दशरथचन्दमा मदिरा निषेधित वडा घोषणा

प्रतिकात्मक तस्वीर

बैतडी – मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भएको भन्दै बैतडीको दशरथचन्द नगरपालिका–९ लाई मंगलवार मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।

वडामा भएको आमभेला र वडा समितिको निर्णयअनुसार वडालाई मदिरा निषेधित वडा घोषणा गरिएको वडासचिव कृष्णबहादुर बोहराले जानकारी दिए ।


Advertisement

मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भएको, सामाजिक अपराध बढ्दै गएकाले मदिरा निषेधित वडा घोषणा गरिएको हो । भेलाले लीलाधर जोशीको संयोजकत्वमा सात सदस्यीय मदिरा नियन्त्रण समिति र लक्ष्मीदत्त जोशीको संयोजकत्वमा ३ सदस्यीय अनुगमन समिति पनि गठन गरेको छ । 

मदिरा निषेधित क्षेत्रमा कसैले मदिरा बिक्री वितरण गरेमा पहिलोपटकका लागि रु १५ हजार, कसैले ओसारपसार गरेमा पहिलोपटकका लागि १० हजार रुपैयाँ र मदिरा सेवन गरी होहल्ला गरेमा पहिलोपटकका लागि घटनाको प्रकृति हेरेर १ हजार ५ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।


Advertisement

दोस्रो तेस्रो सोही व्यक्ति दोहोरिएमा जरिवाना दोब्बर–तेब्बर हुने वडासचिव बोहराले जानकारी दिए । ३ पटकभन्दा बढी कसैले मदिराको कारोबार, ओसारपसार र सेवन गरेको पाइएमा सार्वजनिक मुद्दा दर्ता गर्ने निर्णयसमेत भएको छ ।

कमेन्ट गर्नुहोस्