कात्तिक २४, २०८०
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
भदौ ३१, २०७६
चीनका परराष्ट्रमन्त्री वाङ् ई नेपालको संक्षिप्त भ्रमणबाट फर्केको लगत्तै बेइजिङमा निजको मन्त्रालयले जारी गरेको वक्तव्यमा नेपाल कम्युनिष्ट पार्टीका सहअध्यक्ष पुष्प कमल दाहालसँगको भदौ २४ गतेको भेटघाटको चर्चा गरिएको छ । त्यसमा भेटवार्ताको क्रममा परराष्ट्रमन्त्री वाङ्ले चीन नेपालको चिरकालपर्यन्तको र विश्वासिलो मित्र भएको पृष्ठभूमि दर्शाउँदै ‘पेटी-सडक-पहल’ (बेल्ट एण्ड रोड इनिसिएटिभ) लाई गति दिन चीन इच्छुक रहेको कुरा उल्लेख गरेका थिए । यस कार्यमा नेपाली पक्षको सहभागिता रहने अपेक्षा पनि उनले दर्शाएका थिए ।
वाङ्ले नेपाल-चीन सम्बन्ध विकासको लागि यतिखेर ‘ऐतिहासिक अवसरहरू’ उपलब्ध भएको धारणा अघिसारेका छन् र यसमा नेपाल कम्युनिष्ट पार्टीले महत्वपूर्ण योगदान गर्नसक्ने तर्क दिएका छन् । ‘ऐतिहासिक अवसरहरू’ को व्याख्या त वक्तव्यमा गरिएको छैन तर वाङ्ले नेपालमा कम्युनिष्ट पार्टी सत्तामा पुगेको बखतलाई ‘ऐतिहासिक’ भनी इङ्गित गरेको बुझ्न गाह्रो पर्दैन । स्मरणीय छ, चीनमा सन् १९४९ यता सदैव कम्युनिष्ट पार्टी नै सत्तासीन रहने परिपाटी बसेको छ । तसर्थ त्यहाँको नेतृत्वले आफ्नो सिमाना जोडिएको देश नेपालमा कम्युनिष्ट बर्चस्व बढेकोमा प्रसन्नता जनाउनु आश्चर्यको कुरो भएन । सहअध्यक्ष दाहालले पनि विगत ७० वर्षमा चीनले कम्युनिष्ट नेतृत्वमा गरेको प्रगतिको प्रशंसा गरेको गरेको कुरा त्यस अभिलेखमा पारिएको छ ।
विवेच्य वक्तव्यको सिरानमा वाङ्का उद्गारको उल्लेख गरेपछि अर्को अनुच्छेदमा पुष्प कमल दाहाल ( ‘पुस्प’ लेखिने किसिमले अङ्ग्रेजी हिज्जेको प्रयोग भएको छ र क्रान्तिकारी जनाउन नेपालीमा जोड्ने गरिएको पुच्छ्रे नाम छैन ) ले वाङ्लाई नेपाल ‘एक चीन नीति’ लाई बोली र व्यवहार दुबै हिसाबले पालना गर्ने वचन दिएको कुरा जनाइएको छ । हङकङ चीनको घरेलु मामिला हो ; आतङ्कवाद विरुद्धको चीनको लडाञीलाई मानव अधिकारको नाममा अवरोध गर्नेहरूको नेपाल विरोध गर्दछ । आदि इत्यादि । त्यसपछि आउँछ दाहालको त्यस कथनको जसबारे अमेरिकीहरूले पनि चासो देखाएको भनिदै छ। त्यो हो--- नेपाल दृढताका साथ असंलग्नताको नीतिलाई पालना गर्दछ, तथाकथित ‘ईण्डो-प्यासिफिक’ रणनीतिप्रति असहमति जनाउँछ, र चीनको विकासलाई सीमित वा निष्कृय तुल्याउने क्रियाकलापको विरोध गर्दछ । अमेरिकी दूतावास, काठमाडौंले प्रवक्ता मार्फत् यस वक्तव्यप्रति आश्चर्य जनाउनुको कारण नेपालका नीतिगत अडानबारेका जानकारी बेइजिङबाट निस्कने वक्तव्यमा पाइनु हो भनेको देखिन्छ । यसबारे नेपालको परराष्ट्र मन्त्रालयले वस्तुस्थिति स्पष्ट गरिदेओस् भन्ने अमेरिकी अपेक्षा रहेछ ।
तर परराष्ट्रले भने यसबारे खास केही भनेको छैन, शायद भन्ने कुरा नभएको हुनाले नै मौन रहेको छ । प्रधानमन्त्री वा परराष्ट्रमन्त्री वा अन्य कुनै सरकारी पदाधिकारीले दिएका प्रतिकृया हुँदा हुन् त मन्त्रालयका प्रवक्ताको भनाइ आउँदो हो, तर राजनीतिक दलका नेताले दलीय कोणबाट दिइएका मन्तव्यबारे सरकारी निकायले के भन्ने ? भेनेजुएलाको प्रसङ्गमा पनि उस्तै परिस्थिति आइपरेको थियो यद्यपि त्यस बखतको वक्तव्यका कारण अमेरिकी दूतावासले दाहालको तय भइसकेको यात्रामा व्यवधान गरेन ।
