मृत्युअघि आइसोलेसनमा छट्पटाइरहे राजु; खबर गर्दा तपाईं डाक्टर कि हामी भनेर नर्सले थर्काउँथे !

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

१४ दिन क्वारेन्टीन र १३ दिन आइसोलेसनमा भर्ना भएपनि राजु सदाले ज्यान जोगाउन सकेनन् । धनुषाको हंशपुर नगरपालिका वडा नम्बर ७ नौवा खोर परसाही गाउँका १६ वर्षीय सदा उपचारका लागि चिकित्सकसामु हारगुहार गरिरहे, तर चिकित्सकले उनको केही पनि सुनेनन् ।

प्रादेशिक अस्पताल जनकपुरको कोभिड अस्पताल लेभल २ मा जीवनरक्षाका लागि भर्ना भएका राजु अस्पतालको बेडमा त कहिल्यै भुइँमै छटपटाइरहे । ज्यान रक्षाका लागि हारगुहार गरिरहे, तर चिकित्सकले उनको त्यो हार गुहारलाई बेवास्ता गरिरहे । अन्ततः असार ८ गते उनको अल्पायुमै मृत्यु भयो । 


Advertisement

परिवारको एक मात्र सहारा रहेका राजुको निधनपछि परिवारजन मात्र होइन, टोलभरिको सिंगो दलित समुदाय नै शोकमा डुबेको छ । राजुको निधन भएपछि असार १३ गतेसम्म आमा निलम देवीले खाना खाएकी छैनन् ।

राजुकी आमा र बहिनीहरू


Advertisement

एक्लो छोराको निधनपछि बेहोश हुने, मूर्च्छित हुने, कमजोरी हुने गरेको अवस्थामा उनका श्रीमान अशेश्वर सदाले जसोतसो सम्हालिरहेका छन् । १२ वर्षीया छोरी आरती, १० वर्षीया छोरी अमृता, ७ वर्षीया छोरी रजनीसहित आमा र बुवालाई समेत सम्हाल्नुपरेको छ, उनले ।

राजुका बुवा

भएको के थियो ?

गाउँका नातामा काका पर्ने १९ वर्षीय अरुण सदाका साथ १६ महिनाअघि राजु पनि भारतको मद्रास गएका थिए । त्यतिबेला जाँदा उनलाई उनको आमाले नरोकेकी पनि होइन् । ‘अहिले तिमी सानै छौ, अलिक ज्ञान समेत भएको छैन, नजाऊ भनेर मैले भनेकी पनि थिएँ,’ आमा निलम देवीले भनिन्, ‘बाहिर गएपछि ज्ञान बुद्धि समेत भइहाल्छ, र पैसा पनि कमाउनु पर्‍यो भन्दै गएको थियो ।’

डेढ धुर घडेरीमा सानो फुसको झुपडीमा कति दिन बस्ने, घडेरी किनेर आफ्नै घर बनाउन तथा पछि तीनजना बहिनीको बिहे गर्न पनि कमाउन बाहिर जानैपर्छ भन्दै राजु भारत गएका थिए । ‘बुवा एक्लैले सक्नुहुन्न, मैले पनि कमाउन जानैपर्छ भनेपछि हामीले रोक्न सकेनौं,’ उनले भनिन्, ‘त्यहाँ जाँदा उसले काम पनि राम्रो नै पाएको थियो ।’ 

मद्रासमा पिज्जाको काम गरिरहेका थिए । भारतमा पनि लकडाउन भएपछि त्यहाँ भोकभोकै बस्नुपर्ने स्थिति आयो । काम गर्ने कम्पनीले पनि कमाएको पैसा दिएन ।  पछि राजु र अरुण दुवैजना आफ्नो झोला प्याक गरेर घर आउनका लागि सडकमा निस्किए ।

