अतिक्रमणले साँघुरिँदै तिनाउ नदी, उच्च जोखिमको पर्खाइ !

बुटवल – रूपन्देही र आसपासका बस्तीहरू सिञ्चित गर्ने र पानीको स्रोत बचाइराख्ने प्राकृतिक सम्पदा तिनाउ नदी हो । यो नदी बुटवल शहर भएर बग्छ ।

पछिल्ला ८–१० वर्ष नदीको प्राकृतिक बहाव क्षेत्रमा खेलाची गरेर संरचना खडा गरी अव्यवस्थित बस्ती निर्माण भएका छन् ।


Advertisement

सरकारले भवन निर्माण संहितामा नदी र खोलाले बनाएको बगरमा भवन निर्माण गर्न नहुने गरी मापदण्ड बनाएको छ तर तिनाउको बहाव अतिक्रमण गरेर प्रत्येक वर्ष घर बनाउने क्रम रोकिएको देखिँदैन ।

बहाव क्षेत्रमा घरटहरा मात्र बनेका छैनन् । ३/४ तलेसम्मका घरहरू बन्न भ्याएका छन् । उक्त क्षेत्र बाढीको जोखिममा पर्छ । यसको नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका मौन छ ।

२०७४ सालमा तिनाउमा आएको बाढीले बुटवल देवीनगरस्थित झोलुङ्गे पुल बगायो भने २० भन्दा बढी नदी अतिक्रमण गरी बनेका घरहरू नदीको कटानमा परेका थिए ।

बुटवल बजार हुँदै बगेको तिनाउले विगतमा ठूलो जनधन क्षति गरेको तथ्यांक छ । २०१८, २०२७, २०३८, २०५० सालमा आएका ठूला बाढीले धेरै क्षति गरेको जानकार बताउँछन् । २०२७ सालमा आएको बाढीले १ सयभन्दा बढीको ज्यान गएको थियो । दर्जनौं घर बगे । हजारौं हेक्टर खेतीयोग्य जमिन बगर बन्यो । २०३८ सालको बाढीले दोभानमा २९ र बुटवलमा ३५ गरी ६४ जनाको ज्यान गयो । सयौं परिवार घरवारविहीन भए । २०५९, २०६५ र २०६६ सालमा पनि औसतभन्दा ठूला बाढी आएको थियो ।

पछिल्लो ५ वर्षमा तिनाउको बहाव क्षेत्रमा बनेका २ सय टहरा बाढीले बगाएको छ । तिनाउको अध्ययन गरेको इन्जिनियर खेटराज दाहालले तिनाउमा खेलाची गरेर बसेका बस्तीले ठूलो विपत्ति सिर्जना गराउने बताए । ‘तिनाउ नदीको बहाव क्षेत्र अतिक्रमण गरेरै घरहरू निर्माण भएका छन् । यसले भयावहको संकेत गर्दैछ । तिनाउ खहरेजस्तो हो । जतिबेला पनि उर्लिन सक्छ । नदीको बहाव क्षेत्रमा सुकुम्बासीको नाममा बस्नेहरूलाई प्रदेश र स्थानीय तहले सही व्यवस्थापन गरी अन्यत्र पुनःस्थापन गर्नको विकल्प छैन,’ उनले भने, ‘सुकुम्बासीका नाममा तिनाउमा मनपरी भएको छ । जसले गर्दा रुपन्देही ठूलो विपत्तिको जोखिमसँगै तिनाउ नदी संकटमा परेको छ ।’

तिनाउ नदीको बहाव क्षेत्र १ किलोमिटर हो । अहिले १ सय मिटरमा बहाव क्षेत्र खुम्चाइएको छ । अहिले परिरहेको पानी नारायणी पूर्व मात्र बढी पर्‍यो । तिनाउ नदी आसपासमा बस्ने अधिकांश गैरसुकुम्बासी रहेको बताइन्छ तर ती बस्ती हटाउने स्थानीय र प्रदेश सरकारको कुनै योजना बनाएका छैनन् । अव्यवस्थित बसोबास भएकै क्षेत्रमा पूर्वाधार निर्माण गरी नगरपालिकाले लाखौं रकम खर्चिएको छ ।

पश्चिमतर्फ खासै पानी परेको छैन । अझै साउनमा पश्चिमी क्षेत्रमा ठूलो वर्षा हुने मौसमविद्को आकलन छ । अहिले गोलपार्कदेखि बुटवल–११ मजुवासम्म तिनाउ नदीको दायाँबायाँ घरहरूले भरिएका छन् । तिनाउ नदीका जानकार दलबहादुर गुरूङ सिद्धबाबा तथा उपल्लो तटीय क्षेत्रमा नदी पहिरोले १० मिनेट थुनिए बुटवल तथा त्यस आसपासमा ठूलो धनजनको क्षति पुर्‍याउने बताए । 

