कार्डमाथि कार्ड फाल्दै ओली, अब पनि बन्द होला बोली ?

ईश्वर अर्याल
ईश्वर अर्याल

पत्रकार अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा रिपोर्टिङ गर्छन् ।

चौतर्फी दबाबमा घेरिनुपरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार बालुवाटारबाट एउटा 'फायर' खोले । आफूलाई पदबाट हटाउन खोज्ने भारतीय दलाल भएको आशयका साथ उनले 'एम्बेसी' र होटेलहरूमा आफूविरुद्ध चलखेल भइरहेको सुनाए ।

बहालवाला प्रधानमन्त्रीले औपचारिक कार्यक्रममै छिमेकी देशको एम्बेसीलाई आफ्नो सरकार ढाल्न चलखेल गरेको आरोप लगाएको सम्भवत: नेपालको इतिहासमै पहिलोपटक हो । प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले कूटनीतिक रूपमा नेपाललाई कति क्षति पुर्‍याउँछ भनेर अहिल्यै आकलन गर्न सकिने अवस्था छैन ।


Advertisement

कूटनीतिज्ञहरूले प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति सीमाभन्दा बाहिरको भनी गरेको टिप्पणी लोकान्तरमा आइतवार नै प्रकाशित भएको थियो ।


Advertisement

ओलीको अभिव्यक्तिलाई लिएर आइतवारदेखि नै भारतीय मिडिया तातेको छ । 'चीनका गुलाम' भनेर भारतीय मिडियाले नेपाललाई पहिल्यैदेखि भन्दै आइरहेका थिए । नेपाल-भारतका नागरिकहरूको जनस्तरको सम्बन्धमा यस्ता प्रोपागाण्डाहरूले धेरै असर गर्ने गरेका छन् ।

जसरी तत्कालीन राजा महेन्द्रले आफूलाई शक्तिमा राख्न प्रयोग गर्ने गरेको भारत र चीन कार्डले अहिले ५५-६० वर्षपछि पनि हामीलाई झस्काइरहेको छ, त्यसै गरी ओलीले आज नाघेको कूटनीतिक मर्यादाले हाम्रो नाति पुस्तासम्मलाई असर पार्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

यो समाचार टिप्पणीको उद्देश्य सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्तिसन्तुलनको आलोकमा आएको ओली अभिव्यक्तिमाथि चिरफार गर्नु हो ।

चारवटा मोर्चामा एकैपटक लडाईं, खराब कमाण्ड !

यतिबेला देश कोरोना महामारीको चपेटामा छ । देशको अर्थतन्त्र ध्वस्त भएको छ । कतिपय विज्ञहरूको अनुमानलाई आधार मान्ने हो भने असारको अन्त्यसम्म विदेशबाट आउनेहरूको संख्या १२ लाखको हाराहारीमा हुनेछ । नेपालको श्रमबजार व्यवस्थापन नीति पहिलेदेखि नै ध्वस्त छ ।

सलह किराले आतंक फैलाएको छ भने मौसममा भर पर्ने 'कृषि क्षेत्र उठ्नै नसक्ने गरेर ध्वस्त बनाइएको रहेछ' भन्दै कृषिमन्त्री घनश्याम भुसालले सार्वजनिक रूपमै भनिसके । सरकारको पहिलो लडाईं कोरोनाविरुद्ध केन्द्रित हुनुपर्छ र छ पनि । कोरोनाविरुद्धको लडाईंमा सरकार खरो उत्रन सकेको छैन, आधारभूत समस्याहरू देखिएका छन् ।

दोस्रो केपी ओलीले पार्टीभित्रै मोर्चाबन्दी लडाईं लडिरहेका छन् । 'एकलौटी र स्वेच्छाचारी' बनेको भन्दै पार्टीभित्रैका नेताहरूले उनीविरुद्ध फायर खोलेको धेरै पहिलादेखि हो । कुरा राजीनामासम्म पनि पुगेको छ । चालू स्थायी कमिटी बैठकमा नेताहरूले उनको राजीनामा माग्ने पक्का छ । उनले कहिले 'आत्मालोचना'को कार्ड त कहिले वामदेव कार्ड फ्याँकेर आफ्नो बचाउ गर्दै आएका छन् ।

तेस्रो यतिबेला भारतसँगको सीमा विवादमा सरकार अल्झेको छ । अद्यावधिक नक्सामा समेटिएका नेपाली भूमि व्यावहारिक रूपमै फिर्ता ल्याउन भारतसँगको वार्ता नै अन्तिम विकल्प रहेकोमा दुईमत छैन ।

