मंसिर १७, २०८०
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
काठमाडौं – उमेरले भर्खरै उनी ३ दशकमा हिँडिरहेका छन् तर उनी वृद्धको आवाज सजिलै निकाल्न सक्छन् ।
बच्चाको पनि दुरुस्तै आवाज निकाल्छन् । नेपालका धेरै चर्चित नेताहरूको पनि आवाज सजिलै निकाल्न सक्छन् सुबोध गौतम ।
गौतमलाई समर्थकले ‘क्यारिकेचर किङ’ नै भन्ने गरेका छन् । उनले पहिलो चरणमा ६० भन्दा बढी जनाको क्यारिकेचर (अरुको नक्कल गर्ने कला) समावेश भएको भिडियो निकाले । त्यो व्यापक चल्यो । बजारमा राम्रै चर्चा भयो तर उनी आफूलाई क्यारिकेचर किङ भनेको रुचाउँदैनन् । उनी भन्छन्, ‘म हाँस्यव्यंग्यको विद्यार्थी कलाकार हो । संसारमा कोही पनि क्यारिकेचरको राजा हुन सक्दैन ।’
उनी नेपालीले एकअर्कासँग चाँडै नै तुलना गरिदिने बताउँछन् । उनी भन्छन्, ‘नेपालीमा छिटो डिसिजन गर्ने र अर्कोलाई उपाधि दिइहाल्ने बानी छ । मलाई उपाधि दिइहाल्ने बेला भएको छैन नि !’
‘क्यारिकेचर किङ’ भनेर दर्शकले आफूलाई माया र सम्मानपूर्वक भनेको ठान्छन् गौतम ।
माइक समात्ने रहर
ओखलढुंगाका गौतमको घरमा उनी सानै छँदा नै राजनीतिक वातावरण थियो । उनका बुवा त्यतिखेरको कम्युनिस्ट पार्टीका नेता थिए । त्यसैको प्रभाव उनीमा पनि रह्यो ।
नेताले माइक समातेर भाषण गरेको देख्दा उनलाई पनि त्यसैगरी बोल्ने रहर जाग्थ्यो तर उनको घरमा माइक थिएन । उनले माइकको रहर बाँसको आगो फुक्ने ढुंग्रोबाट पूरा गरे । गौतमलाई सानोमा माइक छुँदा छुट्टै स्वाद आउँछ भन्ने लाग्थ्यो ।
उनी सानैमा ढुंग्रोबाट फुक्थे, ‘जेठ १५ गते हुन लागेको निर्वाचनमा सहभागी हुन हार्दिक अनुरोध गर्दछु ।’
बच्चैदेखि क्यारिकेचर
गौतमलाई अहिले चिनाएको नै क्यारिकेचरले हो । उनले नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, डा. बाबुराम भट्टराई, मोहन वैद्य, माधवकुमार नेपाल, केपी शर्मा ओली, शेरबहादुर देउवा, रामचन्द्र पौडेलदेखि कलाकारमा हरिवंश आचार्य, नीर शाह, राजेश हमालसम्मका क्यारिकेचर गर्छन् ।
क्यारिकेचरमा उनको लामो पृष्ठभूमि छ । उनले आफू जवान भएपछि क्यारिकेचर गर्न थालेका भने होइनन् । उनी बच्चैदेखि क्यारिकेचर गर्थे ।
‘म क्यारिकेचर त बच्चैदेखि गर्थें । म बुवाको क्यारिकेचर गर्थें, ठूल्बुवाको गर्थें । मामादेखि स्कूलका टिचर सबको बोलीको नक्कल गर्थें,’ क्यारिकेचरका शुरूआती अवस्थाबारे उनी खुलाउँछन्, ‘तर त्यो ठूलो विषय भएन नि त मेरा लागि । तर बच्चामै गरिएका क्यारिकेचरहरू व्यावसायिक हुन्छ भन्ने मलाई थाहा थिएन ।’
जनयुद्धमा क्यारिकेचर
गौतमको अहिलेको परिचय कलाकार हो । अझ भनौं – व्यावसायिक कलाकार तर कुनै समय उनी देश परिवर्तन गर्न, शान्ति सुव्यवस्था ल्याउन युद्धमा होमिए । कसैको करमा होइन, उनले देशकै लागि बन्दुक बोके ।
