यी कम्युनिस्ट तानाशाह रक्सीले हात धुन्थे !

काठमाडौं – सन् १९६० को दशकमा रोमानियामा निकोलस चाउचेस्कूले २५ वर्षसम्म आफ्नो देशमा मिडियाको आवाज बन्द गरेका थिए अनि खाना, पानी, तेल र औषधिहरूमा समेत कोटा लगाएका थिए । 

यसको परिणामस्वरूप हजारौं मानिस रोग र भोकमरीको शिकार बने । जासूसी प्रहरी सेक्योरिटेटले सर्वसाधारण आफ्नो निजी जीवनमा के गरिरहेका छन् भनी चियोचर्चो गर्थ्यो । 

चाउचेस्कुलाई रोमानियामा कन्डुकेडर भनी चिनिन्थ्यो । त्यसको अर्थ हो नेता । उनकी पत्नी एलिनालाई राष्ट्रमाताको उपाधि दिइएको थियो । 


Advertisement

एक रोमानियाली महिला कार्मेन बुगानका पिता चाउचेस्कु विरोधी थिए । जासूसी प्रहरी सिक्योरिटेटले सन् १९८२ को मार्च १० मा उनको गाउँमा छापा मारेर पाँच वर्षसम्म परिवारमाथि कडा नजर राख्यो र घरभित्र उनीहरूले बोलेका एक एक शब्द रेकर्ड गर्‍यो । 

कार्मेनले भनिन्, ‘म विद्यालयबाट फर्किंदा मेरो घरमा प्रहरी नै प्रहरी देखें । उनीहरूले घरमा गोप्य माइक्रोफोन जडान गरिरहेका थिए । मलाई पछि थाहा भयो मेरा पिताले बुखारेस्टमा चाउचेस्कुविरुद्ध पर्चा बाँडेका थिए । त्यतिखेर पिता भूमिगत हुनुहुन्थ्यो भने आमा अस्पतालमा ।’

उनले भनिन्, ‘हामीले जति जाडो भए पनि घरको झ्याल खुलै राख्नुपर्ने नियम थियो । उनीहरूले हामीमाथि नजर राख्नका लागि झ्याल खुलै राख्न भनेका हुन् । म विद्यालय जाँदा एक जासूस मेरो पछिपछि हिँड्थे । मलाई उसको खैरो कोट र टोपी अझै याद छ । विद्यालयमा कक्षा चलुन्जेल ऊ गेटमै मेरो प्रतीक्षा गरिबस्थ्यो ।’

होचा कदका चाउचेस्कु जम्मा ५ फीट, ४ इन्चका थिए । रोमानियाभरिका फोटोग्राफरहरूलाई चाउचेस्कु अग्लो देखिने गरी फोटो खिच्न निर्देशन दिइएको थियो । 

सत्तरी वर्ष कटेपछि पनि चाउचेस्कुको ४० वर्ष उमेरको फोटो मात्र उपलब्ध थियो । पत्नी एलिनालाई कुनै सुन्दर महिला आफूनजिक आएर फोटो खिचाएको मन पर्दैनथियो । 

एलिना कैयौं विषयमा फेल भएपछि १४ वर्षको उमेरमा पढाइ त्यागेर बसेकी थिइन् । रोमानियाकी प्रथम महिला बनेपछि उनले आफूसँग रसायनशास्त्रको विद्यावारिधि भएको घोषणा गराइन् । उक्त डिग्री जाली थियो । 

राजधानी बुखारेस्टमा चाउचेस्कुले अर्बौं डलर खर्च गरेर पीपुल्स हाउस बनाएका थिए । त्यसलाई तातो राख्न र बिजुलीबत्ती बाल्न अहिलेको समयमा लाखौं डलर खर्च लाग्छ । भवन बनेको २५ वर्षपछि पनि त्यसको ७० प्रतिशत कोठा खाली छ । 

भवन बनाउन १५ हजार मजदूर खटाइएको थियो र उनीहरूले तीन शिफ्टमा काम गर्थे । चाउचेस्कु भवन निर्माणको निरीक्षण गर्न आइरहन्थे । 

चाउचेस्कुलाई सफाइप्रति चरम लगाव भएकाले संक्रमणबाट बच्न भन्दै उनी दिनको बीसपटक रक्सीले हात धुन्थे ।

चाउचेस्कुको शासनभरि रोमानियाको जनताले अभाव झेल्नुपर्‍यो । हरेक ठाउँमा सामान किन्न लामो लाइन लागेको हुन्थ्यो । 

पसलहरूमा फलफूल पाइँदैनथियो र कतै कतै स्याउ र आरुबखडा देखिन्थ्यो । सामान्य वाइन समेत सर्वसाधारणको पहुँचबाहिर थियो र केही निश्चित रेस्टुराँमा मात्र पाइन्थ्यो । 

फ्रांक डिकोटर हाउ टु बी अ डिक्टेटरमा लेख्छन्, ‘सबभन्दा ठूलो समस्या ऊर्जाको थियो । प्रत्येक तीनमा एक बल्क मात्र बल्थ्यो र सार्वजनिक वाहनमा आइतवार चढ्न मनाही थियो ।’

