झ्याउँकिरीले डाकेको दशैंं !

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

झ्याऊँ ऽ ऽ ऽ ऽ ऽ ऽ ऊ, झ्याऊँ ऽ ऽ । झुल्के घाममा बारीका डिल, लहरामा बसेर झ्याउँकिरी कराएको देखेर दौडिँदै आमा भएतिर गएर भनें, ‘आमा, झ्याउँकिरीले दशैंं डाक्यो ।’ 

‘हो, अब दशैंं आउँछ,’ अम्बाको रुखमुनि घाँस काटिरहेकी आमाले भनिन् । आमाले नै यो कीराको नाम झ्याउँकिरी भनेर चिनाएकी थिइन् । 


Advertisement

असोज लागेपछि झ्याउँकिरीहरू घामतिर फर्केर यसरी नै कराउने गर्दछन् । अर्थात् दशैंं डाक्दछन् । घामतिर फर्केर कराउने भएकाले घामकीरा र यसले कराएपछि दशैंं आउने भएकाले दशंैकीरा पनि यसको नाम हो । 

दशैं आउनु सबै नेपालीका लागि खुशीको कुरा हो । तर मेरा लागि दशैंको छुट्टै अर्थ थियो, ठूल्दाजुले नयाँ बास्ना आउने सेतो धर्के कमिज र सुरुवाल ल्याउनुहुन्छ भन्ने आशा, अर्को पन्ध्र दिन स्कूल जाने टण्टा नहुने र त्यसभन्दा पनि खुसशी पन्ध्र दिन रोशी खोलामा आमासँग बस्न पाइने । 

नभन्दै असोजको दोस्रो हप्ता मै जमरे औंशी आइहाल्यो । गुरुले हाफ टायममै हामी सवैलाई लाइन लगाएर श्रीमान गम्भीरंं... गाउनु अघि पन्ध्र दिनको होम टास्क दिनुभयो । टहलुवा काकाले दशैं बिदाको सूचना सुनाएर पाठशालाको ढोकामा टास्नु भो । 

आज घरतिर जाँदा पनि केही जिते झै लामो लामो पाइलामा छौ । मेरा पछि पछि देव, नारायण र राम पनि गगन्तल मुद्रामा छन् । पल्लावारी, सुव्वाकाकाको घर आएको थाहा नै नभइ हाम्रो घर आइपुगिएछ । 

मन कति फुरु ऽ ऽ ऽ ऽ ङ्ग उडेको होला ! हजुरआमाले भुटेको ठूला भट्मास र मकै कचौरामा राखिदिन नपाउदै हजुरबुवाले उर्दी लगाउनु भो—‘केटा हो गैर्‍हावारीमा गएर एक बाल्टी माटो ल्याओ, एकजनाले गाइको गोवर र बार्‍हमासेको फूल पनि ल्याउनु ।’

ठूल्दाजु आउनु भो ......ठू ऽ ऽ ऽल्दाजु आउनुभो । बुधेको घरनेर देवले देखेछ । हामी दौडेर गयौं । ठूल्दाजुले बोकेको ठूलो झोलामा दशैं ल्याउनु भा’रैछ । आमा, भाउजूहरूलाई छिटको सारी र टोपरेलको चोलो, हामीलाई धर्के कमिज र सेतो सुरुवाल । बहिनीलाई बुट्टे घाँगर । मसला र मिठाइ पनि । 

मकै भट्मास चपाउदै गैर्‍हाबारीको पोखरीको पाँगो माटो ल्यायौं । हजूरबुवाले दुर्गाशप्तसती कण्ठाग्र पढ्दै जमरा राख्नु भो । हामी चार भाइ भने आमा भएतिर दौडिदै रोशीखोला झर्‍यौं । 

रोशी, लमतन्ने बगेको नागवेली खोला । बर्षामा धमिलिने, मडारिने र कैयनको काल बन्ने रोशी झ्याउकिरी बास्न थालेपछि भने स्नीग्ध, लजालु र स्वेतवर्णमा देखिन थाल्छे । हाम्रो शैशवकाल यही खोलाको किनारामा

ढिकी, माने र घट्ट खेलमा वितेको छ । यही रोशीले हामीलाई अभिभावकत्व, माया र वात्सल्य पनि दिएको छ । 

