एनआरएन चुनावमा काठमाडौँमा गाइजात्रा !

ईश्वर अर्याल
ईश्वर अर्याल

पत्रकार अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा रिपोर्टिङ गर्छन् ।

काठमाडौँ- विदेशमा छरिएर रहेका नेपालीहरूको महाकुम्भ मानिने गैर-आवासीय नेपाली संघ 'एनआरएन'को नवौं सम्मेलन काठमाडौंमा चलिरहेको छ । विश्वका विभिन्न देशबाट आएका २६ सय प्रतिनिधिहरू सहभागि सम्मेलनमा देखिएको अस्वाभाविक र 'जंगली' हर्कतले विदेशमा बस्ने लाखौँ नेपालीहरूको शिर निहुर्याएको हुनुपर्छ ।

काठमाडौंको एक पाँचतारे होटेलमा राष्टपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको सम्मेलन मतदानको चरणमा पुग्दासम्म तोडफोड, हुलहुज्जतको अवस्थामा पुगेको छ । सम्मेलनमा देखिएको अस्वाभाविक हर्कतले नेपालको समृद्धिमा सहयोग पुर्याउने दाबी गर्नेहरूको वास्तविक अनुहार पटाक्षेप भएको छ ।


Advertisement

मंगलवार राष्ट्रपतिले उद्घाटन गरेको एनआरएनएको सम्मेलनमा २०१९-२१का लागि नयाँ प्रतिनिधिहरूको निर्वाचन बुधबार हुने कार्यतालिका रहेको थियो । अध्यक्षका प्रत्यासी कुमार पन्त र कूल आचार्य दुवैले आफ्ना पक्षका प्रतिनिधिहरूलाई आक्रामक तरिकाले भोट माग्न पठाए । उनीहरू आक्रामक तरिकाले भोट माग्न मात्र गएनन्, आक्रामक तरिकाले प्रदर्शन र तोडफोडमा उत्रिए ।


Advertisement

बुधबार मध्यरातमा होटल परिसररमा तोडफोड भएपछि निर्वाचन स्थगित भयो । निर्वाचन बिहीवारका लागि सारियो । तर बिहीवार पनि उस्तै तोडफोड र प्रदर्शन जारी रह्यो र मतदान दोस्रोपटक स्थगित भयो । सिष्टमले चलेको देशमा पेशा व्यबसाय गर्ने एनआरएनका सदस्यहरुले नेपालमा देखाएको व्यवहार लाजमर्दो छ ।

'जंगली' प्रवृत्ति देखाएको भन्दै एनआरएनका प्रतिनिधिहरू सामाजिक सञ्जालमा आलोचनाका शिकार बनेका छन । कतिपयले एनआरएन भन्ने संस्था नै विघटन गर्नुपर्ने प्रतिक्रिया दिएका छन भने कतिपयले एनआरएनलाई 'देशको इज्जत विदेशमा लिलाम गर्ने संस्था' भन्दै कडा टिप्पणी गरेका छन ।

निर्वाचनमा मत खसाल्न भेला भएका कतिपय प्रतिनिधिहरू आफ्नो बेइज्जत भएको भन्दै दुखेसो पोखिरहेका छन । आफू र आफ्नो प्यानललाई जिताउने नाममा उम्मेदवारहरू गालीगलौज, तोडफोड र अभद्र व्यवहार देखाएको भन्दै केहीले बिहीवारको निर्वाचन नै बहिष्कार गरिसकेका छन । 

एनआरएनका प्रतिनिधिदेखि सदस्यसम्मले विदेश बसेर नेपाली राजनीतिक व्यवस्थाका बारेमा तिखो टिप्पणी गर्ने गर्छन । उनीहरूमध्ये कतिपयमा नेपालमा घट्ने हरेक घटनाका सन्दर्भमा समयभन्दा पहिला उत्तेजक टिप्पणी गरेर सामाजिक सञ्जालमा भाइरल हुने र बहसको डिस्कोर्स नै अन्तै मोडिदिने प्रवृत्ति देखिन्छ ।

कतिपयले दर्ता नै नगरी अनलाइन वेबसाइट चलाएर संसारभरि छरिएर रहेका नेपालीहरूबीच 'गलत सूचनाको व्यापा' गरिरहेका छन् ।

युरोप, अष्ट्रेलिया, अमेरिका र खाडी मुलुकका अग्ला भवनभित्र रहेका 'एसी च्याम्ब'भित्र घुमाउने कुर्चीमा बसेर नेपाल सुधार्ने सपना देख्ने यो समूहले नेपालको विमानस्थलदेखि सम्मेलनस्थलसम्म देखाएको व्यवहारले लज्जाबोध गराएको छ । नेपाली नागरिकता त्यागेर विदेशी भइसकेका र गन्तव्य मुलुक पुगेर त्यहाँका नागरिकको भन्दा आधा अधिकार पनि प्रयोग गर्न नपाउने वेवारिसेको हातमा नीतिगत शक्ति केही हुँदैन ।

एनआरएनहरू जुन देशमा बसेका छन, त्यहाँ उनीहरू श्रमिकबाहेक केही होइनन् । एनआरएनए बस्ने अधिकांश मुलुकमा उनीहरूलाई भोट हाल्न पाउने अधिकार छैन (दोस्रो पुस्ता नभएसम्म) । मतलब त्यहाँको नीति निर्माणमा उनीहरूको कुनै भूमिका हुँदैन ।

नेपाल फर्कने हो भने भिजिट भिसा लाग्छ, कानूनी भाषामा उनीहरू यहाँका पर्यटक बाहेक केही होइनन् । नेपालको संविधानले आम नागरिकका लागि व्यवस्था गरेका ३० वटा मौलिक हकमध्ये एनआरएनहरूले कतिवटा उपभोग गर्न पाउँछन होला ?

