हिन्दी फिल्म 'कबिर सिंह'ले झल्काउँछ हाम्रो समाजको प्रतिगामी सोच

“ठीकैको बसिविँयालो र समयको बर्बादी” भन्ने एक साथीको प्रतिक्रिया फेसबुकमा पढेपनि प्रदर्शन शुरु भएको आठ दिनमै एक सय छयालीस करोड भारुको व्यापार गरेको भन्ने चलचित्र कबिर सिंह मेरो एकजना मिल्ने साथीसँग हेर्न एकाबिहानै चलचित्र हलमा पुगें । नाम चलेका नेपाली चलचित्रमात्र हलमा हेर्न पुग्ने र अन्य चलचित्र युट्युबमा उपलब्ध भएपछि हेर्ने मेरो बानी छ। तथापि एकादुई चलचित्र हिन्दी र अंग्रेजी नै किन नहुन् हलमा हेर्न जाने गरेको छु, यदाकदा ।

चलचित्र हेर्न जाँदा ज्यादै नै आश गरेर जाने वा पैसा खेर फालिने भैयो भनेर म हलभित्र छिर्दिन । म सकेसम्म सन्तुलित हुन कोशिश गर्छु चलचित्र हेरिरहेको बेला र त्यसै समयमा गर्ने गर्छु, राम्रा नराम्रा पक्षको विश्लेषण । यति गर्दागर्दै पनि प्रत्येक मानिसले आफूहुर्किएको परिवार, समाज र त्यसले प्रतिस्थापित गरेका सोचका कारण भित्रभित्रै चित्त नबुझेको महसुस गर्ने गर्छ । त्यस्तो सोचलाई पनि अर्को दृष्टिकोणबाट प्रतिवाद गर्न खोज्छु म, जब अरु दर्शक ती दृश्यमा रमाइरहेका हुन्छन् तर त्यो मनोरञ्जनमा म देख्छु अराजकताको पराकाष्ठा र स्वतन्त्रताको चरमोत्कर्ष । 


Advertisement

यो चलचित्र एक शल्य चिकित्सकको चिकित्साविद्या पढ्दा देखुन उसको पेशागत जीवनको शुरुवाती अवस्थासम्म बितेका समय र आएका उतारचढावबारे छ। यही असारको पहिलो हप्ता लेखक रमेश भुषालको पर्वतको होर्स्यांदीबाट शुरु भएको आप्mनो जीवनको संघर्षपूर्ण वृत्तान्त पढ्दा गला अबरुद्ध भएको मान्छे, मलाई, यस चलचित्रको कुनै पनि दृश्यले कत्ति पनि रोमाञ्चित गर्नसकेन । कतै पनि काँडा उम्रिएनन् मेरा । न त हाँस्न बनाएका दृश्यमा हाँसो लाग्यो न त दुखद दृश्यमा दुःखी नै बने । मुख्य कुरा चलचित्रको प्रस्तुतिले मलाई छुन सकेन ।

न त आधुनिकता वरण गर्न सकेको न त परम्परागत मूल्यमान्यतालाई आत्मसात गरेको अधकल्चो मान्छे हुँ म शायद । चलचित्र भवनमा उपस्थितमध्येका असी प्रतिशत मान्छे रोमाञ्चित हुँदा, अट्टाहस गर्दा अनि रुन्छु रुन्छुजस्तो गरेर टोलाउँदा म भने आफ्नासबै ज्ञानेन्द्रियले काम गर्दा पनि कुनै भावविहीन मुढोजस्तै यताउता हेरिरहें । यी सबै प्रतिक्रिया आउनुमा चलचित्रको शुरुवातबाटै आँखा अगाडी नाच्न थालेका धेरै दृश्य जुन मेरो व्यक्तिगत सोच र व्यवहारसँग बेमेल हुने खालका थिए, त्यसका कारण आएको हुनसक्छ ।


Advertisement

हाम्रो अहिलेको बजारमुखी अर्थव्यवस्थामा महिलालाई एउटा वस्तुको रुपमा प्रस्तुत गरिरहिएको कुरा सर्वविदितै छ । त्यसैगरी पितृसत्ताले नजानिंदो ढंगले गाँजेको हाम्रो समाजमा महिलालाई दोस्रो दर्जाका नागरिकका रुपमा हेर्ने कुरीति र कुसंस्कार व्याप्त छ। महिलालाई एक भोग्याको रुपमा हेर्ने यस चलचित्रका प्रोटागोनिष्ट (वा भनौं प्रमुख पुरुष पात्र), कबिरका हर्कत सामाजिक दृष्टिकोणले वास्तवमै आपत्तिजनक लाग्छ ।

