ह्याप्पी बर्थ डे डियर प्रकाश दाहाल !

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

आजकल मुटु दुखेर अस्पताल जानेहरूलाई डाक्टरले भन्दा रहेछन् – ‘प्रकाश दाहाल सिन्ड्रोम’ । प्रकाश दाहालको निधनपश्चात् ‘ऐया–ऐया मरे नि बाबै, लौ मरिहाले’ भन्दै मुटु थिच्दै इमर्जेन्सीमा पुग्नेको संख्या चौगुणा बढेको रहेछ । मुटु दुख्यो भन्दै युवायुवती दौडेर आउने तर इसीजी, इको गर्दा केही नै नहुने एक प्रकारको त्रास धेरैमा देखिएको छ ।

आज प्रकाश दाहालको ३८ औं जन्मदिन । हिजोबाट नै सामाजिक सञ्जालमा प्रकाश दाहालबारे चर्चा भइरहेको छ । उनको सम्झनामा हजारौंले केही न केही लेखिरहेका छन्, बोलिरहेका छन् । प्रकाश दाहालको यतिधेरै सम्झना र अभावको हुटहुटीपन किन ? प्रकाश दाहाल बाँच्दासम्म उनको खेदो खन्न कसैले छाडेन, मरेपछि उनको संस्मरण गर्न पनि कसैले छाडेन । यो कस्तो माया हो ? के यो माया हो ?


Advertisement

भगवान् भनिएका जिसस क्राइस्ट, विष्णु, शिव, बुद्ध, पार्वती त मरेर गए, आममानिस प्रकाश दाहाल सदैव बाँचिरहने भन्ने नियति थिएन । संसार छाड्नैपर्ने प्रकृतिको नियम राजनीतिको नियमभन्दा कठिन हुन्छ । त्यसैले दुनियाँकै शक्तिशाली, प्रभावशाली ठूला–ठूला मानिस पनि मृत्युलाई जित्न सक्दैनन् तर मृत्युसँग हार मानेर जाने केही पात्रले इतिहासलाई भने जितेका हुन्छन् । इतिहास जित्न नसक्नेले आफ्नो भाईसाथीको मन जितेका हुन्छन् । एक्लै टुप्लुक्क ४ तले पक्की घर बनाएर मर्नु र हजारौं शुभचिन्तकको मन जितेर मर्नुमा धेरै फरक हुन्छ । प्रकाश दाहाल हजारौंको मन जित्नेमध्ये थिए ।

काँचो–कलिलो हाडछालाको एकबारको जुनी लिएर एकमुठी प्राणलाई हावा भरिरहेका प्रकाश दाहाल तपाईं–हामीजस्तै २ दिनको चोलामा बाँचिरहेका थिए । त्यसैले प्रकाश दाहाल मरे । मर्न त हिजो युद्धको बेलामा पनि मर्न सक्थे, सगरमाथा चढ्दै गर्दा पनि मर्न सक्थे । किनभने ती कर्महरू कम्ता जोखिमपूर्ण थिएनन् । अब प्रकाश दाहालको संघर्षपूर्ण जीवनबाट पाठ सिकेर अगाडि बढ्ने हो । उनको निधनलाई नै संघर्षपूर्ण बनाइदिने होइन भन्ने उनको नाममा प्रतिष्ठान खोलेका कुलकुटम्ब, दौतरी, हितैसीलाई अनुरोध छ । 

प्रकाश दाहाल आजको मितिसम्म धर्ती लोकमा जीवित रहेको भए आज उनी आफ्ना प्रिय भाइसाथी, परिवारका सदस्य र नातेदारसँग बसेर रमाइलो गर्दै आफ्नो जीवन यात्राको ३८ औं जन्मोत्सव मनाइरहेका हुन्थे । सम्भवत शुभ जन्मदिनको उत्सवलाई यादगार बनाइराखुँ भनेर उनको निवासतिर वा यतैकतै सानोतिनो भोज समेत हुने थियो, केक काटिने थियो । सामाजिक सञ्जालमा उनको चिरायूको कामना गर्दै सँगै खिचिएका तस्वीर पोस्ट गर्ने हजारौं हुन्थे । प्रिय छोरालाई काखमा लिएर श्रीमतीको हँसिलो मुहारलाई केन्द्रबिन्दू गराएर सेल्फी खिच्दै रमाइरहेका हुन्थे । सम्भवत आमा सिता दाहालको आशिर्वाद र बुवा पुष्पकमल दाहाल ‘प्रचण्ड’को मायामा पुलकित हुँदै आजको दिन उनको मुहारमा मुस्कानको चमकता फैलिने थियो । तर दुःखका साथ भन्नुपर्छ प्रकाश दाहाल दिवंगत भइसकेका छन् ।

