कर्पोरेट गुरिल्ला र कुदिरहेको विश्व अर्थतन्त्र

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

एक्काइसौं शताब्दी कर्पाेरेट संस्था (बहुराष्ट्रिय कम्पनी) हरूको शताब्दीका रुपमा चिनिएको छ । अघिल्लो सताब्दीमा जसरी स्पेन, बेलायत, पोर्तुगीज र जर्मनीको चर्चा हुन्थ्यो, यस शताब्दीमा सामसुङ, गुगल, माइक्रोसफ्ट, एप्पल, सोनी, अलिबाबा, अमेजन, वालमार्ट, म्याकडोनेल्ड र टाको वेलको चर्चा हुँदैछ ।

यस शताब्दीमा बहुराष्ट्रिय कम्पनीहरू गोलाद्र्धका सबै कुनामा फैलिएका छन् र आर्थिक र सामाजिक प्रगतिको सुनामी ल्याइरहेका छन् । 


Advertisement

यिनीहरूकै सक्रियताको कारणबाट विश्वको कुनै पनि भागको सम्भावनाको भागेदार अर्को भागको नागरिक सजिलै बनिरहेका छन् । यसको श्रेय बजार अर्थतन्त्र र यसलाई हाँक्ने तीव्रगतिका कर्पोरेट गुरिल्ला (बहुराष्ट्रिय कम्पनी) लाई दिन सकिन्छ । 

यी गुरिल्लाहरू यस अवस्थामा त्यसै पुगेका होइनन्, यसको इतिहास लामो छ । ५/६ शताब्दी अघिको समयको कल्पना गरौं, मानिसहरू कुन अवस्थामा बाँचिरहेका थिए होलान् ? विश्व विजुलीविहीन थियो, सेलफोन, रेफ्रिजरेटर, हवाईजहाज, कम्प्युटर, डीभीडी, आणविक शक्ति, राडार प्रणाली लगायतका आधुनिक सुविधाबाट मानव समुदाय पूर्णतः अछुतो थियो र त्यस्तो कल्पनासम्म गर्नु पनि मूर्खता मानिन्थ्यो । कुन्नि के को लोभबाट शुरू भएको क्रिस्टोफर कोलानको देशावर यात्रा गर्ने उत्साहले धेरै सफलता पाउन सकेन तर यसको केहीपछि कोलानको यस यात्रालाई क्रिस्टोफर कोलम्बसले एसियाको खोज अभियानका रुपमा निरन्तरता दिए तर पाए क्यारिबियन र अमेरिकन मुलुकहरू ।


Advertisement

यी ‘इनोसेन्ट यात्रा’ले स्पेनिस, अंग्रेजी, फ्रेञ्च, बेल्गान, पोर्तुगिज, डच र जर्मनलाई विश्वका अन्य कुनासम्मको स्रोत–साधन दोहन गर्ने अवसर दियो तर त्यसपछिको यात्रा भने ‘इनोसेन्ट’ रहेन, प्रतिस्पर्धापूर्ण रह्यो । आफ्नो स्वार्थसिद्ध गर्न अरुको भूमिमा यी शक्तिहरूले व्यापारको नाममा युद्ध नै गरे । अन्ततः युरोपेलीहरू विश्वको खनिज सम्पदामाथि एकछत्र अधिपत्य कायम गर्न सफल रहे । 

अघिल्लो शताब्दीको अन्ततिर आइपुग्दा व्यापार तथा पूँजी प्रवाह (विश्वव्यापीकरण) को प्रवृत्ति नै बदलियो । जसलाई मार्गरेट थेचर र रोनाल्ड रेगनले अस्ट्रियन अर्थशास्त्री फ्रेडरिक हाय्क र शिकागोका मिल्टन फ्रायडम्यानको आर्थिक अवधारणालाई पछ्याएपछि यो प्रवृत्ति बदलिएको हो । उनीहरूको जोड थियो ‘ठूलो सरकार हरेक प्रकारका समस्याको समाधान होइन कि बरु आफैं समस्याको कारण पनि हो ।’ त्यसैले राज्यको आर्थिक भूमिका बजारमा हस्तान्तरण गरी बजारलाई विस्तारकारी भूमिकामा लैजानुपर्छ, जसले राज्य छरितो र प्रभावकारी बन्छ भने बजार कार्यकुशल र प्रतिस्पर्धी । हाय्क–फ्रायडम्यानको यस आर्थिक दर्शनले गोलाद्र्धलाई यसरी प्रभावित पार्‍यो कि विश्वका सवै मुलकुहरू सकी नसकी उदारीकरणको यात्रामा होमिए । बर्लिन पर्खाल ढलेपछि यस यात्रालाई थप सैद्धान्तिक बल पुग्न गयो ।

