तन्त्र के हो ? जानौं तन्त्रशास्त्रका ५ अंग

‘तन्’ धातुबाट तन्त्र शब्द बन्छ । यसको अर्थ ‘विस्तार’ हुन्छ । त्यस्तो शास्त्र जसबाट ज्ञानको विस्तार हुन्छ (तन्यते विस्तार्यते ज्ञानम् अनेन इति तन्त्रम्) त्यसैलाई तन्त्र भनिन्छ । ‘त्र’ को अर्थ रक्षा गर्नु । यसबाट तात्पर्य निस्कन्छ, तन्त्रले ज्ञानको विस्तार गर्छ अनि त्यस ज्ञानमा रही आचरण गर्नेको रक्षा र उद्धार पनि गर्छ ।

तन्त्रका प्रणेताहरूका विचार अनुसार तन्त्रलाई तीन भागमा विभाजन गर्न सकिन्छ : श्री सदाशिवोक्त तन्त्र, पार्वतीकथित तन्त्र र ऋषिगणप्रणीत तन्त्र ।


Advertisement

तन्त्रमा भगवान् शिव तथा माता पार्वती सर्वोच्च देवता हुनुहुन्छ ।

तन्त्र एक स्वतन्त्र शास्त्र हो जसमा निर्देशन गरिएको पूजा र आचारपद्धतिको अभ्यास गर्दा आफूले इच्छाएको तत्व अधीनमा आउँछ । यो साधना शास्त्र हो । भूतप्रेत र जादूटोना त तन्त्रको एक सानो अंश मात्र हो । वास्तवमा तन्त्रको अभ्यास गर्दा छिटो मोक्षप्राप्ति हुन्छ ।


Advertisement

तन्त्रमा गोप्यता महत्वपूर्ण हुन्छ । जोकोहीले तन्त्रमा उल्लेखित मन्त्रको अभ्यास गर्न सक्दैनन् । नमिलाइकन अभ्यास गरेमा बहुलाउने वा रोग लाग्ने सम्भावना हुन्छ । त्यसैले त ‘सिद्धकुञ्जिकास्तोत्र’मा भगवान् शिवले माता पार्वतीलाई तन्त्रको रहस्य आफ्नो योनि जस्तै गरी गोप्य राख्नू भनी निर्देशन दिनुभएको छ ।

तन्त्रसाधनामा देवताहरूको स्वरूप, गुण र कर्म आदिको चिन्तन प्रक्रिया बताइएको छ । यसमा पाँचवटा अंगसिहतको पूजाको विधान गरिएको छ : पटल, पद्धति, कवच, सहस्रनाम तथा स्तोत्र ।

यी अंगको विस्तृत परिचय यसप्रकार छ :

१) पटल — यसमा मुख्य रूपमा जुन देवताको पटल हुन्छ उसको महत्व, इच्छित कार्यको शीघ्र सिद्धिका लागि जप र होम अनि त्यसका लागि उपयोगी सामग्रीको निर्देशन गरिएको हुन्छ । कुनै मन्त्र श्रापित छ भने त्यसको श्रापमोक्षको उपाय पनि बताइएको हुन्छ ।

२) पद्धति — यसमा साधनाका लागि शास्त्रीय विधिको निर्देशन गरिएको हुन्छ जसमा बिहानैको स्नानदेखि लिएर पूजा र जप समाप्तिसम्मको मन्त्र तथा तिनीहरूको विनियोग आदिको सांगोपांग वर्णन गरिएको हुन्छ । यस प्रकार नित्य पूजा र नैमित्तिक पूजा दुवै प्रकारको प्रयोग विधानको संक्षिप्त सूचना पनि यसमा सरलतापूर्वक प्राप्त हुन्छ ।

३) कवच — प्रत्येक देवताको उपासना गर्दै उनीहरूको नाम उच्चारणका साथ आफ्नो शरीरमा निवास तथा रक्षाको प्रार्थना गरेर गरिने न्यासलाई नै कवच भनिन्छ । न्यास र पाठद्वारा यो कवच सिद्ध भएपछि साधकले कुनै पनि रोगीलाई झारफुक गरेर रोग निको बनाइदिन सक्छ । जप गर्नुपूर्व कवचको पाठ गरिन्छ । भूर्जपत्रमा कवच लेख्ने, पानीले अभिमन्त्रण गर्ने, तिलक धारण गर्ने, बुटी बाँध्ने लगायतका काम पनि यसैबाट हुन्छ ।

४) सहस्रनाम — उपास्य देवको हजार नामको संकलन यस स्तोत्रमा गरिएको हुन्छ । यो सहस्रनाम नै विविध प्रकारका पूजामा स्वतन्त्र पाठका रूपमा अनि हवन कर्ममा प्रयुक्त हुन्छन् । यी नामले देवताहरूको अति रहस्यमय कर्म र गुणलाई बताउँछन् । प्रत्येक नाम आफैंमा सिद्ध र मन्त्रमय हुन्छन् । यिनको आफ्नै स्वतन्त्र अनुष्ठान पनि हुन्छ ।

५) स्तोत्र — आराध्यदेवको स्तुतिको संग्रहलाई नै स्तोत्र भनिन्छ । स्तोत्रहरूमा देवताको गुणगान एवं प्रार्थना गरिएको हुन्छ । केही सिद्ध स्तोत्रमा मन्त्र प्रयोग, सुन बनाउने विधि, यन्त्र बनाउने विधान, ओखतीको प्रयोग पनि गोप्य संकेतको माध्यमले राखिएको हुन्छ ।

यी पाँच अंगले पूर्ण भएको शास्त्र नै तन्त्रशास्त्र हो ।

कमेन्ट गर्नुहोस्