×

NMB BANK
NIC ASIA

राजेश हमाल महानायक हुन् कि हैनन् भन्ने विषयमा अब नेपालमा 'गृहयुद्ध' नै हुन्छ कि भन्ने खतरा पैदा भैसकेको छ । राजेश हमालको पक्षमा पुराना जमानाका कलाकारहरू एकाएक जुर्मुराएर युट्युबदेखि टेलिभिजन अन्तर्वार्तासम्ममा बोल्न थालेका छन् । राजेश हमालको डायलग सुनेर हुर्किएका युवाले सामाजिक सञ्जालमा आगो नै सल्काएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

चलचित्रमा प्राय: गुण्डाको रूपमा उपस्थित हुने राजेन्द्र खड्गीले त राजेश दाइजस्तो हिरो अब यो धर्तीमा कहिल्यै पैदा नहुने भनेर ठोकुवा गरिसकेका छन् । राजेन्द्र खड्गीलाई कुनै जमानामा हेटौंडामा हातले हानेर राँगो ढालेको आरोप लागेको थियो । राजेश दाइको फाइट कहिलेकाहीँ साँच्चिकै लाग्दा रिस उठेपनि उनले महानायक राजेश हमाल नै हो भनेर च्यालेञ्ज दिएका छन् । दीपाश्रीलाई सानो फुच्ची बैनी, दाइ–दाइ भन्दै अस्तिसम्म चोभारमा छायांकन गरेको हेर्न आउने नानी भनेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महिला भनेर हेपेको होला नि, भनेर दीपाश्री निरौलाका पक्षमा पनि उनका निकटका मानिसहरू सामाजिक सञ्जालको लडाइँमा व्यस्त छन् । 'यूएस पटक–पटक गएकी तर अमेरिका पहिलोपटक पुगेकी' एकजना नायिका पनि दीपा दिदीको समर्थनमा उत्रिएकी छन् । पत्रकारले आफ्नो टीआरपी बढाउन उल्टोसुल्टो प्रश्न गर्ने भएकाले अबदेखि चनाखो हुन दीपकराज गिरीले तमाम कलाकार जगतलाई उपदेश दिएका छन् । घुमाउरो तरिकाले दीपालाई काखी च्याप्नु दीपकको कर्तव्य होला । 


Advertisment
SBL

यो कुरा सत्य हो कि, रेडियो नेपालको धनियाँ र नेपाल टेलिभिजनमा एक हास्य कलाकारको रूपमा ख्याति कमाएकी दीपाश्री निरौलाको हाड नभएको जिब्रो चिप्लियो वा योगा ध्यानमा समाहित हुन नसकेको आत्मा भड्कियो त्यो त पशुपतिनाथ नै जानुन् तर उनले राजेश हमाललाई जनताले माया, सम्मान र प्रेमका साथ दिएको उपाधि 'महानायक' माथि प्रश्न उठाउने उनको कुनै हैसियत थिएन । उनको त्यस प्रकारको हैसियत निर्माण भैसकेको भए सामाजिक सञ्जालमा आगलागी हुने थिएन । आगलागी निभाउने दमकल अझैसम्म भेटिएको छैन ।

Vianet communication
Laxmi Bank

दीपाश्रीको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा उपेन्द्र पौड्याल नामका एक व्यक्तिको आक्रोश छ, 'दीपाका लागि महानायक भनेपनि महामानव भनेपनि केवल दीपकराज गिरी हो ।' उनको  स्टाटसमा थप कुरा पनि उल्लेख छ, जसलाई यहाँ उद्धृत नगरौं ।

सामाजिक सञ्जालमा यस्ता आक्रोश लाखौं छन् । त्यस्तै शर्मिला रोका नाम गरेकी नानीले फेसबूकमा लेखेकी छन्- 'दीपाश्री तिम्रो अभिनय हामीले हेरेका छौं । गोठको भैँसी पनि हामी आफैँ हेर्ने गरेका छौं । अति भयो, एकपटक आफ्नो अनुहार ऐनामा हेर्नुहोला ।'

दर्शकका यस्तै आक्रोश देखेर हाल दीपाश्री निरौलाजी 'पेनिक' भएकी छन् र उनमा एक प्रकारको डिप्रेसन देखा परेको चलचित्र जगतको बारेमा लेखिरहने केही पत्रकार मित्रहरू बताउँछन् । यो कुरा साँचो भएर नै होला दीपाश्री निरौला निकटका केही कलाकारहरूले उनको पक्षमा फेसबूकमा स्टाटस लेखिरहेका छन् । नायिका केकी अधिकारीले त महिला भनेर दीपाश्री दिदीलाई नहेप्न भनेर कताको कुरा कता पुराएर मोडेकी छिन् । म गर्छु आग्राको कुरा, तिमी गर्छौ गाग्राको कुरा भनेजस्तो छ केकीको बचाउ ।

