नेपालको सन्दर्भमा यी हुन् कोरोनाको जोखिममा रहेका वर्ग, यसरी हुन सकिन्छ सुरक्षित : डा. पाण्डे

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

जनस्वास्थ्य विज्ञ पाण्डे लोकान्तरका नियमित स्तम्भकार हुन् ।

कोभिड– १९ नयाँ रोग भएको र यसका जोखिम तत्वबारे सीमित जानकारी तथा अध्ययन भएका छन् । संसारका अन्य मुलुकको अवस्था हेर्ने हो भने जेष्ठ नागरिक (जसलाई दीर्घरोग लागेका छन्)लाई जोखिम वर्ग मानिएको छ । कोरोना संक्रमणको जोखिम वर्गको रूपमा जेष्ठ नागरिक र दीर्घरोगी भनेर सञ्चारमाध्यमले भनिरहँदा त्यो वर्गका व्यक्तिलाई मानसिक तनाब तथा असुरक्षाबोध भएको छ । विदेशीको गाइडलाइनलाई हुबहु अनुवाद गरेर प्रचारप्रसार गर्दा हाम्रो देशको अवस्था प्रतिविम्बित भएको छैन ।

कुनै पनि रोगको घातकता सबै ठाउँमा एकै किसिमको हुँदैन । देश, काल, परिस्थिति, प्रकृति, जीवनशैली, परम्पराजस्ता विविध पक्षले जोखिमलाई प्रभाव पारेका हुन्छन् । हाम्रो देशमा ७५, ८०, ८५ वर्षका व्यक्तिहरूले घरमा काम गर्ने, उकालो–ओरालो हिँड्ने, खेतबारीमा काम गर्ने तथा ताजा खाना खाने परम्परा छ । हाम्रो देशका अधिकांश जेष्ठ नागरिकलाई आफ्नो स्वास्थ्य समस्यामा कुन–कुन घरेलु उपचार गर्ने भन्ने कुरा थाहा छ । तसर्थ उमेर बढी भए पनि सक्रियता र स्वस्थ जीवनशैलीले कोरोना संक्रमणलाई परास्त गर्न सक्छ ।


Advertisement

त्यस्तै उच्च रक्तचाप, मधुमेह, दम, थाइराइडको समस्या, बाथ, मानसिक रोग लगायतका नियमित औषधिसेवी व्यक्तिलाई कोरोना संक्रमणले थप तनाब दिएको छ । हामीले उच्च रक्तचाप, मधुमेह लगायतका दीर्घ रोगीलाई जोखिम छ भनेर अपुरो ज्ञान वितरण गरिरहेका छौं ।

यदि कुनैपनि व्यक्तिलाई उच्च रक्तचाप, मधुमेह वा अन्य दीर्घरोग छन्, तर ती रोगहरू औषधि सेवन गरेर नियन्त्रणमा छन् भने जोखिम वर्गमा राख्न मिल्दैन अर्थात् उनीहरूलाई कोरोना संक्रमणबाट जोखिम हुँदैन । यदि उनीहरूले नियमित रूपमा औषधि सेवन नगर्ने, आफैं कन्ट्रोल गर्छु तथा लौका/करेला खाएर ठीक गर्छु भन्ने भ्रममा रहेर ती रोग भित्रभित्रै बढेका छन् भने उच्च जोखिम हुनसक्छ । तसर्थ चिकित्सकले औषधि सेवन गर्न सुझाएमा नियमित रूपमा औषधि सेवन गर्नुपर्दछ ।


Advertisement

जोखिम वर्गमा को छ ?

६५ वर्ष वा सो भन्दा उमेरका व्यक्ति जसलाई गम्भीर मुटुको समस्या छ, दीर्घ फोक्सोको रोग छ, जसलाई गम्भीर किसिमको दम, निमोनिया वा क्षयरोग छ, जो अत्यधिक मोटो छ, जसलाई अनियन्त्रित मधुमेह छ, दीर्घ तथा अनियन्त्रित मधुमेहको कारण किड्नी लगायत अंगमा समस्या छ, जसलाई क्यान्सरको तेस्रो वा चौथो स्टेज छ, जसले अत्यधिक चुरोट तथा रक्सीको सेवन गर्छ, जसको अंग प्रत्यारोपण गरिएको छ, जसलाई राम्रोसंग नियन्त्रण नभएको एचआईभी / एड्सको समस्या छ, जसको इम्युनिटी कम्प्रोमाइज्ड अवस्था छ, जसले लामो समयदेखि स्टेरोइडको सेवन गरेको छ, जसलाई डाइलाइसिस गरिएको छ, जसको कलेजो फेलियर भएको छ, जसलाई रक्त क्यान्सर तथा बोन म्यारो क्यान्सर छ, जसलाई सिकल सेल एनेमिया, थाल्सेमिया छ, आदिलाई कोरोना संक्रमणको जोखिम वर्ग मानिएको छ । मस्तिष्क तथा स्नायुका दीर्घबिरामी जस्तै पार्किन्सनस् डिजिज, मोटर न्युरोन डिजिज, मल्टिपल स्क्लेरोसिस, मुखको पक्षघात आदिको समस्या भएका व्यक्ति तथा गर्भवती (जसलाई दीर्घरोग छ)लाई जोखिम वर्ग मानिएको छ ।

