क्रान्तिले जलाएको संस्कृत पढ्ने सपना

डा. रामकृष्ण आचार्य
डा. रामकृष्ण आचार्य

लेखक आचार्य मेडिकल डाक्टर हुन् ।

चिन्तामणी सरले हामीलाई शिशिर र वसन्तको कथा सुनाएको दिन मैले घरमा आएर सोधेँ, 'चिन्तामणी सरले त्यति राम्रो कथा कसरी शिलोक मिसाएर भन्न जान्नु भको ?' आमाले उनी पण्डित हुन्, संस्कृत जानेकाले त्यसरी भन्न सकेका भनेर उत्तर दिनु भयो । हामी भन्दा ठूला कक्षाकाहरुको किताबमा भएको त्यो कथा सरले भन्दा ५ कक्षाका धेरै विद्यार्थी रोयौं। 

आमाको कुरा मलाई सबै पत्यार लागेन, पण्डितले संस्कृत जान्ने भए हाम्रा गाउँका पण्डितले किन त्यति मिठा कथा नभनेका? फेरि संस्कृत जान्ने मान्छे त चिन्तामणी सर जस्तै माया गर्ने र मधुर स्वरको हुनुपर्ने हैन र? हाम्रा घर छेउका पण्डितको त छिमेकी सँग झगडा नि पर्थ्यो। फेरि पण्डितले मात्र संस्कृतमा शिलोक भन्ने भए हाम्रो मावलको हजुरबुबाले पण्डित नभइ पनि त शिलोक भन्नुहुन्छ? 


Advertisement

मलाई नि पण्डित नभई शिलोक भन्ने हुन र मिठो कथा भनेर सबैलाई मख्ख पार्दिन मन भयो। त्यसबेला देखि मलाई संस्कृत जान्न मन लाग्न थाल्यो । अङ्ग्रेजी माध्यमबाट ४  कक्षा सम्म पढेर ५ कक्षाबाट मैले नेपाली माध्यममा पढ्न थाले सँगै हाम्रो एउटा ऐच्छिक विषय स्वरूप संस्कृतमाला भन्ने पुस्तक थपियो ।

पहिला पास गर्नुपर्ने एउटा विषय जस्तो मात्र लाग्ने मेरो संस्कृत किताब अब मेरा लागि रटेर पास मात्र हैन मनन पनि गर्नपर्छ भन्ने विषय भयो । म घर आउन साथ किताब खोलेर बस्थेँ, थोरै थोरै गरेर म संस्कृतका वाक्यहरु पुरा गर्ने सम्म भएँ । मलाई भाषा सिक्न रमाइलो लाग्थ्यो । ४ कक्षा सम्मको अङ्ग्रेजीले म राम्रै आधारभूत अङ्ग्रेजी जान्ने भएको थिए । नेपाली त राम्रो नै थियो । कहिलेकाहीँ कविता त लेख्थेँ । बुबाले एउटा कक्षाबाट अर्को कक्षामा जाँदा ल्याइदिने नयाँ किताबहरुमा प्लास्टिकको गाता लगाउँदा हाम्रो नेपाली शृङ्खलाका सबै कथा कविताहरु पढीसकेको हुन्थेँ । हाम्रो १२ भोल्टको भोल्टा भन्ने ब्याट्रीबाट चल्ने सादा टिभी अनि घरीघरी एन्टिना घुमाउँदामात्र टिप्ने भारतको दुरदर्शन च्यानलबाट आउने हिन्दी सिनेमा, अमर चित्र कथा, महाभारतबाट हिन्दीपनि अलिकति जानिसकेको थिए । 