अधिकांश एनआरएनले नेपाल र नेपाली खत्तम भएको र आफूले मात्र देशलाई वास्तविक माया गर्ने गफ हाँक्छन् । पछिल्लो समयमा नेपालको अवस्था कति बदलिएको छ भनेर उनीहरूलाई कुनै हेक्का छैन । उनीहरू नेपाल छोडेर विदेश भासिएको समयको हिसाबकिताब गरिरहेका छन् । अहिले नेपालको आर्थिक वृद्धिदर एनआरएन बस्ने कतिपय देशहरूको भन्दा बढी रहेको उनीहरूलाई सायद हेक्का छैन ।

२००३ मा गैरराजनीतिक संगठनका रूपमा स्थापना भएको एनआरएनका कतिपय सदस्यहरुलाई मानवतस्करीको आरोप लाग्ने गरेको छ । एनआरएनका केही प्रतिनिधि बाहेक अधिकांशले मोटो रकम लिएर नेपालीहरूलाई आफू बसेको देशसम्म पुर्याउने काम गरेको आरोप लाग्ने गर्छ ।

नेपालमा कुनै कानूनी हैसियत नभएका अनागरिकहरूले काठमाडौँमा देखाएको 'बाँदरे' प्रवृत्तिलाई बेलैमा नियन्त्रण गर्नुको साट्टो प्रत्येक वर्ष सम्मेलनका लागि भनेर सरकारले चन्दा दिने काम खेदजनक छ । नेपालमा अर्बौं लगानी भित्र्याउने एनआरएनको गफलाई सस्तो प्रचारबाजी मात्र भन्न सकिन्छ । नेपालको समृद्धिमा योगदान गर्ने दावी गरेको यो समूहले उल्लेख्य लगानी गरेको छैन ।

अध्यक्षको लागि उम्मेदवार दर्ता शुल्क १० लाख रुपैयाँ वा १० हजार डलर, उपाध्यक्ष, महासचिवको लागि ६ लाख वा ६ हजार डलर, सचिव तथा कोषाध्यक्षको लागि ५ लाख रुपैयाँ वा ५ हजार डलर बुझाउनुपर्छ । वार्षिक १ हजार डलर औसत आम्दानी भएको कुनै एक नेपालीका लागि यो रकम आधा जिन्दगीको कमाई हो ।

त्यो १० लाखको स्रोत के हो ? त्यो कसले खोज्ने ? अनागरिक भइसकेपछि नेपालले खोज्ने कुरा भएन । एनआरएनको यो सम्मेलनमा अध्यक्षसहित ४२ जना निर्वाचित हुनेछन् । एनआरएनको सदस्यता शूल्कको हिसाबकिताब नै छैन । आफू निर्वाचित प्रतिनिधि भए उम्मेदवारबाट आउने मात्र करोडौं रकममा खेल्न पाइने भएपछि अलिअलि खर्च गरेर तोडफोड गर्दा के फरक पर्यो र ?

आफूलाई सभ्य देशमा बस्ने नागरिक भनेर चिनाउने गैर-आवासीय नेपालीहरू नेपाल फर्किंदा भने विदेशको कथित सभ्यता उतै छोडेर आए । सम्मेलनमा भाग लिन आएका पिए ७१०२५६६ नम्बरको अष्ट्रेलियाको पासपोर्ट बोकेर आएका एनआरएनका प्रतिनिधिले मुड्कीले हानेर अध्यागमनको सिसा फुटाए । उनले सिसा मात्र फुटाएनन्, अध्यागमनका कर्मचारीलाई गाली बेइज्जती पनि गरे । नेपाली मुलका विदेशीबाट यस्ता क्रियाकलाप दोहोरिएको भन्दै अध्यागमन कार्यालयले विज्ञप्ति मार्फत नै ध्यानाकर्षण गरायो ।

विमानस्थलका कर्मचारीलाई मात्र होइन, उनीहरुले आफ्नै मतदान स्थलमा समेत अशोभनीय काम गरे । सुरक्षाका लागि प्रहरीले तैनाथी दिनुपर्ने अवस्था सिर्जना भयो । एनआरएनको निर्वाचनस्थलमा खटिएका एक सुरक्षाकर्मीले संसदीय निर्वाचनकै समय जस्तो बुथ सुरक्षा गर्नु पर्ने अवस्था आएको टिप्पणी गरे । विदेशबाट फर्केका भनेर के गर्नु ? तोडफोड उत्तिकै छ, प्रदर्शन उत्तिकै छ, एक पक्षले अर्को पक्षलाई उत्तिकै गालीबेइज्जती गरिरहेको छ ।

विदेशमा सिकेको सीप र धनलाई स्वदेश ल्याएर नेपाललाई समृद्ध बनाउने एनआरएनको संकल्प अब 'चटक'मा रुपान्तरण भएको छ । एनआएनए सदस्यबाट विमानस्थलदेखि सम्मेलनस्थलसम्म देखिएको हर्कत, नेपालको नयाँ पुस्ताले नसिकोस् ।

 

 

कमेन्ट गर्नुहोस्