त्यस्तै वृद्धाश्रममा बसेका जेष्ठ नागरिक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मी, ट्याक्सी ड्राइभर, सुरक्षा गार्ड आदिलाई पनि जोखिम वर्ग मानिएको छ ।

जेष्ठ नागरिक तथा जोखिम वर्गका व्यक्तिसँग कस्तो व्यवहार गर्ने ?

– यदि आफूलाई सामान्य रुघाखोकी लागेमा वा ज्वरो आएमा जेष्ठ नागरिकलाई नभेट्ने ।

– फोनबाट उहाँहरूसँग नियमित रूपमा सम्पर्कमा रहने ।

– भेट्नु पर्दा जेष्ठ नागरिकलाई हात वा खुट्टामा नढोग्ने । नमस्कार गर्ने वा शीर झुकाएर सम्मान गर्ने ।

– भेट्दा छोटो समय दुरी कायम गरेर तथा मास्क लगाएर कुराकानी गर्ने ।

– उहाँहरूलाई नियमित खाने औषधिको व्यवस्था गरिदिने ।

– कोभिड– १९ बारे सही जानकारी दिने । हल्ला तथा भ्रमको पुच्छर समाएर त्रसित नबन्न सुझाव दिने ।

– केही परेमा हामी छौं भनेर आश्वस्त गर्ने ।

जेष्ठ नागरिक तथा दीर्घबिरामीले के गर्ने ?

– जोखिम वर्गले सकभर घरभित्र बस्ने, घरमा बस्दा पनि परिवारका अन्य सदस्यसँग घटीमा २ मिटरको भौतिक दुरी कायम गर्ने । घरबाहिर जानुपरेमा सही तरिकाले मास्कको प्रयोग गर्ने, भीडभाडमा नजाने, भौतिक दुरी कायम गर्ने तथा हात धोइरहने वा स्यानिटाइज्ड गरिरहने ।

–​ पोशिलो र झोलिलो खाना खाने । नियमित पानी पिउने ।

– घरभित्र वा बाहिर खुला ठाउँमा नियमित व्यायाम गर्ने ।

– सकभर भेटघाट बन्द गर्ने । फोनबाट कुराकानी गर्ने ।

– रुघाखोकी लागेको व्यक्तिलाई नभेट्ने ।

 

–​ योग, ध्यान, संगीत, प्रवचन, अध्ययन, लेखन आदि गरेर मनलाई व्यस्त राख्ने । करेसाबारी वा कौसीमा तरकारी, फूल लगाउने जस्ता काम गर्ने ।

– कसैलाई भेट्नु परेमा दुवै पक्षले मास्क लगाउने, ६ फिटको भौतिक दुरी कायम गर्ने तथा छोटो समय मात्र कुराकानी गर्ने ।

–​ स्काइप, म्यासेन्जर, भाइबर आदि माध्यमबाट भएको ठाउँमा भिडियो कलमार्फत् कुरा गर्ने ।

– आफूले सेवन गरिरहेका औषधि नछोड्ने । सकभर १-२ महिनाको स्टक राख्ने । समयसमयमा स्वास्थ्य परीक्षण गर्ने ।

–​झ्यालढोका तथा भेन्टिलेसन खोलेर हावा तथा घाम आउने वातावरण बनाउने ।

– १ घण्टा घाम ताप्ने । यसले भिटामिन डीको सन्तुलन कायम गर्छ ।

– राति ८-९ घण्टा सुत्ने ।

– घर, कोठा, रेलिङ आदिलाई नियमित सफा गरेर संक्रमणको जोखिम घटाउने ।

– चिन्ता, तनाव तथा धपेडी नगर्ने । चिन्ता तथा तनावले रोगसँग लड्न सक्ने आत्मबल एवं इम्युनिटी पावर घटाउँछ ।

