पुराना दलले जनतालाई राजनीतिक मायाजालमा पारे : मिश्र

प्रकाश आचार्य
प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

बुटवल- साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले मुलुक परिवर्तन पुराना राजनीतिक दलहरूबाट सम्भव नभएको बताएका छन् । उनले पुराना राजनीतिक दलको अपहरणबाट मुक्त नहुँदासम्म मुलुकको विकास नहुने जिकिर गरे । 

आइतवार बिहान बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै संयोजक मिश्रले भने, ‘पुराना राजनीतिक दलको छाता नत्यागेसम्म मुलुक बन्दैन । त्यसैले अब पुराना गाँजेर राखेको राजनीतिक दल त्याग्नुको विकास सम्भव छैन । पुराना दलको अपहरणबाट मुक्त हुनुहोस् । साझा पार्टीसँग मुलुकको समृद्धिको स्पष्ट खाका छ ।’


Advertisement

गणतन्त्रमाथि खतरा आयो भन्ने दलका नेताहरूको अभिव्यक्ति आफ्ना कमी/कमजोरी ढाकछोप गर्ने प्रयासको भएको बताए । उनले गणतन्त्रमाथि अरू कसैबाट खतरा नभएर दलका नेताहरूको असक्षमताका कारण खतरा उत्पन्न हुन सक्ने विचार व्यक्त गरे । मिश्रले गणतन्त्रमाथि खतरा आयो भन्ने दलका नेताहरूको अभिव्यक्तिलाई ‘नाच्न नजान्ने आगन टेढो’को संज्ञा दिए ।

राजा र राजतन्त्रवादीहरूको गलत क्रियाकलापका कारण राजतन्त्र अन्त्य भएको भन्दै उनले वर्तमान सरकार र केही गणतन्त्रवादी नेताहरूका गल्ती/कमजोरी कारण गणतन्त्र खतरामा पर्न सक्ने बताए । पुराना राजनीतिक दलहरूले जनतालाई राजनीतिक मायाजालमा पारेर राखेको भन्दै संयोजक मिश्रले जनता पुराना दलको राजनीतिक माया जालबाट बाहिर ननिस्किएसम्म मुलुकको समृद्धि सम्भव नभएको दाबी गरे ।

दुई तिहाइ बहुमतको सरकार बनेपछि जनता मुलुक स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढ्छ भन्ने विश्वासमा रहे पनि मुलुक स्थायित्व र समृद्धितर्फ एक कदम पनि अगाडि बढ्न नसकेको भन्दै उनले अब जनताले आफ्नो मन र मत बदल्नुपर्ने बेला आएको बताए ।

देशको परिस्थिति गम्भीर भए पनि जनता देशको परिस्थितिप्रति गम्भीर नभएको भन्दै मिश्रले सचेत युवाहरूले देशको परिस्थितिबारे गम्भीर भएर सोच्ने बेला आएको बताए । रवि लामिछानेको समर्थनमा भइरहेका प्रदर्शनबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै संयोजक मिश्रले मुलुकमा कानूनी राज्यप्रति जनताको अविश्वासको संकेतको रूपमा आफूले लिएको बताए । कसैको विरोध र समर्थनमा नारा जुलुस गर्न पाउनु जनताको लोकतान्त्रिक अधिकार रहेको भन्दै उनले यद्यपि कुनै घटनाको बारेमा भिडबाट निर्णय गर्ने अधिकार भने कसैलाई नभएको बताए ।

कार्यक्रममा बोल्दै पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले राजनीतिक दलहरूको कमीकमजोरीका कारण उत्पन्न समस्या जनताले बिस्तारै बुझ्दै जान थालेको भन्दै त्यो पीडा र आक्रोश कुनै दिन बिस्फोटको रूपमा देखापर्ने बताए ।
 

कमेन्ट गर्नुहोस्