के दीपाश्री निरौला राजेश हमालको बराबरी हैसियतमा पुगेकै हुन् त ? अथवा उनी चलचित्र निर्मात्री भैसकेपछि अन्य महानायकहरू जन्मिएका हुन् त? दर्शकले भनेजस्तै दीपाका लागि महानायक अर्कै व्यक्ति हुन् त ? यस्ता प्रश्नहरू पनि जन्मिएका छन् । तर दर्शकको मात्रै कुरा हैन यो विवादपश्चात मिडियामा आएका दर्जनौं चलचित्रकर्मी तथा निर्माता/निर्देशकले दीपाले आफ्नो मुखमा आफैँ थुकेकोसम्म भन्न भ्याएका छन् । यसरी अचानक विवादमा तानिएपछि दीपाश्री निरौलाको जीवन नै 'छक्कापञ्जा' जस्तो भएको छ ।

नेपाली चलचित्र विकासका लागि धेरै योगदान दिएका तथा कलाकार समेत रहेका युवराज लामाको कथन पनि यस्तै थियो । केही चलचित्र चल्यो भन्दैमा आफू कहाँबाट आएको हो, आफ्नो धरातल के हो र नेपाली चलचित्र यहाँसम्म कसरी आइपुग्यो भनेर नबिर्सिन दीपाश्री निरौलालाई उनले अनुरोध गरेका छन् । उनले भनेका छन्- राजेश हमाल कलाकार (हिरो) मात्र हैन उनको जस्तो पर्सनालिटी अरू सिनेमाकर्मीको नभएको उनको तर्क छ ।

मेरो पनि यही तर्क छ । दीपाश्री निरौलाले अग्रजको सम्मान गर्न सिक्नुपर्छ । अलिकति घमण्ड, अलिकति दम्भ जो छ, त्यो त्याग्नुपर्छ । कोही पनि मानिस सदाबहार हुन सक्दैनन्, तर पक्कै नायकत्व ग्रहण गर्न सक्छन् । आफ्नो आयतन अनुसारको परिधि निर्माण गर्नु राम्रो हो । म कुनै नेपाली चलचित्रको विश्लेषण गर्न सक्ने रंगकर्मी नभए पनि बाघले नचिनेको वन हैन, वनले नचिनेको बाघ हैन । नेपाली चलचित्रको सन्दर्भमा राजेश हमालको महानायकत्वको सन्दर्भमा कुनै दुईमत रहनु हुँदैन । उनले महानायकको उपाधि प्राप्त गरिसकेका छन्, आफ्ना प्रिय दर्शकको मायाबाट । महानायक भाग दुई यही शताब्दीमा जन्मिन्छ भन्नेमा मलाई कुनै भरोसा छैन ।

नायकत्व के हो? मानिसले कतिखेर नायकत्व प्राप्त गर्छ? र कसले दिन्छ उसलाई नायकत्व ? के मदन भण्डारी वास्तवमा जननेता नै थिए त ? जननेताको पगरी मदन भण्डारीलाई कोमार्फत मिल्यो? सरकारले दियो कि राज्यले दियो कि ? हैन मदन भण्डारीलाई जननेता भनेर जनताले भन्यो, जनताले नै दियो जननेताको उपाधि । बीपी कोइरालालाई पनि जननायक भन्ने गरिन्छ । कसरी भए बीपी कोइराला जननायक ? कसले दियो उनलाई जननायकको उपाधि ? हो बीपी कोइरालालाई पनि जनताले नै दिएको हो जननायकको उपाधि । यसरी नै राजेश हमाललाई जनताले महानायकको उपाधि दिएका हुन् ।

जतिखेर कुनै मानिस निर्विकल्प हुन्छ, ऊ आदर्शवादी हुन्छ, उसको कुराहरूमा जनता भुल्छन् र त्यो न्यायोचित हुन्छ, जो जनतालाई मार्गदर्शन दिन लायकको हुन्छ र आफ्नो कलामार्फत निरन्तर योगदान दिन्छ भने उसले एक न एक दिन नायकत्व प्राप्त गर्छ । यस्तो किसिमको नायकत्व भ्रम वा जालझेलबाट निर्माण हुन सक्दैन । लामो त्याग, तपस्याबाट प्राप्त हुन्छ ।

