एकअर्कासँग तुलना बालबालिकाका लागि खतरनाक

काठमाडौं- हाम्रो मुखबाट यस्ता शब्दहरू बाहिर निस्कन्छ 'उसलाई हेर, त्यो तिमी भन्दा धेरै राम्रो छ' वा  'तिमी उनीहरू जस्तै हुन किन सक्दैनौं ?' यसरी हामी किन हाम्रा छोराछोरीलाई अरूसँग तुलना गर्छौं ? यस्ता व्यवहारलाई हामी त्यागौं । यो हानिकारक छ ।

तुलना हरेक अभिभावक, शिक्षक र वयस्कले बालबालिकाको कार्यक्षमता प्रदर्शनको समयमा निरीक्षण गर्ने एक सामान्य दृष्टिकोण हो । तपाईं हामी आफ्नो बालबालिकाले परीक्षामा ल्याएको नम्बर वा ग्रेड अन्य बालबालिकासँग तुलना गर्छौं । यसो गरिरहँदा हामीले आफ्नो बालबालिकाको शैक्षिक स्तरलाई ख्याल गर्नुपर्छ । उ 'सामान्य हो',  'राम्रो हो' वा 'उत्कृष्ट हो' त्यसको आधारमा उसलाई उत्प्रेरित गर्नु हाम्रो दायित्व हो ।


Advertisement

उनीहरूलाई  उत्प्रेरित गर्ने माध्यमको रूपमा अन्य बालबालिकाले ल्याएको नम्बरको सहारा लिन्छौं र तुलना गर्दछौं ।  उदाहरणका लागि ' तिम्रो गिता मासीको छोराले गणितमा ९५.५ ल्याए कस्तो राम्रो अंक,  चिरञ्जिवी दाईको नातीले पहिलो पटक ९८ ल्याएछ, रिजल्ट लिन जाँदा उनको खुशीले भुइँमा खुट्टै थिएन सबैलाई सुनाउँदै हिँडेका थिए ।'  उनीहरूबाट केही सिक तिमीले त मेरो सधैं अरूको अगाडि शिर झुकाउने बनायौं ।' तिम्रो साथी सबैसँग मिल्छ, सधैं सफा सुग्घर भएर बस्छ, ठूलालाई आदर गर्छ, पढाइमा सधैं राम्रो अंक ल्याउँछ । तिमी त केहीमा पनि राम्रो छैनौं । तिमी बाट के आशा गर्ने । रिता कस्तो राम्रो चित्र बनाउँछिन्, नृत्यमा पनि त्यतिकै राम्रो । तिमी त कस्तो लोसे, हाँस्न पनि नजान्ने, बोल्दा पनि घोसे मुण्टो लगाएर  बोल्ने, यसरी कहिल्यै प्रगति होला । म त तिमीलाई देखेर आसै मारिसके । अलि अरूबाट सिक, राम्रो गर नत्र तिम्रो भविश्य देख्दिनँ आदि आदि ... । तपाईंलाई  आफ्नो बालबालिका नराम्रो होस् भनेर यो सबै भनिरहनु भएको छैन । उसको भलाइको लागि नै यो सबै गरिरहनु भएको छ । तर अनावश्यक रूपमा यी विभिन्न उदाहरणले उनीहरूमा हिनताबोध बढिरहेको छ । उनीहरूको आत्मबल बढ्नु साटो उनीहरूलाई यसले  हानी गरिरहेको छ ।

हाम्रो समाजमा हरेक परिवारका एक भन्दा बढि सन्तान छन् । हरेक सन्तानको आ-आफ्नै नाम, परिचय र पहिचान निर्माण हुँदै जाने गर्दछ । यदि हरेक बालबालिकाको एकै खाले सोच, व्यवहार र क्षमता हुने थियो भने हरेक परिवारले एक मात्र सन्तान जन्माउँथे होलान् । हरेकलाई कम्तीमा दुई सन्तान चाहिएको छ । फरक नाम दिइन्छ । तर पनि आफ्नै सन्तानको बीचमा पनि अभिभावकलाई लागेको राम्रो पक्ष अर्को सन्तानमा खोजेर तुलना गर्ने गर्दछन् ।


Advertisement

सन्तान सन्तानबीच तुलना किन ? जन्ममिति फरक, नाम फरक, सिकाई फरक, हुर्कने परिवेश फरक हुँदाहुँदै पनि तुलना गरेर एकअर्कालाई  किन र कसरी एकै जस्तो अपेक्षा ? यसरी गरिने एकअर्कासँग गरिने तुलनाले बालबालिकाको मानसिक विकासमा कस्तो असर पर्छ ? कहिल्यै कल्पना गर्ने गर्नु भएको छ ?

