स्कूल विभागमा इगोको लडाईं: 'अनुदार' ईश्वरको नाम सुन्नै चाहन्नन् प्रचण्ड, विकल्पमा झलनाथ !

ईश्वर अर्याल
ईश्वर अर्याल

पत्रकार अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा रिपोर्टिङ गर्छन् ।

काठमाडौंसत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रियामा गाँठोको रूपमा बल्झिएर रहेको स्कूल विभागको जिम्मेवारी कसलाई दिने भन्ने विषय झन् पेचिलो बनेको छ । 

स्कूल विभागका प्रमुख दुई दाबेदार रक्षामन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ आफ्नो अडानमा टसको मस देखिएका छैनन् । 


Advertisement

सहमति जुटाउने प्रयासस्वरूप बिहीवार बालुवाटारमा पूर्वएमाले पक्षका शीर्ष नेताहरूबीच घन्टौं लामो छलफल भयो । भनिन्छ, असार मसान्तमा बालुवाटारमै भएको छलफलमा स्कूल विभाग पूर्व एमालेलाई दिने सहमति भएको थियो । यद्यपि सहमतिले औपचारिकता प्राप्त गर्न सकेको छैन । 


Advertisement

असार ३१ गते राति अबेरसम्म सचिवालयका सदस्यहरूको अनौपचारिक छलफलमा भएको सहमति अनुसार स्कूल, संगठन, नीति तथा प्रतिष्ठान र विदेश विभाग पूर्व एमालेले लिने र आर्थिकसँगै प्रचार विभाग पूर्व माओवादीले पक्कापक्की जस्तै भएको थियो । त्यतिबेला भागबण्डामा सहमति भएपनि व्यक्ति तोकेर सहमति गरिएको थिएन । 

आफ्नो भागमा परेका विभाग, जिल्ला इञ्चार्ज र सहइञ्चार्जको नेतृत्त्व टुंगो लगाउन बालुवाटारमा पटक–पटक पूर्वएमालेका नेताहरूले छलफल गरेका थिए । साउन ४ गतेको छलफलमा स्कूल विभाग ईश्वर पोखरेललाई दिने सहमति भएको दाबी गरिएको थियो । 

पूर्वएमाले पक्षका एक सचिवालय सदस्यले लोकान्तरसँग कुरा गर्दै स्कूल विभागमा ईश्वर पोखरेललाई लैजाने आन्तरिक सहमति भइसकेको दाबी पनि गरेका थिए । 

पूर्व माओवादीप्रति अत्यन्तै अनुदार बन्दा पोखरेलको बाटो बन्द ! 

पोखरेललाई स्कूल विभाग दिने पूर्वएमालेको आन्तरिक सहमतिले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' झस्के । पूर्वमाओवादी पक्षप्रति पोखरेल अनुदार देखिन्छन् ।

दुवै पार्टी मिलेर बनाएको गठबन्धनले निर्वाचनमा बहुमत प्राप्त गरेपछि पोखरेल प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता एउटै हुनुपर्छ भन्दै भाषणबाजीमा उत्रिएका थिए ।

ओलीलाई प्रधानमन्त्री बनाएर प्रचण्ड पार्टी अध्यक्ष हुने शर्तमा एकता गर्न हौसिएको तत्कालीन माओवादी पोखरेलको 'एकता भाँड्ने' खालको अभिव्यक्तिले बारम्बार सशंकित बनेको थियो । यहाँसम्म कि पोखरेलले पार्टी एकता नै नचाहेको आरोप पनि लाग्ने गर्छ ।

गत असोजमा पोखरेलले पार्टी एकताका लागि दुवै पार्टीका अध्यक्षबीच भएको सहमति आफूलाई थाहा नभएको दाबी गरे । सरकारले पाँच वर्षको जनादेश पाएको र यसलाई बिथोल्न पार्टीभित्रै आन्तरिक शक्तिहरू लागेको भन्दै उनले पूर्वमाओवादी नेताहरूलाई इंगित गरे । 

सबभन्दा रोचक त पोखरेलले माघ २५ गते राति फेसबूकमा लामो स्ट्याटस लेख्दै आफूभित्र 'जंगली महत्त्वाकांक्षा' नभएको भन्दै पूर्व माओवादी पक्षलाई कटाक्ष गरे ।

उनले माओवादीतर्फ इंगित गर्दै भनेका थिए, 'हामी क्रान्तिकारी शक्ति निर्माण गर्ने नाममा वा क्रान्तिकारी नेतृत्वको रक्षा गर्ने नाममा विदेशी भूमिमा आश्रित रहेनौं, रहन चाहेनौं । 

देशमा क्रान्तिकारी परिवर्तन गर्ने नाममा विदेशी शक्तिसित कुनै गोप्य साँठगाँठ पनि गरेनौं । हामी आफ्नै देशका आधारभूत जनतामा भर परेर टिक्न चाह्यौं, बाँच्न चाह्यौं ! जनताले नरूचाएका वा जनतालाई हानी पुर्‍याउने कुनै रूमानी 'संघर्ष' मा रमाएनौं, त्यस्ता कुरालाई रुचाउँदै रुचाएनौं ! हामीभित्र आत्मकेन्द्रित जंगली महत्वाकांक्षा कहिले पनि झांगिन पाएन, फल्न फुल्न पाएन ।'

