डीआईजी पोखरेलको दशैं अनुभव : रहेन पहिलाको जस्तो सद्भाव र भाइचारा !

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

काठमाडौं– दशैंमा अधिकांश आमसर्वसाधरण आफन्तलाई भेट्न आ–आफ्नो घर गइसकेका छन् । तर, प्रहरीहरू दशैंमा झन् व्यस्त छन् ।

जनताको सेवालाई विशेष ध्यान दिनुपर्ने भएकाले अधिकांशले बिदा पाएका छैनन् । प्रहरी छन् र त सर्वसाधारणले ढुक्कसँग दशैं मनाउन पाएका छन् ।


Advertisement

प्रहरी पनि हाम्रै समाजका सदस्य हुन्, उनीहरूको पनि परिवार छ, सबै कुरा आम सर्वसाधारणको जस्तै । हामीले नेपाल प्रहरीका एक डीआईजीसँग दशैं अनुभव साटेका छौं ।


Advertisement

प्रस्तुत छ, नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलको बाल्यकालको दशैं अनुभव र अहिले कसरी दशैं मनाउँदै छन् भन्ने विषयमा लोकान्तरकर्मी गगन अर्यालले गरेको कुराकानीको सम्पादित अंश :–

यसपालिको देशैं बिदामा समयको दुपयोग गर्न लागि ४ वटा पुस्तक छुट्याएको थिएँ, त्यो पढ्दैछु । व्यस्तताले गर्दा धेरै समय भइसकेको रहेछ पुस्तकहरू नपढेको । साथीहरूले महत्त्वपूर्ण ४ वटा पुस्तक ल्याइदिनुभएको छ ।

मेरो बाल्यकाल ओखलढुंगाको रुम्जाटारमा बित्यो । त्योबेला बाल्यकालमा पहाडमा दशैं मनाउँदाको महत्त्व छुट्टै थियो । त्यो बेला दशैं आउँदा छुट्टै अनुभूति हुन्थ्यो ।

धेरैजसो आफन्तहरू तराईमा, कोही काठमाडौंमा, कोही भारतमा बस्नुहुन्थ्यो । एक वर्षसम्म टाढिएका आफन्त आउँदा छुट्टै प्रकारको आनन्द हुन्थ्यो ।

केहीदिन पहिला आउने कोहीले भारी बोकाएर सामान ल्याउने गर्नुहुन्थ्यो । नयाँ कपडाको विषेश महत्त्व थियो त्यो बेलामा ।

चर्खे पिङ, लिङ्गे पिङ र रोटे पिङ खुबै खेलिन्थ्यो । अहिले पनि आँखामा झलझली याद आउँछ ।

त्यो बेलामा पहाडमा हजुरबुवाहरू रमाइलोका लागि जुवा खेल्नुहुन्थ्यो । हामी हेर्न जान्थ्यौं, तर बच्चाले हेर्न हुन्न भनेर लखेट्नुहुन्थ्यो ।

त्यतिबेला त हामी दशैंबाटै देउसी खेल्न शुरू गथ्र्यौं । देउसीबाट आउने चामल सेलरोटी खाँदाको महत्त्व अहिले पनि ताजा हुन्छ ।

अहिले दशैंलाई मानिसहरूले प्राथामिकतामा राखेको देखिँदैन् । अहिले दशैंमा दशैं मनाउने भन्दापनि बिदा मनाउने तर्फ लागे । 

दशैं पहिलेजस्तो रहेन, सद्भाव पनि देखिँदैन ।

आफन्तहरू सँगै बसेर रमाइलो गर्ने, भाइचारा साट्ने दिनहरूको अन्त्य भएको देखिन्छ ।

आफन्तहरू बसेर दशैं मनाउने भन्दापनि विदेशमा जाने, नयाँ–नयाँ ठाउँ घुम्न जाने चलन चलेको छ, यसले भाइचारा र सद्भावमा कमी ल्याएको देखिन्छ ।

त्यो बेलामा माटोका घरहरू हुन्थे । गाउँमा घर रंग्याउन चटारो हुन्थ्यो । साथीभाइसँग मेरो घर त रंगियो तेरो नि ? किन ढिला गरेको जस्ता रमाइला संवादहरू हुन्थे ।

साथीहरू मिलेर माटो लिन जाने रमाइलो गर्दै रातो माटो ल्याउने गरिन्थ्यो, त्यो क्रियाकलापहरू अहिले पनि सम्झन्छु ।

त्यो समयमा घरघरमा हुने बलि हेर्न गाउँभरिका ठिटा र बच्चाहरू निकै दौडिन्थ्यौं । पूजा गरेर विधि विधान हुने कुरा हजुरबुवा, बुवाहरूले सुनाउनुहुन्थ्यो । कसरी रहेछ भन्ने कौतुहलताले २०/२५ जनाको समूह बनाएर वरपर दगुर्थ्यौं ।

अहिले पहिलेको संस्कार बिर्सिसकेका छन् । न त रमाइलोसँग सबैजना जम्मा भएर बलि दिने चलन छ, न त रमाइलो नै गर्ने ।

बलि हान्दा छिनाएन भने मार हान्ने मानिसलाई हानि हुन्छ भन्ने चलन थियो । एक दिनको कुरा हो, हाम्रो छिमेकीको घरमा मार हान्ने कुरा भयो, हामीहरू हेर्न गयौं । मार हान्ने छिमेकी काकाले मार एकैचोटिमा छिनाउनु भएन ।

त्यसपछि हामी अर्को बोका खोज्न गाउँभरि दौडियौं । बल्ल पल्लो गाउँबाट एउटा बोका खोजेर ल्याएर मार हानेका थियौं । क्षति हुने डरले अर्को बोका पनि ल्याएर बलि दिइयो ।

प्रहरी सेवामा लागेपछि एकचोटि मात्रै दशैं बिदा पाएको छु । प्रहरी सेवामा दशैंको बेलामा अझ धेरै सुरक्षा दिनुपर्ने भएकाले जुन स्थानमा छु, त्यहीँ मानउने गरेको छु ।

दशैंमा बिदा लिएर कतै घुम्न जाने गरेको छैन, सधैँ सेवालाई पहिलो स्थानमा राखेको छु ।

घुमौं लाग्ने समयमा बिदा मिलाउन गह्रो हुन्थ्यो, जागिरको प्रकृति पनि त्यस्तै छ । अहिले विदा पाउने अवस्थामा जिम्मेवारीले च्यापेको छ ।

प्रहरीको काम नै जनताको जिउधनको सुरक्षा गर्ने हो । अझ भन्नुपर्दा आफ्नो सेवामा रहेकाले जुन स्थानमा छौं, त्यहाँ नै रमाइलो गर्ने हो । त्यसरी नै प्रहरी कर्मचारीहरूलाई दशैं मनाउन अनुरोध गर्छु ।
 

कमेन्ट गर्नुहोस्