परिवार तथा अन्य व्यक्तिहरूले आफन्त,  छरछिमेक, समाज र उनीहरूकै साथीसँग तुलना गरेर सधैं बालबालिकालाई कमजोर देखाउँदा बालबालिकालाई मानसिकतामा कस्तो असर पर्दछ ? यसको बारेमा अरूबाट होइन आफैंलाई र आफ्नो बाल्यकालमा अरूले गरेको तुलनालाई एक पटक मनन् गरौं सो समयमा आफूले भोगेको लज्जा, हिनताबोध र तनावलाई मात्र एक पटक मनन् गर्दा पनि अहिले साना बालबालिकाको बीचमा गरिएको तुलनाबाट उसमा पर्ने मानसिक असरको सजिलै अनुभूति गर्न सक्छौं ।

यहाँ बालबालिकाको बाल मनोविज्ञान र सामाजिक विकासमा तुलनाले पार्ने असरको विषयमा लेख्दै गर्दा हामी अभिभावकहरूलाई आफ्नो कार्य कक्षमा, परिवार, सामाजिक समारोहमा वा समाजको कुनै पनि ठाउँमा परिवारका सदस्यको अगाडि वा समकालीनको अगाडि अर्कोसँग तुलना गर्दै 'उहाँ र तपाईंले सँगै नियुक्ती लिएको उहाँको ३ पटक बढुवा भयो तपाईं त ... ? केही कामै छैन ।' 'उहाँले बालबालिकालाई कति राम्रोसँग कन्ट्रोल गर्दै राम्रोसँग पढाउनु हुन्छ । तपाईंको कक्षामा सधैं हल्ला तपाईंबाट त कुनै आशा नै नरहने भयो । उहाँबाट सिक्नुस् ।  तपाईहरूसँगै बस्नु हुन्छ, सँगै हिँड्नु हुन्छ वहाँ कति राम्रो व्यवहार तपाईं त कस्तो छुद्र, सुधार्नुस् आफूलाई । तपाईंले कहिल्यै प्रगति गर्नु हुन्न ।' माथिका कुराहरू भन्दा हामी कस्तो अनुभूति गर्दछौं ? अब  भन्नुस् यस्तो बेला तपाईंलाई कस्तो अनुभूति हुन्छ । नकारात्मक तुलनाले बालबालिकालाई पनि यस्तै नराम्रो लाग्ने छ । उनीहरूको बालमनोविज्ञानमा नराम्रो छाप पर्न जान्छ । सिकाई र विकासमा पनि असर पर्दछ । यसलाई हरेक बालबालिकासँग सम्बन्ध राख्ने र बालबालिकासँग अझ लामो समय बिताउनेहरूले सधैं मनन् गर्नु अपरिहार्य छ ।

बालबालिकाबाट अस्वभाविक आशाहरू नराख्नुस् । बालबालिकाहरूले साहित्यमा रुचि राख्छ भने उसलाई डा.बन्न दबाब नदिनुस् । उसको क्षमता र रुचिलाई सम्मान गर्नुस् 

बालबालिकाको बीचमा तुलना गर्नु हरेक अभिभावकको लागि उनीहरूलाई थप प्रेरणा दिनको लागि हो । उनीहरूलाई थप प्रतिस्पर्धी बनाउन हो भन्ने लागेको हुन्छ । जसका कारण उनीहरूले प्रतिस्पर्धाको भावना बढेर बढी लगनशील र आफूलाई सक्षम बनाउन क्षमताको विकास हुनेछ भन्ने लागेको हुन्छ । यो हाम्रो सोच हो तर यसले बालबालिकामा हिनताबोध बढिरहेको हुन्छ । दुई छोराछोरी एउटै होइनन्, तिनीहरूसँग विभिन्न प्रतिभाहरू, चासोहरू, फरक रूपमा विकास भइरहेका हुन्छन् । उनीहरूको शक्ति र बुझाई र बुझ्ने शैली फरक हुन्छ । उनीहरू आफैंमा फरक हुन् । यसरी एकअर्कामा तुलना गर्दा एक अर्काको आत्मविश्वास  र सीप र क्षमतामा प्रश्न चिन्ह्र मात्र होइन, उनीहरूलाई कमजोर, गैरजिम्मेवार भनेर लेपन लगाइरहेका हुन्छौं । उसले गरेका केही कमी कमजोरीमाथि हरेक पटक प्रहार गर्दा उनीहरूको कार्यक्षमता र विश्वासमा आघात परिरहेका हुन्छौं । जसले उनीहरूलाई थप कमजोर बनाउँछ ।

