घिसिङको फूटबल यात्रा : सक्षम नगरदेखि सरस्वती क्लबसम्म

प्रदिप अधिकारी
प्रदिप अधिकारी

अधिकारी लोकान्तरका लागि मनोरञ्जन र खेलकुदमा कलम चलाउँछन् ।

काठमाडौं- नेपाली फूटबलमा भविष्य देख्ने प्राय: खेलाडीको सामान्य लक्ष्य हुन्छ- रंगशालामा खेल्ने । ठूलो लक्ष्य भने राष्ट्रका लागि योगदान दिने, महत्त्वपूर्ण उपाधि दिलाउने हुन्छ । तर सबैले राष्ट्रिय टीममा स्थान पाउँदैनन् । कतिपय टोलकै मैदानमा रमाउँछन् भने कोही 'ए', 'बी', 'सी' डिभिजनमा संघर्ष गर्छन्, त्यतै जीवन व्यतित गर्छन् । 

त्यस्तै लक्ष्य छ रमेश घिसिङको पनि । सकुञ्जेल फूटबल खेल्ने चाहना छ उनको । अहिले उनी सरस्वती यूथ क्लबबाट फूटबल खेलिरहेका छन् ।
घिसिङले पनि सानैमा सपना देखेका रहेछन्- दशरथ रंगशालामा एकदिन फूटबल खेल्ने ।


Advertisement

एकदिन घिसिङ मम्मीसँग भृकुटीमण्डप घुम्न निस्किए । बजार चहारे । तर मम्मीलाई रंगशाला छिर्ने मूड चलेछ । घिसिङको आमा-छोरा त्रिपुरेश्वरस्थित रंगशाला छिरे । तर मैदानमा नेपाल र भुटान भिडिरहेका थिए । त्यहीबेला हो रमेश घिसिङले रंगशालामा फूटबल खेल्ने सपना बुनेको । पुराना दिन स्मरण गर्छन् उनी, 'त्यसपछि हो मलाई फूटबलमा केही गर्नुपर्छ भन्ने आँट आएको ।'

*****
ओखलढुंगामा जन्मिएका रमेश घिसिङ (३०)ले रंगशालामा फूटबल खेल्ने सपना यस्सै देखेका भने थिएनन् । उनले सानैदेखि भकुण्डो हान्थेँ, त्यो पनि मोजाबाट बनाइएको । मोजाको बल उनले घरको आँगनमा खेले । गाउँको साघुँरा बाटोहरूमा खेले । 

उनले स्कूलमा पनि धेरै फूटबल खेले । भन्छन्, 'मैले कक्षा सातमै पढ्दा कोकाकला कपदेखि मायोज कपसम्म खेलेँ । त्यो फूटबलप्रतिको मोहकै कारण हो ।'

स्कूल पढ्दानै फूटबलमा केही गर्नुपर्छ भन्ने सोच बोकेका घिसिङ अझ थप्छन्, 'मलाई फूटबल भएपछि केही चाहिन्नथ्यो त्यो बेला । एकदमै इनर्जेटिक थिएँ ।'

उनको फूटबल मोहमा परिवारका सदस्यहरूले कहिल्यै रोकटोक लगाएनन् रे । भन्छन्- बरू उहाँहरूले बूट, मोजा र बल नै किनिदिनुहुन्थ्यो । तर परिवारका सदस्यहरूको एउटै शर्त थियो रे- फूटबल, फूटबल भनेर पढाइ बिगार्न चाहिँ पाउँदैनौ नि । 

त्यसपछि उनले पढाइसँगै फूटबललाई पनि जारी राखे । फूटबलमा चासो र त्यसमै समय बिताउने भएपछि उनलाई साना भनिने क्लबहरूले टीममा राखे र खेल प्रदर्शन गर्ने मौका पाए । 

उनी अहिले नयाँ बस्ती बस्छन् । उनले फूटबलमा सबैभन्दा बढी समय पनि नयाँ बस्तीमै बिताएका छन् । सोही बस्तीमा सक्षम नगर भन्ने 'डी' डिभिजन क्लब थियो, त्यसमै मौका पाए उनले । 

कसरी ? 

भन्छन्, ' सक्षम नगर क्लबका बालकृष्ण भुजेलले मेरो क्षमता देखेर टीममा बोलाउनुभयो । त्यस क्लबमा मैले डिफेन्डरको भूमिका पाएँ ।'

क्लबका सदस्यहरूले आफ्नो गेम देखिसकेको हुनाले ट्रायल नदिइ सिधै सेटमा परेको उनले बताए । तर उनी दुई-तीन वर्ष 'डी' डिभिजनमै बस्नुपर्‍यो । सक्षम नगरले सी क्वालिफायर जित्न सकेन । 'विजेता मात्रै सी डिभिजन पुग्ने हुँदा केही वर्ष डी मै अल्झनुपर्‍यो । तर अन्तिममा भने हामीले उपाधि नै जित्यौं र सी डिभिजनमा पुग्यौं,' उनी सुनाउँछन्, 'तर सी डिभिजनमा आउँदा हाम्रो क्लबको नाम परिवर्तन भएर नयाँ बस्ती भयो । त्यसपछि बी ज्ञानभैरव क्लबबाट खेलेँ ।'

