मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली बिहीवारै अस्पतालबाट डिस्चार्ज भएर सरकारी निवास बालुवाटारमा फर्केको भएपनि उनको स्वास्थ्य अवस्थाका बारेमा आमचासो घटेको छैन ।
बुधवार अपराह्न राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएर २ दिन बिताएका प्रधानमन्त्री ओलीलाई ज्वरो आएको अवस्थामा अस्पताल पुर्याइएको थियो ।
अस्पताल स्रोतका अनुसार अस्पताल पुग्दा प्रधानमन्त्रीको अनुहार र हात खुट्टा केही सुन्निएको थियो ।
जनाताको दुईतिहाइ मतबाट निर्वाचित प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा आमजनताले सामाजिक सञ्जालमार्फत पटक–पटक जानकारी मागिरहेका थिए ।
सञ्चारकर्मीहरू पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जान्न र बुझ्न निरन्तर अस्पताल परिसरमा खटिइरहेका थिए । तर प्रधानमन्त्रीको सचिवालयले समयमै सूचना दिएन ।
प्रधानमन्त्री अस्पतालमा भर्ना भइसकेपछिको आधा दिन जनताले वास्तविक सूचना पाउन सकेनन् ।
करीब १० घण्टापछि अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर दिव्यासिंह शाहले एक विज्ञप्ति जारी गर्दै 'सामान्य फलोअप' मात्र भएको सूचना दिए, जुन सूचना जनताले पत्याएनन् ।
अस्पताल स्रोतले प्रधानमन्त्रीको बुधवारै एक चरणको डायलासिस भएको सूचना चुहाइसकेको थियो । डायलासिस रगतमा रहेको विकार छानेर फाल्ने प्रक्रिया हो । प्रधानमन्त्रीको डायलासिस भएकै हो भन्ने सूचना पाउन सञ्चारकर्मीहरूले भोलिपल्ट बिहीवार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को भनाइ कुर्नुपर्यो ।
त्यतिबेलासम्म कोही केही बोल्न तयार थिएन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि बुधवार लोकान्तरलाई 'सामान्य फलोअप' मात्र रहेको भन्दै प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य रहेको बताए । आफू डाक्टरसँग नियमित सम्पर्कमै रहेको दाबी गर्दै अर्यालले बुधवारै दिउँसो डिस्चार्ज हुने सूचना दिएका थिए ।
प्रधानमन्त्री ओलीको सिंगापुर यात्रा
प्रधानमन्त्रीको मिर्गौला फेरेको १२ वर्षभन्दा बढी भइसकेको छ । यो बीचमा फेरिएको मिर्गौलाले राम्रोसँग काम गरिरहेको थियो । स्वास्थ्यमा समस्या देखिएपछि गत साउन १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्यासिंह शाहसँग सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटल पुगे ।
सिंगापुरमा उनको प्रारम्भिक परीक्षण गरियो र मिर्गौलाले काम गर्न छाडेको निष्कर्ष निकालियो । त्यतिबेलै मिर्गौला पुनः प्रत्यारोपण गर्ने विषयमा छलफल चलेको थियो । तर उपचारमा संलग्न डाक्टरहरूले अन्य विकल्प सुझाए । पहिलो विकल्प थियो प्लाज्मा फेरोसिस, दोस्रो नियमित डायलासिस र तेस्रो प्रत्यारोपण ।
प्रत्यारोपण अलि जोखिमयुक्त भएकाले त्यतिबेलै पहिलो विकल्पमा जाने निर्णय भएको प्रधानमन्त्री निकट स्रोतको दाबी छ । ओली २७ गते नेपाल फर्किए ।
