विकृतियुक्त पुरोहितवादमा किन अल्झेको छ समाज ?

कमल रिजाल
कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

पुरोहितवाद वैदिक युगसँगै उदय भएको वाद हो । वैदिक ग्रन्थमै यस विषयलाई लिएर महर्षिद्वय वशिष्ठ र विश्वामित्रबीच व्यापक मतभेद भेटिन्छ । गायत्री उपासक विश्वामित्र ब्रह्मवादी थिए । (ऋग्वेद ३।६२।१०) कर्मकाण्ड प्रेमी वशिष्ठ पुरोहितवादी थिए ।

सूर्यवंशी राजा हरिश्चन्द्रको यज्ञसम्म आइपुग्दा उनीहरूबीचको मतभेद चरम विन्दुमा पुगेको छ । यतिबेला आपसमा श्रापाश्राप गरी उनीहरू दुवै पंक्षीयोनीमा पुगेर वर्षौैंसम्म लडेका छन् । (श्रीमद्भागवत ९।७।७) । त्यतिबेला विश्वामित्रले नरवली प्रथा अन्त्य गर्न सफलता पाएका भए पनि पुरोहितवादको मूलोच्छेदन गर्न भने सकेनन् ।


Advertisement

पौराणिक राजा वेनले पनि पुरोहितवाद अन्त्य गर्न खोजेका थिए तर उल्टै पुरोहितवादले नै उनको अन्त्य गरिदिएको छ । (श्रीमद्भागवत ४।१४।३४) । सम्भवतः वेनपुत्र पृथु पनि पुरोहितवादको दबदबाबाट बाहिर आउन चाहन्थे । उनले यसबारे शुरूमा राम्रै संकेत देखाएका थिए । भागवातमा महर्षि व्यासले यसको लामो व्याख्यान दिएका छन् ।

व्यासजीका अनुसार उनले नगर निर्माण गरी बस्ती विकासको काम पनि गरेका छन्, भौगर्भिक उत्खनन् गरी खानीहरू पत्ता लगाउने काम पनि गरेका छन् । कृषि तथा पशुपालनको शुरूवात पनि गरेका छन् । भीर पहरा फोडी जमिन सम्याएर नहर, कुलो तथा बाँधको प्रबन्ध गरेका पनि छन् । (श्रीमद्भागवत ४।१६।२२) । तर उनी पनि अन्ततः पुरोहितवादसामु घुँडा टेक्न बाध्य भएका छन् ।  


Advertisement

इतिहासमा सामन्तवाद र पुरोहितवाद अन्योन्याश्रित भएर रहेका छन् । सामन्तवादलाई पुरोहितवादले टिकाएको छ । पुरोहितवादलाई सामन्तवादले बचाएको छ । पुरोहितवादको कमजोरी सामन्तवादलाई थाहा थियो, सामन्तवादको कमजोरी पुरोहितवादलाई । यी २ वादको स्वार्थले एकअर्कोलाई जरा गाड्न मलजल गरेको छ ।

पुरोहितवादी सामन्तहरूको आशय बुझी नीति निर्माण गर्थे, सामन्तवादी त्यसलाई अक्षरशः लागू गर्दै आफ्नो जग बलियो बनाउँथे । पुरोहितवादी दक्षिणाको मोटो रकममा मख्ख पर्थे, सामान्तवादी ईच्छापूर्तिले दंग । उनीहरूको स्वार्थ विनिमयले आफूहरू मालामाल त भए तर समाजले भने हालसम्म पनि त्यसको मूल्य चुकाउँदै आउनुपरेको छ ।

समाजमा उच, निच, छुत, अछुत, बालविवाह, अनमेल विवाह, बहुविवाह, सतीप्रथा जस्ता जेजति विकृतिका ऐंजेरु पलाएका थिए वा पलाएका छन् तिनका गर्भाधान यी दुवैवादको अन्तर सम्बन्धले गरेका हुन् । यसैका कारण जो–जो धनीमानी र टाठाबाठा वर्गमा पर्थे, उनीहरूले जेनतेन साख बचाउन सफल भए तर जो–जो श्रमजीवी, गरीब, निमुखा वर्गमा पर्थे उनीहरू भने सधै दलित र उत्पीडित नै रहे । उनीहरू न काञ्चनदान गरी पुरोहितवादलाई खुशी पार्न सक्थे, न चाहे अनुसारको कन्यादान गरी सामन्तवादलाई सन्तुष्ट पार्ने हैसियतमा थिए । अन्ततः विचराहरू हेर्दाहेर्दै अछुत बनेर पानी नचल्ने कित्तामा उभिन पुगे ।

सामान्तवादीहरू अक्षत योनी प्रिय भएकाले बालविवाहले प्रश्रय पाएको छ, क्षत योनीप्रतिको विकर्षणका कारण विधवा विवाह निषेध हुन पुगेको छ । उनीहरूका उपभोगवादी सोचका कारण बहुविवाहले मान्यता पाएको छ, उपयोगवादी सोचले सतीप्रथालाई निम्त्याएको छ । इतिहासमा एउटा पत्नीमा टिक्न सक्ने सामन्त बिरलै फेला पर्छन् । कृष्ण आफूलाई  धर्म स्थापनका लागि आएको हुँ भन्थे तर उनी आफैं १६ हजारभन्दा बढी पत्नी भित्र्याउन पछि पर्दैनथे । इन्द्र आफूलाई देवताका राजा मान्थे तर व्यवहारमा भने रातदिन दर्जनौं अप्सराकाबीचमा देखा पर्थे । बृहस्पति आफैं देवताका गुरु मानिन्थे तर भेटेमा भातृपत्नी पनि बाँकी राख्दैनथे । चन्द्रमा आफैं २८ वटी पत्नीका स्वामी थिए तर सँगसँगै गुरुपत्नीलाई पछ्याउन पनि पछि पर्दैनथे ।   