बहादुरे भञ्ज्याङ्मा नै आमाका आखाले हामीलाई ठम्याए छन् । नठम्याओस पनि कसरी, विहानैदेखि आफ्ना बालबच्चा कतिखेर आउलान् भनेर आँखा बाटोभरि विछ्याइन होला । परिश्रम र रोगले शरिर खिएको भएपनि आमाका आखा निकै तेजिला थिए । हामी माने डाँडाबाट झर्न नपाउदै आमा मीठोमीठो खाना बनाएर हाम्रो प्रतिक्षामा हुन्थिन् । 

रोशीको किनारबाट केही चढेपछि पिपले फाँट आउछ । एउटा ठूलो फाँट, सिरानमा सेता चार घर, घरको पूर्वमा तित्रीको बडेमा रुख, रुखमुनि चौतारो । पश्चिमतिर आँपको बगैचा, त्यसमुनि बारी र बारीमुनि एकातिर चौर र अर्कोतर्फ चारसय फाटको खेत । खेतको छेउमा पानी घट्ट र शमीको चौतारो । 

कति खेल्यौँ रोशीखोलामा, कति पटक त रोशीले बगायो पनि हामीलाई । धुल्पुरे बजार नजिकको जघारबाट गोर्दाइको हात समात्दै रोशी तर्‍याँै । रोशी तर्न नसकौला कि भनी आमाले गोर्दाइलाई पठाएकी रहेछिन् ।

शमी चौतारीमा एकछिन थकाइ मारेर हामी पिपलेतिर उक्लियौं । रोशीको स्वाँ ऽ ऽ ऽ ऽ... अ सुस्केरा आमाको बोली जत्तिकै मीठो । आमा कतिवेरदेखि बोडीको विरौला बनाएर हामीलाई पर्खिरहेकी थिइन । आमाका कुखुराका चल्ला झै आमाको वरिपरी बसेर खानथाल्यौ ।

ठूल्दाजु आउनु भो ......ठू ऽ ऽ ऽल्दाजु आउनुभो । बुधेको घरनेर देवले देखेछ । हामी दौडेर गयौं । ठूल्दाजुले बोकेको ठूलो झोलामा दशैं ल्याउनु भा’रैछ । आमा, भाउजूहरूलाई छिटको सारी र टोपरेलको चोलो, हामीलाई धर्के कमिज र सेतो सुरुवाल । बहिनीलाई बुट्टे घाँगर । मसला र मिठाइ पनि । 

ठूल्दाजु बर्दियाको जागिरे । दशैं पेश्की र सरसापटीमा हामीलाई दशैं ल्याउने उहाको सोख । पोहोर पनि यसरी नै दशैं ल्याउनु भा‘थ्यो । 

हामीहरूले वरिपरि ठूल्दाजु बसेको गुन्द्रीलाई घेरा हाल्यौं । ठूल्दाजुले कोटको गोजीबाट एक पुरिया नेविको खाजा विस्कुट झिक्नु भो र सवै भाइ बैनालाई दुई दुई पिस दिनु भो । 

अहा! सँधैभरि यसरी नै दशैं आए हुने । दाजु आए हुने । 

बर्दियाको जागिरमा लुगा, खाजा विस्कुट कसरी फलेका होलान् ? के म पनि ठूलो भएपछि जागिर खान, भाइ बैनीलाई दशैं ल्याउन सक्छु ? 

आज आमा पनि कति खुसी ! भाउजू पनि दाजु आउने थाहा भएर होला घाम डाँडा नवस्दै घास लिएर आउनु भो । रात नछिप्पिइ घर नआउने बुबा पनि आज घाम नडुव्दै घर आउनु भो । 

दाजुको वरिपरि गुन्द्रीमा हामीहरू एक एक गरी निदाए छौँ । 

भोलिपल्ट झुल्के घाममै पिठ्यूमा कल बोकर कान्छे दाइ आइपुगे । पिढीसँगै रहेको तित्रीको चौतारीमा हाम्रा लागि कमिज, सुरुवाल, बैनीको घाँगर र आमा भाउजुको चोली सिउनु थाल्नुभो । 

