बञ्जर बगरमा भारतीयको लोभलाग्दो कमाइ, सिको गर्दै नेपाली किसान

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

धनगढी – गरे के हुन्न र ? सिर्फ दृढ इच्छाशक्ति भए बगर या बञ्जर जमिनै भए पुुग्छ । ठूलै लगानी होइन ।

पछिल्लो समय पैसा कमाउन युवापुस्ता विदेशिनेक्रम बढिरहेको बेला कैलालीका केही युवा कामै नलाग्ने नदीको बगर तथा बञ्जर जमिनमा व्यावसायिक तरकारी खेती गरेर विदेशिनेलाई दरिलो प्रहार गर्न सफल छन् ।


Advertisement

कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीका २४ वर्षीय सञ्जिव चौधरीले धनगढी उपमहानगरपालिका–८ मा अर्काको जमिन भाडामा लिएर विगत ३ वर्षदेखि व्यावसायिक तरकारी खेतीमा उदाएका छन् । जसबाट उनले वार्षिक ४ लाख बढी आम्दानी गर्न सफल हुँदै आएका छन् ।

सञ्जिवले काठमाडौंको एग्रो फार्ममा काम गर्दै तरकारी खेतीको सीप सिकेका थिए । उता सिकेको सीपलाई उनले यहाँ उपयोग गरिरहेका छन् । तरकारीको बजारलाई मध्यनजर गरी उनले खासगरी करेला, टमाटर, बोरी, काँक्रोको खेती गर्दै आएका छन् ।


Advertisement

वर्षमा ३ बाली लिने गरेको सुनाउँदै उनले भने, ‘तरकारी त अरु पनि हुन्छ तर फाइदा करेला, काँक्रो, बोरीमै छ । वर्षमा ३ बालीको खेती गरी आम्दानी लिइरहेको छु ।’

अरु किसानको बारीमा करेला भर्खर पलाइरहेको बेला उनले गरेको करेला खेतीले धमाधम उत्पादन दिइरहेको छ । उनले फागुन महिनाबाटै यसवर्ष करेला बिक्री गर्न थालेको जनाए । ‘१३ कट्ठा जमिनमा गरिएको करेला खेतीबाट दैनिक १ क्वीन्टलदेखि डेढ क्वीन्टलसम्म उत्पादन भइरहेको छ,’ मुुस्कुराउँदै उनले भने, ‘६०/७० हजार रुपैयाँको करेला बिक्री गरिसकें ।’

यस वर्ष शुरूशुरूमा करेला प्रतिकिलो २ सय रुपैयाँमा पनि बिक्री भएको थियो । उत्पादन बढ्दै गएपछि बजारभाउ घट्दै गएको छ । हाल प्रतिकिलो ९० रुपैयाँमा बजारमा करेला गइरहेको सञ्जिवले बताए । उनले उत्पादन गरेको तरकारी धनगढीकै व्यापारीले थोकमा खरिद गर्दै आएका छन् ।

नजिक बजार भएकाले उत्पादित तरकारी बिक्री गर्न समस्या छैन । अहिलेसम्म जुनसुकै तरकारीले राम्रो बजार पाएको उनले बजार अनुुभव सुनाए । ‘मैले थोकमा यहाँका व्यापारीहरूलाई तरकारी बिक्री गर्दै आएको छु,’ उनले अगाडि थपे, ‘उनीहरूले मेरो उत्पादनलाई पहाडी जिल्लासम्म पुर्याइरहेका छन् ।’ 

पहिलो वर्ष धनगढीमा तरकारी खेती गर्दा उनले फाइदा लिन सकेनन् । उत्पादन राम्रो नहुँदा लगानी निकाल्न पनि समस्या भएको थियो । यहाँको माटो, वातावरण सबै बुझ्दै गएपछि अब तरकारी खेती सप्रिँदै गएको उनी बताउँछन् ।

‘अब यो माटोमा कुन तरकारी खेती गर्ने भनेर बुझिसकेको छु,’ उनले थपे, ‘माटो र वातावरण सुहाउँदो तरकारी लगाउँदा फाइदा भइरहेको छ ।’ उक्त जग्गामा उनीसहित घरका अरु सदस्य पनि आफैं मालिक, आफैं कामदार भएर व्यावसायिक तरकारी खेतीमा जमेका छन् । ३ वर्षसम्म व्यावसायिक तरकारी खेती गरेर एउटा ट्रयाक्टर, एउटा मोटरसाइकल किनेको सञ्जिव तरकारी खेती विस्तार गर्ने योजना बुुनेका छन् ।