‘सडकमा देखेपछि त्यहाँको प्रहरीले हामीलाई रेल्वे स्टेसनसम्म पु-याइदियो,’ अरुणले भने, ‘रेल फ्री थियो, हामीलाई बिहारको दानापुर स्टेसनसम्म ल्यायो ।’ फेरि त्यहाँको प्रशासनले बसको समेत टिकट कटाएर नेपालको सीमानाका जटहीसम्म पठाएको उनले बताए ।  

बिरामी भएपछि क्वारेन्टीनमा घरबाटै खाना

जेठ १४ गते उनीहरू घर आएका थिए । त्यसैदिन साँझ उनीहरू दुवै जनालाई गाउँको स्वास्थ्य चौकीमा सञ्चालित क्वारेन्टीनमा राखियो । क्वारेन्टीनमा भर्ना भएको तीन दिनसम्म राजुलाई ठिकै थियो, तर त्यसपछि उनलाई पखाला लाग्ने तथा टाउको दुख्ने समस्या हुन थाल्यो । अनि त्यहाँ राजुलाई जीवनजल दिने र केही ट्याबलेट दिएपछि निको भएको अरुणले बताए ।

‘क्वारेन्टीनमा पकाउने खानामा कहिल्यै भात, कहिले दाल त कहिले तरकारी काँचो हुने भएका कारण मैले र राजुले घरबाट नै खाना मगाएर खाने गरेका थियौं,’ अरुणले भने ।

करीब १० दिनसम्म उनीहरूका लागि खाना घरबाट नै पकाएर क्वारेन्टीनमा पुर्‍याएको राजुकी आमाले बताइन् । ‘छोराले यहाँ खाना राम्रो तरिकाले पाक्दैन, घरबाट नै पकाएर ल्याइदिनु भनेपछि दुवै समयको खाना पकाएर पुर्‍याउने गथ्र्यौं,’ उनले भनिन्, ‘खाना लिएर जाँदा हामीलाई धेरै टाढा नै बस्न भन्थे, कुराकानी समेत राम्रो तरिकाले हुन पाउँदैनथ्यो ।’

जेठ २७ गते र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा राजु र अरुणको पोजेटिभ आएको थियो । हंशपुर नगरपालिकाका उपप्रमुख रेणु झाले भनिन्, ‘आरडीटी पोजेटिभ भएपछि २८ गते उनीहरू दुवै जनालाई प्रादेशिक अस्पताल जनकपुरको कोभिड विशेष अस्पतालमा पठाएका थियौं ।’

उनीहरूलाई पठाउनका लागि एम्बुलेन्स समेत पाइएन, टिप्परमा राखेर लगियो ।

‘यहाँ उपचार हुँदैन, जनकपुरको प्रादेशिक अस्पतालमा उपचार भएपछि घर फर्किन्छ भनेर मेयर सा’बले आश्वासन दिएका थिए,’ राजुकी आमाले भनिन्, ‘हामी पनि उपचार भएपछि ठीक हुन्छ भन्ने आशामा बस्न बाध्य भयौं । ’

आइसोलेसनमा उपचार नभएपछि आमाले घरबाटै पठाइन् जीवनजल

तर, जनकपुरको आइसोलेसनमा भर्ना भएका राजुलाई पखाला लाग्ने तथा कमजोरी फिल हुने क्रम बढ्यो । आइसोलेसनमा समेत एउटै कोठामा राजुसँगै बसेका अरुणले भने, ‘हामीले त्यहाँ रहेका नर्सलाई पटक–पटक फोन गरेर पखाला लागेको भनेर भन्दा समेत कुनै सुनुवाइ नै गरेनन् ।’


उनले थपे, ‘स्लाइनपानी चढाइदिनुस्, धेरै कमजोरी भयो भनेर फोनमा भन्दा समेत नर्सले डाक्टर हामी हो कि तिमीहरू हो भनेर हप्काउने मात्र गर्थे, उपचार गर्न मानेनन् ।’