कक्षा ५ को जिल्ला स्तरीय परिक्षामा मेरो संस्कृतमा राम्रै अंक आयो। ६ कक्षामा स्कुल जानू अघि नै मैले संस्कृतमालाका केही पाठहरु बुझी नबुझी पढिसकेको थिएँ । पुस्तकानि ज्ञानाय भवन्ति भन्दै मैले केही संस्कृत वाक्यहरु बनाउनपनि सिकिसकेको थिएँ । यस्तैमा ६ कक्षाको प्रथम त्रैमाशिक परिक्षा आयो । परिक्षाको ५ औं दिनको विषय थियो संस्कृतमाला । म परिक्षामा राम्रो गर्ने र मेरो प्रथम हुने सिलसिला कायम राख्ने कुरामा उत्साहित थिए । कक्षा ६ मा पुगेपछि हाम्रो परिक्षा दिउँसोको बेला हुन थाल्यो, त्यस भन्दा साना कक्षाकाहरुको परिक्षा बिहान ९:३० देखि हुन्थ्यो । पहिलो दिनको परिक्षामा मात्र लाइनमा बसेर गोडाफाट सतर्क गर्नु परेको थियो । भक्ति दाजुले बजाएको जनाउ घण्टी सँगै म परिक्षा कोठा तिर लागे । घरबाट स्कुल सम्म हिँडेर आउँदा बाटोमा लाग्ने आधा घण्टामा म संस्कृतमाला पुस्तक पढ्दै आएको थिएँ । परिक्षा कोठाको ढोका छेउमा बाहिर पट्टि मैले मेरो संस्कृतमाला पुस्तक राखेर भित्र छिरेँ । त्यहाँ म लगायत धेरै साथीहरूका पुस्तक र कापीहरु राखिएको थियो । आफ्नो आफ्नो स्थानमा बस्नासाथ केहि बेरमा सरले हामीलाई प्रश्नपत्र दिइसक्नु भएको थियो। 

बाहिर अचानक होहल्ला भयो सरहरु कोहि सँग बोले झैं लाग्यो। स्कुल आउँदा बाटामा देखेका टिप भएका गोल्डस्टार जुत्ता लगाएका, पछाडि झोला बोकेका, लुते खान नपाएर अरुको लुटेर खाने झैँ अनुहार गरेका, हेर्दै दम्भले भरिएका झैँ लाग्ने दुई जना  नपढेका छिमेकी गाउँका दुई केटाहरु फुत्त हाम्रो परिक्षा कोठा भित्र छिरे । हामीलाई आफ्नो आफ्नो प्रश्न पत्र र उत्तर पुस्तिका बुझाउन भनेर एउटाले भन्यो र अर्कोले त्यो संकलन गर्दै गयो । हामी भटाभट कक्षा बाहिर निस्कियौं । तिनीहरु हाम्रा प्रश्न पत्र र उत्तर पुस्तिकाको थाक लिएर बाहिर आए । मैले ढोका नेरि राखेको मेरो संस्कृतमाला पुस्तक तानेर लिए । उनीहरुले सबै कागजहरु हाम्रो परिक्षा कोठा बाहिरको खुल्ला चौरमा राखे अनि कोठा बाहिरका सम्पूर्ण पुस्तकपनि । केहि वर्ष अघि हाइ स्कुल पढ्दा कक्षाबाट भागेर अलैंची चोर्दा समातिएकाहरु आज हाम्रो किताब जलाउन अग्रसर हुँदै थिए । हाम्रो शिक्षा बुर्जुवा र बाहुन बादी भन्दै उफ्रदैँ थिए । बाँकीकेहिले अन्य परिक्षा कोठाका कागज ल्याएर थाक लगाए । यतिकैमा एउटाको नजर मेरो हातमा पर्‍यो । मलाई मेरो पुस्तक दिन भन्यो मैले केहि नबोली मेरो हात पछाडी गरें ।