आपूmलाई जतिखेर मनलाग्छ त्यतिखेर शारीरिक सम्बन्धका लागि महिला तयार भइदिन पर्ने, आपूmले खोजेको कुरा नभए झडंग रिसाएर कराउने, अरुलाई तर्साउने बानीलाई कदापि राम्रो मान्न सकिन्न । यस किसिमको नराम्रो र असहिष्णु व्यवहारलाई चलचित्रमा कतैपनि सुधारेको देख्न पाइँदैन । आफ्नापेशागत मर्यादाप्रति असंवेदनशील, आफ्नापारिवारिक जिम्मेबारीबाट विमुख र आप्mनो शरीरलाई पीडामात्र दिने यस चलचित्रका मुख्य पुरुष पात्रको अभिनय जीवन्त भएपनि त्यसले उक्त चलचित्र हेर्न आएका प्रायः केटा र केटी साथीको जोडीलाई एउटै सन्देश दिन्थ्यो, मास्क्युलिन (मर्द) बन, रचनात्मकभन्दा पनि हिंसात्मक बन, जतिखेरै रतिरागमा लिप्त होऊ, मद्यपान, धुम्रपान दिक्दार लाग्दाको साथी हो, आदि आदि। चलचित्रका मुख्य अभिनेता हामीले ठम्याउँदै आएको असभ्य र असहिष्णुजस्तै भएपनि त्यसलाई सामान्य मानेर चलचित्र हेर्दिनुपर्ने बाध्यता छ दर्शकलाई । ऊ सुध्रियोस, असल मान्छे बनोस भनेर अन्य पात्रले गरेको प्रयास बालुवामा पानी खन्याए बराबरको लाग्छ । छोरा भएर रुन हुँदैन भन्ने वाक्यांशले फेरि हाम्रो पुरानै मानसिकतालाई यस चलचित्रले निरन्तरता दिन खोजेको महसुस हुन्छ । 

धुम्रपान र मद्यपानको अत्यधिक प्रयोग अनि प्रेमालाप र शारीरिक सम्बन्धका अनगिन्ती दृश्यहरु समाजलाई सकारात्मकतातर्फ डोर्याउने खालका छैनन् । परिवारका कुनै पनि सदस्य साथै गएर यो चलचित्र हेर्न शायदै कसैले सक्ला । होला यस चलचित्रले विद्यार्थी जीवनका रमाइला र अफ्ठ्यारा क्षणहरुलाई उतार्न खोजेको तर मलाई आफूअधकल्चो भएको महसुस तब भयो जब उपस्थित अधिकांश दर्शक ती आपत्तिजनक दृश्यहरुमा होहल्ला गर्दै, सिट्ठी फुक्दै र अट्टाहस गर्दै त्यस्ता दृश्यहरुको भरपूर मजा लिइरहेका थिए । आफ्नाकुण्ठा ती दृश्यहरुले सम्बोधन गरेको महसुस गरेर पनि रमाएका हुनसक्छन् शायद तर यसले म र मेरो साथीका दिमागमा एउटा गम्भीर प्रश्न बारम्बार ल्याइदियो, आखिर हाम्रो समाज कता जाँदैछ? के यो रोक्न आवश्यक छ? अनि के हामीमा यो रोक्ने क्षमता छ? 

मैले मेरो बाल्यकालदेखि अहिलेसम्म देखेको र भोगेको समाजमा धेरै परिवर्तन आइसकेको छ । सकारात्मक परिवर्तनको म सदैव समर्थन गर्छु र आत्मसाथ पनि तर मलाई लागेको यस किसिमको संक्रमणले हाम्रो समाजलाई कता पुर्याउने हो भन्ने कुरा मनमा यस किसिमका चलचित्र हेरेर मात्र आएका होइनन् । पुराना र नयाँ कुराहरुको तुलनाले हो । हाम्रा जीवनका सामान्य दैनन्दिनी र त्यसमा पनि नकारात्मकता फैलाउने खालका चलचित्र बनाउने नै किन यदि त्यसले समाजलाई कुनै सकारात्मक खुराक या सन्देश दिन सक्दैन भने ।

हाम्रा परिवारका, समाजका अनगिन्ती विषयवस्तुहरु छन् जसलाई चलचित्रमा तुनेर आम सर्वसाधारणका बीच पुर्याउन सकिन्छ। यथार्थ उजागर गर्न सकिन्छ । समाज सुधारका लागि केही गर्नपर्छ है भन्ने आग्रह गर्न सकिन्छ । तर पैसा कमाउने उद्देश्यले बनाइने यसप्रकारका व्यावसायिक चलचित्रले समाज निर्माणमा कुनै योगदान गर्दैनन् । अराजकताका लागि उक्साइरहन्छन् र गैर जिम्मेवार बन्न प्रेरित गरिरहन्छन् यसप्रकारका चलचित्रले । तर म यस चलचित्रले यति विधि व्यापार गरेर करोडौं पैसा कमाएकोमा आश्चर्यचकित छैन तर चिन्तित अवश्य छु । हाम्रो समग्र समाज विशेष गरी युवा जमात यही समाजको विकास र परिवर्तनको संवाहक हो । त्यही पुस्ता पितृसत्ताको प्रबद्र्धन, असहिष्णु र अराजक चलनको बढावामा रमाउँछ भने भोलिको हाम्रो समाज कता जाने हो । यद्यपि यो कुरा कुनै व्यक्तिको वशमा रहने कुरा भएन । हामी सबै सचेत, जिम्मेवार र कर्तव्यपरायण भएको खण्डमा आशा छ हामीले देख्ने परिवर्तन सकारात्मक हुनेछ र एउटा सहिष्णु, समान र उन्नत समाजको निर्माण हुनेछ । 

कमेन्ट गर्नुहोस्