त्यसपछि राजुले आमालाई फोन गरेर आफूलाई उपचार नगरेको र कोठामा थुनेर मात्र राखेको बताए ।

‘छोराले पखाला लागेको छ, जीवन जल पठाइदिनुस् भनेपछि गाउँमा ३ वटा जीवनजल किनेर पठाएको थिएँ,’ राजुकी आमाले भनिन्, ‘दुईतीन दिनपछि झनझन् अवस्था खराब हुन थाल्यो, तर कुनै पनि दिन नर्स वा डाक्टर भने भित्र गएर उनीहरूको उपचार नै गरेनन् ।’ 

कोठामा सँगै रहेका अरुणले नै राजुको स्याहारसुसार गर्ने गरेका थिए । ‘लुगा फेरिदिनेदेखि खाना खुवाइदिनेसम्मको काम त्यहाँ मैले आफैंले गर्थें,’ अरुणले भने, ‘स्थिति बिग्रँदै गयो, उनी बेडमा त कहिल्यै बेडमुनि भुइँमा छट्पटाउन थालेका थिए । ’ 

फोन गरेर नर्सलाई भन्थ्यौं, सीसीटिभी क्यामेराबाट उनीहरूले हेर्थे, तर उपचार गर्न भित्र कहिल्यै आएनन् । ‘राजु बोल्न सक्ने अवस्थामा थिएनन्, राजु–राजु भनेर बोलाउँदा पनि बोल्न सकेका थिएनन्,’ अरुणले भने, ‘छटपटाइरहेका उनको भिडियो बनाएर फेसबूकमा राखिदिन्छु भनेपछि मात्र उनीहरूले कुरा सुने ।’ त्यस्तो अवस्था हुँदा समेत उनीहरू भित्र भने आएनन् ।

गाउँबाट राजुका काका राजेश्वर सदा र फुफू समेत त्यति बेलासम्म त्यहाँ पुगिसकेका थिए । ‘म र मेरो कोठामा रहेका एकजना अभिनाश भएर राजुलाई उठाई गेटबाहिर ल्यायौं,’ त्यहाँ उनीहरूले बल्ल स्लाइनपानी चढाए, अनि अब यसको उपचार यहाँ हुँदैन, बाहिर लग्नुस् भने,’ अरुणले लोकान्तरसँग भने, ‘त्यसपछि हामी तीनैजनाले राजुलाई बोकेर बाहिर दुईवटा अस्पतालमा लग्यौं, तर कुनै पनि अस्पतालले भर्ना लिएनन् ।’

राजुलाई प्रादेशिक अस्पतालको इमरजेन्सीमा लैजान भनियो । राति ८ बजेतिर उनलाई प्रादेशिक 

‘इमरजेन्सीमा भर्ना भएपनि यहाँ उपचार हुँदैन, धरान लिएर जाऊ भनिरहे, उपचार त्यहाँ पनि गरेनन्,’ राजुका काका राजेश्वर सदाले भने, ‘त्यही राति २ बजे राजुको मृत्यु भयो ।’

मृत्यु हुनेबित्तिकै आफूहरूलाई धम्क्याउन थालिएको मृतकका आफन्तहरू बताउँछन् ।

‘लास लिएर जाऊ, नत्र मुद्दा लाग्छ भनेर त्यहाँ रहेका नर्सहरूले धम्क्याउन थाले, हामी डरायौं,’ राजुका काकाले भने, ‘उनीहरूले नै एम्बुलेन्सलाई फोन गरेर बोलाए । ४ हजार रुपैयाँमा एम्बुलेन्सले पुर्‍याउने भनेपछि ४ बजे बिहान शव लिएर हामी आफ्नो घर फर्कियौं ।’

उनले थपे, ‘गाउँकै गिरहत (साहु) शैलेन्द्र महाजनबाट ४ हजार रुपैयाँ कर्जा लिएर एम्बुलेन्सलाई भाडा तिर्यौं ।’ 