हेर्नुहोस्, स्ट्याटस :

पोखरेलको यो अभिव्यक्तिले प्रचण्डलाई थप चिढ्यायो । त्यतिबेला प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटेर पोखरेललाई सम्झाउन आग्रह गरे । तर पोखरेल रोकिएनन् । पोखरेल एक भइसकेको पार्टीमा पनि पूर्व माओवादी पक्षका लागि सधैं 'भिलेन' बनिरहे ।

पछिल्लो गत जेठ १ गते तत्कालीन एमाले निकट युवा संगठनको स्थापना दिवसको अवसरमा प्रचण्ड भएकै मञ्चबाट पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) पार्टीको निर्देशक सिद्धान्त हुनुपर्ने भाषण गरे ।

जबकि एकताताका दुवै पार्टीका निर्देशक सिद्धान्तमाथि महाधिवेशनमा बहस गर्ने गरी नयाँ कार्यदिशा 'जनताको जनवाद (जज)' मा सहमति भएको थियो । 

यस्ता तमाम घटनाक्रमहरूका कारण प्रचण्डले पोखरेललाई स्कूल विभागको नेतृत्व गरेको देख्न चाहन्नन् । न त पोखरेलले पूर्व माओवादीप्रतिको आफ्नो अनुदारतालाई परिवर्तन गर्ने प्रयास गरे, न त एकता विरोधी अभिव्यक्तिमा कहिल्यै लगाम लगाउन सके ।

'ईश्वर कमरेडले सधैं माओवादी एमालेमा विलीन भएको जस्तो गरेर व्यवहार गर्नुभएको छ,' पूर्व माओवादी पक्षीय एक नेताले असन्तुष्टि पोखे, 'यसबाट एकता प्रक्रियामा देखिएको जटिलता झनै बढेको छ । स्कूल विभागमा उहाँको दाबी पनि गाँठो फुकाउने नियतले आएको होइन ।' 

स्कूल विभागमा पोखरेल उपयुक्त व्यक्ति नभएको उनको दाबी छ । 'पूर्व एमालेबाटै अरू कसैको नेतृत्वमा स्कूल विभाग रहने हो भने हामी सकारात्मक हुन सक्छौं, तर पोखरेल त हुँदै हुन्न,' उनले लोकान्तरसँग भने । 

अनि नेपालले फ्याँके 'भुसालद्वय तुरूप'

स्कूल विभागमा कसको नेतृत्व भन्ने विवादले ठूलो रूप लिएपछि वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने घनश्याम भुसाल र बेदुराम भुसालले आ-आफ्नो दाबी पेश गरे । बेदुराम झलनाथ खनाल पार्टी अध्यक्ष भएका बेला तत्कालीन एमालेका स्कूल विभाग प्रमुख थिए । उनले २०६५ देखि २०७० सम्म स्कूल विभागको नेतृत्व सम्हालेका हुन् । बेदुराम स्कूल विभाग प्रमुख रहेकाबे ला घनश्याम भुसाल उपप्रमुख थिए । 

घनश्याम भुसाल पार्टीमा लामो समयदेखि वैचारिक अभियान सञ्चालन गर्दै आएका नेता हुन् भने बेदुराम पनि लामो समयदेखि स्कूल विभागमा रहेर काम गरेको अनुभव संगालेका नेता हुन् । दुवै नेता सादा जीवनशैली र विचारद्वारा खारिएका छन् । बेदुराम त दर्शनशास्त्र र मार्क्सवादमा विद्यावारिधीसमेत गरेका नेता हुन् ।

बिहीवार भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा घनश्यामले आफ्नो लगाव मार्क्सवाद, समाज, समाजको अर्थराजनीतिमै रहेको बताए ।

'स्कूल विभागले मार्क्सवाद, समाज, समाजको अर्थराजनीति पढाउने काम गर्छ, जुन मैलै गरेका कामहरूमध्ये धेरै लगाव त्यसैमा छ,' उनले भने । 

आफूले जिम्मेवारी नपाउँदा स्कूल विभाग नै बिग्रन्छ भन्ने मान्यता नरहे पनि यसका बारेमा छलफल भए राम्रो हुने कुरामा विश्वस्त रहेको उनले बताए ।

यद्यपि नेकपाभित्र 'इगो'को लडाईं चलिरहेका बेला स्कूल विभागको नेतृत्व सचिवालय सदस्यबेगर अन्यले पाउने सम्भावना एकदम न्यून छ । तर पेचिलो बन्दै गएको स्कूल विभागको नेतृत्वमा वरिष्ठ नेता नेपालले सचिवालय बाहिरबाट अनुभवी र योग्य दुवै नेतालाई आफ्नो दाबी पेश गर्न लगाएको स्रोत बताउँछ ।