यस्तो पनि भनिन्छ, कुनै जमानमा राजेश हमालको नामले मात्रै, फोटोले मात्रै पनि चलचित्र हलभित्र दर्शकको भीड हुन्थ्यो । यसरी एउटा नायकत्व प्राप्त गरेको कलाकारको फोटोसँग पनि दर्शकको प्रेम हुन्छ र फोटोले पनि अभिनय गर्छ । यसरी एउटा कलाकारले नायकत्व प्राप्त गर्छ ।

राजेश हमालद्वारा अभिनित चलचित्र हामी तीन भाइ, वसन्ती, ढुकढुकी, देउता, देउकीजस्ता पुराना चलचित्र हेरेको थिएँ । राजेश हमाल अभिनित चलचित्रको गीत 'रातो टीका निधारमा टलक्कै टल्कियो' निकै मन पर्छ । यो अल्लारे चलचित्रको गीत हो । यस्ता दर्जनौं चलचित्रले राजेश हमालको नायकत्व निर्माण गरेको हो । उनको जिवन्त अभिनयले उनलाई निर्विकल्प नायकत्व प्रदान गरेको छ ।

कला भनेको जिवन्त हुनुपर्छ । पुराना चलचित्रमा नोकरदेखि गुण्डा र ड्राइभरसम्मका सबै पात्रको चर्चा हुन्थ्यो । तिनका कलाकारिताको कुरा हुन्थ्यो । तिनका जिवन्त अभिनयको प्रशंसा हुन्थ्यो । अर्थात्, त्यतिखेर कलाकारको अभिनय हेर्न चलचित्र हलमा जान्थे दर्शकहरू । यतिखेर दर्शकहरू भुवन केसीको छोरा हेर्न चलचित्र हलमा जाने गर्छन् । अनमोलले अभिनय जस्तोसुकै झुर गरोस्, तर भुवन केसीको छोरा हो, हेर्नैपर्छ । तर यो अनमोल भन्ने केटो न मान्छे हेर्दा हिरो जस्तो छ, न यो फुच्चे केटाको अभिनय नै जिवन्त छ ।

दीपाश्री निरौलाको कला पनि देखिएकै छ । राजेश हमाल एउटा संस्था हो । ऊ हाल चलचित्रमा अभिनय गरेको होस् वा आराम गरेर बसेको होस्, नेपाली चलचित्र जगतको एउटा अजर-अमर पात्र हो । र, यस्तो पात्रको निर्माण केवल उसको अभिनयका कारण हैन, उसको पर्सनालिटी अर्थात् व्याक्तित्व, उसको अध्ययन, उसको छवि, उसको शैलीका कारण पनि ऊ दर्शकको मनमा सदैव नायकको रूपमा बसिरहेको छ ।

आजभोलि एउटा गीतमा नाँच्यो, गीत हिट भयो । नायक/नायिका भयो । त्यहाँ कुनै जिवन्त अभिनयको खाँचो परेन । कुनै कलाको जरुरत भएन । नाँच्यो, पुग्यो । यसकारण आजभोलिका नयाँ कलाकारहरू मलाई केबल डान्सरजस्तो लाग्छ । यिनीहरूमा कुनै अभिनयको भूत देख्दिन म । र चलचित्र हलभित्र दर्शकलाई ३० मिनेट राम्रोसँग बाँधेर राख्न सक्दैनन् । तर यिनीहरूको घमण्ड भने मानौं कुनै हलिउडको हिरोको जस्तो, हलिउडको नायिकाको जस्तो छ ।

नेपाली सिने जगतको कुरा गर्दा राजेश हमालको पुस्ता नै सम्झन योग्य एउटा पुस्ता हो । पुस्ता भन्नुको अर्थ उनको समयमा छायांकन गरिएका चलचित्रका दृश्यहरू, गीतहरू अझै पनि यादगार छन् । जस्तो कि गाउँले चलचित्रको गीत 'गोली शिशाको, मेरो माया किन रिसाको; ताजा खबर, ज्यान माया नहेर है कर्के नजर' आजको मितिसम्म आइपुग्दा पनि सम्झन योग्य गीत छ ।

