नेकपाको नियति : बालुवाटारमा भेला, पेरिसडाँडा हेला !

ईश्वर अर्याल
ईश्वर अर्याल

पत्रकार अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा रिपोर्टिङ गर्छन् ।

काठमाडौं – कुनै बेला नेपाली राजनीतिको केन्द्र मानिने पूर्व माओवादी हेडक्वार्टर पेरिसडाँडा अहिले सुनसान र खल्लो छ । भीडका कारण सवारी पार्किङ गर्नै नसकिने पेरिसडाँडाको परिसरमा बुधवार २ वटा मोटरसाइकल देखिए ।

सधैं व्यस्त रहने पार्टी कार्यालय छिर्नुअघिको दायाँपट्टिको खाजाघरमा १ जना पनि ग्राहक छैनन् । ३५ जनाभन्दा बढी बस्न मिल्ने गरी टेबल–कुर्सी राखिएको खाजाघरकी सञ्चालिका ग्राहक नभएपछि भित्रको कोठामा सुतिरहेकी छिन् ।


Advertisement

बुधवार लोकान्तरकर्मी पुग्दा पेरिसडाँडा सुनसान भेटियो । कार्यालयका सुरक्षार्थ खटिएका केही सुरक्षाकर्मी गेटमा गफ गरिरहेका थिए, परिसर शून्य थियो । पार्टी कार्यालयका प्रायः सबै ढोका बन्द देखिन्थे । तत्कालीन वाइसीएलको कार्यालय खाली थियो, त्यसभन्दा माथिल्लो तलामा रहेको पुस्तकालयको ढोकामा ताला ठोकेको थियो ।


Advertisement

कार्यालय छिर्नेबित्तिकै तल्लो तलामा रहेको ‘रिसेप्सन’मा कार्यालय कर्मचारी विक्रम थापा भेटिए । उनीसँगै अर्का कार्यालय सहयोगी सञ्जीव थिए । ‘सुनसान’ कार्यालयमा मोबाइल चलाइरहेको अवस्थामा भेटिएका थापा कुनै बेला उदयपुर जिल्लामा विद्यार्थीको राजनीति गरेका रहेछन् । पछि कार्यालयमा काम गर्ने भएपछि उनको जिल्लाको राजनीति सकियो ।

‘कार्यालयको कर्मचारी हुनुहुँदो रहेछ, तलब त पाउनुहुन्छ नि ?’ भन्ने प्रश्नमा थापाले भने, ‘यत्तिकै त कसरी गर्नु ? सरकारी स्केल अनुसारको आउँछ । खर्च चलेको छ ।’ 

विराटनगरका पशुपति नेपाल पनि ‘रिसेप्सन’ कोठामै थिए । उनी तत्कालीन माओवादीको बुद्धिजीवी संगठनमा रहेछन् । केही दिनअघि काठमाडौं आएका नेपाल पेरिसडाँडा पहिलेजस्तो नरहेको बताउँछन् । यद्यपि एकतापछि बनेको नयाँ र ठूलो पार्टीमा उनको ठूलो भरोसा छ । उनी भन्छन्, ‘एकीकृत पार्टीको सरकारले आशा देखाएको छ । हामीलाई ‘भोलि’ देखाएको छ । त्यसैले अहिलेसम्म पनि हामी पार्टीभित्र जीवितै छौं । हाम्रा कारणले पार्टी जीवित छ ।’ 

पशुपतिका वैचारिक राजनीति र दर्शनका कुराले उनी बुद्धिजीवी संगठनमा छन् कि छैनन् भनेर थप पुष्टि गर्नुपर्ने आवश्यकता रहेन । अहिले नेकपाको बुद्धिजीवी संगठनको पनि एकीकरण भइसकेको छ ।

कार्यालय भवनको भर्‍याङको दायाँबायाँ भित्तामा जनयुद्ध झल्काउने केही पेन्टिङ देखिन्छन् । तीसँगै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हात उठाएको ठूलो पेन्टिङ झुण्डिएको छ । रातो पृष्ठभूमिमा सजिएको प्रचण्डले हात हल्लाइरहेको पेन्टिङ सजीव र ज्वलन्त देखिन्छ । कार्यालय छिर्ने प्रचण्डका धेरै अनुयायी त्यो पेन्टिङ देखेर धेरैबेर टक्क अडिएको हुनुपर्छ ।