ब्रिटेनउड संस्था र यसको विचारधारालाई वोक्ने निकायहरू उदारीकरणलाई संस्थागत गर्न विश्वव्यापी नीतिशिल्पीका रुपमा देखिए । कोलान र कोलम्वसको यात्राले युरोपेलीहरूलाई अवसर दिएको थियो, अहिले अदृश्य शक्ति (भर्चुयल पावर) ले अवसर पाइरहेको छ । त्यतिवेला व्यापार विस्तार र स्रोतमाथिको अधिपत्यका लागि तछाडमछाड थियो, अहिले कार्यकुशलता र प्रतिस्पर्धा तीव्रत्तर छ । यी बहुराष्ट्रिय कम्पनीहरू यति दरिला छन् कि कतिपय राज्यभन्दा यिनीहरूको एक्लो शक्ति कैयन गुणा ठूलो छ । यो ‘मार्केट म्यागिक’ को अभियान हो, र लाग्छ यो अझै युगौयुगसम्म चलिरहने प्रक्रियामा तीव्रत्तर छ । 

बहुराष्ट्रिय कम्पनीहरू तीव्र गतिका आक्रामक आर्थिक अभियान्ता (गुरिल्ला) हुन्, । यिनीहरू कहिल्यै स्थिर र निष्क्रिय छैनन्, हुँदैनन् पनि । प्राप्त सफलताबाट सन्तोषको सुस्केरा पनि हाल्दैनन्, थकावटमा नै देखिन्छन् । प्रतिस्पर्धाका लागि निरन्तर खोज, अनुसन्धान र विकास यिनीहरूको धर्म हो । हिजो उत्पादन उद्योगबाट लोभिएका थिए, सेवा उद्योग हुँदै अब ज्ञान व्यवसायमा रुपान्तरित हुँदैछन् । ग्राहकहरूको स्वाद ठम्याउन र त्यसै अनुरुपको सेवा वस्तु उत्पादन गर्न प्रतिस्पर्धा गरिरहेका छन् । उत्पादनमा आफ्नो पहिचान राख्न र ग्राहकहरूको मन जित्न ‘ब्राण्ड’ र ‘स्कील सेट’को सहारा लिएर निरन्तर गुणस्तर सुधारमा लागिपरेका छन् । उनीहरूलाई राम्ररी थाहा छ विश्वव्यापीकरणको समयमा भविष्य संकेत बुझेर फाइदा लिन सक्नुपर्छ, तत्कालको बजार संकेत मात्र पर्याप्त छैन । यसका लागि पात्रहरूको स्वतन्त्र अन्तर्क्रियाले पनि आपसी स्वीकृति पाएको छ । चालू र भविष्यको मागको अनुमान र त्यसैअनुरुप स्रोत साधनको विनियोजनको अभ्यास गर्न ‘कस्टोमर इन्टिलिजेन्स’मा निरन्तर लगानी बढाइरहेका छन् । पुस्ता र समय अनुसार ग्राहक स्वाद र सन्तुष्टि दिन अनुसन्धान गरिरहेका छन् । सूचना प्रविधिले यसलाई औधी साथ दिएको छ । हत्केलाको टचस्क्रिनमा व्यापार, व्यवसाय, अन्तर्क्रिया र बजारीकरणको अपूर्व अवसरहरू उपलब्ध छन् । 

विश्वका करीब ४ सय बहुराष्ट्रिय कम्पनीहरू विश्व अर्थतन्त्रलाई चलायमान गराउन निरन्तर क्रियाशील छन् । कर्पोरेट हाउसका संस्थापन र सब्सिडियारीको सञ्जालले विश्वमा छुट्टै आर्थिक सार्वभौमसत्ता (कर्पोरेट साम्राज्य ?) कायम गरिरहेको छ । त्यसैले स्रोतसाधनको अभिपत्य कायम गर्न अठारौं–उन्नाइसौं शताब्दीमा भएजस्तो राष्ट्र–राष्ट्रबीच अब कुनै युद्ध हुने छैन । किनकि राष्ट्रराज्यहरूले आर्थिक सार्वभौमसत्ताको शक्तिलाई यी अदृश्य शक्तिमा समर्पण गरिसकेका छन् । परिणामतः राज्यहरू यस शक्तिलाई नियमन गर्ने हैसियतबाट नजानिँदो रुपमा बाहिरिँदै छन् ।

