यस्तो छ वेदमा 'पञ्चामृत'को महिमा

प्रा.डा. बिणा पौड्याल -

पाँच पदार्थले बनेको, पाँचवटा अमृतको समुह (गाईको दुध, मह, घ्यु र सक्खर) को मिश्रणलाई पञ्चामृत भनिन्छ । सनातन धर्मालम्वीहरुको पूजा र विभिन्न कर्मकाण्डमा पञ्चामृत आवश्यक पदार्थ मानिन्छ ।


Advertisement

पाञ्चायन अर्थात् शिव, बिष्णु, गणेश, देवी र सुर्यको पुजामा पञ्चामृतको प्रयोग गरिन्छ । पञ्चामृतले देवमूर्ति स्नान गराउने र नैवेद्यको रुपमा अर्पण गर्ने चलन प्राचीन हो । घर वा मन्दिरमा स्थापना गरिएका भगवानका मूर्ति, शालिग्राम, मुख वा सादा लिंग सवैमा नित्य वा विशेष पुजामा पञ्चामृत अर्पण गरिन्छ ।

भगवानलाई अर्पण गरेर नैवेद्यको रुपमा पञ्चामृत भक्तहरुले आँखा र अनुहारमा लगाउने र खाने गर्दछन् । देवता नुहाएर बाँकी रहेको शेष महाप्रसादको रुपमा पिईन्छ । गोठ, घर र आफ्नै शरिर शुद्ध गर्ने क्रममा पञ्चामृतको प्रयोग गरिन्छ ।


Advertisement

सनातन धर्मालवलम्बीहरु गाईको गहुँत (गा­मुत्र) र गोवरलाई पवित्र मान्दछन् । त्यसैले पञ्चगव्यमा दुध, दहि, घ्यु सँगै गाईको गहुत र गोवर मीसाईन्छ । घर, गोठ र परिवारका सम्पुर्ण सदस्यलाई चोखो बनाउन पञ्चगब्यको प्रयोग छर्ने र खाने गरिन्छ ।

पञ्चगब्य बनाउँदा कति मात्रामा कुन कुन वस्तु मिसाउने भन्ने विवरण विभिन्न ग्रन्थहरुमा पाईन्छ । पाँचौ पदार्थ बरावर वा दुध र दही भन्दा घिउ गोवर र गहुँत आधाभाग मात्रै मिसाउने निर्देशन पनि पाईन्छ ।

सान्तपनकृच्छ व्रतहरुमा बनाईने पञ्चगव्यको प्रकारवारे पनि शास्त्रमा उल्लेख छ । राती गाईको गहुँत, सेती गाईको गोवर, पँहेली गाईको दुध, नीली गाईको घिउ, यी सबैलाई कपिलाको पञ्चगव्य जान्नु । यसरी पञ्चगव्य बनाउने विधान शास्त्रहरुमा विविधरुपमा पाईन्छ । पञ्चामृतमा केरा, मखना, तुलसी पत्र वा वेलपत्र पनि हाल्ने चलन छ ।

पञ्चामृतको प्रसंगमा पञ्चगव्यको उल्लेख पनि आवश्यक भएकोले संक्षेपमा चर्चा गरिएको हो । अव पशुपति मन्दिरको गर्भगृहमा स्थापित शिवलिंगलाई स्नान गराउने पञ्चामृतको संक्षिप्त चर्चा गरिन्छ ।

पशुपतिनाथको नित्यपूजामा पञ्चामृत

लिच्छविकालमा पशुपति र देवपाटनका बिभिन्न मन्दिरहरुमा वैदिक विधिविधानले नित्य र नैमित्तिक पुजा गरिन्थ्यो । विभिन्न शिलालेखका विवरणका आधारमा देवपाटन क्षेत्रमा मन्दिरमा गरिने पूजाविधान र सामाग्रीबारे जानकारी प्राप्त हुन्छ ।

पशुपतिको मुल भट्ट र चारै मुहारका पुजारी चारजना भट्टहरु स्नान आदि कर्मले पवित्र भएपछि मन्दिरभित्र पश्चिम ढोकाबाट प्रवेश गर्ने परम्परा छ । न्यास र प्रदक्षिणको कार्य सकेपछि भट्टहरुले आफुले जिम्मा पाएको शिवलिंगको मुहारको नयाँ श्रृंगार गर्न, हिजोको श्रृंगारमाला, रुद्राक्ष निकाल्ने काम गरिन्छ ।

शिवलिंगमा आकाश तत्वको प्रतिक इशान मुखको बिशेश महत्व बताइएको छ । दैनिक पुजामा पनि बिशेश जप प्राथना सकेपछि मात्रै ईशान मुुखको मुकुट श्रृंगार र गहना फुकालिन्छ । गणेशको पूजा, प्रेतलाई भाग पन्छाउने, आदि कलश पूजा, आदि कलशको जलले अभिषेक, मूर्तिलाई स्नान गर्ने क्रममा पञ्चामृत स्नान पनि गराइन्छ ।

पर्व विशेषमा पञ्चामृतले स्नान गराउने व्यवस्था विभिन्न समयमा भएको पाईन्छ । ने.स.८४० (बि.सं.१७७६) मा शशिशंकर सिंह, छयवनसिंह आदिले माघेसक्रान्तिका दिन पशुपतिमा पञ्चामृत स्नानको लागि २० रुपैंया गूठी राखी नियमित गराउने व्यवस्था गरेका थिए ।