उनी यो लोकबाट धेरै टाढा पुगिसकेका छन् । उनको भौतिक उपस्थिति हामीमाझ छैन । अब हामीसँग उनका तस्वीर, विचार, योगदान, त्याग तपस्या र बलिदानी मात्रै विचार विमर्शका खातिर बाँकी छन् । सकारात्मकता र नकारात्मकताको फ्यूजन हो मान्छे । मान्छेमा केही नकारात्मकता पनि हुन्छन् । जे होस्, जस्तोसुकै चट्टानी हृदय भएकालाई पनि भौतिक रुपमा नै आफ्नो मान्छेको विलय हुनु बडो दुःखद पक्ष हो । 
हुन त प्रत्येक दिन करोडौं मानिस मरिरहेका छन्, सोही अनुपातमा जन्मिरहेका पनि छन् । कोही जन्मिने चरणमा छन्, कोही मर्ने प्रक्रियामा छन् । यो बाँच्ने र मर्ने विषय केवल भावुकता मात्रै हो । यथार्थ त मिति पुगेको बेला जे हुन्छ त्यही हो । यसकारण प्रकाश दाहालको निधन प्राकृतिक, स्वभाविक र पृथ्वीको नियमसंगत थियो ।

राजा महाराजाको बारेमा गुणगाण गाउने एउटा चलन थियो । अहिले पनि शक्तिकेन्द्रको बारेमा ‘वा क्या बात, क्या कमाल भयो’ भनेर कथा बनाउने चलन छ । समग्रमा लेखन, साहित्य, संस्मरण, तक्मा, सम्मान, पुरस्कारमा चाकडी हाबी छ । कसैको सम्झना वा बिर्सना, उपस्थिति वा अनुपस्थितिमा भावुक कुरा लेखेर समयको सत्यानाश गर्नेहरू पनि छन् । 

नेपालको शक्तिकेन्द्रका प्रमुख पात्र प्रचण्ड पुत्रको नाताले होइन, शक्तिशाली मनुष्य भएको नाताले पनि होइन, कुनै लेनदेन–सहकार्य र सहयात्राको अनुभूतिजन्य संस्मरणका कारणले पनि होइन, केही चिजका कारण आजको दिनमा प्रकाश दाहाललाई ह्याप्पी बर्थ डे भन्न मन लाग्यो । सायद उनी जीवित भएको भए उनको म्यासेन्जरमा जन्मदिनको शुभकामना पठाउने थिए । धन्यवादको प्रतिउत्तर आउने थियो तर फेसबूकले नै उनलाई सम्झनाको श्रेणीमा धकेलिदिएको छ । २ थुंगा पु्ष्पगुच्चाजस्तै उनी फुलेर, फक्रेर अन्ततः झरेका छन् ।

नर्भिक अस्पताल पुगेर प्रकाश दाहालको मृत शरीर हेरेको दृश्य उनको जन्मदिनको अघिल्लो रातमा सम्झिए । डाक्टरहरूका अनुसार तनाव हुँदा त्यो कुरा कापीको पानामा लेख्नुहोस्, च्यात्नुहोस्, फेरि लेख्नुहोस् । यसो गर्दा शान्ति मिल्ने छ । म यही अभ्यास गरिरहे । त्यतिखेर सामाजिक सञ्जालमा कतिपयले भनेका थिए, उनको मुखबाट रगत निस्केको छ, अनुहारमा निलो डाम छ, यस्तै–यस्तै । केही मिडिया र मानिसले उनको निधनबारे शंका पनि गरे । शंकाको छूट स्वाभाविक भएपनि उनको अनुहारमा न रगत थियो, न निलो डाम । खुला आँखाले हेर्दा जे देखिन्थ्यो, सामान्य थियो ।