यही गीतमा राजेश हमालसँग एउटा निन्याउरो अनुहार लिएर नाचेकी थिइन्, दीपाश्री निरौला । वास्तवमा दीपाश्रीलाई तिनै 'गोली शिशाको' गीतमा राजेश हमालसँग नाचेपछि नै दर्शकहरूले चिनेको कुरा जानकारहरू बताउँछन् । अर्की नायिका रेखा थापाले पनि राजेश हमालसँग नै पहिलोपटक 'तिम्रो मन त चक्कु छुरी' भन्ने बोलको गीत र चलचित्र 'हिरो'मार्फत् सिने क्षेत्रमा पाइला टेकेकी थिइन् । तर उनले राजेश हमाललाई महानायक हैन भनेर भनिसकेकी छैनन् ।

दीपाश्री निरौला केवल एक हास्य कलाकार नै हुन् । तर उनको हास्य कला देखेर आजको मितिसम्म मलाई भने हाँसो लागेको छैन । जसले टेलिभिजनदेखि रेडियोसम्म र चलचित्रको पर्दासम्म आफ्नो कलाकारिता, क्षमता प्रदर्शन गरेकी छन् । तर हालसालै राजेश हमालको सन्दर्भमा उनले जे कुरा टेलिभिजनको अन्तर्वातामा बोलिन्, त्यो जायज थिएन ।

पछिल्लो समयमा दीपाश्री निरौलाको छवि फेरिएको छ । रेडियो नेपालको धनियाँ, टेलिभिजनको हास्य कलाकार हुँदै अब चलचित्र निर्मात्री बनेकी छन् । हास्य कलाकार जोडीका रूपमा चिनिएका दीपकराज गिरीसँग मिलेर उनले 'छक्कापञ्जा' नामको चलचित्र निर्माण गरिन् । जुन केही हदसम्म सफल पनि भयो । तर दीपाश्री निरौलाले गर्नुपर्ने धेरै छ । अहिले उनी निर्मात्री भन्दा पनि हास्य कलाकार नै हुन् । उनी मात्र हैन म त भन्छु अहिलेका नब्बे प्रतिशत चलचित्रकर्मी केवल हास्य कलाकार हुन् ।

टेलिभिजनमा हाँसो बिक्न छाडेपछि दीपाश्री निरौला चलचित्र  निर्मात्रीको रूपमा प्रकट भइन् । उनको साडी फेरियो, गाडी फेरियो, र फेरियो सोच पनि । शायद यही फेरिएको सोचका कारण हुन सक्छ दीपाले अब राजेश हमाललाई महानायक देख्न छाडिन् । एक टेलिभिजन अन्तर्वार्तामा उनले भारतमा अमिताभ बच्चन त अझै पनि चलचित्रमा  खेल्छन्, तर राजेश हमालले अहिले कुन चलचित्र खेल्नुहुन्छ र ? भन्ने कठोर प्रश्न सहितको अभिव्यक्ति दिएकी छन् । उनको यस्तो अभिव्यक्ति आएपछि नेपाली दर्शकले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन् ।

मलाई लाग्छ दीपाश्री निरौलामा अलिकति घमण्ड र दम्भ चढेको हुनुपर्छ । आफ्ना केही चलचित्र चले भन्दैमा राजेश हमालको अपमान हुने गरेर बोल्नुहुँदैनथ्यो । अग्रजको सम्मान गर्नुपर्छ, किनकी नेपाली चलचित्रको इतिहास न भारतसँग मिल्छ न अमेरिकासँग । राजेश हमालले आफ्नो समयमा केही संघर्ष गरेर नेपाली चलचित्रलाई यहाँसम्म ल्याइपुर्‍याएको सत्य हो । राजेश हमालले आजभोलि किन चलचित्र खेल्दैनन्, त्यो उनको निजी कुरा हो ।

यहाँ कर्णप्रिय स्वर हुनेहरू धेरै छन्, तर नारायण गोपाल एउटै हुन्छ । नायकहरू धेरै जन्मिए, तर महानायक राजेश हमाल एउटै हुन्छ । र यो उपाधि कुनै सरकारले दिएको हैन, जनताले दिएको हो । दर्शकले दिएको हो । राजेश हमालले देउता फिल्म गर्दा मेकअप म्यान पनि दिल्लीबाट ल्याउनुपर्थ्यो, पछि नेपालमै यो व्यवसाय शुरू भयो । यसरी राजेश हमालले मेकअप म्यानको समेत नेपाली आधार तयार पारे । राजेश हमालका पछाडि नाँच्नेहरूले पनि अब नाँचेरै जीविका चल्न सक्ने सपना देखे । कलाको सम्मान हुन थाल्यो ।