‘तिनाउको उपल्लो तटीय क्षेत्रका पहाडहरू कमजोर छन्,’ गुरूङले भने, ‘ती पहाडमा पहिरो गएर ५/७ मिनेट तिनाउ थुनियो भने त्यसपछिको अवस्था कल्पना गर्नेसम्मको पनि हुँदैन । त्यस्तैले बहाव क्षेत्र ओगटेर बसेका सुकुम्बासी भन्न रुचाउनेहरूलाई स्थानीय सरकारले स्थानान्तरण गर्नुपर्छ ।’ पछिल्ला वर्षमा केहीलाई जग्गाधनीपूर्जा वितरण गरेपनि सुकुम्बासी र भूमिहीनहरुको संख्या घट्नुको साटो बढ्दै गएको छ । बढदो शहरीकरण र अव्यवस्थित बसोबासले फोहोरले नदी र खोलाको किनाराहरु भरिँदै गएका छन् ।

बुटवलभित्र तिनाउ नदी अतिक्रमण गरेर ४ हजार घरपरिवार बसिरहेको अनुमान छ । यसमध्ये आधाभन्दा धेरैले पक्की घर बनाइसकेका छन् । मौसम पूर्वानुमान महाशाखाले सोमवार र मंगलवार देशको पश्चिमी भूभागमा वर्षासँगै बाढीको खतरा रहेको जनाएको छ ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले बहावमा बसोबास गरेकाहरूलाई तत्काल अन्यत्र सार्न सम्भव नदेखिएको बताइन् । उनले भनिन्, ‘हामीले मात्र अनुरोध गरेर जोखिमपूर्ण क्षेत्रमा बसेकाहरूलाई हटाउन सकिँदैन । यसका लागि संघ र प्रदेशको पनि ध्यान जानुपर्छ । बसोबास गरेकालाई जबरजस्ती स्थानीय सरकारले हटाउन सक्दैन ।’ आचार्यले बुटवलमा झण्डै १४ हजार अव्यवस्थित बसोवासी रहेको बताइन् । २ दिनसम्म पश्चिम राप्ती, बबई, तिनाउ, कर्णाली र महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै महाशाखाले आसपासका नागरिकलाई सावधानी अपनाउन भनेको छ । 

बुटवलका पुराना स्थानीय रवीन्द्र गोपाल लाकौलले बहाव क्षेत्रका घरहरू बनाएर बस्नेलाई हटाउने दायित्व बुटवल उपमहानगरपालिकाको भएको बताए । ‘नदीको बहाव क्षेत्र सकिँदै छ । तिनाउलाई साँघुरो घेरामा खुम्चाइँदै छ । यो गलत भइरहेको छ । यसको बारेमा अग्रिम रुपमा नसोचे ठूलो दुर्घटना र धनजनको क्षति पुर्‍याउन सक्छ । यसबारे प्रदेश र स्थानीय सरकारले बेलैमा ध्यान पुर्‍याउन आवश्यक छ,’ उनले भने । विपद् व्यवस्थापनका लागि प्रदेश सरकारलाई तयारी गर्न भनिएको छ ।

विपद्को पूर्व तयारीमा छौं : प्रदेश सरकार

प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सरकार तयार अवस्थामा रहेको बताए । ‘आन्तरिक मामिला मन्त्रालयले तयारी गरेको छ । हाम्रो विपद् व्यवस्थापनका लागि बजेट पनि पर्याप्त छ । बाटो बन्द भए डुवान क्षेत्र त्यसको लागि तत्काल उदार र राहत पुर्‍याउने गरी तयारीमा सरकार छ,’ उनले भने ।

५ नम्बर प्रदेशमा केही दिनदेखि परेको अविरल वर्षाका कारण दाङ र पाल्पामा गरी २ जनामा ज्यान गएको छ । विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको छ । 

तिलोत्तमा नगरपालिकाले नगर प्रमुख प्राकृतिक विपद् राहत कोष खडा गरेको छ । नगर प्रमुख वासुदेव घिमिरेले विपद् सामना गर्न नगरपालिकाले सचेतना कार्यक्रम सञ्चालन गरेको बताए । विपद् आइहाले उद्धारका लागि टीम पनि निर्माण नगरपालिकाले बनाएको छ ।

कमेन्ट गर्नुहोस्