वासिङ्गटनस्थित नीति अध्ययन संस्थानको केही वर्षअघिको अध्ययन अनुसार विश्वका १ सय ठूला अर्थतन्त्रमध्ये ५१ लाई बहुराष्ट्रिय कम्पनीले चलाएका छन् । जनरल मोटर कम्पनीको आर्थिक हैसियत डेनमार्कको भन्दा ठूलो छ । वाल मार्टको कारोबार मूल्य पोल्यान्ड, दक्षिण अफ्रिका वा ग्रीसको अर्थतन्त्रभन्दा पनि ठूलो छ । त्यस्तै भक्स भेगनको कारोबार मलेशिया, पाकिस्तान वा चिलीको अर्थतन्त्रभन्दा ठूलो छ । विश्व अर्थतन्त्रको २५ प्रतिशत हिस्सा २ सय यस्ता ठूला कम्पनीहरूको छ, जसको कारोबार मात्र विश्वका २४ प्रतिशत जनसंख्याभन्दा ठूलो छ । विश्वमा रहेका करीब ४ सय यस्ता कर्पोरेट गुरिल्लाहरू नै विश्व अर्थतन्त्रको आकार र प्रगतिलाई निर्धारण गरिरहेका छन् । सामसुङ, एप्पल, गुगल, माइक्रोसप्mट रणनीतिक दौडाइका पछिल्ला गुरिल्ला हुन् । भावी दिनमा यस्तै गुरिल्लाले मानव जीवनलाई नजाने के कति अवसरहरू पस्किने छन् ? कति चुनौती थप्ने छन् ? 

विश्वका बाघ अर्थतन्त्रका रुपमा चिनिएका सिंगापुर, मलेसिया, कोरिया र उदीयमान अर्थतन्त्र बन्दै गरेका छिमेकी मुलुक भारत, चीन सबै नै कर्पोरेट गुरिल्लाका कारण लगानी, रोजगारी, उत्पादन र वितरण प्रक्रियाको यस स्थितिमा पुगेका हुन् । जापानलाई जापान बनाउने आकिहावारा भनौं वा चीनलाई यस स्थितिमा पुर्‍याउने शाङ्घाई–ग्वानझाओ–हङ्कङ, कर्पोरेट गुरिल्लाको तीव्र आर्थिक क्रियाकलापका परिणाम हुन् । राष्ट्रराज्यहरू बहुराष्ट्रिय कम्पनीलाई काम गर्ने वातावरण मात्र मिलाइरहेका छन् । राष्ट्रहरूको सफलता पनि यी बहुराष्ट्रिय कम्पनीलाई कति वातावरण सहज बनाउन सके भन्नेमा देखिएको छ । कतिपय राष्ट्रराज्यहरूलाई त आफ्नो अर्थतन्त्रको साँचो कर्पोरेट गुरिल्लाको हातमा रहेको थाहा समेत छैन । अथवा यसतर्फ सोच्नु आवश्यक मानेका छैनन् ।  

प्रश्न उठ्नसक्छ, के यस्ता कर्पोरेट गुरिल्लाहरू राष्ट्रिय विकासका दीर्घकालीन साझेदार बन्न सक्छन् ? के यी राष्ट्रिय प्राथमिकता र समावेशी विकासमा पनि रणनीतिक साझेदारी गरिरहन सक्छन् ? कतै यी कम्पनीहरूले आम नागरिकका भविष्य चोरिरहेका त छैनन् ? विभिन्न मुलुकका सरकारहरू यी प्रश्न र आशंकामा घोत्लिएको हुनुपर्छ । जेफ्री साच र जोसेफ स्टिग्लिजजस्ता यस दशकका मुर्धन्य अर्थशास्त्रीहरू निजी लगानी र बजार अर्थतन्त्रलाई कतिसम्म प्रोत्साहन दिनु उचित हो भन्ने अध्ययन गरिरहेका छन् । जब बजार (कर्पोरेट गुरिल्ला) शक्ति कार्यकुशलता र प्रतिस्पर्धाका आधारमा उन्मुक्त भएर सामाजिक भावना र राजनीतिक प्राथमिकताभन्दा पर पुग्छ, त्यतिबेला विश्वव्यापीकरणका अवसर र उपलव्धिको असमान वितरण हुन गै शक्ति र सामथ्र्य छानिएका व्यक्ति, निकाय र यस्तै गुरिल्लाहरूको पकडमा पुग्न जान्छ, बाँकीहरू सीमान्तीकरणमा धसिन्छन् । त्यसैले धेरै स्वतन्त्रता छाडावादमा परिणत होला कि भन्ने आशंका पनि राज्यवादीहरूमा रहेको छ । कर्पोरेट गुरिल्लको अदृश्य कार्यजालोले अर्थतन्त्र अझ भनौं सामाजिक व्यवस्थालाई नै यति गाँजेको छ, जसलाई चाहेर पनि नियमन गर्न नसकिएला कि भन्ने चिन्ता राज्यवादीहरूमा छ ।

आशा गरौं, साच र स्टिग्लिजहरूले विश्व अर्थतन्त्रको नयाँ नीतिशिल्प दिनेछन् र यस्ता कर्पोरेट गुरिल्लाहरू त्यसलाई सामाजिक दायित्व सम्झी सघाउने छन् । साथै यो पनि आशा गरौं, कर्पोरेट गुरिल्लाहरूको अदम्य शक्ति जनताका हकहित र अवसर वितरणका असली कारक एवम् लोकतन्त्र र मानवताका वास्तविक सहजकर्ता बन्ने छ ।

कमेन्ट गर्नुहोस्