पोखरामा सञ्चालन हुने भाडाका सवारीमा 'ई–टिकेटिङ' सिस्टम लागू हुने

नरहरि पौड्याल
नरहरि पौड्याल

पौड्याल लोकान्तरका लागि गण्डकी प्रदेशका प्रतिनिधि हुन् ।

पोखरा- पोखरा सञ्चालन हुने भाडाका सवारी साधनहरुमा ई–टिकेटिङ सिस्टम लागू हुने भएको छ । पोखरा महानगरपालिकाको समन्वयमा पोखरामा सञ्चालित बस व्यवसायी समिति र काठमाडौँको एनक्लाउड कम्पनीबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

तृपक्षीय सम्झौता अनुसार नयाँ वर्षको शुरूदेखि नै पोखरा क्षेत्रमा सञ्चालन हुने सबै बसहरुमा स्मार्ट कार्डमार्फत भाडा तिर्न मिल्ने गरी व्यवस्थापन थालिएको हो । प्रविधि शुरू भएपछि व्यवसायीले प्रत्येक यात्रुलाई विशेष प्रकारको कार्ड उपलब्ध गराउनेछन् ।


Advertisement

यात्रुलाई उपलब्ध कार्ड गाडीका सहयोगीले मेसिनमा ‘टच’ गराएपछि यात्रुको भाडाबापतको रकम कार्डबाट सिधैं बैंकमा ट्रान्सफर हुनेछ ।

शुरूमा यात्रुले कार्डलाई १ सय ५० रुपैयाँ तिरेर खरिद गर्नु पर्ने छ । खरिद गरेको कार्डमा एकपटकमा एक हजार रुपैयाँसम्म राख्न मिल्ने प्राविधिक कम्पनीका सिईओ दिपेन्द्र नारायण श्रेष्ठले जानकारी दिए । ‘बसवालासँग १ सय ५० रुपैयाँ तिरेर कार्ड लिएपछि त्यस कार्डमा एकपटकमा १ हजार सम्म पैसा राख्न मिल्छ,’ उनले भने, ‘प्रत्येक पटक गाडी चढ्दा तोकिएअनुसारको पैसा त्यही कार्डबाट काट्छ । पैसा बोक्ने र खुद्धा पैसाको टेन्सन भएन ।’

मेसिन चलाउने तालिम पनि कम्पनीले दिनेछ । टिकेटिङ सिस्टम जडान र नियमित सुचारु गर्न कम्पनीले पोखराका प्रत्येक बसबाट २ हजार २ सय रुपैयाँका दरले सर्भिस वापतको रकम लिनेछ।

सरकार र व्यवसायीको अगुवाइमा देश भर यही प्रणाली लागू गर्न सक्ने हो भने निकै प्रभावकारी हुने  कम्पनीका सिईओ श्रेष्ठले बताए । ‘यो यात्रुसँग कार्ड मात्र बोक्ने प्रणाली निकै प्रभावकारी माध्यम हो । हामी त्यसका लागि पहल गरिरहेका छौं,’ उनले भने, ‘पहिलो चरणमा करिब १ हजार गाडीहरुमा सिस्टम जडान गरेर कार्ड वितरण गर्छौं । आवश्यकता अनुसार यसलाई बिस्तार गर्दै लग्ने छौ ।’

पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले यो सिस्टम लागू भएपछि यात्रुहरु घरैपिच्छे झर्ने र बस चढ्ने परिपाटीको अन्त्य हुने बताए । यस प्रणाली लागू भएपछि निश्चित स्टेसन कायम हुने उनले बताए । ‘अहिले घरको ढोका-ढोकामा बस रोकिन्छन् । भाडामा ठगिएको गुनासो पनि दिनहुँ सुन्नुपरेको छ,’ प्रमुख जिसीले भने, ‘प्रविधिको जडानपछि निश्चित स्टेसन राखिनेछन् । तोकिएको भन्दा बढी भाडा बुझाउनु पर्दैन । ठग्ने र ठगिने प्रथाको अन्त्य हुन्छ ।’

प्रमुख जिसीले पोखराको ट्राफिक व्यवस्थापनको पहिलो चरणमा कार्ड सिस्टम लागू गर्न लागेको बताए । उनका अनुसार पोखरामा चल्ने गाडीहरुको स्तरवृद्धिमा पनि महानगरले जोड दिएको छ । ‘कालो धुवाँ फ्याँक्ने र प्रदुषण बढाउने गाडीलाई रोक्ने पक्षमा महानगर लागेको छ,’ उनले भने, 'पोखरालाई स्मार्ट सिटी बनाउन व्यवसायीसँग समन्वय गरेर अगाडी बढ्न महानगर तयार छ ।’

पहिलो चरणमा पोखरामा रहेका पृथ्वी बस समिति सहित पोखरा बस ब्यवसायी समिति, बेगनासताल बस सञ्चालक समिति, स्थानीय श्रृंगा यातायात, पोखरा फेवा यातायात प्रालि, विन्ध्यवासिनी बस ब्यवसायी समिति र ट्याक्सी ब्यवसायी समितिले ई–टिकेटिङ सिस्टम लागु गर्ने छन् । 

 

 

 

कमेन्ट गर्नुहोस्