सूर्यवंशी राजा दशरथ, जो मर्यादा पुरुषोत्तम रामका बुवा हुन्, उनकै वैधानिक ३ वटा रानी थिए । कृष्णका बुवा वसुदेवले ७ वटी पत्नी भित्र्याएका थिए । (भागवत ९।२४।४५) । चन्द्रवंशी राजा शन्तनुले २ वटीमा चित्त बुझाएका भए पनि उनका छोरा विचित्रवीर्यले ३ वटी भित्र्याउन खोजेका थिए । जेठी अम्बाले विद्रोह गरेकीले मात्रै २ वटीमा चित्त बुझाएका हुन् । विचित्रवीर्य पुत्र (क्षेत्रज) पाण्डुका पत्नी पनि २ वटी नै छन् । उनका दाजु धृतराष्ट्र भने सायद अपाङ्गता भएर होला एउटैमा अडेका छन् । पाण्डकुुमारहरू कुनै पनि एउटैमा टिक्न सकेका छैनन् । अर्जुनका झण्डै आधा दर्जन पुगेका छन् । भीमसेनको झण्डै त्यस्तै अवस्था छ । अन्य भाइहरूका पनि २ वा सोभन्दा बढी पत्नी छन् । यी सबै पुरोहितवादका देन हुन्, जसलाई जुनसुकै बहानामा चोख्याउन खोजिएको भए पनि वास्तविकता यिनै हुन् ।

अहंकारवाद अर्को समस्या हो पुरोहितवादको । लाग्छ यी २ एकअर्काको पूरक हुन् । यिनीहरूले छाँयावत एकले अर्कोलाई पछ्याइरहेका हुन्छन् । प्रायः राजनीतिमा यो समस्या देखिन्छ । राजनीतिक दल वा तिनका नेताहरू आफूले भनेको, देखेको, जानेको र बुझेको मात्र सही हो भन्ने महारोगले ग्रस्थ छन् । उनीहरू न अरुको कुरा सुन्न चाहन्छन्, न सुन्ने फुर्सद नै छ । पुरोहितवादलाई पनि हेरौं न केमा कम देखिन्छन् र ? यस्तो कुरा गर्नु हुने हो कि होइन थाहा छैन तर भुक्तभोगीमा पंक्तिकार आफैं एक रहेको छ, जसको एकाध उदाहरण प्रस्तुत गर्ने अनुमति चाहन्छु । 

हालै आफ्नो फेसबूक वालमा सिन्धु सभ्यतामा असूरहरूद्वारा निर्मित ८०० भन्दा बढी नगर ध्वस्त पार्ने काम इन्द्रले गरेका थिए भन्ने उल्लेख गरेको थियो तर पुरोहितवादले त्यति पनि पचाउन सकेन । यसबापत कडै बाघ झप्पु खानुपरेको थियो त्यतिबेला उनीहरूको तर्फबाट । जब कि विषयको स्रोतमा विश्वविख्यात २ कृतिलाई लिइएको थियो । 

केही समयअघि अन्त्येष्टि कर्मसंस्कार झन्झटिलो भएकाले मानिसले छाड्दै जान थाले । कतिले यसैमा टेकेर धर्मान्तर बल्झाउन थाले । त्यसैले यसलाई न्यूनतम शास्त्रीय आधारमा टेकेर ५ दिनमा सक्न सक्ने प्रावधान खोजी गरौं भन्ने आशयको एकाध लेख प्रकाशित भएको थियो पंक्तिकारकै तर्फबाट तर पुरोहितवादले त्यसलाई पनि पचाउन नसकेर नानाभाँतीको आरोप लगाउन पुगेको थियो, जसको सम्झना अहिले पनि ताजै छ । 

यी केही उदाहरण हुन् पुरोहितवादको आडमा टिकेका सामाजिक समस्याका । खोजीपसे सयौं यस्ता उदाहरण भेटिन सक्छन् । जबसम्म पुरोहितवाद जीवित रहन्छ, तबसम्म हुने यस्तै हो । न बालविवाह र अनमेल विवाह रोकिन्छ, न बहुविवाह र दाइजोप्रथा नै ।  न छुवाछुत प्रथामा बन्देज लाग्छ, न उचनिच र धनी गरीबकै भेद छुट्टिन्छ । कानून पनि बन्छन्, संविधान पनि लेखिन्छन् तर पनि जल्ने जलिरहन्छन्, मर्ने मरिरहन्छन्, बग्ने बगिरहन्छन्, कराउने कराइरहन्छन्, गर्ने गरिरहन्छन् । अस्तु, सबमा चेतना भया !
 

कमल रिजाल
कमल रिजाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्