पहिलो तलाको देब्रेपट्टि कार्यालय सचिव श्रीराम ढकालको कार्यकक्ष छ तर कार्यकक्षमा ढकाल भेटिएनन् । बत्ती निभेका छन्, बाहिरको उज्यालो छिरेको छैन । अँध्यारोजस्तो लागेपनि मोबाइलको लाइट नै बाल्नुपर्ने स्थिति पनि थिएन । दायाँपट्टिभित्र छिर्न खोज्दा पहिलो ढोकामा महासचिव विष्णु पौडेलको ‘नेम प्लेट’ भेटियो । नेमप्लेटमा ‘बाहिर’ लेखिएको थियो तर पार्टी एकीकरणपछि पौडेल पेरिसडाँडामा जम्माजम्मी आधादर्जन पटक आएको कर्मचारीले सुनाए । 

अझै अघि जाँदा लेखाको कार्यालय छ । १ जना लेखाका कर्मचारी भेटिए । कम्प्युटर कोठामा कार्यालय सचिव ढकाल केही काममा व्यस्त थिए । उनीसँग बोल्ने फुर्सद पनि थिएन । ‘पछि कुरा गरौंला,’ उनले भने । 
ओली जम्मा एकपटक मात्र आए !

कार्यालयको दोस्रो ताला सुनसान छ । त्यहाँ कोही भेटिएनन् । दोस्रो तलामै अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीको कार्यकक्ष छ । दुवै कार्यकक्षको ढोकामा टाँसिएको नेमप्लेटमा ‘बाहिर’ लेखिएको छ । रिसेप्सनमा भेटिएका सञ्जीवले अध्यक्ष ओली जम्मा एकपटक पेरिसडाँडा आएको बताए । 

२०७५ सालको जेठ ३ गते पार्टी एकीकरण भएपछि त्यसको भोलिपल्ट अध्यक्ष ओली पेरिसडाँडा पुगेका थिए । उनलाई स्वागत गर्न पूर्व माओवादी कार्यकर्ताको भीड थियो । एकीकरणअघि ओलीलाई सामाजिक सञ्जालमा सत्तोसराप गर्नेहरू पनि प्रशस्तै उपस्थित थिए । 

तर कार्यालय सचिव ढकालले भने ओली २/३ पटक आएको तर आफूले मिति नसम्झेको बताउँछन् । यद्यपि पहिलोपटक जेठ ४ गते पेरिसडाँडा पुगेर शहीदको स्मारकमा माल्यार्पण गरेका ओली दोस्रोपटक गए कि गएनन् भन्ने विषय सञ्चारमाध्यमले पनि बाहिर ल्याएका छैनन् ।

ढकाल भन्छन्, ‘पूर्व एमालेका नेतामध्ये माधवकुमार नेपाल सबैभन्दा धेरै आउनुभएको छ, झलनाथ खनाल, वामदेव गौतम र अन्य नेताहरू पनि पटक–पटक आउनुभएको छ । ईश्वर पोखरेल १–२ पटक आउनुभएको छ भने प्रचण्ड त कतिपटक आउनुभयो भन्ने गनेर साध्य छैन ।’ पेरिसडाँडामा प्रायः भेटिने नेतामध्ये मणी थापा पनि एक हुन् तर बुधवार उनी थिएनन् । 

कार्यालय सहयोगी शुशीलाको मिठो चिया 

कार्यालय सचिव ढकालको कोठामा बसिरहेका लोकान्तरकर्मीलाई चिया लिएर आइन् सुशीला । उनको पूरा नाम शुशीला रोका हो ।  उनी काठमाडौंको साँखु बस्छिन् । उनको काम कार्यालयमा आउने नेता कार्यकर्ताका लागि चिया बनाउनु हो । २०६६ सालमा पार्टी कार्यालय बुद्धनगरबाट पेरिसडाँडामा सरेपछि पनि सुशिला कार्यालय सहयोगी छिन् ।

आजकल पहिलाजस्तो कामको धपेडी छैन सुशीलालाई । उनले धेरै कमरेडलाई चिया पिलाइन् । उनले चिया पिलाएकामध्ये कतिपयले पार्टी छोडिसके । २०६९ सालदेखि मोहन वैद्य कमरेड पेरिसडाँडा आउन छाडे । नेत्रविक्रम चन्दले पेरिसडाँडा बिर्सिए, सीपी गजुरेल गायव भए । २०७२ सालमा संविधान बनेदेखि बाबुराम आउन छाडे ।