प्रत्येक सजीव प्राणीको अस्तित्व त्यतिबेलासम्म सम्भव छ, जतिबेलासम्म सजीव अंगले क्रिया–प्रतिक्रिया दिइरहन्छन् । कलेजो, मुटु, फोक्सो, मृगौला चलिरहेसम्म प्राण रहने कुरा हो । यदि कम चलेमा वा चल्नुपर्ने बेलामा, प्रतिक्रिया जनाउने बेलामा प्रतिक्रिया जनाउन सकेन भने अंगहरूको उपादेयता समाप्त हुन्छ र सँगै भौतिक शरीरको अस्तित्व पनि समाप्त हुन्छ ।

प्रकाश दाहालको मुटु नचलेको हो । त्यो मुटु के–कति कारणले चलेन, चिकित्सा विज्ञानको विषय हो तर मुटु नचलेको सत्य हो । मुटु नचलेर अनुहारको रंग बदलिएका, शरीरको भाव र लय नै फेरिएका प्रिय प्रकाश दाहाल दाइलाई आर्यघाटको अन्तिम खरानीको एक डल्लासम्म पछ्याउँदै जाँदा लोभीपापी स्वार्थीका कुरा बेग्लै भएपनि हजारौंको त्यो भीडले महाप्रस्थानको झल्को दिन्थ्यो ।

जस्तोसुकै आलोचनालाई सहेर पनि लक्ष्य अडिग रहने प्रकाश दाहाल जति दिन बाँचे तनावपूर्ण दिनचर्यामा बाँचे भन्ने लाग्छ । बाहिरबाट हेर्दा भव्य–सभ्य देखिएपनि भित्रि दुःख भोग्नेलाई मात्र थाहा हुन्छ । बाल्यकालदेखि युवा अवस्था हुँदै वयस्कसम्म पुग्नै लाग्दा उनले निकै छोटो समय बाँचे तर हजारौं वर्षको अनुभव ३८ वर्षमै गर्न भ्याए । किनभने ३८ वर्षको उमेरमा युद्ध र शान्तिको प्रमुख पात्रसँग सँगसँगै हिँड्नु, बस्नु, सहयोगी र कार्यकर्ता हुनु । देश–विदेशका राजनीतिक घटनाक्रम र व्यक्तित्वलाई नजिकबाट नियाल्नु चानचुने विषय होइन । दोस्रो बिहे गरेर पार्टीको कारबाही भोग्दै दिल्ली भागेर बीबीसीमा अन्तर्वार्ता दिनु भनेको सानो हिम्मत हैन । वास्तवमा प्रकाश दाहालको हिमम्त कडा थियो । चारैतिर घेराबन्दी भएको समयामा बाउको साथ प्रकाश दाहाल खडा हुन्थे । त्यो कुरा लोकेन्द्र बिष्टहरूलाई थाहा नै छ । मलाई प्रकाशले गेटमै रोक्यो भनेर कालो चामलका कृषक बिष्ट मिडियामा रोएका थिए ।

प्रकाश दाहालले ३ वटा कर्म एकदमै रणनैतिक हिसाबले गरे । जुन कर्मलाई रिस गर्नेहरू धेरै थिए । पहिलो थियो – शक्तिशाली ठानिएका केहीका लागि बालुवाटार भनेको ससुरालीजस्तै हो, जतिखेर गएपनि ढोका खोल्नुपर्छ भन्ने ठान्थे । पार्टीभित्र पनि बाहिर पनि यस्तो सोच राख्नेहरू कैयौं थिए तर यो बेथितिलाई प्रकाश दाहालले व्यवस्थित गरे । प्रकाश दाहाल प्रचण्डको छोरा मात्र थिएनन्, देशका कार्यकारी प्रधानमन्त्रीको काममा खटिने कर्मचारी पनि थिए । बालुवाटारको ढोका बिचौलिया, कमिशनखोरीहरूको लागी बन्द थियो । बरु सामान्य नागरिक, गाउँबाट आएका जनताको बालुवाटारमा पहुँच थियो । प्रधानमन्त्रीलाई सामान्य जनस्तरको सम्पर्कमा पहिलोपटक प्रकाश दाहालले नै पुर्‍याएका हुन् ।