विद्यालय तथा समाजमा हुने केही तुलनाले त तुलना गरिएको भन्दा जसको उदाहरण दिइन्छ सो व्यक्ति वा उसको पेशा, रंग, शारीरिक अवस्थामाथि खिल्ली उडाइरहेको हुन्छ । यसले जसलाई अवमूल्यन गरेर हिनताबोध गराइरहेका हुन्छौं सोभन्दा पनि अर्का पक्षमाथि थप अन्याय र कल्पनानै गर्न नसकिने विभेद भइरहेको हुन्छ । नेपाली चल्तीको उखान 'अचानाको चोट खुकुरीलाई के थाहा ?' त्यसैले तुलना हिनताबोध ल्याउनको लागि गरिने हरेक तुलनाले धेरै पक्षको आत्मबल र भावनामा मात्र चोट पुगिरहेको हुन्छ ।

तुलनाले बालबालिकामा पर्ने नकारात्मक प्रभाव

तनाव बढाउँछ  

यदि बालबालिका बीचमा लगातार तुलना गरिन्छ  भने बालबालिकाले बोझ महसूस गर्छन् र कुनै पनि काम गर्न लाग्दा उसलाई चिन्तित र विचलित बनाएर थप दबाब बनाइरहेको हुन्छ  । त्यसैले बालबालिकाले कुनै पनि काम गर्न गइरहेको छ भने तपाईंका बालबालिकासँग कुरा गर्नुहोस्,  उसलाई प्रोत्साहित गर्नुस् तपाईंले उसको समस्यामा समाधानका उपायहरू खोज्न प्रोत्साहित गर्नुहोस् । समस्याबाट निस्कन प्रेरणा दिनुहोस् ।

आत्मसम्मानमा कमी आउँछ

बालबालिकामा आफूमा विश्वास हुँदाहुँदै पनि अरूजस्तै बनाउन खोज्दा आफूमा भएको आत्मविश्वासमा कमी आउँछ । अरूको अगाडि आफू अपमानित भएको महसूस हुँदा उनीहरूले आफ्नो क्षमता प्रदर्शन गर्न असक्षम हुन्छन् । यो उनीहरूको भावनात्मक र व्यक्तिगत विकासको बाधक हो ।

क्षमतामा ह्रास आउँछ 

बालबालिकाले आफूले गरेका कार्यमा सधैं नकारात्मक टिप्पणीले र अरूको मात्र प्रशंसाले उनीहरूको आत्मविश्वासलाई पराजित गर्दछ, आफूले गर्न खोजेको काम बिर्सन सक्छन् र आफूमा भएको क्षमतामा क्रमश: ह्रास आउँछ ।

सामाजिक परिस्थितिबाट टाढा हुन पुग्छन् : बालबालिकालाई सधैं अरूको अगाडि लज्जा र हाँसोको पात्र बनाइएको छ भने उसले सार्वजनिक कार्यक्रम तथा अन्तक्रिया जस्ता मानिसहरूको जमघट हुने ठाउँबाट सबै टाढा रहन खोज्दछ । यसले उसको सामाजिक विकास र अन्तर सम्बन्धबाट क्रमशः टाढा पुग्दछ । 

कम जिम्मेवार कम

सधैंको नकारात्मक तुलनाले अब तपाईसँगका विश्वासमा संकट पैदा भइसकेको हुन्छ । अब आफूले गरेका हरेक कार्यमा अभिभावकते विश्वास लिँदैनन् भन्ने भएर उसले कुनै पनि जिम्मेवारी पूरा नै गर्न छाडिदिन्छ ।

प्रतिभामा गिरावट आउँछ

तपाईंको बालबालिका नृत्यमा अब्बल छ । तपाईं उसलाई छिमेकी कृष्णजस्तै राम्रो चित्रकार बनाउन जोड दिनुहुन्छ । नृत्यमा रोक लगाउनु हुन्छ भने उसको नृत्य गर्ने क्षमतामा गिरावट आउँछ र उ राम्रो चित्रकार बन्न पनि सक्दैन ।

