नेकपाका सांसद गुरुङ साधारण तारेखमा रिहा

काठमाडौं - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सासंद पार्वत गुरुङ साधारण तारेखमा रिहा भएका छन् ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौँले ३५ दिने म्याद तामेली गरेपछि गुरुङ आइतवार अदालतमा उपस्थित भएका थिए ।


Advertisement

काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले गुरुङ साधारण तारेखमा रिहा भएको जानकारी दिए ।

जिल्ला अदालतका न्यायाधीश पुणेश्वर प्रसादउपाध्यायको इजलासले गुरुङलाई साधारण तारिखमा रिहा गर्ने आदेश दिएको हो ।

२०७४ सालको वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनताका दोलखाको गौरीशंकर गाउँपालिकामा कुलबहादुर तामाङको हत्या भएको थियो ।

हत्यामा किटानी जाहेरी परेका वीरध्वज खड्कामाथि त्यसको केही दिनमा काठमाडौँको कोटेश्वरमा आक्रमण भयो । 

आक्रमण सांसद गुरुङले गराएको भन्दै त्यतिबेलै खड्काले पार्वत गुरुङसहित आधा दर्जनविरुद्ध ज्यान मार्न खोजेको भन्दै प्रहरी परिसरमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा प्रहरी परिसरले गत वैशाख २९ गते जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर भएको ५ महिनापछि अदालतले गुरुङका नाममा ३५ दिने म्याद तामेली गरेको थियो ।

तामाङको हत्यामा किटानी जाहेरी परेका ४० जना साधारण तारेखमा रिहा भइसकेका छन् ।

 

 

 

कमेन्ट गर्नुहोस्