मलाई एउटाले ठूलो स्वर गर्दै भन्यो, 'अब त्यो पुस्तकको अर्थ छैन आजबाट त्यो कहिँ पढाइ हुन्न। हामीलाई देउ ।' उसले यसो भन्दा ओर्दा पछाडिबाट आएर अर्काले मेरो हातबाट पुस्तक तान्यो। मेरा औंलाहरुले भर गरेर पक्रिन सकेनन्, मेरो मनको डरले गर्दा होला बिना प्रतिरोध पुस्तक मेरो हात बाट छुट्यो । उनीहरुले सबै कागजमा दुई तीन तिर बाट मचिस कोरेर आगो झोसे । सबै हुरहुर बल्न थाल्यो । मेरो पुस्तकलाई त्यो माओवादीले झर्यात्त च्यात्यो अनि बल्दै गरेको आगोमा हाल्यो । किताबको पाना झुक्किएर च्यातिदा जतन गरेर पैसा टाल्ने टेप खोजेर टाल्ने अनि सरस्वती माता सम्झेर माफी माग्दै पुस्तक ढोग्ने मेरो बानी थियो ।

आगो दनदनी बल्यो, एउटाले आफ्नो जुत्ताले नबलेको मेरो पुस्तकको आधा भागलाई आगो भित्र ठेल्यो । मलाई झुक्किएर पुस्तक खुट्टाले लाग्दा पाप लाग्छ भनेर निन्द्रासम्म पर्दैन थियो तर यो पशुले मेरो पुस्तकलाई जलाउन मात्र जलाएन लात नि हान्यो । मेरा आँखाहरुबाट तरक्क आँसु चुहियो, सबैको अनुहारमा डर र दु:ख थियो। मैले मनमनै सरस्वती मातासँग माफी मागें । मैले धेरै श्रद्धा गरेको विषयको पुस्तक, त्यो जलाउनेको हातमा दिएकोमा मैले माफी मागेको थिएँ । मेरो अर्को मनले हाम्रा पुस्तक जलाउनेहरुका हात खुट्टा भाँचिनु नि भन्ने कामना गर्दै थिएँ।

हामी बच्चा नै थियौं, साना साना सपनाहरूमा बल्ल प्वाँख पलाउदै थियो । तर हामीले देख्ने सपनालाई कसैले सबैका अगाडि करणी गर्दै थियो । मेरो सानो, बल्ल संसार बुझ्दै गरेको दिमागमा कहिले नमेटिने गरि घृणाको बिज रोपेर उनीहरु हामी निहत्था माथी बहादुरी देखाउँदै थिए । उनीहरुलाई संसार जिते झैं लाग्दै थियो होला, सायद माओवादी भन्ने बिल्ला उनीहरु सँग नहुँदो हो त पोहोर परार अलैंची चोर्दा भाटा हाने झैँ सार्वजनिक कुटाइ हुन्थ्यो । आज हाम्रो परिक्षा नसकी सकियो। सरहरुले घर जानू भनेर भन्नु भयो । हामी कोहि एकाअर्का सँग नबोली घर तिर लाग्यौं । आधा घण्टाको बाटो धेरै साथीहरू सँगै हिँड्दा पनि कोहि केही बोलेनन् । मेरो दिमागमा त्यही अलैंची चोरको अनुहार घुमी रहेको थियो । मलाई कति बेला घर पुगेर रुनु जस्तो भएको थियो । सायद मेरा अरु साथीहरूलाई नि त्यस्तै लागेको थियो होला । घर तिर सबैलाई स्कुलमा भएको घटना बारे खबर पुगिसकेको रहेछ । म मेरो घर देख्ना साथ परैबाट रुँदै दौडिए । मलाई आमाले थुमथुम्याउने प्रयास गर्नु भयो । मेरो पिडा आमाले सोछे भन्दा गहिरो थियो । म सम्झी सम्झी रोएँ । म त्यस दिन खाना पनि नखाई सुतें। 