आज बिहान भोक पनि लागेन । अरनी (विहानको खाजा) पनि खाएनौ । कान्छे दाईको कल खुटु ऽ ऽ ऽ ऽ ट दिनभरि चल्दैरह्यो । 

होइन, कान्छे दाइ कति जान्ने ! कमिज, शुरुवाल, घाँगर, चोलो सवै तयार भए । भोलि पुण्यप्रसादकोमा जानु छ रे । पिठ्यूमा कल बोक्दै कान्पुरतिर उभो लागे । 

आसिक पनि कति कण्ठस्थ भएको । आयुर्द्रोणसूते श्रियो दशरथे शत्रुक्षयो राघवे .......। के ती आसिक पूरा हुन्छन् ? त्यो शुभेच्छा हो, कर्मले नै आसिक पुर्‍याउने हो । हजुरबुवाका अभिव्यक्ति त्यसतर्फ पुग्ने प्रेरणा हुन् । 

घ्लानटोलको पिपलको रुखमा लिङ्गे पिङ् मच्चिएको, केटाकेटीहरू हल्ला गरेको हाम्रो घरमै सुनिन्थ्यो । अष्ठे, काले, शोभित, विर्तान, ठूली, कान्छी र चम्फा मच्चिई मच्चिई पालैपालो दोहोरी पिङ् खेल्न लागे ।

देवरहरूलाई दशैं मनाउन माइली भाउजुले आपको हाँगामा बावियोको पिङ झुण्ड्याउन लगाउनु भो । हामीहरू पालैपालो पिङ् खेल्न थाल्यौ ।

अहा कति रमाइलो दशैं । भोलि त फुल्पाती । बीस धार्नीको लामकाने मने (खसी) काट्ने । 

विचरा लामकाने मने । अँगेनाको छेउमा हामीसँगै ओकारेर बस्छ । हामी पढ्न जाँदा उसलाई पनि हाम्रो निराश लागेको हुनुपर्छ । हामी आएपछि हाम्रो मुखतिर थुतुनो दल्छ । हामीजस्तै आमाको पछिपछि आकोर्दै हिँड्छ । दशैंको खसी भएकाले होला, अरु बाख्रा जसरी यसले खोरमा थुनिनु परेको छैन । हामीसँगै बस्छ । हामी सुतेपछि मजेरी मै सुत्छ । 

आज भने मनेले दुई खुट्टा टेकेर ऊ..... ऽ ऽ ऽ ऽ अ गरेर खेलेको छैन । थुतुनो हामीलाई दलेको पनि छैन । मुछेको पीठो पनि खाएन । घास पनि खाएन । झोक्राएर बसेको देखेर आमालाई भने—‘मने विमारी छ आमा ।’ ‘होइन वावा त्यसको सपना विग्रेको हुनुपर्छ । भोलि त्यो देउता बन्दैछ ।’ 

‘आमा पाङ्ग्रे खसी पनि भोलि देउता बन्दैछ ?’(अर्को खसी गाउको मूलघर, हजुरबुबा बस्ने जमरा घरमा पठा‘को थियो) । ‘बाबु त्यसलाई पनि काट्छन् ।’

हामीसँगै दौडदै खेल्दै आएको ठूलो खसी र पाङ्ग्रे खसी भोलि देउता बन्ने ! तिनिहरूको मासु कसरी खाने ? के सवैको घरमा यसरी नै मनेहरू देउता बन्छन् ? नया लुगा लगाएर, पिङ् खेलेर, सेल पकाएर मात्र दशैं आउँदैन ? 

