दुर्गम गाउँमा एक्सरे सेवा शुरू

ओखलढुंगा – जिल्लाको दुर्गम गाउँ रानीवनमा एक्सरे सेवा शुरू गरिएको छ ।

चम्पादेवी गाउँपालिका–१० स्थित रानीवन प्राथमिक स्वास्थ्य केन्द्रले एक्सरे सेवा शुरू गरेको हो । 


Advertisement

दुर्गम क्षेत्रका नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन स्वास्थ्य चौकीबाट प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्नति भएको करीब २४ वर्षपछि एक्सरे सेवा शुरू गरिएको हो । 

स्वास्थ्य केन्द्रलाई व्यवस्थित बनाएर सेवा थप गरिएको वडा नम्बर १० का अध्यक्ष उज्जवन बुढाथोकीले जानकारी दिए । उनका अनुसार स्थानीय सरकार र स्वास्थ्य सेवा विभागको पहलमा एक्सरेसहितको सेवा शुरू गरिएको हो ।

दक्ष जनशक्ति, विद्युत्सहित आवश्यक पूर्वाधारको अभावका कारण मेसिन २ वर्षदेखि थन्किएर राखिएको थियो । गाउँपालिकाको ७ लाख रुपैयाँ सहयोगमा आवश्यक सामान खरीद र पूवार्धार निर्माण गरिएको छ ।

वडा कार्यालय र व्यवस्थापन समितिको पहलमा १५ दिने तालिम सञ्चालन भइरहेको छ । तालिमप्राप्त रेडियोलोजिस्ट अभावका कारण सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले त्यहाँ कार्यरत कर्मचारीलाई तालिम दिइएको वडाध्यक्ष बुढाथोकीले बताए । गाउँमै एक्सरे सहितको स्वास्थ्य सेवा शुरू भएपछि स्थानीय खुशी भएका छन् । 

एक्सरे सेवा शुरू गरेको पहिलो दिन शुक्रवार मात्रै २५ जनाले सेवा लिएका छन् । गाउँमै एक्सरे हुन थालेपछि जाँच गराएको वडा नम्बर १० की श्याममाया तामाङले बताइन् । यसअघि सामान्य स्वास्थ्य समस्या भएपनि रामेछापको मन्थली वा काठमाडौं जानुपर्ने बाध्यता थियो । 

स्वास्थ्य केन्द्रमा १ चिकित्सकको दरबन्दी छ । अहिले २ अन्य चिकित्सक करारमा कार्यरत छन् । 

कमेन्ट गर्नुहोस्