उनी पढ्दै गर्दा विद्यालयमा माओवादी संगठन बनाउन आए । त्यसबेला ४ जना मात्रै आएको उनी सुनाउँछन् । जसमध्ये १ जना ड्युटी बसे, १ जनाले शिक्षकलाई क्लास लिए, १ जनाले विद्यार्थीलाई क्लास लिए र अर्काले बाहिरका मानिसलाई क्लास लिएको उनी बताउँछन् ।
माओवादीको संगठन विस्तारपछि उनमा राजनीतिक चेत बढेर आएपनि लगत्तै युद्धमा होमिएनन् । केही वर्ष कुरे, एसएलसी सके । अनि २०६१ सालमा तत्कालीन माओवादीको पूर्णकालीन सदस्य भए । उनी युद्धमा पस्दाताकाका कुरा सुनाउँछन्, ‘म कुनै व्यक्ति खोज्दै हिँडेको थिइनँ, अरूको भन्दा मेरो हिँडाइ बेल्लै थियो । म सम्पर्क खोज्दै हिँडेको थिएँ ।
सानैदेखि आफूले गर्ने गरेको क्यारिकेचरले युद्धमा पनि ठाउँ पायो । क्यारिकेचर गर्दा गौतमले मानिसहरूसँग भिज्ने मौका पाए । सबै मान्छेको प्यारो हुने मौका पाए ।
युद्धमा क्षण स्मरण गर्दै उनी भन्छन्, ‘तालिम, प्रशिक्षण, युद्धकालीन संरचनाका गोष्ठीहरूमा मैले क्यारिकेचर गर्ने मौका पाएँ । युद्धमा मैले नजाँनिदो पाराले आफ्नो प्रतिभा देखाइरहेको थिएँ तर त्यो व्यावसायिक थिएन, राम्रो स्थान थिएन तर पनि मैले आफ्नो मौलिकता प्रयोग गरें ।’
युद्धमा कमेडी कस्तो थियो ?
युद्धमा रमाइलो गरेर बस्ने समय नभएको उनी बताउँछन् । उनी भन्छन्, ‘सेकेन्ड सेकेन्डको महत्त्व हुन्छ । रमाइलो गरेर बस्ने समय त हुँदैन नि ! मेरो कानको आडबाटै कतिपटक गोली छिरेर गयो । त्यस्तो बेलामा कमेडी गरेर बस्नै मिल्दैन नि !’
त्यसो भए कस्ता बेलामा कमेडी हुन्थे त ? लोकान्तरको प्रश्नमा उनी भन्छन्, ‘प्रशिक्षणमा को मान्छे निदाएर बस्यो, कसले कसलाई पछाडिबाट फित्कौली हानेर बसिराथ्यो, कसले कसलाई चिमोट्यो यी यावत् कुरालाई लिएर सानो घेराभित्र बसेर मैले प्रस्तुती दिन्थें ।’
आफू प्रचण्ड–बाबुरामको बाटोमा हिँडेपनि उनीहरूलाई प्रत्यक्ष भने २०६३ सालमा मात्रै देखे सुबोधले । जनकपुरको बाह्रबिगामा भएको एउटा कार्यक्रममा उनी पुगे, हातमा निकोनको सानो क्यामेरा बोकेर । उनी सेना भित्रको प्रचार विभागमा भएका कारण उनीसँग क्यामेरा हुन्थ्यो । उनले कार्यक्रममा आफूले पहिलोपटक देखेका प्रचण्ड–बाबुराम बोलेको फुटेज क्यामेरामा कैद गरे ।
तर उनले त्यो फूटेज हेर्न र देखाउनका लागि मात्रै प्रयोग गरेनन् । त्यसलाई व्यावसायिक बनाए । नभन्दै उनले त्यही दिन बेलुकासम्ममा त्यही भिडियो हेरेर प्रचण्ड–बाबुरामको क्यारिकेचर गर्न थाले । उनले त्यो बेला उनीहरूको जुन क्यारिकेचर गर्थें, अहिले पनि त्यही नै गर्छन्, खासै भिन्नता छैन ।
त्यसपछि पार्टीले २०६४ सालमा उनीभित्रको कला र गला थाहा पाएर उनलाई सांस्कृतिक टीममा राख्यो ।