दोस्रो, अघि नै चर्चा गरिएजस्तो युद्धदेखि शान्तिकालसम्म प्रकाश दाहालले अनवरत रुपमा पार्टीको सेवा गरिरहे । यदाकदा जानेर, नजानेर विवादित काममा संलग्नता हुने कुरा भइहाल्यो तर मुख्य त परिवर्तनका निम्ति प्रकाश दाहालले कसैले भन्दा कम योगदान दिएका छैनन् । युद्धको बेलामा पनि हतियार बोकेर रोल्पा रुकुममा हिँडे, शान्तिकालमा पनि कहिले चीन त कहिले भारत भ्रमणमा पुगेर प्रचण्डको सेवा गरिरहे । अर्थात् सबै किसिमका अनुभव संगाले । समग्रमा एउटा नेपाली युवाले कमै मात्र पाउने अवसर प्रकाश दाहालले पाए र त्यो अवसरको सदुपयोग पनि गरे । यसैकारण प्रचण्डको दोस्रो प्रधानमन्त्रीको कार्यकाल जनसम्पर्कका दृष्टिले, सामाजिक सञ्जाल र मिडिया परिचालनका दृष्टिले एकदमै सफल भयो भनिन्छ ।

तेस्रो, उमेर अनुसार स्वभाव देखिनु स्वाभाविकै हो । युवामा जोश जाँगर भएन भने त्यो युवा हुन सक्दैन । बाल्यकालमा र युवाकालको प्रवेश चरणमा दुःख, तनाव र पीडा मात्रै सहनुपरेर होला शान्ति प्रक्रियापश्चात् मात्रै प्रकाश दाहालले आफू स्वतन्त्र भएको महसूस गरेको हुनुपर्छ । किनभने रक्सी पिएर कुर्सीमा निदाएको काण्ड, बहुविवाहको काण्ड, डीएसपीको फूली भएको युनिफर्म लगाउने काण्ड, जेजति काण्ड भए ती मूलतः शान्ति प्रक्रियापश्चात् नै भएका छन् । 

प्रचण्डको छोरा भएकै नाताले कडा अनुशासनमा बस्नुपर्ने, रीतिथिति पनि अलग्गै हुनुपर्ने परिस्थितिजन्य सीमाका कारण प्रकाश पिँजडामा थिए भन्न सकिन्छ । पिँजडाबाट फुत्किएको सुगा के गर्छ होला ? भुरुरुरुरुरुरु हावाको तालमा उडेर गइहाल्छ नि ! हो प्रकाश दाहाल हावाको तालमा यसर्थ उडेका थिए ।

अन्तिममा प्रकाश दाहालको ३८ औं जन्मजयन्तीको अवसरमा उनको संस्मरण गर्नबाहेक अरु के नै गर्न सकिन्छ र ? यद्यपि जन्मदिनको अवसरमा हावामा विलिन भएको त्यो सजीव मानचित्रलाई चीरशान्तिको कामना ! बाँचुञ्जेलसम्म लोकको सेवामा समर्पित एक देशभक्त सपुतको निधनले राष्ट्रलाई ठूलो क्षति पुग्यो । विचारहरू विभाजित छन् समाजमा तर मुलुकप्रति उनको योगदानको चर्चा मसिनो हुनु हुँदैन ।

भाग्यवादमा विश्वास त खासै लाग्दैन तर पुनर्जन्मको अस्तित्व कतै भेटियो भने डियर दाइसँग फेरि भेट होस् ।

केही फूलहरू झरेर गए
केही मान्छेहरू मरेर गए
आँखिर फूल झरेर गएपनि, मान्छे मरेर गएपनि 
सम्झनाका सुगन्ध छरेर गए ।

कमेन्ट गर्नुहोस्