अभिभावकसँगको दुरी क्रमश: बढ्दै जान्छ

तपाईं अन्य छोराछोरी, भतिजा-भतिजी, छिमेकीका बालबालिकाको बीचमा सधैं उसलाई तुलना गरेर लज्जित बनाउनु हुन्छ भने उसलाई लाग्नेछ कि तपाईंले उसका हरेक गतिविधि मन पराउनु हुन्न । उ देखि तपाईं खुशी हुनुहुन्न । उ तपाईंका लागि लज्जाको पात्र बनेको छ, त्यसैले उ तपाईसँग टाढा हुन चाहन्छ । उ आफैंलाई असुरक्षित महसूस गर्न थाल्दछ । तपाईंप्रतिको भरोशा गुमाउन पुग्छ र तपाईं र परिवारबाट क्रमश: टाढा हुँदै जान्छ । जसले गर्दा उसको मानसिक तथा शारीरिक विकास सम्बन्धी थप समस्या वृद्धि हुन पुग्छ ।

भाई बाहिनी तथा साथीहरू नै प्रतिद्वन्द्वी हुन पुग्छन् 

तपाईंले अन्य बालबालिका तथा भाई बहिनीको प्रशंसा गर्दै उसलाई नराम्रो देखाउँदा उसलाई आफ्नै भाई बहिनी तथा साथीहरू प्रतिद्वन्द्वी हुन भन्ने लाग्छ । जसले गर्दा उनीहरूको सम्बन्धका दरार उत्पन्न हुन पुग्छ । जसको कारण उनीहरूमा झगडा, अनावश्यक प्रतिस्पर्धा र एकअर्कामा असर पुर्‍याउन सक्छन् ।

सकारात्मक तुलनाले बालबालिकामा पुर्‍याउने फाइदा

उसका सकारात्मक पक्षको प्रशंसा गर्दै अझ गर्न सक्छौं भनि हौसला दिनुस् । पहिलो परीक्षाको भन्दा २ अंक बढि ल्याउँदा मात्र पनि उसलाई उत्प्रेरित गर्नुस् । जसले गर्दा उसलाई आफूप्रति थप विश्वास बढ्ने छ ।

बालबालिकाले आफ्नो कुनै कमजोरी पक्ष महसूस गरेको छ भने त्यसबाट माथि लैजान उसलाई सहयोग गर्नुस् । तिमी सक्छौ भनेर हौसला दिनुस् र सहयोगी बन्नुहोस्  ।

बालबालिकाबाट अस्वभाविक आशाहरू नराख्नुस् । बालबालिकाहरूले साहित्यमा रुचि राख्छ भने उसलाई डा.बन्न दबाब नदिनुस् । उसको क्षमता र रुचिलाई सम्मान गर्नुस् । इच्छा विपरीतको दबाब बालबालिकाको विकासमा हानिकारक हुन पुग्दछ ।

तपाईंको बालबालिकाले परीक्षा बिगारेमा उसलाई अरूसँग तुलना गरेर लज्जित नबनाउनुस्  । उसलाई प्रेमपूर्वक अर्को पटक गर्न सक्छौ भनेर प्रेरित गर्नुस् । थप अभ्यास गर्न प्रोत्साहन गर्नुस् । उसलाई विश्वास होस् कि उसको अभिभावकले उसलाई विश्वास गरेका छन् ।

हरेक बालबालिकाकामा अद्वितीय क्षमता छ । उनीहरूका रुचि र क्षमताहरू फरक छन् । अवसर पाएमा राम्रो गर्न सक्छन् । यसैगरी हरेकसँग कुनै न कुनै कमजोरी पनि छ यो नौलो विषय होइन ।

करम्याक भन्छन्, 'हाम्रा छोराछोरीले के गर्न सक्दैन भनेर ध्यान केन्द्रित गर्नुको सट्टा हामी उनीहरूलाई के गर्न सक्छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।'

'हरेक एक व्यक्ति फरक छन् । उनीहरूको  सकारात्मक र बलियो  पक्षको पहिचान गर्नुस् र त्यसलाई बढाउन सहयोगी बन्नुस् ।'

डा. कोल्सन भन्छन्, 'हामी सधैं हाम्रा बालबालिकाले परिवारका लागि दिएको योगदान खोजौं र यसलाई स्वीकार गर्दै आफूमा गौरव महसूस गर्दै उनीहरूको प्रशंसा गरौं ।'

उनी भन्छन्, 'हामी उनीहरूको सकारात्मक गुणहरू राम्रो मूल्यांकन गरी बढाउन मात्र सक्छौं ।'

मार्क ट्वेन भन्छन्, 'तुलना आनन्दको मृत्यु हो ।'

 

कमेन्ट गर्नुहोस्