‘खानामा रासन व्यवस्था थियो । बिजुलीको खपतमा भारी कटौती गरिएको थियो । मानिसहरू कडा जाडोमा अँध्यारोमा कुनै तातोको व्यवस्था विना नै काँप्दै बस्न बाध्य थिए । चाउचेस्कु चाहिँ आफूले सताएका जनता नै आफूप्रति कृतज्ञ हुन् भन्ने अपेक्षा राख्थे ।’

सन् १९८९ मा चाउचेस्कुले बुखारेस्टमा पार्टीको केन्द्रीय कार्यालयको बाल्कोनीबाट एक जनसभालाई सम्बोधन गरे । उनको भाषणको केही मिनटमा नै पछिल्तिरबाट सिट्ठी बज्न र व्यंग्य गर्न थालियो । 
चाउचेस्कुले हात उठाएर र माइकमा औंला नचाएर मानिसहरूलाई शान्त बनाउन खोजे तर हल्लाखल्ला आइरह्यो । 

चाउचेस्कु यो देखेर छक्क परे । पत्नी एलिनाले भीडलाई नियन्त्रण गर्ने कोशिश गरिन् । उनी चिच्याइरहिन्, ‘शान्त हुनुस् । तपाईंहरूलाई के भयो ?’

तर भीडलाई कुनै असर परेन । उनले रुखो आवाजमा पतिलाई न्यूनतम तलब बढाउने घोषणा गर भनिन् । 

तैपनि भीडलाई असर परेन । केही समयपछि जनसभामा दंगा मच्चियो । 

भाषणलाई टेलिभिजनमा लाइभ देखाइएको थियो । हल्लाखल्ला भएपछि टेलिभिजनको पर्दा ब्ल्यांक भयो । अनि हरेकले क्रान्ति आरम्भ भएको अनुभव गरे । 

देशभरि मानिसहरू प्रदर्शनमा संलग्न भए । सरकारी भवनहरूमा आक्रमण गर्न थालियो र चाउचेस्कुका तस्वीर च्यात्न थालियो ।

चाउचेस्कुले सेक्युरिटेटलाई विद्रोह दबाउन आदेश दिए । रातभरि उनीहरूले विद्रोहीहरूमाथि गोली बर्साए तर विरोध दबाउन असफल रहे । 

भोलिपल्ट सेनामा विद्रोह गर्न थाल्यो । रिसाएका प्रदर्शनकारीहरूले पार्टीको केन्द्रीय कार्यालय घेरे । चाउचेस्कु पत्नीसहित हेलिकप्टरबाट भागे । 

चाउचेस्कु लिफ्टबाट भवनको छतमा पुगे । त्यहाँ एक हेलिकप्टर उनीहरूको प्रतीक्षा गरिरहेको थियो । जोन स्वीनी आफ्नो किताब द लाइफ यान्ड एभिल टाइम्स अफ निकोलाई चाउचेस्कुमा लेख्छन्, ‘चाउचेस्कु लिफ्टमा पस्नेबित्तिकै सेनाप्रमुख जनरल स्ट्यानकुलुस्कु कारमा बसेर रक्षा मन्त्रालय गए ।’

‘कारबाट नै उनले सुरक्षा बलहरूलाई भवनको रक्षा नगर्न भने । सैनिकहरू त्यहाँबाट हट्नेबित्तिकै क्रान्तिकारीहरू भवनमा पसे । तर उनीहरूलाई चाउचेस्कु अझै भवनमा छन् भन्ने थाहा थिएन किनकि लिफ्टको ढोका जाम भइसकेको थियो ।’

‘लिफ्टको ढोका फोरेर चाउचेस्कुलाई निकालियो । क्रान्तिकारीहरू छतमा पुग्दा ६ जनालाई लिएर इकूरिऊ हेलिकप्टर त्यहाँबाट उड्यो । हेलिकप्टरमा ठाउँ साँघुरो भएकाले पाइलटको साथीलाई बस्नका लागि चाउचेस्कुको घुँडाको सहारा आवश्यक भयो ।’

पाइलटले बुखारेस्ट बाहिर खेतमा हेलिकप्टर उतारे र चाउचेस्कु दम्पतीलाई अंगरक्षकका साथ छोडेर फर्कियो । 

त्यही दिन चाउचेस्कु र उनकी पत्नीलाई पक्राउ गरियो । क्रिसमसको दिन दुवैजनामाथि सैन्य अदालतमा मुद्दा चलाइयो र मृत्युदण्ड दिइयो । 

दुवैलाई हात बाँधेर एक पर्खालको अगाडि उभ्याइयो । सैनिकहरूले गोली हानेर चाउचेस्कु र उनकी पत्नीलाई मृत्युदण्ड दिए । 

कार्ल मार्क्सले भनेका थिए, ‘मानिसहरू आफ्नो इतिहास आफैं बनाउँछन् तर इतिहास कहिले पनि उनीहरूको इच्छाबमोजिम बन्दैन ।’

बीबीसी हिन्दीबाट
 

कमेन्ट गर्नुहोस्