ओलीकै शब्दमा भन्ने हो भने नक्साले संवैधानिक मान्यता पाएपछि नेपाल 'पोइन्ट अफ नो रिटर्न'मा पुगेको छ । यतिबेलै ओलीले भारतीय दूतावासले आफ्नो सरकार ढाल्न खोजेको भन्दै औपचारिक रूपमै भनेपछि वार्ताको वातावरण बिथोलिएको छ । 'फर्किनै नसक्ने बिन्दूमा पुगेपछि सही रणनीति अपनाइएन भने त्यो आत्मघाती सावित हुन्छ,' नेकपाकै एक स्थायी कमिटी सदस्यले भने ।

चौथो केपी ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी)माथि मरिहत्ते गरेका छन् । एमसीसीको विरोध गर्नेहरूलाई 'अनपढ' भन्दै आफ्नै पार्टीका नेताहरूलाई उनले चिढ्याइरहेका छन् । एमसीसीको पक्षमा हुनु अमेरिकाको दाहिना हुनु हो भन्ने ओलीको बुझाइ रहेको देखिन्छ ।

विडम्बना के छ भने ओली लडिरहेको चारवटै मोर्चामा आम नागरिकको जनजीविकाको सवाल कहीं कतै एकरत्ति पनि उठेको छैन । कोरोनाको पीसीआर टेस्ट प्रतिदिन १० हजार पुर्‍याउने घोषणा गरिएको उहिल्यै हो तर पछिल्लो २ दिन त ६ हजारबाट पनि झरेर ४ हजारमा पुग्यो ।

जीवनजल नपाएर नागरिकहरूले क्वारेन्टाइनमै मृत्युवरण गरिरहेका छन् । तराईका मुसहर बस्तीका बासिन्दा नुन दलेको आँप खाएर दिन बिताउन बाध्य छन् ।

लाखौं दैनिक ज्यालादारी मजदूरको गाँस काटिएको छ ।

ओलीलाई पार्टीभित्र 'कोर्ट मार्शल' !

युद्ध मोर्चाको सही ढंगले नेतृत्व लिन नसक्ने कमाण्डरमाथि 'कोर्ट मार्शल' गरिन्छ, किनकी उसको हातमा सिंगै देशको भविष्य हुन्छ । सानो गल्तीले पूरै देश नै हार्नुपर्ने स्थिति आउँछ । गल्ती कहाँ, किन र कसरी गरियो भनेर सम्बद्ध निकायले छानबिन गर्छ । गल्ती परिस्थितिजन्य हो कि नियतजन्य हो भन्ने कुराको छानबिन हुन्छ ।

नेकपाको स्थायी कमिटी बैठकमा पनि यी कुराहरू उठेका छन् । विवादित अध्यादेश प्रकरण, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार जस्ता विषयहरूमा ओलीलाई प्रश्न सोध्न भनेर नेकपाका स्थायी कमिटी सदस्यहरू तम्तयार भएर बसेको स्थिति छ । तर अप्ठेरो के छ भने उनी बैठकमा सहभागी नै हुँदैनन् ।

उनलाई बैठकमा सहभागी हुन रुलिङ गर्ने पार्टीभित्रको निकाय के हो ? विधानले स्पष्ट गरेको छैन । उनी चाहे बैठकमा बस्न सक्छन्, नचाहे उठेर हिँड्छन् । उनले चाहे बैठक बोलाइन्छ, नचाहे बोलाएका बैठक पनि स्थगित हुन्छन् । पार्टीभित्र उनलाई कुनै बन्देज छैन ।

नाम उल्लेख नगर्ने शर्तमा एक केन्द्रीय कमिटी सदस्य भन्छन्, 'चर्चित र्यापर भीटेनको हामी त यस्तै त हो नि ब्रो ! शैली देखिन्छ ओलीको ।'

खै काउन्टर स्ट्र्याटिजी ?

पार्टीभित्र ओलीइतरको शक्ति बलियो छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ सबै ओलीविरुद्ध एकजुट छन् ।

यो समूहमा 'काउन्टर स्ट्र्याटिजी' देखिएको छैन । ओलीले कार्डमाथि कार्ड खेलिरहँदा उनीइतर समूहको बोली नै बन्द हुने गरेको छ ।

सरकारको सामान्य आलोचना गर्ने, केही मुद्दाहरूमा प्रश्नको जवाफ खोज्नेबाहेक अध्यक्ष प्रचण्डले सम्हालेको मोर्चा खरो उत्रन सकेको छैन ।

गत वैशाखको दोस्रो र तेस्रो साता नेकपाभित्रको शक्तिसंघर्ष उत्कर्षमा पुगेको थियो । त्यतिबेला सरकार र पार्टीको कमाण्ड छोड्न ओलीलाई दबाब परेको थियो । ओलीले सचिवालय बैठकमै राम्रो 'विकल्प' दिन सके म राजीनामा गर्छु भनेर स्वीकारेका थिए ।

जतिबेला ओलीले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरे, त्यतिबेला ओलीइतरको समूहमा सन्नाटा छाएको थियो ।

विना कुनै विकल्प राजीनामा मागिनु उनीहरूका लागि घातक सिद्ध भयो । शक्तिशाली मानिएको ओलीइतरको समूह 'चिसै पानीले नुहाउन' बाध्य भएको थियो ।

फेरि पनि चिसै पानी !

