बोल्टन बर्खास्त गरिएपछि कस्तो हुनेछ अमेरिकाको परराष्ट्रनीति ?

तस्वीर स्रोत : यूएसए टुडे

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई मंगलवार बर्खास्त गरेका छन् । तालिबानलाई वाशिङटन बोलाएर वार्ता गर्ने विषयमा मतभेद भएपछि ट्रम्प र बोल्टनबीच बाझाबाझ भएकाले ट्रम्पले उनलाई बर्खास्त गरेको बुझिएको छ । बोल्टन भने आफूलाई बर्खास्त गरिएको नभई आफूले राजीनामा दिएको बताउँछन् ।

यी दुईबीच व्यक्तिगत सम्बन्ध केही समययता बिग्रेको थियो अनि बोल्टनले परराष्ट्रमन्त्री माइक पम्पिओसँग पनि मतभेद राख्ने गरेका थिए । बोल्टन ट्रम्प प्रशासनबाट बाहिरिएपछि अमेरिकाको परराष्ट्रनीतिमा पनि असर पर्नेछ । 
ट्रम्पले वैश्विकवाद र बहुपक्षीयवादप्रति घृणा कायम राख्नेछन् तर अन्य देशमा आक्रमण नगर्ने ट्रम्पको चाहना तथा व्यक्तिगत कूटनीतिमा उनले गरेको भरोसा बोल्टन गएपछि झनै बलियो हुनेछ । यसले गर्दा वाशिङटनका राष्ट्रिय सुरक्षा निकायहरूबीच नीतिगत समन्वय प्रबल हुनेछ अनि परिणामस्वरूप राष्ट्रपतिलाई सही ब्रीफिङ पनि हुनेछ ।


Advertisement

अफगानिस्तान
सन् २०१९ को अन्त्यसम्ममा अफगानिस्तानमा बाँकी रहेका अमेरिकी सैनिकहरू फिर्ता बोलाउने योजनालाई बोल्टनले घोर विरोध गरेका थिए । तर शनिवार मात्रै ट्रम्पले बोल्टनकै धार समातेर तालिबान नेताहरूसँग क्याम्प डेभिडमा गर्ने भनेको वार्ता भंग गरिएको घोषणा गरे । काबुलमा एक आत्मघाती आक्रमणकारीले संयुक्त राष्ट्रसंघको सैनिक मारेको भन्दै ट्रम्पले गोप्य बैठक रद्द गरेका थिए । तर राष्ट्रपतिले अफगानिस्तानलाई आतंकवादीहरूको नियन्त्रणमा छोड्ने योजना बनाएको विषयमा सुरक्षा समुदायले असहज अनुभव गरेको थियो र ट्रम्पले वार्ता रद्द गरेपछि सहज अनुभव गरेको सत्य हो । अफगानिस्तानमा आमनिर्वाचन आउनुअघि वैध सरकारलाई संरक्षण गर्ने योजना नबनाइकनै ट्रम्पले सैन्यफिर्तीका लागि आधार तयार गरिरहेका थिए । 


Advertisement

भेनेजुएला
बोल्टनले भेनेजुएलामा निकोलास मडुरोको वामपन्थी सरकारलाई हटाउनका लागि अमेरिकी सैनिक पठाउनुपर्ने योजना सहितको दस्तावेज बोकेर राष्ट्रपतिसँग बैठक गर्ने गरेका थिए । तर विरोध प्रदर्शनपछि मडुरो चाँडै सत्ताच्युत हुनेछन् अनि भेनेजुएलाको सेनामा विद्रोहको छनक पाइएको छ भनी बोल्टनले अतिशय आशा गर्दा विश्वसनीयता गुमाउन पुगे । तैपनि अमेरिकाले विपक्षी नेता खुवान गुआइडोलाई समर्थन दिइरहेको छ अनि हालै अमेरिकी अधिकारीहरूले युरोपेली संघलाई भेनेजुएलामाथिको प्रतिबन्ध कडा पार्न दबाब दिइरहेका छन् । तर भेनेजुएलामाथि अतिरिक्त दबाबको नीति अहिले लिइएको छैन ।