बगरमा भारतीयको लोभलाग्दो कमाइ

भारतको उत्तरप्रदेश घर भएका गुड्ड अहमदसहित ११ परिवार नेपालमा आएर पछिल्लो १ दशकयता बगर खेतीमा रमाइरहेका छन् । नेपाली कामको खोजीमा भारत पसिरहेको बेला भारतबाट नेपाल आएर तरकारी खेती गरेर मनग्य आम्दानी गर्न सफल भएका हुुन् ।

धनगढी उपमहानगरपालिका–१५ स्थित खुटिया नदीको बगरमा बेमौसमी खेती गर्दै आएका उनीहरू इच्छाशक्ति भए बञ्जर जमिनमा पनि सुन फलाउन सकिन्छ भन्ने दरिलो उदाहरण पेश गरेका छन् । तरकारीको उत्पादन मात्रै होइन, उत्पादित तरकारी सडक छेउमा सानो छाप्रो बनाएर बिक्रीवितरण समेत गर्दै आएका छन् । प्रतिपरिवार १ सिजनमा सबै खर्च कटाएर करिब १ देखि डेढ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको भारतीय किसान बताउँछन् ।

करीब ११/१२ बिघामा बगरखेती गरिरहेका ११ घरपरिवारले बगरखेती गरेबाफत धनगढी उपमहानगरपालिकालाई १ सिजनमा ६० हजार रुपैयाँ राजस्व समेत तिरेका छन् ।

बाढीको पीडा तरकारी खेतीले पखाल्दै

कैलालीको कैलारी गाउँपालिका–२ मोहनपुुर वस्ती बाढी प्रभावित बस्ती हो । भारतीय सीमासँग जोडिएको सो बस्ती मोहना नदीको बाढी प्रभावित क्षेत्र हो । जुन नदीले स्थानीयको दर्जनौं विघा खेतीयोग्य जमिन बगरमा परिणत गरी दिएको छ । 

सोही नदीले खेती योग्य जमिन बगरमा परिणत गरेपछि स्थानीय हाल बगरमा तरकारी फलाउन थालेका हुुन् । स्थानीय कृषक कालीप्रसाद चौधरीले बगरखेतीमै रमेका छन् ।

रहेको अलिकति जमिन पनि नदीले कटानी गरी बगरमा परिणत गरेपछि त्यसै बगरयुक्त जमिनमा उनी ५ वर्ष यता तरकारी खेती गर्दै आएका छन् । १ सिजनमा ८० हजार रुपैयाँ आम्दानी गर्दै आएका उनले त्यसैबाट घर खर्चको जोहो र छोराछोरीको शिक्षादीक्षा पूरा गरिरहेका छन् ।

मुस्कुराउँदै उनले भने, ‘मेरा साथीहरू घरको गुुजारा चलाउन भारत पसेका छन् । तर मैले यही बगरमै तरकारी खेती शुरू गरे । आज मेरो मेहनत र लगनशिलताले रंग ल्याएको छ । विदेशको कमाइ यतै गरिरहेको छु ।’ 

कालीप्रसाद आफ्नी दिदी कलासी देवी चौधरीमार्फत तरकारी खेतीको लागि आवश्यक ज्ञान र प्रविधि सिकेका छन् । आफ्नी दिदीको सिको गरी उनी व्यावसायिक तरकारी खेती गरिरहेको बताउँछन् ।

कालीप्रसाद तरकारीको उत्पादन मात्रै होइन । हिउँदे सिजनमा प्याजलगायत तरकारीका बेर्ना समेत उत्पादन गर्दै आएका छन् । गएको हिउँदमा करीब ७० हजार रुपैयाँ बराबरको प्याजको बेर्ना बिक्री गरेको उनी सुुनाउँछन् । उनको घरको आर्थिक अवस्था सबल बनेपछि उनको सामाजिक मानप्रतिष्ठा पनि बढेको छ ।

‘सामाजिक प्रतिष्ठा पनि आर्थिक सम्पन्नतामा निर्भर गर्दो रहेछ । पहिले–पहिले मलाई कसैले सोधीखोजी गर्दैनथे । तर आजभोलि म अरुलाई सहयोग गर्न पाएको छुु । समाजमा मलाई उत्तिकै सम्मान गर्छन्,’ उनले भने ।

मुलुकमा अहिले धेरै युवा बेराजगार छन् । रोजगारीका लागि कतिपय युवापुस्ता यताउति भौतारिरहँदा बगरखेतीमा रमाइरहेका कृषकहरू प्रेरणाको स्रोतसमेत सावित भएका छन् । व्यवसायको शुुरूवाती चरणमा केही चुनौतीको सामना गरेपनि अन्ततः उनीहरूले नै सफलता हासिल गरेका छन् ।

कमेन्ट गर्नुहोस्