घाम नझुल्कदिै आगनको एक कुनामा तामाको ठूलो खट्कुलोमा खरानी पानी भुल्का छुट्न लाग्यो । बुबाले ठूल्दाजुलाई अर्‍हाउनु भो ‘केशव पानी छिप्पिन लाग्यो, खसी नखुइलिएला ।’

हामीसँग छेउमा झोक्राएर बसेको खसीलाई ठूल्दाजुले गलामा दाम्लो लगाउनु भो, उसले अलिकति पनि प्रतिकार गरेन । मानौ उ विश्वासमा समर्पित थियो । पानी तताए ठाउ नजिक केराको थम्वा माथि ठूलो खसीको गर्धन सिधा पार्नु भो । खसी मार हान्न ताइ आइपुग्यो, वडेमानको खुकुरी बोकेर । ठूलो खसीले अलिकति पनि हेरेन । हामी डराउदै आँटको रुखमुनि लुक्यौँ । 

‘छ्वाक्क’ । एक मारमै ठूलोखसीको गर्धन छिनेछ । ‘तेरो हात कति सिधा, कति राम्रो मार हानिस ।’ बुबाको बाक्य टुङ्गिन नपाउदै ताइलेभन्यो—घ्लानटोलको मौलो (राँगो) पनि मैले हान्नु छ, म हिडे ।’

टाउको र शरीर दुईतिर गिढिएको ठूलोखसीको आँखा हामीतिर अकण्टक थिए, मानौ भनिरहेको थियो—‘मलाई किन यसो गरेको ।’ घाटी मुनिको स्वास नली भने अझै हल्लिदै थियो । शायद डरले कामेको !

थिङटोलका थिङ, घ्लान टोलका घ्लान र रघुचौरका गौतमहरू केराको काइयो, पाकेका अम्वा र दहीको ठेकी बोकेर हाम्रो दशैं ल्याउFदै थिए । हामीले गरिखान दिएका खेत र वारीको सांकेतिक वाली बुझाउने क्रममा उनीहरूले दशैंको सगुन ल्याएका हुन् । आमा भने सकी नसकी मासु चिउरा र सेलरोटीमा उनीहरूको स्वागत गर्दै थिइन । 

हामीहरू भने दूधसँग भात खाएर रोशीतिर नुहाउन गयौँ । मनभरि दशैं आएको हर्ष र मनको अर्को कुनामा मने काटिएको विस्मात ! पाइलाहरू पनि विस्तारै चलेका थिए ।

रोशीखोलाको बीचमा रहेको ठूलो ढुङ्गाको वरिपरी हामीलाई डुवाउने घुमाउने परको दह थियो । जिउमा सावुन लगाएर ढङ्गामाथिबाट फालहल्दै पौडिदै घुमाउने र मुल्को काट्ने प्रतिस्पर्धाको खेलमा चार भाइ समावेश थियौ । म र नारायण भने घुमाउनेमा पर्‍यौँ । पौडिन सकेन छौँ । दुई मिनेटजति घुमाउनेमा पानीले घुमाउदा हामी भने पानी पानी भैसकेका थियौँ । बल्ल देव र रामले दिएको हात समातेर बाहिरिन सक्यौ । झण्डै रोशीले लगेको । 

एकातिर मने काटिएको पीर अर्कोतिर घुमाउनेमा फसेको थकाइ, घरसम्म पुग्न पनि निकै लाग्यो । 

घरमा सवै खुसी मुद्रामा थिए । केरा, दही, अम्वा ल्याउनेको लर्को थियो । ठूल्दाजु थिङमाइला, सुव्वासिंह र रघुचौरका गौतमलाई बर्दियाको जागीर सुनाउदै हुनुहुन्थ्यो । सवै छोरा छोरी वरिपरी पाउदा परिश्रमले ख्याउटे भएकी आमामा थकावटको छनक थिएन । सवै खुसी, खुसी । 

नवमी विशेष पूजाको दिन । कालिका मन्दिरमा पञ्चेबाजा, ध्वजा सहित कुलायन पूजा जाँदैछ । मन्दिर सत्तल मालसिरी र दुर्गा शप्तसतीको पाठले गुञ्जिएको छ । गोरेकाकाको मालसिरी निकै तेजिलो श्वरमा सुन्न सकिन्छ । हजुरबुवा न्यासमा व्यस्त हुनुहुन्छ । न्यास नसकि विशेष पूजा र भोग नदिने चलन छ । गाउका ठूलाबुवा र काकाहरू पूजाको पालो पखाईमा कान्पुरलाई विकास गर्ने योजनाको गफ मार्दै छन् । 