इरान
पम्पिओ, बोल्टन र उपराष्ट्रपति माइक पेन्स सबैले ट्रम्पलाई अमेरिकी ड्रोन खसाइएपछि इरानमाथि आक्रमण गर्न सल्लाह दिएका थिए । सैन्य मुठभेड हुने डरले गर्दा ट्रम्पले आक्रमणको आदेश दिएर अन्तिम समयमा त्यसलाई फिर्ता लिए । त्यसले गर्दा उनले अधिकतम आर्थिक दबाब दिने नीतिमा भर पर्नुपर्ने भयो । तर अमेरिकाका युरोपेली साझेदारहरूले इरानलाई आक्रमण नगर्ने हो भने वार्ता गर्नुको विकल्प नरहेको बताउँदै आएका छन् ।

विपक्षीहरूले विद्रोह गर्ने अनि सत्ता परिवर्तन हुने भनी बोल्टनले गरेको पूर्वानुमान विफल भयो किनकि सुधारवादीहरू र उग्रवादीहरू दुवै बाहिरी शक्तिविरुद्ध एकजुट भए । ट्रम्पलाई उच्चस्तरीय शिखर बैठक गर्न रहर लाग्छ र आणविक सम्झौताको पुनरवलोकन गर्नेगरी सहमति बनेमा उनी इरानी राष्ट्रपति हसन रूहानीसँग बैठक बस्न चाहन्छन् । तर बोल्टनको बिदाइसँगै अमेरिकाले इरानी तेल निर्यातमा प्रतिबन्ध हटाए मात्र त्यो सम्भव छ । मंगलवार बोल्टन हिँडेपछि पम्पिओले अक्टोबर महिनाको अन्त्यतिर संयुक्त राष्ट्रसंघको साधारणसभामा इरानी समकक्षीलाई राष्ट्रपति ट्रम्पले भेट्न सक्ने बताए । 

रुस
रुसलाई पश्चिमी शक्तिहरूको क्लबमा पुनः ल्याउने फ्रान्सेली सरकारको प्रयासलाई ट्रम्पले स्वागत गरे । तर अमेरिकी राष्ट्रपतिले रुससँग सम्बन्ध बढाउने नीति अँगालेकोमा युरोपेली मुलुक र वाशिङटनमै पनि विरोध भइरहेको छ । उक्त विरोधलाई बोल्टनले समर्थन गरेका थिए । अब बोल्टनलाई हटाएपछि ट्रम्पले मस्कोसँग युक्रेनका विषयमा कुराकानी गर्न राम्रो अवसर पाएका छन् । 

उत्तर कोरिया
पूर्ववर्ती बुश प्रशासनमा हुँदा बोल्टनले प्योङयाङमाथि आक्रमण गर्नुपर्ने नीति अपनाएका थिए अनि ट्रम्प प्रशासनमा उनले प्रतिकार हुनुअघिको आक्रमणको पैरवी गरेका थिए । उनले किम जोङ–उनसँग वार्ताको ढोका खोल्ने विषयलाई कडा विरोध गरेका थिए । तर ट्रम्पले किमसँग आमनेसामने भएर वार्ता गर्ने प्रयास थालेर बोल्टनलाई पन्छाए । 

बोल्टनको सल्लालाई निरन्तर लत्याउँदै ट्रम्पले किमलाई धेरैपटक भेटे यद्यपि सम्झौता गर्नका लागि आफूलाई कुनै हतारो नभएको उनी बताइरहेका छन् । बोल्टन चाहिँ किमले आणविक कार्यक्रम परित्याग गर्न अस्वीकार गरिरहेको र उत्तर कोरियाले एकपछि अर्को गरी छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरिरहेकाले किम विश्वासयोग्य व्यक्ति नभएको बताउने गर्थे । उत्तरका यी क्षेप्यास्त्र परीक्षणले राष्ट्रसंघका प्रस्तावहरूको उल्लंघन गरेको बोल्टनको भनाइ थियो तर ट्रम्पले त्यसलाई स्वीकार गरेनन् । त्यसमाथि किमसँगको वार्तामा भइरहेको प्रगतिलाई ध्वस्त पार्नका लागि बोल्टनले पर्दापछाडि खेल खेलेको आरोप पनि लगाइएको थियो । विशेषगरी उत्तर कोरियासँगको सम्झौताका लागि खटाइएका विशेषदूत स्टिफन बीगनविरुद्ध बोल्टनले काम गरेको बताइन्छ ।

द गार्डियनमा प्रकाशित प्याट्रिक विन्टूरको विश्लेषण
 

कमेन्ट गर्नुहोस्