केन्द्रबाट प्रशिक्षण दिने क्रममा माइला लामा र सामना परिवारको सम्पर्कमा उनी आइपुगे । उनी भन्छन्, ‘जनतालाई जनयुद्धको सन्देश दिन गरिएको कार्यक्रममा लागि प्रस्तुति दिन माइला लामा र सामना परिवारले प्रज्ञा भवन बोलायो ।’ त्यहीँ नै उनको कलाले मूर्त रूप लिएको ।
नेताकै अगाडि क्यारिकेचर
सबै कलाकारमा क्यारिकेचरको गुण हुँदैन । सुबोधको यो ‘प्लस पोइन्ट’ हो । उनी क्यारिकेचर विनै पनि रमाइलो ढंगले आफूले चाहेको कुरा भन्न सक्छन्, सकारात्मक सन्देशसँगै नराम्रा कुराको खबरदारी गर्न सक्छन् । उनी नेताहरूको अगाडि नै उनीहरूको क्यारिकेचर गर्छन् किनकि उनीमा आत्मविश्वास छ । उनी भन्छन्, ‘मेरो आत्मविश्वासको कारणले गर्दा उहाँहरूले मलाई केही भन्न सक्नुहुन्न तर मैले अगाडि हुनेबित्तिकै गरेको त छैन नि ! मैले धेरै पटक उहाँहरू नभएको बेलामा पनि त गरेको छु ।’
नेताकै अगाडि नेताको क्यारिकेचर गर्दा कस्तो हुन्छ ? उनी जवाफ दिन्छन्, ‘उहाँहरूलाई एक किसिमको डर पनि छ । यसले आन्तरिक कुराहरू भन्दिन्छ कि भन्ने ।’
नेताहरूले बोलेका कुराहरू कत्तिको पालना गरे, पहिला र अहिलेमा उनीहरूको बानीव्यहोरामा कत्तिको परिवर्तन भयो भन्ने आफूले ख्याल गर्ने हुँदा कतै आफ्नो कमीकमजोरी खोलिदिन्छ कि भन्ने डर नेतामा हुने गरेको उनी बताउँछन् ।
क्यारिकेचरपछि नेताहरूले उनलाई ठीक गर्नुभयो, तपाईंको राम्रो छ भन्छन् तर त्यसैबेला उनी नेताहरूलाई भनिदिन्छन्, ‘मेरो राम्रो हुनुभन्दा नि समग्र पार्टीको राम्रो होस्, सिंगो देशको राम्रो होस् ।’
आफ्नो क्यारिकेचरले नेताहरूलाई पनि प्रभाव पार्ने गरेको घटना उनीसँग छ । क्यारिकेचरको प्रभावकारिताबारे उनी खुलाउँछन्, ‘मैले क्यारिकेचर गर्ने नेता र मसँगै एउटै कार्यक्रममा हुँदा कतिपय स्थानमा सेड्युल नै चेन्ज हुन्छ । कति प्रभावकारी रहेछ त यो ।’
अझ एकपटक त प्रचण्डले आफ्नो बोल्ने पालोमा सुबोध जीलाई दिउँ नै भनेका थिए रे । त्यसपछि प्रचण्ड नबोली हिँडे ।
एउटै जिब्रोबाट ६० भन्दा बढी आवाज कसरी निस्कन्छ ? आफ्नो जिब्रोबाट यति धेरै आवाज निस्कनु ईश्वरीय बरदान भएको र त्यसमा साधना पनि हुनुपर्ने उनी बताउँछन् । धेरै जनाको आवाज कसरी निस्कन्छन् त ? उनी जवाफ यस्तो छ, ‘आवाज निकाल्न लागि मेहनत गर्ने होइन । तरंगमा जे जति आवाजहरू घुमेका हुन्छन् नि त्यसलाई प्रयोगमा ल्याउने मात्रै हो । रटेर आवाज निकाल्ने हुँदै होइन ।’
उनी यसको पनि उदाहरणबाटै जवाफ दिन खोज्छन् । भन्छन्, ‘मुम्बईका चेतन शशीतल भन्ने छन् । उनले ४ वटा फिल्मको डबिङ गरेका छन् अमरीश पुरीको । अमरीश पुरीकै आवाजमा उनी बोल्न सक्छन् । मान्छेले भेउ पाउँदैनन् । खोलो बगेको आवाज निकाल्छन् मुखबाट । कति मेहनत होला ? साधना हो नि !’