– बाथरुम, भर्‍याङ, भुइँ आदिमा चिप्लिएमा खतरा हुनसक्छ । तसर्थ खस्रो सतह कायम गर्ने, पाइला–पाइलामा ख्याल गर्ने ।

– वृद्धावस्थामा बिर्सिने बानी बढ्दै जान्छ, तसर्थ आफूले खाने औषधि नबिर्सियोस् वा नदोहोरियोस् भन्नका लागि औषधिको संख्या र खाएको समयको तालिका राख्ने ।

– कोरोना संक्रमणबारे धेरै समाचार नहेर्ने, नसुन्ने । आधिकारिक सूचना र विज्ञको कुरामात्र पत्याउने । धेरै सञ्चारमाध्यमले आफ्नो व्यापारका लागि सनसनीपूर्ण तथा डरलाग्दा विषय प्रचारप्रसार गरेका हुन्छन्, त्यस्ता समाचार वा श्रव्यदृश्य नसुन्ने / नहेर्ने ।

रोगप्रतिरोधात्मक क्षमता बढाउनका लागि भिटामिन सी, भिटामिन डी, जिंक, माछाको तेल, गुर्जो, अश्वगन्धा, तुलसी तथा हाम्रो भान्सामा प्रयोग हुने मरमसला आदिमध्ये उपलब्धता अनुसार सेवन गर्ने ।

कोभिड– १९ को मृत्युदर निकै कम भएको तथा कोरोना भाइरसको घातक प्रभाव न्यून भइरहेको विभिन्न अध्ययनले देखाएका छन् । कोरोना संक्रमणविरुद्ध विभिन्न औषधिले राम्रो काम गरेका छन् जसले गर्दा गम्भीर हुने बिरामीको संख्या घटिरहेको छ । कोरोना संक्रमण भएका सबै व्यक्तिले रोग सार्न सक्दैनन् । त्यस्तै संक्रमण भएको ११ दिनपछि संक्रमितले अन्य व्यक्तिलाई रोग सार्न सक्दैन भनेर अनुसन्धानले बताएको छ । क्वारेन्टाइन, परीक्षण, आइसोलेसन आदिले गर्दा समुदायमा कोरोना संक्रमण व्यापक रूपमा फैलिन पाएको छैन । नेपालको अवस्था हेर्ने हो भने यसको मृत्युदर निकै कम छ अर्थात् आजको मितिसम्म जम्मा ०.२५ % छ ।

नेपालमा ९० % संक्रमित अन्य देशबाट आएका हुन् । अहिले भारतबाट आउने क्रम निकै घटिरहेको छ । घनाबस्ती भएका क्षेत्रमा कोरोना संक्रमण फैलिने खतरा भएपनि हाम्रा गाउँ निकै सुरक्षित छन् ।

हामीहरू मानसिक रूपमा निकै बलियो हुनु जरुरी छ । वनको बाघले भन्दा मनको बाघले हामीलाई खाइरहेको छ । तसर्थ डोरी हेर्दा सर्प नदेखौं, बिरालो हेर्दा बाघ नदेखौं । संसारभर एकैपटक फैलिएको हुँदा यो रोगले ठूलो चर्चा पाएको हो । अन्यथा यो सामान्य रोग हो । आत्मबलले क्यान्सरलाई त जित्न सक्छ भने यो कमजोर भाइरससँग हार्नुपर्ने कारण छैन ।

चीन, इटली, भारत लगायतका देशमा ९०, १०० वर्ष कटेका दीर्घरोगीले पनि कोरोना संक्रमणलाई जितेका छन् । नेपालमा हेर्ने हो भने ८५, ८२, ७८, वर्षका दीर्घबिरामीले सजिलै कोरोना संक्रमणलाई जितेका छन् । अझ नेपालको अवस्था हेर्ने हो भने संक्रमण र मृत्यु दुवै वयस्क उमेरमा देखिएको छ । जोखिम वर्गमा हुनु भनेको मृत्यु हुने वर्गमा हुनु होइन । तसर्थ उच्च मनोबल र बाँच्ने तीब्र अभिलाषा लिएर स्वस्थ जीवनशैली अवलम्बन गरौं, हाम्रो आत्मबल र जिजीविषाले कोभिड– १९ लाई हराउनेछ ।

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्