'भ्रामरी'ले गाँजेका बाबुराम, वैकल्पिक शक्तिको मुद्दा 'वीरबलको खिचडी' !

नारायण अर्याल
नारायण अर्याल

पत्रकार अर्याल लोकान्तरका लागि समसामयिक घटनाक्रम र प्रशासनिक मामिलामा रिपोर्टिङ गर्छन् ।

काठमाडौँ -'भ्रामरी योगिनी' ज्योतिषी ग्रहदशामा चौथो नम्बरमा आउँछ । ज्योतिषी विज्ञान अनुसार 'भ्रामरी' दशा लागेको मानिस परिश्रम र पराक्रमले समाजमा आफ्नो स्थान प्राप्त गर्न हरसम्भव कोशिसमा लागिरहेको हुन्छ । भ्रामरीले कसैलाई निरर्थक कामका लागि वरिपरी घुमाइरहन्छ । यो दशाले व्यक्तिलाई बिनाअर्थ र बिना कुनै उपलब्धि आफ्नो परिवारबाट टाढा पुर्याइदिन्छ ।

नेपालको राजनीतिमा यस्तै व्यवहार देखाउने एउटा पात्र छन्, जसको नाम डाक्टर बाबुराम भट्टराई हो । उनी बिनाअर्थ यताउता घुमिरहेका जस्ता देखिन्छन् । ३० वर्षे कम्युनिस्ट राजनीति त्यागेर भट्टराई नयाँ शक्ति हुँदै जातिवादी ट्याग लागेको फोरममा विलिन हुन पुगेका छन् ।


Advertisement

हाम्रो देशमा ठूलो, सानो, जातिवादी, क्षेत्रीयतावादी, रुढीवादी, यथास्थितिवादी, कम्युनिष्ट, दक्षिणपन्थी र क्रान्तिकारी सबै प्रकारका पार्टी उपलब्ध छन् । संख्याको हिसाबले हामीकहाँ पार्टी प्रशस्त छन् । थप पार्टी हामीलाई चाहिएको छैन । बरू उस्तै विचारधाराका पार्टीहरूको संख्या समायोजन वा विघटनद्वारा थोरै भएमा राजनीतिक मञ्च भद्दा हुँदैनथ्यो ।

नेपाली राजनीतिमा केही वर्षयता वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता र निर्माणको बहस हुने र सेलाउने गरेको छ । तत्कालीन माओवादीका नेता बाबुराम भट्टराईले यो बहसलाई अगाडि बढाएर नयाँ शक्ति निर्माणको प्रारम्भ गरे । पत्रकार रविन्द्र मिश्रले पनि नेपालमा राजनीतिको अवसर देखेर केही नयाँ प्रकारको राजनीतिक अभ्यास गर्ने घोषणा गरे, पार्टी पनि निर्माण गरे ।


Advertisement

नेपाली राजनीतिलाई ऐतिहासिक कोणबाट नियाल्दा छर्लंग के देख्न सकिन्छ भने ०४६ साल सम्म आउँदा नेपाली कांग्रेस र तत्कालीन एमाले तुलनात्मक रूपमा क्रान्तिकारी वा अग्रगामी राजनीतिक पार्टी थिए । जब सत्ता सञ्चालनमा पुगे कैयन नेता कार्यकर्ताहरूको वर्ग उत्थान हुन पुग्यो । ति राजनीतिक दल बिस्तारै निश्चित स्वार्थकेन्द्र र वर्गको नीति निर्माता दलका रूपमा परिमार्जित हुन पुगे । माओवादी र अरू जातिवादी र क्षेत्रीयतावादी दलहरूमा पनि प्रवृति उस्तै प्रकारले विकास भएको देखिन्छ ।

आजकल मिडियाबाट भ्रष्टाचार र शक्ति दुरूपयोगको विषय बग्रेल्ती प्रसारण  भइरहेको छ । ति सबै प्रकारका बेथितिको मूल जरो खोज्दै जाँदा राजनीतिक नेतृत्वमा गएर ठोकिने गरेको छ । जब राजनीतिक नेतृत्वमा विषयवस्तु छोइने गरी आउँछन् तब बेथितिको अनुसन्धान र निरूपणको विषय नै किनारा लाग्छ । आज पनि धेरै राजनीतिक शीर्ष नेताहरूको भ्रष्टाचार र अख्तियार दुरूपयोगका मुद्धा विभिन्न सम्बन्धित निकायमा अचेत अवस्थामा रहिरहेका छन् । जबसम्म स्वाभिमानी, क्षमतावान र निष्ठावान राजनीतिक नेतृत्व सत्तामा आउँदैन ति मुद्धाहरू अचेत अवस्थामा रहिरहन्छन् ।

वर्तमान राज्यसत्ताको मूलप्रवाहमा रहेका राजनीतिक शक्तिले इतिहासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन । ऐतिहासिक रूपमा बलिदानसहित आन्दोलनको नेतृत्व पनि गरेका हुन् । तर यि शक्ति अहिले पखालिन नमिल्ने गरी दुषित हुँदै गइरहेका छन् । धर्म, अर्थ, सत्य, अनुशासन आदि सबै कोणबाट कलंकित भइसकेका छन् । यि राजनीतिक व्यक्ति र शक्तिबाट अब नयाँ समुन्नत र सभ्य समाज कल्पना गर्न कठीन भइसकेको छ ।

