असोज ६, २०८०
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
अघिल्लो साता काठमाडौंबाट तीन दिन लगाएर रारा पुग्दा बिहानको १० बजेको थियो । आकाश खुला थियो, सेता रुई जस्ता केही बादल टल्किरहेका देखिन्थे ।
मिलिचौरको जंगल हुँदै रारातर्फ अघि बढ्दा नीलो जलाशयको अंश देखियो । मनमा अपेक्षाको रोमाञ्चले आनन्द थप्दै गयो । अनि रारा किनारको चौर पुग्दा त राराको कञ्चन जलमा प्रतिबिम्बित नीलाभ आकाशले मन मुग्ध गराइहाल्यो ।
कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा ताल देवदारका रुखले भरिएको जंगलयुक्त डाँडाले घेरिएको छ । हरियो जंगल र नीलो पानीको समन्वयले प्रकृतिको प्रवीण चित्रकारितालाई प्रस्तुत गरेको भान हुन्छ ।
आँखाहरू दिव्य प्राकृतिक दृश्यपान गर्नमा रमाइरहेको बेलामा मेरा अन्य ज्ञानेन्द्रिय पनि परम आनन्दको अनुभूति गरिरहेका थिए । चराहरूको चिर्बिर अनि जंगलको सुसाइले श्रवणेन्द्रिय पनि मस्त बन्न पुग्यो ।
सबभन्दा महत्त्वपूर्ण कुरा त रारा क्षेत्रमा अनुभव हुने शान्ति हो । शहरको कोलाहल र प्रदूषणमा अभ्यस्त मेरो मनमस्तिष्क अचानक शान्तिको यो वातावरणको सामना गर्दा आश्चर्यमा पर्यो । यो मेरा लागि नितान्त नौलो अनुभव रह्यो ।
मिलिचौरबाट पारि होटलहरू भएको ठाउँमा पुग्न करीब एक घन्टा हिँड्नुपर्ने हुन्थ्यो । तालको अन्तिम विन्दुलाई दायाँ पार्दै किनारै किनार आफ्नी पत्नी विपुलाका साथ म होटलतर्फ लागें । बाटामा ससाना नालाहरूमाथि बनेका काठेपुल तर्दैै हामी अघि बढ्यौं ।
पाइलैपिच्छे मनोरम दृश्य देखेपछि हामी दुवैजना एकछिन अडिँदै अनि तस्वीर खिच्दै बस्यौं । राराको जललाई स्पर्श गर्न उत्कट इच्छा जागेपछि म किनारामा पुगेर अञ्जुलीमा पानी उठाउन थालें । प्रकृतिको समीपमा मैले आफूलाई नियन्त्रण गर्न सकिनँ र कुनै मृगशावक जस्तो गरी लगभग नाच्दै अनि बुरुक बुरुक उफ्रिँदै अघि बढें ।
लगभग एक घन्टा हिँडेपछि हामीहरू होटल पुग्यौं । साहुजीलाई हामी आउने खबर फोनमा दिइसकेका थियौं र खाना पकाउन भनेका थियौं । त्यतिखेरसम्म ११ः३० बजिसकेको थियो र निकै भोक लागेको थियो । हामीले बूक गरिएको कोठामा गएर झोलातुम्बा थन्क्यायौं र खाना खानलाई तल झर्यौं ।
रारामा उल्कैसँग झिंगा भन्किने रहेछन् । होटलवालाले दुईवटा थालमा खाना ल्याइदिँदा त्यसमा झिंगा भन्किरहेका थिए । भोकको सुरमा मैले त देब्रे हातले झिंगा भन्काउँदै खाना खाएँ तर विपुलालाई खाना खान मुश्किल पर्यो ।
खाना खाएपछि हामीले आराम नगर्ने बरू घुम्न निस्किहाल्ने निर्णय गर्यौं । त्यतिखेर दिउँसोको १ बजेको थियो । काठमाडौंमा साथीहरूले रारा पुग्दा डाँडामाथि गएर दृश्य हेर्नुहोला, फोटो पनि राम्रो आउँछ भनेका थिए । त्यसैले मैले कुन डाँडा चढ्नुपर्ने हो भनी होटलवालालाई सोधें । उनले मुुर्मुको डाँडा मात्र हो चढ्न मिल्ने, त्यहीँ जानुस् भने । हिँडेर जाँदा तीन घन्टा लाग्छ, ओर्लदा त एक डेढ घन्टामा आइपुगिहाल्नुहुन्छ, बेलुकासम्म आइपुग्नुहुन्छ भने ।
मुर्मुको डाँडाको टुप्पो पुग्न ठाडो उकालो चढ्नुपर्छ र गलेर भुतुक्क भइन्छ भन्ने थाहा पाएपछि हामीले घोडा चढेर जाने निर्णय लियौं । घोडावालसँग कुरा मिलाएर हामीहरू एक एक घोडा लिएर गयौं । म चढेको घोडाले उकालो चढ्न निकै गाह्रो मान्यो । स्याँस्याँ र फ्याँफ्याँ गर्छ अनि पसिना पसिना भएको छ । अनि बाटामा जता पनि बोटबिरुवा खान थाल्छ । किन यस्तो गरेको यसले भनी घोडावाललाई सोध्दा १० दिनदेखि दाना खुवाउन पाएको छैन, अर्थोक खुवाएर मात्र राखेको भने ।