ए डिभिजनको यात्रा 

उनी 'बी' डिभिजन लीग खेलिरहेका थिए । त्यसैबला ज्ञानभैरवले सरस्वती क्लबसँग खेल्यो । त्यही बेला सरस्वती क्लबका नविन पराजुलीले रमेशको खेल 'नोटिस' गरेका रहेछन् । भन्छन्, 'ज्ञानभैरव र सरस्वती क्लबबीच खेल हुँदा उहाँले मेरो खेल देख्नुभएको रहेछ । त्यसपछि उहाँलाई राम्रो लागेछ कि के हो मलाई बोलाउनुभयो ।' 

घिसिङको 'ए' डिभिजनमा पहिलो खेल २०६८ सालमा जावलाखेलसँग खेलेका थिए । तर त्यो म्याच सरस्वतीले गुमाएको थियो । 

बेरोजगार भएपछि विदेश हानिएँ

सरस्वती क्लबबाट विशेषगरी लेफ्ट विंगरको भूमिका निभाइरहेका घिसिङलाई फूटबलबाट केही समयका लागि बाहिरिए पनि । कारण थियो- विसं २०७२ मा ए डिभिजन लीग रोकिनु । नियमित फूटबल खेल्ने घिसिङ बेरोजगार भयो । उनले राम्रोसँग जानेकै फूटबल खेल्नु हो, अरू काममा उतिसारो सीप थिएन । र विदेश भास्सिन बाध्य भए । विदेशिएको क्षण सम्झँदा भावुक हुँदै उनी भन्छन्, 'वातावरण बिग्रिएपछि विदेश जाने सोच बनाएँ र सेक्युरिटी गार्डका लागि म दुबई गएँ ।'

तर उनी दुबईमा टिक्न सकेनन् । नेपालमा पुन: 'ए' डिभिजन लीग हुने भएपछि नेपाल फर्के । भन्छन्, 'राम्रो कमाइ भइरहेको थियो तर मलाई पैसाभन्दा फूटबल प्यारो भयो अनि नेपाल फर्किएँ ।' त्यसपछि उनी पुन: सरस्वती क्लबमै जोडिए र ०७५ को 'ए' डिभिजन लीग खेले । 

*****
घिसिङ स्ट्राइकर होइनन् । सामान्यत: यसकारण डिफेन्डर र मिडफिल्डर गोलका लागि भूमिका निभाउँछन् खासै गोल हान्दैनन् । स्पेशल गोलकर्ता भनेका स्ट्राइकर नै हुन् । तर पनि उनले हालसम्म 'ए' डिभिजनमा ९ गोल गरेका छन् ।  उनले 'ए' डिभिजनमा पहिलो गोल एनआरटीविरुद्ध गरेका रहेछन् । भन्छन्, ' 'मैले ए डिभिजनमा  पहिलो गोल न्यू रोड टीम (एनआरटी) विरुद्ध गरेको थिएँ । त्यो क्षणलाई म कहिल्यै बिर्सन सक्दिनँ ।' 

उनी थप्छन्, '०७५ को लीग रेलिगेसनबिनाको लीग थियो । यसपालि राम्रो खेलेर क्लबको स्थानलाई केही माथि पुर्‍याउने कोशिश गर्नेछु ।' 

फूटबल खेलेर बाँच्ने अवस्था छ कि छैन ?

उनका अनुसार पहिलाभन्दा अहिले फूटबलप्रतिको मानिसहरूको धारणा फरक भएको छ । खेलाडीहरूले खेलेरै बाँच्न सक्छु भन्ने हिम्मत गर्न थालेको उनले बताए । उनी भन्छन्, 'खेलाडीहरूले खेलेरै सामान्य जीवनयापन गर्न चाहिँ सक्छन् ।' 

क्लबले छोटो समयका लागि अनुबन्ध गर्दा खेलाडीहरू मारमा पर्ने गरेको उनले सुनाए । भन्छन्, 'क्लबले लीग अवधिभर या ६ महिनाका लागि पनि लिने गरेको छ । पारिश्रमिक अनुबन्ध भएको अवधिको मात्रै पाइन्छ । यसो हुँदा खेलाडीहरू बेरोजगार हुने गर्छन् ।' 

पहिलापहिला लीग पनि लामो समयसम्म हुने र बाहिर पनि गेमहरू भइरहने हुँदा व्यस्त हुन्थे । खाली बस्न पर्दैनथ्यो । भन्छन्, 'खेलाडीहरू व्यस्त भइरहने हुँदा क्लबहरूले बाह्रै महिनाका लागि अनुबन्ध गर्थेँ ।'

खेल धेरै ग्यापमा हुने हुँदा अनुबन्धको समय घटेको उनको भनाइ छ । 

उनलाई एउटै कुराले चिमोट्ने रहेछ - उमेर हुञ्जेल त खेलौंला तर पछि के गर्ने ? 

कमेन्ट गर्नुहोस्