साउन ३० गते नेकपाको सचिवालय बैठक बस्ने कार्यक्रम रहेको थियो । नेताहरू भेला पनि भए तर प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य स्थिति ठीक नरहेकाले बैठक भोलिपल्टका लागि सरेको जानकारी दिए । सिंगापुरमा उपचार गरेर २७ गते नेपाल फर्किएका प्रधानमन्त्री ओलीको स्वास्थ्य ३० गते नै खराब रहेको भन्दै प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीहरूलाई बताएपछि बालुवाटारमा खैलाबैला भयो ।
स्रोतका अनुसार त्यसपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रवक्ता श्रेष्ठलाई बोलाएर 'किन प्रधानमन्त्रीको स्वास्थ्य ठीक छैन भन्नुभयो ?' भन्दै झपारेका थिए । त्यतिबेलैदेखि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य नरहेको भन्दै आम जनतामा चासो बढेको थियो ।
भदौ ५ गते प्रधानमन्त्री ओली प्लाज्मा फेरोसिसका लागि दोस्रोपटक सिंगापुर उडे । यसपालि उनको बसाई लम्बियो । प्लाज्मा फेरोसिसका सम्पूर्ण प्रक्रिया पूरा भएपछि २० गते नेपाल फर्किए ।
दोस्रोपटकको उपचारपछि प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर दिव्यासिंह शाहले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको 'एन्टीबडी'लाई वैज्ञानिक विधिबाट हटाउने प्रक्रिया पूरा भएको र नियमित कामलाई निरन्तरता दिन सक्ने स्थितिमा रहेको दाबी गरिन् ।
उपचारका क्रममा प्रधानमन्त्रीसँगै सिंगापुरमा रहेका सल्लाहकार रिमालले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्रीको प्लाज्मा फेरोसिस पद्धतिबाट उपचार गरिएको जानकारी दिएका थिए । प्लाज्माफेरेसिस भनेको रगतमा रहेको प्लाज्मा छानेर हटाउने प्रकृया हो । प्लाज्माले 'एन्टीबडी' बोक्ने काम गर्छ ।
भदौ २० गतेबाट प्रधानमन्त्री ओली नियमित काममा फर्किए । पार्टी एकताका कामहरू पूरा गर्नेदेखि लिएर विभिन्न कार्यक्रममा भाग लिने र विदेश भ्रमण जानेसम्मका काममा ओली सरिक भए ।
'प्रधानमन्त्रीलाई डाक्टरले पूर्णरूपमा आराम गर्नु भनेर पठाएका थिए तर उहाँले मान्नुभएन,' बालुवाटार स्रोत भन्छ, 'प्रत्येक कुरामा चासो लिने, आफैं अघि सर्ने र सञ्चारमाध्यममा आएका विषयवस्तुहरू पढेर तनाब लिने काम जारी राख्नुभयो । यही कारणले उहाँमा छिटो–छिटो समस्या देखिन शुरू भयो ।'
प्लाज्मा फेरोसिस असफल, त्यसपछिको विकल्प के ?
प्रधानमन्त्री ओलीलाई गरिएको उपचार पद्धति 'प्लाज्मा फेरोसिस' पूर्णरूपमा असफल देखिएको छ ।
रगतमा एन्टीबडी बोक्ने प्लाज्मा नै हटाएपछि मिर्गौलाले काम गर्न सक्ने डाक्टरहरूको विश्वास थियो । तर पछिल्लो घटनाक्रमले त्यो सफल नभएको देखाएको छ ।
प्लाज्मा फेरोसिसपछि नियमित डायलासिस वा मिर्गौला पुनः प्रत्यारोपण दुई विकल्प रहेको मिर्गौला रोग विशेषज्ञ डाक्टर वर्षा श्रेष्ठ बताउँछन् । शुक्रवार लोकान्तरसँग कुरा गर्दै श्रेष्ठले भने, 'डायलासिस गर्नुपर्ने परिस्थिति आउनु भनेको प्लाज्मा फेरोसिस प्रक्रिया सफल नहुनु हो । अब दुई विकल्प मात्र सोच्न सकिन्छ, कि त नियमित डायलासिस गर्नुपर्यो नत्र भने मिर्गौला फेर्नुपर्यो ।'