साधारण राजनीतिक चेतनास्तरबाट पनि बुझ्न सकिने कुरा के हो भने वर्तमान राज्यव्यवस्था र राजनीतिक दलसँग जनता सन्तुष्ट छैनन् । नयाँ राजनीतिक व्यवस्था र राजनीतिक शक्ति चाहिएको छ । तर गम्भीर प्रश्न के छ भने, त्यो नयाँ राजनीतिक शक्ति पनि त यही समाजबाट निर्माण हुने हो । कुनै कृत्रिम मानिसमार्फत हुने होइन ।

ति मान्छेहरू प्रदुषित रंगबाट रंगिइसकेका छन् । ति पटक-पटकका स्खलित श्रृङ्खलाले हामीलाई कहिल्यै क्षतिपूर्ति गर्न नसकिने गरि घाटा पुर्याएको छ ।

कांग्रेस र तत्कालीन एमाले त ४६ देखि नै वर्ग रुपान्तरित हुन थाले र त्यही अनुसारको उदार विचारको घोषणा गरिदिए । तर त्यसमा गम्भीर असहमति जाहेर गरेर संघर्षको बाटोमा गएको हो तत्कालीन माओवादी । जम्मा एक दशक भन्दा केही बढि मात्रै भएको छ, तत्कालीन माओवादी एउटा भीषण आँधिमय युद्धको बाटोबाट नयाँ राज्यसत्ताको प्रश्न बोकेर आएको थियो ।

मोहन वैद्य र विप्लव नेतृत्वमा रहेका केही व्यक्तिहरू बाहेक पार्टीका नेता, तत्कालीन जनमुक्ति सेनाका कमाण्डर, मजदुर संगठनका नेता र वाइसीएलका नेताको स्थिति अहिले के छ ? पहिला कांग्रेस एमाले अनि माओवादी किन पुरानै राज्यव्यवस्थाले हुर्काइरहेको अभिजातीय प्रवृत्तिमा घुलमिल भए ? त्यो प्रदुषिकरण रोक्न के सम्भव थिएन ? थियो भने कसरी थियो ? यो महत्त्वपूर्ण यक्ष प्रश्न हो । त्यो समयको कालखण्ड बितिसकेको छ । ति मान्छेहरू प्रदुषित रंगबाट रंगिइसकेका छन् । ति पटक पटकका स्खलित श्रृङ्खलाले हामीलाई कहिल्यै क्षतिपूर्ति गर्न नसकिने गरि घाटा पुर्याएको छ ।

वर्तमान राज्यसत्ताको समूल अन्त्य गरी नयाँ राज्यसत्ता स्थापनाको सवाल विप्लव नेतृत्वको नेकपाले उठाएको छ । डा. भट्टराई र अन्य केहीले वैकल्पिक शक्ति निर्माणको सवाललाई उठाएका छन् । शक्ति हासिल गर्नका लागि प्रदुषित राजनीति र राज्यसत्तामाथि औंला ठड्याउने र जनता आकर्षित गर्ने प्रवृत्ति पुरानै राजनीतिक प्रवृत्ति हो, बिल्कुल नयाँ होइन ।

एकजना आफूलाई जीवनभरि कम्युनिस्ट भन्ने नेताले भाषणमा काठमाडौंमा भ्रष्टाचारी, तस्कर, दलाल र विदेशी एजेण्ट भरिए अब यसको राजधानी दाङमा सार्नुपर्छ भने । यो साँच्चिकै गम्भीर सवाल हो । राजनीतिक प्रदुषण घाँटीसम्म आईपुगेको छ ।

सभ्य र पारदर्शी राजनीतिक प्रणाली अवलम्बन गरेका कारण विश्वका कैयन् मुलुकहरू पूँजीवादी व्यवस्थामा पनि समुन्नत र जवाफदेही समाज सञ्चालन गर्न सक्षम भएका छन् । तर यहाँ हामी समाजवादको डिङ हाँकेर मध्ययुगीन समाज व्यवस्थामा बाँच्न बाध्य भएका छौं ।

भुमण्डलीकृत विकसित विश्व, सूचना प्रविधिको पहुँच र औपचारिक शिक्षाको पहुँचले अब वैकल्पिक दल निर्माण र सशस्त्र संघर्ष प्राथमिक कार्य रहेन । आम जनताको सहभागितामा राज्यव्यवस्था र राजनीतिक प्रदुषणको सरसफाई पहिलो खुड्किलो हुनसक्छ । वैकल्पिक मुद्धा र पारदर्शी समाज निर्माणको अभ्यासबिना वैकल्पिक शक्ति निर्माण गर्ने प्रश्न पुरानो र रुढिवादी राजनीतिक प्रश्न हो । त्यो पुन: जनतामाथि नयाँ तरिकाले छल गर्दै पुरानै राज्य सत्तासम्म सहभागिता जनाउन पुग्ने कपटपूर्ण राजनीतिक मार्ग मात्रै हो ।

वर्तमान संविधान र मूल प्रवाहको राजनीतिक प्रवृत्तिमाथि पक्कै पनि धेरै लाञ्छना र आक्षेपहरू तेर्सिएका छन् । त्यसको निरूपण भनेको संविधानभित्रको बहुअर्थी एवं यथास्थितिको पाटोलाई संशोधन गर्ने हो । गलत राजनीतिक प्रवृतिको विरुद्धमा नयाँ जनपक्षीय आन्दोलनको सृजना गर्ने हो । त्यसका लागि भट्टराई भ्रामरीको दशाबाट मुक्त हुन जरुरी छ । अन्यथा उपेन्द्र यादवसँग मिलेर बनाउन खोजिएको वैकल्पिक शक्ति 'वीरबलको खिचडी' हुने पक्का छ ।

 

कमेन्ट गर्नुहोस्