मलाई निकै ग्लानि अनुभव भयो । यस्तो भोको घोडामा चढेर बेकारमा दुःख दिएँछु, बरू म हिँडेरै जान्छु भनें । अनि घोडावाललाई यसरी पशुलाई भोकभोकै काममा लगाउन नहुनेथियो भनें । अर्की घोडावाल्नीले चाहिँ दुवै घोडा सँगसँगै हिँड्नुपर्छ नत्र मेरो घोडा अघि बढ्न गाह्रो मान्छ भनेपछि मन नलागी नलागी घोडामा फेरि चढें । बाटोमा उसको घाँटी मुसार्दै मनमनै माफी मागिरहें ।
टुप्पोमा पुग्ने बेलामा चाहिँ मलाई घोडाको पीडा देखेर असह्य भयो अनि ओर्लेरै हिँडें । यसरी हामी मुर्मुटप पुग्यौं । त्यहाँबाट राराको दृश्य साँच्चिकै अद्भुत देखिने रहेछ । डाँडाहरूले घेरिएको राराताल अद्भुत प्राकृतिक औंठी जस्तो प्रतीत हुन्थ्यो । गाढा नीलो रंगसहितको जलाशय । वरिपरि हरिया रुखको जंगल । अलि पर हिउँले ढाकिएको साइपाल हिमाल । यसरी विभिन्न रंगहरूको निकै सुन्दर समन्वय बनेको । त्यसमाथि मन्द पवन चलिरहेको । चराको चिर्बिर पनि सुनिएको । स्वर्ग त यसैलाई भन्छन् क्यारे जस्तो अनुभूति भयो । सधैं त्यहीँ बसिरहन पाए हुन्थ्यो नि भन्ने भाव मनमा उत्पन्न भयो ।
रारा क्षेत्रमा केही समय बिताएपछि के लाग्यो भने रारा बिस्तारै मेरो मनमस्तिष्कमा फैलिँदै गएको छ । यसको उद्दाम आकर्षणले म अभिभूत हुँदै गएको छु । यो ठाउँ छोडेर जानु मेरा लागि त्रासदीको अनुभव हो भन्ने विचार आइरहेको छ । मुर्मुटपमा आधी घन्टा बिताउँदा मलाई जीवनको निकै लामो समय त्यहाँ बितेको र मैले अहिलेसम्म अनुभव गरेको आनन्दको चरमोत्कर्ष त्यही भएको जस्तो लाग्यो ।
जेठ महिना रारा भ्रमणका लागि सर्वाधिक उपयुक्त समय रहेछ । यतिखेर आकाश पनि खुलेको हुन्छ अनि विभिन्न रंगका भुइँफूलहरू पनि फुलेका देखिन्छन् । हिमाली जिल्ला मुगुमा यतिबेला जाडो पनि हुँदैन । म दिउँसो हाफ शर्ट लगाएर घुमेको थिएँ तर जाडो अनुभव भएन । आरामले खुलेर घुम्दै प्राकृतिक दृश्यपानको आनन्दमा हामीहरू लिप्त हुन पायौं ।
मुर्मुटपबाट झर्दा चाहिँ घोडाले असहज अनुभव गरेन । एक घन्टाजतिमै हामीहरू तल होटलमा आइपुग्यौं । बेलुकी तालवरिपरि घुम्न जाने हो कि भनी सोच्यौं । तर त्यतिखेर चाहिँ हावा चल्ने रहेछ र चिसो अनुभव हुने रहेछ । हामीहरू कोठामा गएर बाक्लो ज्याकेट र टोपी लगाएर झर्यौं अनि ताल किनारामा बसिरह्यौं । ताललाई जति हेरे पनि नपुग्ने भन्या !
बेलुका उसिनेको आलु खाएर हामीहरू सुत्यौं । भोलिपल्ट उठेर हामीहरू ताल्चा विमानस्थलतर्फ लाग्यौं । रारा जाँदा तीन दिन गाडी चढेर धेरै थाकेको शरीरलाई थप दुःख नदिऊँ भन्ठानेर हामीले विमान चढेर फर्किने निर्णय लिएका थियौं । होटलवालाले प्लेनको टिकट एकजनालाई भनेर मिलाए ।
बिहान ६ बजे होटलबाट हामीहरू तालको किनार हुँदै ताल्चातर्फ बढ्यौं । एक घन्टा जति हिँडेपछि मास्तिर लाग्ने बेला भयो । रारालाई छोडेर जानुपर्दा मन कटक्क काटिएको जस्तो लाग्यो । अन्तिमपटक राराको दर्शन गरेर फोटो खिचेर हामीहरू जंगलभित्र पस्यौं । होटलबाट हिँडेको तीन घन्टामा हामी ताल्चा विमानस्थल पुग्यौं ।
उड्दैन भनेको सम्मिट एयरको विमान ताल्चाबाट नेपालगंजका लागि भाग्यवश उडिदियो । विमान रारामाथि हुँदै उड्यो र अन्तिमपटक राराको दर्शन गर्ने अवसर दियो ।
रारा क्षेत्रमा बिताएका लगभग २४ घन्टाका दिव्य अनुभव मनमस्तिष्कमा सधैंका लागि छापिएर बसेका छन् । रारा पुग्नुअघि सिँजा उपत्यकामा बिहानीपख घोडा चरिरहेको पाटन अनि विविध रंगले सजिएका डाँडा पनि मेरो स्मरणमा गहिरो गरी बसेका छन् । राराको देशमा जन्मिन पाएको म गर्वानुभूति गर्छु ।
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...