कतिपय अवस्थामा डायलासिसको केही चरण पार गरेपछि मिर्गौलाले नियमित काम गर्न सक्ने सम्भावना रहेको डाक्टर श्रेष्ठले बताए । 'दुईतीन चरण डायलासिस गरिसकेपछि क्रिटेनाइनको लेभल कतिमा झर्छ र युरिन आउटपुट कति हुन्छ त्यसमा भर पर्ने कुरा हो,' उनले भने, 'अहिले नै यही हुन्छ भनेर ठोकुवा गर्न सकिँदैन ।'
डायलासिसपछि युरिन आउटपुट सामान्य भयो र क्रिटेनाइनको स्तर कम भयो भने तत्कालका लागि सपोर्टिभ ट्रीटमेन्ट मात्र गर्दा हुने डाक्टर श्रेष्ठ बताउँछन् । 'यदि त्यसो भयो भने नियमित औषधि चाहिँ खानुपर्ने तर डायलासिसतिर नजान सकिन्छ,' डाक्टर श्रेष्ठले भने, 'यदि डायलासिस गरिसकेपछि पनि क्रिटेनाइनको लेवल हाइ हुँदै गयो र युरिन आउटपुट कम भयो भने मिर्गौलाले कामै गर्न छाड्यो भन्ने बुझिन्छ ।'
डाक्टर श्रेष्ठकै भनाइ अनुसार प्रधानमन्त्री ओलीसँग दुई विकल्प मात्र बाँकी छन् । नियमित डायलासिस गर्ने अथवा मिर्गौला पुनः प्रत्यारोपण गर्ने । नियमित डायलासिस गर्नेको मिर्गौला प्रत्यारोपण गर्ने अवधि १ वर्षदेखि २०-२५ वर्षसम्म हुने डाक्टर श्रेष्ठको अनुभव छ ।
प्रधानमन्त्री ओलीको केसमा आफूले अहिल्यै केही भन्न नसक्ने उनले बताए ।
अपुष्ट स्रोतहरूमार्फत केही सञ्चारमाध्यमले प्रधानमन्त्री मिर्गौला प्रत्यारोपण गर्ने मनस्थितिमा पुगेको र मिर्गौला दिने मान्छे पनि तय भइसकेको बताएका छन् ।
यदि मिर्गौला प्रत्यारोपणकै विकल्पमा जाने हो भने प्रधानमन्त्री ओलीको हकमा धेरै नै जोखिम हुने र त्यो जोखिम नेपालका डाक्टरहरूले लिन नसक्ने आशयका भनाइ विभिन्न डाक्टरहरूले दिँदै आएका छन् ।
कति थियो प्रधानमन्त्रीको रगतमा 'क्रिटेनाइन लेभल' ?
रगतमा क्रिटेनाइनको मात्रा बढेपछि शरीर केही सुनिने र असहज हुने गर्छ । स्वस्थ मानिसको रगतको प्रति १०० मिलिलिटर (१ डेसीलिटर)मा शून्य दशमलव ६ देखि १ दशमलव २ मिलिग्रामसम्म क्रिटेनाइन हुने गर्छ ।
अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीको रगतमा सामान्य मानिसको भन्दा ७ गुणा बढी क्रिटेनाइन देखिएको थियो । यद्यपि बिहीवार साँझ गरिएको पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले रगत परीक्षणको नतिजा गोपनीयताका कारण खुलाउन नमिल्ने बताएर पन्छिए ।
सामान्य भाषामाभन्दा क्रिटेनाइन शरीरभित्रको विकार हो । यो विकारलाई मिर्गौलाले निरन्तर फिल्टर गरेर पिसाबमार्फत बाहिर फ्याँक्ने गर्छ । शरीरमा क्रिटेनाइन बढ्नुको अर्थ मिर्गौलाले काम नगर्नु भएको डाक्टर श्रेष्ठ बताउँछन् ।
के सूचना लुकाइएकै हो ?
प्रधानमन्त्रीको स्वास्थ्यस्थितिका बारेमा सही समयमा सही सूचना नदिएको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्रीको सचिवालयप्रति आक्रोश पोख्ने काम शुक्रवार पनि मत्थर भएको छैन ।
तर सचिवालय स्रोतले भने सूचना नलुकाइएको दाबी गर्यो । लोकान्तरसँग कुरा गर्दै प्रधानमन्त्रीको सचिवालयबाट प्रतिप्रश्न आयो, 'के प्रधानमन्त्रीको ब्लड रिपोर्ट नै सार्वजनिक गर्नुपर्ने हो ? संसारको कुन सरकार प्रमुख बिरामी हुँदा रगतमा केको मात्रा कति छ भनेर सार्वजनिक गरेको देख्नुभएको छ ?'
ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले बिहीवार साँझ पत्रकार सम्मेलन गर्दै यस्तै उत्तर दिएका थिए । गोपनीयताका कारण सबै सूचना दिन नमिल्ने जिकिर गरिएको थियो । तर सञ्चारकर्मीले रगत परीक्षणको रिपोर्ट मागिरहेका थिएनन् । प्रधानमन्त्रीको स्वास्थ्यस्थितिका बारेमा सचिवालयले निरन्तर सार्वजनिक सूचना जारी गरोस् भन्ने सञ्चारकर्मी र आममानिसको आशय थियो । गोपनीयता नखुल्ने गरेर प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा निरन्तर अपडेट चाहिएको थियो सबैलाई । उक्त अपडेट दिन सचिवालय चुक्यो ।
बिहीवार बिहान १० बजे अस्पताल पुगेलगत्तै पछिपछि पुगेका पत्रकारहरूलाई अस्पताल अगाडिको फोटो पनि खिच्न सुरक्षा गार्डहरूले रोकिरहेका थिए । लोकान्तरकर्मीसँग मुख्य गेटमा रहेका एक सुरक्षाकर्मीले प्रधानमन्त्री ओली अस्पताल आएको भन्न पनि अन्कनाइरहेका थिए जबकि गेटबाटै ओली चढ्ने गाडी प्रष्ट देखिएको थियो ।
बुधवार १२ बजेतिर एक सञ्चारकर्मी आफू ग्राण्डी अस्पतालकै बिरामी भएको बहाना बनाएर प्रधानमन्त्री ओली रहेको नवौं तलामा पुगे । त्यो तला नै 'सिल' गरिएको थियो । उनलाई देख्नेबित्तिकै ओलीको सुरक्षामा खटिएका केही व्यक्तिले तत्काल तल जान भनिहाले । फोटो भिडियो छ कि भनेर मोबाइल चेक गरे । गोप्य रूपमा खिचिएका केही फोटाहरू डिलेट गर्न लगाए र चेतावनीसहित तल पठाए ।
अनि ग्राण्डी अस्पतालको परिसरमा ओलीको स्वास्थ्य अपडेट कुरिरहेका पत्रकारहरूबीच 'नरमाइलो' हल्ला फैलिन थाल्यो । त्यसपछि मूलधारकै सञ्चारमाध्यमहरूले विश्वसनीय स्रोतलाई छाडेर अनुमानकारिता गर्न थाले । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालको स्टेटमेन्टसमेत विश्वास गर्न नसकिने भन्दै पत्रकारहरू रिसाएका थिए ।
सूचना प्रणालीको व्यवस्थापन गर्न प्रधानमन्त्री ओलीको सचिवालय किन असफल भइरहेको छ ? यो अब बहसको विषय बन्नुपर्छ ।
भारतलगायत अन्य देशका भीभीआईपीको सचिवालयले सामाजिक सञ्जाल ट्वीटरमार्फत आधिकारिक सूचना प्रेसित गरिरहेका हुन्छन्, तर हाम्रा प्रधानमन्त्रीको सचिवालयले सूचना प्रवाहको व्यवस्थापन गर्न नसकेको प्रष्ट देखिएको छ ।
पछिल्लो अवस्था के छ ?
बिहीवार साँझ करीब ८ बजे अस्पतालबाट डिस्चार्ज भएर सरकारी निवास बालुवाटारमा फर्केका प्रधानमन्त्री ओलीलाई भेट्न शुक्रवार प्रचण्ड पुगे । स्रोतले लोकान्तरलाई दिएको जानकारी अनुसार दिउँसो करीब १२ बजे बालुवाटार पुगेका प्रचण्ड १ घण्टा ओलीसँग रहे । यद्यपि प्रधानमन्त्रीको सचिवालयले प्रचण्ड बालुवाटार पुगेको कुरा पुष्टि गर्न मानेन ।
प्रधानमन्त्री ओली बालुवाटारमा चिकित्सकको निगरानीमा छन् । उनको मेडिकल टीम अबको उपचार कसरी गर्ने भन्ने विषयमा निरन्तर छलफलमा व्यस्त छ । सचिवालयलाई लागेको 'सूचना लुकाएको आरोप'प्रति ओली बेखबर छैनन् ।
उपचारको विकल्पका बारेमा पनि प्रधानमन्त्री ओलीले आफ्नो मेडिकल टीमसँग निरन्तर सल्लाह लिइरहेको स्रोतको दाबी छ । बालुवाटारमा नियमित डायलासिस गर्ने र पुनः प्रत्यारोपणमा जाने दुवै विकल्पमा छलफल भइरहेको छ । स्रोतका अनुसार सिंगापुरमा ओलीको उपचार गरेका डाक्टरहरूलाई पनि पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा इमेल गरिएको छ ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...