‘कस–कसलाई सम्झिनुहुन्छ ?’ भन्ने प्रश्नमा शुशिला भन्छिन्, ‘सम्झिन त सबैलाई सम्झिन्छु नि ! तर उहाँहरूले बिर्सिनुभयो ।’ सुशीलाका पति निश्चल पनि पेरिसडाँडामै यताउता गरिरहेका देखिन्छन् । निश्चल रोका पूर्व माओवादीका लडाकु र जनआन्दोलनका घाइते हुन् । निश्चल पनि कार्यालय सहयोगीका रूपमा पेरिसडाँडामै काम गरिरहेका छन् ।

त्यो शक्तिशाली पेरिसडाँडा  ...

कुनै बेला राजनीतिको केन्द्र बन्ने गर्दथ्यो पेरिसडाँडा । पेरिसडाँडामा बैठक बस्ने सूचना पाएपछि पत्रकारको भीड लाग्थ्यो । पेरिसडाँडामा बसेको बैठकले के निर्णय गर्ने हो, देशभरि हल्लाखल्लाको विषय बन्थ्यो । तत्कालीन कांग्रेस, एमाले लगायत अन्य पार्टी पेरिसडाँडामा के निर्णय हुन्छ, त्यसअनुसार धारणा बनाउने गर्दथे ।

पार्टी नेता कार्यकर्ता यतिधेरै जम्मा हुन्थे कि उभिने ठाउँ पनि पाउन गाह्रो थियो । २०६६ सालदेखि तत्कालीन माओवादीले पेरिसडाँडामा आफ्नो कार्यालय स्थापना गरेको थियो । २०६६ देखि २०७५ सम्म पेरिसडाँडाले धेरै भीड देख्यो । धेरै नेता कार्यकर्ताको अनुहार देख्यो तर जब २०७५ सालको जेठमा तत्कालीन एमालेसँग पार्टी एकीकरण भयो, त्यतिबेलादेखि नेता कार्यकर्ता पेरिसडाँडा जान छोडे, सुनसान र बिरानो बनाए ।

आजकल पेरिसडाँडामा हुने निर्णय खुमलटारबाट हुन्छ । पहुँच हुनेहरू बालुवाटार छिर्छन् । मन्त्री भेट्न सिंहदरबार छिर्छन् । धेरै नेतालाई पेरिसडाँडाले पद र शक्तिमा पुर्‍यायो तर नेताले बिस्तारै–बिस्तारै पेरिसडाँडा बिर्सिरहेका छन् । 

आफ्नै पार्टीका नेतालाई मात्र पेरिसडाँडाले पद र शक्तिमा पुर्‍याएन, पहिलो संविधान सभामा दुवै ठाउँबाट चुनाव हारेमा तत्कालीन एमालेका माधवकुमार नेपाललाई मनोनित सभासद् बनाउने निर्णय पनि पेरिसडाँडामै भएको थियो । उनी प्रचण्डपछि प्रधानमन्त्री बने । नेता नेपालजस्तै पेरिसडाँडाको निर्णयमा प्रधानमन्त्री बन्ने थुप्रै छन् । 

प्रचण्डले देशको राजनीतिमा महत्त्व राख्ने जति पनि निर्णय लिए, सबै पेरिसडाँडाबाट लिएका हुन् तर अहिले प्रचण्डको ‘अड्डा’ परिवर्तन भएको छ । पार्टीका महत्त्वपूर्ण निर्णय लिन अध्यक्ष प्रचण्ड र ओलीले बालुवाटार रोज्ने गर्छन् । भेटघाटका लागि नेता कार्यकर्ताहरू र विदेशी कूटनीतिक व्यक्तिलाई पनि आ–आफ्ना निवासमा बोलाउँछन् । आफू कसैलाई भेट्न जानुपर्‍यो भने पाँचतारे होटेल रोज्छन् ।

कुनैबेलाको ‘शक्तिशाली’ पेरिसडाँडा अहिले कमजोर बनेको छ । त्यतिबेलाको शक्तिशाली पेरिसडाँडालाई अहिले धेरैले पत्याउन छाडेका छन् । पेरिसडाँडा अहिले नेताहरूको पर्खाइमा छ । उही उत्साह, उही उमंग र शक्ति फिर्ता गर्न चाहन्छ ।

कमेन्ट गर्नुहोस्