राजेश हमालले आफूलाई कहिल्यै सुपरस्टार ठानेनन् । गोली शिशाकोमा दीपाश्री निरौलासँग राजेश हमाल ननाँच्न पनि सक्थे होला, तर उनी सबै प्रकारका कलाकारहरूसँग रमाए । जानकारहरूका अनुसार राजेश हमालले सबैलाई माया गर्थे, सबै कलाकारलाई अगाडि बढ्न प्रेरित गरे । शायद अहिलेसम्म राजेश हमालले चलचित्र खेलेको भए नयाँले अवसर पाउने पनि त थिएनन्, यसरी पनि सोच्न सकिन्छ ।

अर्को कुरा राजेश हमालको जत्तिको व्यक्तित्व नेपाली कला क्षेत्रमा कसैको देखिन्न । उनको अध्ययन, उनको शैली, उनको दैनिकी अरूको भन्दा भिन्न छ, जो सम्मान गर्न योग्य छ । दीपाश्री निरौलाजीलाई हास्य कलाकारको रूपमा सबैले प्रेम गरेकै हुन्, चलचित्र निर्माताको रूपमा पनि उनलाई दर्शकले माया दिएकै हुन् । तर यति छिट्टै उनलाई किन मात लाग्यो, जिब्रो चिप्लियो कि उनको आत्मा नै बोलेको हो, यसै भन्न सकिन्न ।

राजेश हमाल उमेरका दृष्टिले ५६ वर्षका भए । वि.सं २०२१ साल जेठ २७ मा तानसेन पाल्पामा जन्मेका नायक हमाल चलचित्र ‘युगदेखि युगसम्म’बाट अभिनयमा प्रवेश गरेका थिए । उनी चलचित्र क्षेत्रमा प्रवेशसँगै उनको करिअर र नेपाली चलचित्रको भविष्य सँगसँगै अगाडि बढ्यो । उनले कहिल्यै ग्रुपिजम् गरेनन्, नेपोटिजम् पनि चलाएनन्, बरु सडकबाट आएका कलाकारहरूलाई आफूसँग समेटेर अगाडि बढेको कुरा धेरै कलाकारले बताएका छन् ।

उनी विदेश गएर बस्न सक्थे, राजदूतका छोरा तत्कालीन समयमा सम्मानको दृष्टिले नहेरिने चलचित्र क्षेत्रमा नआउन पनि सक्थे होला । तर उनले नेपाली चलचित्रमा नै आफ्नो भविष्य देखे । चलचित्र ‘युगदेखि युगसम्म’बाट फिचर फिल्ममा प्रवेश गरेका हमालले १७० बढी चलचित्रमा अभिनय गरे । वर्षमा १६ वटासम्म चलचित्रमा काम गरेका हमालले धेरै निर्मातालाई धनी बनाए होलान् । राजेश हमालले काम गरेका अधिकांश चलचित्रमा उनी गरीब गाउँले युवकको भूमिकामा देखिएका छन् ।

युगदेखि युगसम्म, देउता, वसन्ती, अल्लारेलगायतका चलचित्रमा राजेश स्वयं आफूलाई एक कुशल अभिनेताका रूपमा चिनाएका छन् । आफूलाई एक महानायकको रूपमा स्थापित गरेका छन् । ढुकढुकी, अल्लारे, यो मायाको सागर, साथी, वसन्तीलगायतका चलचित्रमा उनले करिश्माको जोडी बनेर अभिनय गरेका थिए । यो जोडीलाई दर्शकले निकै रुचाएका पनि थिए । तर यो जोडी वास्तविक जीवनमा भने जोडी हुन पाएन । चलचित्रमा यो जोडीको बिहे भएको देख्दा खुशी हुने मान्छे म पनि हो ।

मैले अहिलेसम्म राजेश हमाललाई प्रत्यक्ष देखेको छैन, भेटेको छैन । तर चलचित्रको पर्दामा आफ्नो अभिनयमार्फत दर्शकलाई यस्तै खुशी दिएका कारण राजेश हमाल हिजो, आज र भोलि सदैव महानायक भइरहनेछन् ।'के भन्ने हाम्रो समय,दश मोहर महिनाको कमाइ;हाम्रो युगको पानी राम्रो,हाम्रो समय साँच्चै रमाइलो !'

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ५, २०८०

हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x