मानव बेचबिखनका अभियुक्त ९ वर्षपछि पक्राउ

प्रतिकात्मक तस्वीर

भद्रपुर – मानव बेचबिखन तथा ओसारपोसार मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका–४ झापाका ६४ वर्षीय इन्द्रप्रसाद अधिकारीलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला अदालत झापाले विक्रम संवत् २०६७ असार १४ गतेको फैसलाअनुसार ९ वर्ष कैद र ५ लाख ३० हजार रुपैयाँ जरिवाना तोकेको अभियुक्त अधिकारीलाई बिहीवार पक्राउ गरिएको हो ।


Advertisement

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेर उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिप्रका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

कनकाई नगरपालिका–२ जामुनखाडीका ६७ वर्षीय उदयनारायण गिरी र उनका ४० वर्षीय छोरा रनबहादुर गिरीलाई १३.८० ग्राम अफिमसहित प्रहरीले पक्राउ गरेको छ ।


Advertisement

गिरीको घरको दराजमा लुकाएर राखेको सो अफिमसहित उनीहरूलाई प्रहरीले बिहीवार नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रवक्ता श्रेष्ठले बताए ।

यस्तै, प्रतिबन्धित नेकपा विप्लव समूहका जिल्ला सचिवालय सचिव पुष्प अधिकारी आगामी दिनमा सो समूहमा नलाग्ने लिखित प्रतिबद्धता जनाएपछि विहीवार रिहा भएका छन् । मेचीनगर–१० घर भई हाल बिर्तामोड–२ मा बस्दै आएका ४१ वर्षीय अधिकारी २५ दिनअघि काठमाडौं जान लागेको अवस्थामा पक्राउ परेका थिए ।

उनलाई जिल्ला प्रशासन कार्यालय झापाले रिहा गरी परिवारलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

रिहा भएलगत्तै अधिकारीले अब आफूले स्वतन्त्र जीवन बिताउन चाहेको र विप्लव समूहबाट राजीनामा पहिल्यै दिइसकेको बताए । उनले विप्लव पार्टीले मे१प ६१० नम्बरको मोटरसाइकल आफ्नो नाममा खरीद गरेको र हाल सो सवारीसाधन पार्टीले नै प्रयोग गरिरहेको बताए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता श्रेष्ठका अनुसार विप्लव समूहमाथि प्रतिबन्ध लागेयता झापामा १६ उच्च तहका कार्यकर्ता पक्राउ परेको र ५ जना पार्टी परित्याग गरी स्वतन्त्र जीवन बिताउने लिखित प्रतिबद्धता पश्चात् रिहा भइसकेका छन् । 

कमेन्ट गर्नुहोस्