उनको अन्तिम संस्कार गरियो । हजुरबुवा सुखना सदाले दागबत्ती दिए ।

हजुरबुवा
प्रादेशिक अस्पतालको लेभल २ कोभिड विशेष अस्पतालमा कतिसम्म लापरवाही हुनेगर्छ भन्ने कुराको उजागर यसले गरेको छ ।​

‘लेभेल अफ केयर’ बढाउँदा पनि बचाउन सकिएन : अस्पताल

प्रादेशिक अस्पतालको आइसोलेसन विभागका फोकल पर्सन डा. कुलदीप पण्डितले अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई असार ११ गते उक्त घटना सम्बन्धमा प्रतिवेदन बुझाएका छन् ।

‘जेठ २९ गते क्वारेन्टीनबाट रेफर भई आइसोलेसनमा भर्ना भएकै दिन पीसीआर स्वाब संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो,’ पंडितले बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘यहाँ आउँदा सामान्य झाडाबान्ता देखिएपनि ३ दिनको उपचारपछि निको भएको थियो ।’

बिरामीको मानसिक अवस्था राम्रो नभएकाले फिजिसियन तथा मनोरोग विशेषज्ञ दुबै चिकित्सकबाट उनको ल्याब रिपोर्ट हेर्दा ‘मेनिनजोसेफ्लाइटिस’ अनुसार उपचार गरिँदै आएको पण्डितले बताएका छन् । बिरामीको चेत अवस्था कम हुने, छट्पटाउने, बाउँडिने जस्ता लक्षण हप्तौंसम्म रहेका कारण इन्सेफलाइटिसको लक्षण रहेको तथ्यअनुसार असार ६ गते अस्पतालका वरिष्ठ चिकित्सकको नेतृत्वमा उपचार गरिएको उनले उल्लेख गरेका छन् । असार ८ गते पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनलाई प्रादेशिक अस्पतालको इमरजेन्सी कक्षमा स्थानान्तरण गरेर ‘लेभल अफ केयर’ बढाएर उपचार गरिएको उनले उक्त प्रतिवेदनमा उल्लेख गरेका छन् । 

‘लामखुट्टेको टोकाइबाट सर्ने उक्त इन्सेफ्लाइटिस रोग भारतको बिहारमा हुने गरेको तथा बिरामी उक्त इलाका भई नेपाल आएका कारण उक्त रोग हुन सक्ने लक्षण देखिएको थियो,’ पण्डितले प्रतिवेदनमा भनेका छन्, ‘उक्त रोगको कुनै विशेष उपचार नभएको अवस्थामा यथेष्ठ अन्य उपाय अवलम्बन गर्दा समेत बिरामीलाई बचाउन सकिएन ।’    

घटनाको विरोध भएपछि प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ ।

सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक हरिशचन्द्र साहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । 

प्रदेश सरकारले मृतक परिवारलाई राहतस्वरूप ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताएका छन् । 

घटनाको छानबिनका लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य सेवा विभागका डा. अमृतकुमार पोखरेल, नेपाल मेडिकल काउन्सिलका तर्फबाट डा. खुश्बु प्रिया मिश्रको संयोजकत्वमा गठित छानबिन समितिले समेत स्थलगत अध्ययन गरेको छ ।

सम्पत्तिको नाममा डेढ धुर जग्गामा फुसको झुपडी बनाएर बस्दै आएको उक्त परिवार बाहिर ऐलानी जग्गामा पोलिथिनको पाल झुण्ड्याएर सुत्ने गरेको छ ।

घटनापछि नगरपालिकाका मेयर, उपमेयर वा कुनैपनि जनप्रतिनिधि हालसम्म उक्त परिवारलाई भेट्न नआएको मृतक राजुका बुवा अशेश्वरले बताए ।

छानबिन समितिको टोली

(यो रिपोर्ट फ्रीडम फोरमसँगको सहकार्यमा तयार पारिएको हो ।)

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्