कुनैबेला सचिवालय बैठकमा आफूले राजीनामा गर्ने भनेर उद्घोष नै गरिसकेका ओली यतिबेला पार्टीभित्र एकछत्र बनेका छन् । पछिल्ला केही सातायता उनी पार्टीभित्र हावी बन्ने पोजिसनमा पुगे ।

‘यतिबेला प्रधानमन्त्री ओलीसँग अस्त्र नै अस्त्र छ,’ बालुवाटारनिकट स्रोत भन्छ, ‘सहमतिमा आउने हो भने पावर सेयरिङ गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ । बहुमतको डण्डा देखाएर तर्साउन खोज्ने हो भने त्यसको सामना गर्न संसदीय दल र स्थायी कमिटी दुवैमा उहाँ तयार हुनुहुन्छ ।’

९ सदस्यीय सचिवालयमा उपाध्यक्ष गौतम र नारायणकाजी श्रेष्ठलाई आफूतिर तान्ने हो भने यतातिर जस्तोसुकै परिस्थितिमा पनि अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेताद्वय खनाल र नेपाललाई मिचेर अघि बढ्न सकिने बुझाइ ओलीको छ ।

दुई दिनसम्म स्थायी कमिटी बैठकमा उपस्थित नभएका ओलीले 'राजीनामा दिन्नँ' भन्ने सन्देश दिन स्वर्गीय मदन भण्डारीको जन्मजयन्ती नै किन कुर्नुपर्‍यो ? यो प्रश्नको जवाफ रणनीतिक देखिन्छ ।

उनले बैठकमा राजीनामाको प्रसंग उठ्ने र त्यसलाई नेताहरूकै अगाडि प्रतिवाद गर्नुभन्दा जनताका अगाडि प्रतिवाद गर्नु सही र उपयुक्त ठाने । आफ्नो राजीनामा माग गर्नेहरू 'भारतीय गोटी' हुन् भन्ने भाष्य स्थापित गर्न ओलीले रणनीतिक वक्तव्य दिएको प्रष्ट देखिएको छ ।

काउन्टर स्ट्र्याटिजी नभएको ओलीइतरको गठबन्धनलाई फेरि पनि चिसै पानीले नुहाउन बाध्य गराउन सकिने बालुवाटारको बुझाइ छ ।

समय आएपछि कडा बन्छौं - अष्टलक्ष्मी शाक्य

ओलीविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै आएका नेकपाकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई हामीले तपाईंहरूको काउन्टर स्ट्र्याटिजी खै ? भनेर हामीले प्रश्न गरेका थियौं । 

उनले लोकान्तरसँग भनिन्, 'भारतसँगको सीमा विवाद हल गर्ने विषयमा हामीले सरकारलाई साथ दिइरहेका छौं । तर त्यस्ता धेरै मुद्दाहरू छन् जसको समीक्षा जरुरी छ । त्यो विषय बैठकमा प्रवेश गरेपछि हामी कडा रूपले प्रस्तुत हुन्छौं ।'

बैठकमै नआउने, आएपनि एकछिन मुख देखाएर हिँड्ने ओलीको शैली शाक्यलाई मन परेको छैन । 'उहाँलाई अन्त जान गाह्रोसाह्रो पर्ला भनेर हामीले बालुवाटारमै बैठक राखौं भनेका हौँ,' उनले भनिन्, 'तर बैठकमै नआउने, आएपनि एकछिन मुख देखाएर हिँड्ने । यस्तो शैली मन परेको छैन र यसका विरुद्धमा हामीले आवाज पनि उठाएका छौं ।'

शाक्य अहिले नेकपाभित्र शीर्ष नेताहरूबीचको शक्तिसंघर्ष भन्दा पनि सरकार र पार्टी सञ्चालनको कार्यशैली सही नभएकाले समस्या आएको बताउँछिन् ।

लोकान्तरसँग उनले भनिन्, 'अहिलेको समस्या प्रधानमन्त्रीको स्वेच्छाचारी शैलीका कारण देखिएको हो । त्यो सच्याउने हो भने आधा समस्या हल हुन्छ । बाँकी पार्टी एकीकरणका सन्दर्भमा आएका केही प्राविधिक समस्याहरू छन्, त्यो त सहमतिमै हल हुन सक्छ ।'

शाक्यको भनाइमा विश्वास गर्ने हो भने ओलीइतर समूहको राजनीतिक 'पोजिसन' अहिले पनि कमजोर देखिन्छ । यही कमजोरीको फाइदा उठाएर बालुवाटारले फेरि पनि कुनै अर्को कार्ड खेल्न सक्छ र त्यसको अनुमान प्रचण्ड-नेपाल समूहलाई हुनेछैन ।

ईश्वर अर्याल
ईश्वर अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्