पछिल्लो समयमा पार्टीभित्र निर्णायक बन्दै गइरहेका नेता नेपालले पनि ओली निकट मानिएका पोखरेललाई समर्थन गर्न नचाहेको स्रोतको दाबी छ । 

नियमावलीमा स्कूल विभाग

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नियमावलीको परिच्छेद ७ मा विभागको काम कर्तव्य र अधिकारका बारेमा उल्लेख गरिएको छ । १३ औं नम्बरमा रहेको पार्टी स्कूल विभागले पार्टीका सिद्धान्त, कार्यक्रम र नीति अनुरूप नियमित वा आवधिक पार्टी स्कूल सञ्चालन गर्ने र त्यसका निम्ति कार्ययोजना तयार गरी कमिटी समक्ष प्रस्तुत गर्ने उल्लेख गरिएको छ । 

नियमावली अनुसार स्कूल विभागले पार्टी सदस्यहरूको सैद्धान्तिक–वैचारिक स्तर उठाउन आवश्यक योजना निर्माण र कार्यान्वयन गर्ने र पार्टी स्कूलका निम्ति आवश्यक प्रशिक्षक तथा विशेषज्ञहरू तयार गर्ने काम गर्दछ । 

पार्टी स्कूलका पाठ्यक्रम तयार गर्ने, तदनुसार पाठ्यसामग्री तयार गर्ने र सम्बन्धित पार्टी कमिटीको स्वीकृतिमा प्रकाशन गर्ने काम पनि स्कूल विभागकै हो ।

त्योभन्दा बाहेक प्रशिक्षण कार्यक्रमको मूल्याङ्कन गर्ने, प्रशिक्षार्थीहरूको परीक्षा लिने तथा प्रमाणपत्र दिने र सोको अभिलेख राख्ने र स्वदेश तथा विदेशका पार्टी स्कूलहरूसँग अनुभव आदान–प्रदान गर्ने काम पनि स्कूल विभागले नै गर्छ । त्यससँगै पार्टीमा एकीकृत भएका वा नयाँ प्रवेश गरेका सदस्यहरूलाई विशेष प्रशिक्षणको व्यवस्था गर्ने काम पनि सोही विभागको हो । 

स्कूल विभाग अन्य विभागभन्दा बढी महत्त्व बोक्ने निकाय रहेको पार्टी स्थायी कमिटी सदस्य भीम रावल बताउँछन् ।

‘पार्टी स्कूल विभागले पार्टीका नीति सिद्धान्त कार्यक्रमका बारेमा पार्टी पंक्तिलाई प्रशिक्षण दिने भएको हुनाले यसले धेरै महत्त्व पाएको छ,’ लोकान्तरसँग कुरा गर्दै रावलले भने, ‘यसको माध्यमबाट कतिपय सामूहिक मान्यताका बारेमा प्रशिक्षण दिने भएकाले यो महत्त्वपूर्ण विभाग हो । विचारको आधारमा नै संगठन निर्माण हुने हो । त्यो अर्थमा यसको महत्त्वप्रति धेरैले ध्यान दिएका हुन सक्छन् ।’ 

विकल्पमा झलनाथ खनाल

पोखरेल र श्रेष्ठका नाममा सहमति नजुट्ने हो भने स्कूल विभागका लागि पार्टीभित्र वरिष्ठ नेता तथा चौथो वरीयताका झलनाथ खनाल उपयुक्त पात्र हुन सक्छन् । तर छलफलमा खनालले नीति तथा प्रतिष्ठान विभागको नेतृत्व लिने सहमति जुटिसकेको स्रोत बताउँछ । स्कूल विभागको नेतृत्व लिने विषयमा खनालले हालसम्म औपचारिक रूपमा मुख खोलिसकेका छैनन् । 

प्रचण्डले पोखरेलको नाममै आपत्ति जनाइसकेपछि स्कूल विभागमा पोखरेलको सम्भावना पनि न्यून देखिएको छ । स्कूल विभागका नाममा श्रेष्ठ र पोखरेल दुवै विवादका पात्र बनिसकेपछि तेस्रो सम्भावनाको खोजीतिर प्रचण्ड लागेका छन् । प्रचण्डले झलनाथ खनाल स्कूल विभागको प्रमुख भए आफूलाई आपत्ति नहुने सन्देश ओलीलाई पुर्‍याइसकेको स्रोत बताउँछ । 

'उहाँले भन्नुभएको छ– म आफैं आफ्नो दाबी लिएर जाने कुरा हुँदैन,' खनालको भनाइ उद्धृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो, 'यदि दुवै अध्यक्षबाट प्रस्ताव आउँछ र सचिवालय सदस्यहरूले सर्वसम्मत मेरो नाम पारित गर्ने स्थिति बन्छ भने म पछि हट्दिनँ । सिंगो देश र पार्टी नै चलाएको अनुभव छ म सँग, विभाग चलाउने कुरा मेरो लागि नौलो होइन ।' 

कमेन्ट गर्नुहोस्