कान्पुरमा पाठशाला त थियो, पछि बुवाले छ कक्षासम्म पढ्ने स्कूल खोल्नुभो । तर पानीको हाहाकार छ । नीरफाट्नु अघिनै पातल (जंगल) को कुवामा लाइन नवसी एक गाग्री पानी पनि पाइदैन । पहिला हजुरआमा र अहिले कान्छी आमा र भाउजुहरू पानीको लाइनमा बस्न आजित छन् । गत वर्ष पनि योजनाको गफ भएथ्यो रे । कुन्नि कतिसाल यस्ता योजनाका गफ बन्ने हुन् । 

मोटरबाटो त सपना । एकदिनको यात्रामा धुलिखेल नपुगी मोटर देख्न पाइदैन । त्यो मोटर देख्न पाएको भए त्रैमासिक परीक्षाको ‘मोटर’ निवन्धमा म कत्ति नम्वरल्याउथे होला ? निवन्ध त सिनेमा, पशुपतिनाथ, स्वयम्भुनाथको पनि लेखेँ । तर मोटर नचढी बास्तविक पशुपतिनाथ, स्वयम्भु, सिनेमा कसरी पुग्ने ? केवल कल्पनामा लेखियो । वश....!

भोलि नया लुगा लगाएर टिका थाप्न कान्पुर जानु छ । कति राम्रो कपडा । सँधै दशैं आए पनि हुने नि ! रेडियोले पनि मालसिरी धुन र दुर्गाकथा सुनाइरहेको छ । स्कूल जान पनि नपर्ने ।

बिहनै आमाले दूध दोएर चिया पकाइन । कुँडेभरि उम्लिएको दूध हामी बच्चा जतिले पियौँ । मध्याह्नमा टिको साइत, हामीलाई भोक लाग्ला भन्ने आमालाई चिन्ता । त्यसैले कर गरेर दूध पिलाइन् । 

सात बजेछ । रेडियोले समाचार दिनुअघि राजाले देशबासीका नाममा सन्देश दिए । 

त्यसपछि हामी लस्करै झोलुङ्गे हुँदै रोशी तर्‍यौ । अस्ति यही रोशीले झण्डै ज्यान लिएथ्यो । रोशी पनि कहिलेकाही रिसाउँदो रैछ ।

अब एक कोश उकालो लाग्नु छ । बुवा, ठूलो दाजु, श्याम दाजु.........लस्करै हामीहरू । अम्वटे, सिमल चौतारो, मुडुली भञ्ज्याङ, बहादुरे चौतारो, लास्कोट । कान्पुरका लागि आधा बाटो भयो । दशैंले होला बाटो पनि सुनसान छ । घट्ट, मेलापात र गोठालो आउने सवै बिदामा छन् । म नेशनल पानासोनिक रेडियो बोकेर बास्ना आउने लुगाका साथ हिँड्दैछु । नयाँ कपडाको बास्ना आइरहेछ । 

दुईघण्टाको यात्रापछि मूलघर पुगियो । हजुरबुवा दुर्गा पूजा विसर्जन गर्दै हुनुहुन्छ । हजुरामा सेलरेटी, झर, अचार, मासु, दही केराको भाग लगाउदै हुनुहुन्छ, टिकापछि सगुन प्रसादका लागि ।

१०ः१५ बजे जोरनाले बन्दुक जडरम्म पड्कियो । ठूल्दाजुले टिका साइतमा बडाइ गर्नुभाको रेछ । चराहरू डराएर चारतिर उडे । हजुरबुवाले बैनीहरूलाई पञ्चकन्य पूजा गर्दै उनीहरूबाट टिका ग्रहण गर्नुभो । र, क्रमशः रोलक्रमले टिका लगाउदै आसिक दिनु भो । 

आसिक पनि कति कण्ठस्थ भएको । आयुर्द्रोणसूते श्रियो दशरथे शत्रुक्षयो राघवे .......। के ती आसिक पूरा हुन्छन् ? त्यो शुभेच्छा हो, कर्मले नै आसिक पुर्‍याउने हो । हजुरबुवाका अभिव्यक्ति त्यसतर्फ पुग्ने प्रेरणा हुन् । 

के अब पनि त्यसरी नै दशैं मनाउन पाइन्छ ? फगत सम्झना । विस्मृत हुन लागेका सम्झना । 

कमेन्ट गर्नुहोस्