आम्दानी शून्य भएको छ ।

सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई मध्यनजर गरेर व्यवसायीले गरेको थप र नयाँ लगानीको ऋणको व्याज बुझाउने स्थिति छैन । रेमिट्यान्सपछि वैदेशिक मुद्रा आर्जन गरेर राज्यको कूल ग्राहस्थ उत्पादनमा टेवा पुर्‍याउने यो क्षेत्र अहिले ढाड भाँचिएर लडेको अवस्थामा पुगेको छ ।

कोरोना संकट र पर्यटन क्षेत्रको भूमिका

हालसम्म विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार कोभिड १९ मान्छेबाट मान्छेमा सर्ने रोग हो । मान्छेको स्थानान्तरण विना पर्यटन व्यवसायको कल्पना गर्न सकिँदैन । कृषि, उद्योग र आन्तरिक व्यवसायमा अहिलेको संकटको असर परेको छ तर एउटा परिमाणमा स्वचालित भएका छन् । कोरोनाको माध्यम स्थानान्तरण र पर्यटनको मुटु पनि स्थानान्तरण भएकाले यो क्षेत्र अहिले अचेत अवस्थामा पुगेको हो ।

वर्तमान संकटको समयमा पर्यटन व्यवसायीले आफ्नो समस्यालाई छातिमा राखेर समाजमा संक्रमणको विस्तार नहोस् भनेर आफ्ना व्यवसायलाई सरकारले तोकेको निर्णयभन्दा बाहिर गएर सञ्चालन गर्ने अभ्यास गरेका छैनन् । बरु पर्यटन व्यवसायीले नेपाली समाज र सरकारसँगै रहेर उत्तरदायी ढंगले आफ्नो भूमिका निर्वाह गरिरहेका छन् ।

अहिले सरकारले विश्वका तेस्रो मुलुकमा श्रम वा अन्य प्रयोजनको लागि गएका नेपालीलाई उद्धार गर्ने प्रक्रिया अगाडि बढाएकोे छ, जसमा नेपाली होटलले सहज ढंगले क्वारेन्टीनको जिम्मेवारीलाई स्वीकार गरेका छन् । व्यवसायमा आएको संकटका बाबजुद पर्यटन क्षेत्रले देखाएको धैर्यता र निर्वाह गरेको गम्भीर जिम्मेवारीलाई महत्त्वपूर्ण योगदानको रुपमा लिइनुपर्छ ।

कोरोना सँगसँगै पर्यटन व्यवसाय

विश्व स्वास्थ्य संगठनले आफ्नो औपचारिक जानकारीको क्रममा कोरोना विश्वमा केही वर्ष रहनसक्ने अनुमान रहेको कुरा सार्वजनिक गरेको छ । साथै अन्तर्राष्ट्रिय र राष्ट्रिय समाचार माध्यममा सार्वजनिक भएका विश्वसनीय समाचारलाई हेर्दा कोरोनाको खोप वा औषधिको आविष्कार छिट्टै नै हुनसक्ने अवस्था नरहेको देखिन्छ ।

कोरोनाको पहिलो चरणमा अतिप्रभावित भएका मुलुकहरू चीन, इटली, स्पेन, बेलायत र अमेरिकाम संक्रमणको विस्तार नरोकिए पनि पुरानै तरिकाको लकडाउनको अवस्थालाई अन्त्य गरेका छन् । हाम्रो देशमा भने लकडाउन अगाडिको समयमा भन्दा लकडाउन कार्यान्वयनको समयमा संक्रमणको विस्तार क्रमशः बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । विशेषगरी छिमेकी देश भारतबाट रोजगारी गुमाएर फर्केका नेपालीको उचित समयमा उचित ढंगले क्वारेन्टीन व्यवस्थापन गर्ने कार्य नगर्दा अहिले हाम्रो समुदायस्तरमा संक्रमण फैलिन पुगेको कुरा सरकारी रिपोर्टले नै जनाएको छ ।