सहअध्यक्ष दाहालका सहयोगी, कार्यकर्ताहरूमध्ये केहीले प्रेसमा प्रकट भएर भनेका छन् : वाङ्-दाहाल भेटमा दाहालले ती कुराहरूकै जानकारी गराएको हो जुन पार्टीको स्वीकृत नीतिमा पर्छन् । अनुवादका क्रममा तथाकथित इण्डो-प्यासिफिक अस्वीकार गर्छौं भन्ने अर्थ लागेको हुनसक्छ---यस्तो कथन पनि सहअध्यक्षको तर्फबाट प्रेसमा आएको छ । तर वास्तविकता के हो, यसै भन्न कठिन छ । किनभने वाङ्-दाहाल भेटमा संवादको भाषा अङ्ग्रेजी हुँदो हो, र बेइजिङको वक्तव्य पनि अङ्ग्रेजीमै छ । यसमा अनुवादको सन्दर्भ कसरी आयो !? (नेपाली र चिनीया भाषामा संवाद भएको हो भने दोभाषेले गोलमाल पारेछन् भन्नुपर्ने हुन्छ ।)
यथार्थमा, अनुवाद वा त्यससम्बन्धी जिरह-जिकीर सतही मात्र हुनसक्छ । खास कुरो माओवादी विद्रोह (२०५२-६२) का कमाण्डर दाहाललाई त्यस दशकमा भएका हत्या-हिंसाको लागि दोष खेप्नुपर्ने भन्ने भयले छट्पटीमा पारेको छ; तसर्थ त्यसबाट जोगिन चीनप्रति विशेष रूपले अनुगृहित हुने चाहना जागेको होला । चीन राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्य र अमेरिकाको प्रतिद्वन्द्वी शक्तिशाली राष्ट्र हुनाले त्यहाँको संरक्षण पाइएला भन्ने अपेक्षा भएको होला । भेनेजुएलाको दाँजोमा चीनको प्रभाव कता हो कता निकै बढी छ । केही साताअघि कश्मीरबारे सुरक्षा परिषद्मा चीन पाकिस्तानको पक्षमा एक्लै भए पनि उभिएकै हो । नेपालमा माओवादी विद्रोहको क्रममा भएका घटनाको सत्यनिरूपण र बेपत्ता छानबीनका विषय अनिर्णित स्थितिमा छन्, र कतिपय सन्दर्भमा यी कुराले दाहाललाई विदेश भ्रमण गर्न समेत अप्ठ्यारो पारेका छन् ।
दाहालको यो छटपटाहट मनगढन्त मामिला होइन, कसैले बेतुकको अनुमान गरेको पनि मान्न मिल्दैन । किनभने दाहाल आफैंले केही साता अघि ‘हेग लगिए पनि मलाई फरक पर्नेवाला छैन...म झन् विश्वकै हिरो भएर निस्कन्छु’ भनेर दिएको अभिव्यक्ति जनताको स्मृतिपटलमा ताजै छ । मानवता विरुद्धको अपराध गर्नेहरूलाई पुर्पक्ष गर्ने अन्तर्राष्ट्रिय अदालत रहेको ठाउँ हेग भएको तथ्य जगजाहेर छ । ( यो नेदरल्याण्डस्को एक शहर हो ।) "तर मलाई लाग्दैन तिनीहरूले लान्छन् र विश्वको हिरो बनाउँछन्," भन्ने दाहालको कथनलाई सिधा अर्थमा बुझ्नु गलत हुन्छ । यो माओवादी कमाण्डरले ख्याति कमाउने भयो भनेर त्यो अवसर नदिन ‘तिनीहरू’ अग्रसर होउन् र फलस्वरुप आफूले हेग जानु नपरोस् भन्ने दाहालको खास अभिप्राय हुनुपर्छ । किनभने दाहाल नेपाली सेनाका कुमार लामाको घटनाबारे बेखबर नभए झैं जेनेभाको मानव अधिकार परिषद् पनि नेपालबारे अनभिज्ञ छैन । लाग्छ, दाहाललाई बेला-बेलामा दु:स्वप्नले लखेटिरहन्छ । कुनै बेला दाहालको कथन हुन्थ्यो: मलाई श्रीलङ्काको प्रभाकरण बनाउने तयारी गर्दैछन् । नेत्रविक्रम चन्द (विप्लव) को समूहका मानिसबाट पो आफू मारिन्छु कि भन्ने आशङ्काबारे पनि दाहालको भाषण जनसाधारणले सुनिसकेका छन् ।
सहअध्यक्ष दाहालको सुरक्षा पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीको पनि चिन्ता र सरोकारको विषय हुनुपर्छ । अनि, हालका गृहमन्त्री साविकमा दाहालकै निकटस्थ माओवादी कमरेड भएको तथ्य कसैबाट लुकेको छैन । तसर्थ दाहालको यथोचित हेरचाह भएकै होला । सर्वाधिक महत्वको बुँदा हो, सत्यनिरुपण र बेपत्तासम्बन्धी मुद्दाहरूको टुङ्गो यथासक्य छिटो हुनुपर्छ र त्यसको लागि माओवादी विद्रोहका निर्देशक र चश्मदीद साक्षीको सकृय उपस्थिति निर्णायक हुनजान्छ । हो, हत्केलाले सूर्यलाई छेक्न सकिंदैन ।
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...