भोलिपल्ट स्कूल बिदा थियो । 

म बिहान उठ्न साथ बुबाहरुको कोठामा छिरेर एउटा किताब खोज्न थालेँ। माओ के-के भन्ने एउटा रातो किताब जसमा दुई पट्टी तालु खुइलिएको मानिसको फोटो थियो । मलाई क्रान्तिकारीको बारेमा पढ्न मन भयो । मैले अहिलेसम्म त्यति धेरै माओवादी देखेको थिइन् । तर मैले सुनेको थिएँ गाउँका को को छन् भनेर । किन किन पढेलेखेकाहरु कोहि थिएनन् । एक दुई जना थिए तर ती सबै ठूल्ठूला भैसकेका थिए भन्ने हल्ला थियो । 

मैले रातो किताब खोज्दा खोज्दा एउटा अर्कै किताब भेटेँ। भित्र भिन्न भिन्न शिर्षक र कथा जस्तो भएको किताबको बाहिर एउटा  तारो भएको फेटा बानेको चुरोट तान्दै गरेको मान्छेको फोटो थियो । मैले पल्टाएर हेरेँ, त्यहाँ एर्नेस्तो चे का महत्त्वपूर्ण भनाइहरु भनेर १.२.३.४ गर्दै केही लेखिएको थियो । तेस्रो चौथो बुदामा लेखिएको थियो , 'साँचो क्रान्तिलाई प्रेमको ठूलो भावनाले निर्देशित गर्नुपर्छ। प्रेमको गुण बिना वास्तविक क्रान्तिको सोचाइ पनि असम्भव छ।' 

अनि 'क्रान्तिकारीको पहिलो कर्तव्य भनेको आफू शिक्षित हुनु हो ।'

बुबाले किताब भेटेको र पढेको थाहा पाउनु भयो भने कुटाइ खाने पक्का थियो । मैले कपालमा लगाएको तारा भएको फेटा चे भन्ने थाहा पाए अनि भित्र तिनको बन्दुक बोकेको फोटो देख्दा छर्लङ्ग भयो उनी क्रान्तिकारी थिए भनेर। मैले मेरा जिज्ञासाका उत्तरहरु पढेका केही वाक्यहरुमा पाई हालें। मनमनै लाग्यो आफू शिक्षित हुनु भनेर भन्ने क्रान्तिकारीले अरूको शिक्षामा अवरोध गर्न कसरी सकेको होला ? क्रान्तिलाई प्रेमले निर्देश गर्नुपर्छ भन्थे तर यहाँ त डर देखाएर गरिएको झैं थियो । म हिजो बेलुकी सपनामा पनि मेरो हातबाट पुस्तक खोस्नेको अनुहार देखेर तर्सिएको थिएँ। 

शिक्षाको महत्त्व पढेको र पढ्न मन लागेर पढ्न नपाएकाहरुलाई थाहा हुन्छ। हाम्रो आमालाई नै हेरौं सधैं भन्नू हुन्छ, उमेरमा पढ्न पाएको भए म नि यसो गर्थें होला, उसो गर्थें होला । अनि एकातिर पढ्न नसकी वा पढ्न मन नलागी बेगारी भएसी केहि उपाय नहुँदा अरुलाई हेप्न, लुट्न, दबाउन क्रान्तिकारी बनेका मेरा पुस्तक जलाउनेहरु । बरु पढ्न अल्छि लागेर बेगारी भएर चोकमा क्यारेम खेलेका भए हुने । मेहनत गरेर प्लास्टिक बटुलेर पेट भर्नेहरु मलाई मेरो पुस्तक जलाउने भन्दा महान लाग्यो । 

बिस्तारै मैले पढाइमा मन लगाए सँगै अरु कुरा सोच्न छोडें । म सके जति बिहान छिटो उठेर रेडियो नेपालमा आउने धार्मिक कार्यक्रम सुन्ने गर्थें । मेरो संस्कृतको मोह जतिसुकै धेरै भए नि म सँग अरु उपाय कुनै थिएन । दैनिकी स्कुल, घर गर्दै बित्थ्यो। 