उनले कलाकारमा कला वर्षौंदेखि स्टोरेज भएर बस्ने र त्यसलाई सन्दर्भ मिलाएर बाहिर ल्याउने बताए । ‘भकारीमा धान छ कतिबेला कति पाथी झिक्ने भन्ने मात्रै हुन्छ कलाकारको । क्यारिकेचर र मेरो हकमा पनि त्यही हो । वर्षौंदेखिको मेहनत हुन्छ र मौका कुरेर बसेका हुन्छन् कलाकार,’ उनले खुलस्त पारे ।
टेलिसिरियलभन्दा स्टेजमा आनन्द
उनी टेलिसिरियलमा भन्दा पनि प्रत्यक्ष जनताका अगाडि गएर नै प्रस्तुति दिन आफूलाई मन लाग्ने बताउँछन् । उनी भन्छन्, ‘टेलिसिरियललाई मैले ठूलो उपलब्धिको रूपमा हेरिनँ । मलाई मासको अगाडि काम गर्न जति सजिलो हुन्छ, अहिले पनि क्यामेराको फ्रेममा काम गर्न त्यति सजिलो हुँदैन ।’
तर अहिले ‘भद्रगोल’ नामक टेलिसिरियलले उनको चर्चामा केही थप गरेको छ । त्यसमा उनको हुलिया र बोल्ने शैलीलाई मानिसहरूले मन पराएका छन् । ‘भद्रगोल’ मा ‘एकदुमे’को भूमिकामा छन् र भद्रगोलले अलि बढी चिनाएको उनी आफैं स्वीकार्छन् ।
उनी भन्छन्, ‘भद्रगोलले अलि ठूलो क्षेत्र ओगटेको छ । ठाउँ ठूलो भएका कारणले थोरै काम गरेपनि धेरै गरिएकोजस्तो देखिएको छ ।’ तर स्टेज र टेलिसिरियल दुवैलाई उत्तिकै सम्मान र स्थान दिने उनको भनाइ छ ।
‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’, ‘हर्के हल्दार’, ‘डिठ्ठा साब’ लगायतका टेलिसिरियलमा अभिनय गरिसकेका गौतमलाई लाग्छ, ‘टीभीमा अनुहार देखाउनु मात्रै कलाकारिता होइन । देखिनु र व्यावसायिक हुनु चाहिँ कलाकारिता हो ।’
हाँस्यव्यंग्य र राजनीति
हाँस्यव्यंग्य र राजनीतिको सम्बन्ध एकदमै नजिकको भएको गौतमको भनाइ छ । उनी उदाहरण दिँदै प्रस्ट पार्छन्, ‘अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीका कुरा नराम्रा होउन् तर मान्छेले छिट्टै बुझ्छन् नि !’
हाँस्यव्यंग्यको माध्यमबाट राजनीति मात्रै होइन, सबै क्षेत्र सफल हुने उनी बताउँछन् । उनी थप्छन्, ‘हाँस्यव्यंग्यलाई मनोरञ्जनका रूपमा मात्र नभइ जीवन उपयोगी पनि बनाउनुपर्छ ।’
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...