भक्तपुरका मिँख्वा र पूर्णेश्वरीले हरेक बर्ष माघ कृष्ण चर्तुदशीमा पञ्चामृतले अभिसेक गर्ने कामको लागि २ रोपनी जग्गा गूठी राखेका थिए । हाल यी गुठीहरु पूजामा कार्यरत छैनन् ।

श्री ५ पृथ्वीनारायण शाहले काठमाडौ उपत्यका जितेपछि पशुपतिनाथमा दैनिक पञ्चामृतले स्नान गराउने व्यवस्थाको लागि गुठी राखिदिएका थिए । श्री ५ पृथ्वीनारायण शाहले राखेका गुठी अनुसार आजसम्म श्री को पञ्चामृत स्नान चलिरहेकै छ ।

वि.सं. २०५१ मा प्रकाशित कुलचन्द्र कोईरालाको पुस्तक “नेपालका आराध्यादेव भगवान श्री पशुपतिनाथ” मा पनि पञ्चामृत स्नान गराउँदा त्यसमा प्रयोग गरिने सामाग्रीहरुको परिमाण पनि उल्लेख छ ।

चैत्र पूर्णिमा, बैशाख कृष्ण औंशी र बैशाख पूर्णीमा ३ दिनको पर्वमा १ पाथी दुध, १ पाथी दही, १ धार्नी घिउ, एक धार्नी मह र एक धार्नी सख्खर द्धारा श्री भगवान पशुपतिनाथलाई पञ्चामृत स्नान गराईन्छ ।

पृथ्वीनारायण शाहकी बुहारी राजेन्द्रलक्ष्मीदेवी शाहले पनि पशुपतिनाथ मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाको दिन पञ्चामृत स्नानको निमित्त व्यवस्था बाँधिदिएकी थिइन् । पञ्चामृत पुजामा दक्षिणा बाहेक १ सय ५१ र रु २ सय १ मा गर्ने व्यवस्था गरिएको थियो । पञ्चामृत पूजा रु १ हजार १ सय बालभोगसहित पञ्चामृत पूजा रु २ हजार १ सय, रुद्राभिषेक र वालभोगसहित पञ्चामृत पूजा रु ५ हजार १ सयमा गर्ने व्यवस्था गरिएको छ । लघुरुद्राभिषेक (११ जना ब्राह्मण ) पूरा भोगसहित पञ्चामृत पूजा रु ११ हजार र रुद्राभिषेक, पुराभोग, सवालाख बत्तीद्धारा आरती पञ्चामृत पूजा रु २७ हजार व्यवस्था छ । पशुपति मन्दिरमा पञ्चामृत पूजा गराउन कमसेकम एक दिन अगाडि नाम दिनु पर्दछ ।

ऋग्वेदमा शिवको पञ्चवस्त्रका पाँचरुपको उल्लेख छ । लिंगपुराणमा यसको विस्तृत वर्णन पाइन्छ । पौराणिक तान्त्रिक ग्रन्थमा शिवका मुखहरुको रंग पनि वर्णन छ । 'शारदातिलक' नामको तान्त्रिक ग्रन्थ (११ औं शताब्दी) मा शिवको पूर्व मूख पँहेलो, दक्षिण मूख नीलो, पश्चिम मूख मोतीको जस्तो रङ्ग र उत्तरको मूख रातो , उध्र्ववर्ण पनि शुभ नै भनेको पाइन्छ ।

'मुक्तपीत पयोद मौक्तिक जपा वर्णे मुर्खेः पञ्चमिः

स्त्रैक्षेरञ्चित मीश मिन्दु मुकुटं पुर्णेन्दु कोटिप्रभम्'

(शारदातिलक तन्त्रम्, १८ पटल ! श्लोक ९१)

शिवका पाँच मूखको शास्त्रमा जसरी वर्णन गरिएको छ, जुन महिमा छ, त्यहीअनूरुप पूजा परम्परा र पञ्चामृत चढाउने व्यवस्था पनि पशुपतिनाथमा कायमै छ ।

देवपाटनस्थित पशुपतिनाथको स्वयम्भुलिंगमाथि नै मुखलिंग कुंदेर शास्त्रीय विधानद्धारा प्राणप्रतिष्ठा गरेर स्थापना गरेको मान्यता छ । पशुपतिको शिवलिंग शालग्राम शिलामा स्थापित मानिन्छ ।

कामीकागाम नामक पुस्तकमा स्वयम्भू लिंग  (आफै उत्पन्न भएको) कुनै कारणले खण्डित भएमा पनि वर्जित नहुने उल्लेख गरिएको छ । नेपाल र भारतको विभिन्न ६४ स्थानमा स्वयम्भू शिवलिंगहरु आफै उत्पति भएको बिश्वास गरिन्छ । स्थायी र क्षणिक दुवै प्रकारका लिंगमा जल र पञ्चामृत अर्पण गर्ने विधान छ । शैव शास्त्रहरुमा शिवलिंगमा अर्पण गर्ने जल र पञ्चामृतको विस्तृत फलप्राप्तिको वर्णन पाइन्छ ।

(यो लेख नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबार काठमाडौ द्धारा प्रकाशित ‘अमुर्त संस्कृति’ पुस्तकबाट साभार गरिएको हो )

कमेन्ट गर्नुहोस्