म निकै बुझ्ने भैसकेको थिएँ। मैले यो स्कुल अवधीमा भलाद्मी र पढेलेखेका अनि बोल्न जान्ने माओवादी नि भेटिसकेको थिएँ । एक दिन त स्कुलबाट फर्किंदा बाटोमा एक जना माओवादी सँग भेट भयो तिनले म सँग पुरा अङ्ग्रेजीका अङ्ग्रेजी बोल्दै हाम्रै घर मास्तिरको बाटो सम्म सँगै आए । म त मख्ख परेँ, अङ्ग्रेजी बोल्ने भए नि ती मान्छे संस्कृत जान्ने चिन्तामणी सर झैँ मिजासिला थिए । माओवादी भए नि डर नदेखाउने खाले, कता कता बुबाको किताब लुकेर पढ्दा बुझेको क्रान्तिकारीले भने जस्तै स्वभावको । अरु माओवादीले स्कुलेहरुलाई पढ्न हुन्न, हामी सँग हिँड भनेर अनेक प्रलोभन देखाउँथे रे तर यी माओवादीले त मलाई राम्रो पढ्नुपर्छ, पढेको मान्छेले नै केही गर्न सक्छ भनेर बाटोभरि अर्ति दिए । 

मैले ठूलो मुटु गरेर मेरो संस्कृत पुस्तक हातबाट खोसेर जलाएको गुनासो गरें । उनले नयाँ परिवर्तन गर्दा कहिलेकाहीँ मन दुख्ने काम गर्नुपर्ने भनें । मेरो प्रश्नमा झपार्लान् भनेको त यिनले सानै स्वरमा नरिसाइ जवाफ पो दिइरहे। मैले घर आइपुग्न लागेसी तपाईंको नाम के हो भनेँ, तिनले कट्क भने । मैले नाम याद गरें, कुनै दिन फटाहा माओवादी फेरि हाम्रा स्कुल आए भने तिनलाई म कटकको नाम भन्छु भन्ने जुक्ति मनमनै आयो । 

मलाई हाम्रा गाउँका केही केटाहरुका बारे सकारात्मक सोच आउन थालेको थियो । त्यो किताब जलाउनेलाई मैले माफ गरिसकेको थिएँ । मलाई लाग्थ्यो, उसका बाबुआमाले दिन नसकेको सहि संस्कार र उसले सानै देखि झेलेको अभाव, अनि आफ्ना देखि तिरस्कृत हुँदाको उपज थियो उसको माओवादी पथ । तेस्रो त्रैमासिक परिक्षाका बेला हल्ला चल्यो, हाम्रो पुस्तक जलाउने एक जनालाई आर्मीले रूखमा बाँधेर गोलि हान्यो रे । यो सुन्दा म फेरि केही दिन सुत्न सकिन । मैले हात खुट्टा भाँचियोस् भनेर सोचेको थिए तर उसको त चोला नै उठेछ । मलाई धेरै दिन उसले माचिस (सलाइ) बालेर झोस्दै गर्दाको अनुहारको सम्झनाले डर देखाइ रह्यो । कति दिन त म राती पिसाब फेर्न जान नि डराएर बिहान सम्म पेट दुखुञ्जेल भएँ । ६ कक्षाको अन्त्य हुनै लाग्दा, अरु केहि माओवादीहरुले आएर हाम्रा स्कुलमा भाषण गर्दा पनि मलाई मनमनै उ नमरेको भए हुन्थ्यो जस्तो लाग्यो । उ सायद समय सँगै सुध्रिने थियो होला । अहिलेसम्म त यी भाषण गर्नेहरु झैँ मिठो बोल्ने भइसक्थ्यो होला। उसको क्रान्तिले मेरो संस्कृत पढेर चिन्तामणी सर झैं मिठो श्लोक भन्ने सपना नि छिन्यो अनि उसको आफ्नै कलिलो जीवन पनि ।

कमेन्ट गर्नुहोस्