भारतसँगको खुला सीमाको कारण कति संक्रमित नेपाली फर्किए र समुदायस्तरमा संक्रमण फैलियो भन्ने तथ्यांक संकलन गर्न सरकारलाई नै गाह्रो भइरहेको छ । अहिलेको अवस्थालाई हेर्दा आगामी केही महिनामा नेपालमा संक्रमितको संख्या धेरै गुणा बढ्ने अनुमान गर्न सकिन्छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व संकलनको अवस्था यही रहेमा सरकारले सञ्चालन खर्च धान्न नसक्ने कुरा बताइसकेका छन् तर फेरि सरकारले संकटको यो समयमा समेत विगत निरन्तरताकै रुपमा संकटलाई बेवास्ता गरेको बजेट तथा कार्यक्रम अगाडि बढाएको छ, जुन आफैंमा नमिल्दो रहेको छ ।

यस्तै स्वरुपको लकडाउनको निरन्तरताले असफल राज्य बन्ने सम्भावना देखिएकाले चलायमान अर्थव्यवस्था, उत्पादन तथा वितरणको बजार सिर्जना गर्न नयाँ नीति तथा कार्यक्रम अवलम्बन गर्न जरुरी रहेको देखिन्छ । विश्वका अतिप्रभावित अरु देशहरूले लकडाउन कसरी हटाएर कस्तो प्रकारको सामाजिक जीवनशैली अपनाएका छन् ? नेपालको सन्दर्भमा कोरोनाको फैलावटलाई रोक्ने गरी कसरी सबै आर्थिक क्षेत्रलाई चलायमान बनाउन सकिन्छ ? विशेषगरी स्वदेशी पूँजीलाई चलायमान बनाउने र विदेशी पूँजी भित्र्याउने पर्यटन व्यवसायलाई कसरी पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकिन्छ ? यो विषय गम्भीरतापूर्वक सोच्ने र कार्यान्वयनमा गर्ने बेला आएको छ ।

सरदकालीन समयसँगै नेपालमा पर्यटन मौसमको शुरूआत भएको मानिन्छ । सरदकालीन समयका लागि अझै साढे २ महिना बाँकी रहेको सन्दर्भमा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायले के कस्तो मापदण्ड पूरा गर्दा सञ्चालनमा आउन सक्छन् भन्ने कुराको छलफल र नीति तर्जुमा गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ । यो सन्दर्भमा सरकार र सम्बन्धित सरोकारवाला बीचमा आवश्यक छलफल हुनुपर्ने र निचोड निकाल्नुपर्ने जरुरी रहेको छ । यसरी हेर्दा कोरोना संकट सँगसँगै पर्यटन क्षेत्रलाइ पनि चलायमान बनाउन सकिन्छ भन्ने सम्भावना देखिन्छ ।

पर्यटन क्षेत्रमा सरकारको दायित्व

संकटको समयमा सरकार संकट निवारण गर्ने तरिकासाथ हिँड्नुपर्थ्यो । यो त हुन सकिरहेको छैन तर सरकारले नेपालको समग्र आर्थिक पुनरुत्थानको लागि नयाँ नीतिगत तथा कार्यक्रमिक प्याकेज ल्याउन जरुरी छ । सानो र विकासोन्मुख मुलुकमा सञ्चालनमा रहेका साना साना व्यवसायले पनि सुक्ष्म तवरले अर्थव्यवस्थाको चलायमान गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन् ।

सबै उत्पादन र वितरण क्षेत्रको सम्बन्ध बैंकसँग अनिवार्य नै हुन्छ । यतिबेला बैंकहरूले लगानी गरेका व्यावसायिक क्षेत्र विशेषगरी पछिल्लो समयसम्म उठ्न नसकेको पर्यटन क्षेत्र संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । विगतमा भारी नाफा गरेका बैंकसँग सरकारले समन्वय गरी वा सरकारले दायित्व बाँडफाँट गरी व्यवसायमैत्री बैंकिङ वातावरण सिर्जना गर्नुपर्दछ । संकटपूर्ण अवस्थामा अर्थव्यवस्थालाई चलायमान बनाउने बेलासम्मको लागि अन्तरिम संकटमोचन बैंकिङ नीति तय गर्नु सरकारको दायित्व हो । जसले गर्दा पर्यटन क्षेत्रका लगानीकर्ता सुरक्षित ढंगले सो क्षेत्रलाई चलायमान बनाउन उत्प्रेरित हुन सक्नेछन् ।

(लेखक गाउँले –पर्यटन नेपालका अध्यक्ष हुन् ।)

कमेन्ट गर्नुहोस्