विशेषज्ञ डाक्टरको सुझाव– प्रधानमन्त्रीले मिर्गौला पुन: प्रत्यारोपण गर्नुको विकल्प छैन !

ईश्वर अर्याल
ईश्वर अर्याल

पत्रकार अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा रिपोर्टिङ गर्छन् ।

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे अहिले आमजनतामा निकै ठूलो चासो छ ।

दुईतिहाइ जनमतका साथ सरकारको बागडोर हाँकिरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिका बारेमा आमचासो बढ्नु स्वाभाविक नै हो । 


Advertisement

गत साउन र भदौमा दुईपटक उपचारका लागि सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल गएका प्रधानमन्त्री ओलीको 'प्लाज्मा फेरोसिस' प्रक्रियाबाट उपचार गरिएको थियो । गत भदौ २० मा उपचार सकिएर नेपाल फर्केका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा त्यसयताको २ महिना खासै केही भएन । 

गत बुधवार उपचारका लागि ग्राण्डी पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे जनचासो ह्वात्तै बढ्यो ।

प्रधानमन्त्रीको सचिवालयले सामान्य फलोअप भनेपनि उनलाई आइसीयूमा २ दिनसम्म राखेर २ पटक डायलासिस गरिएको थियो । 

मिर्गौला रोग विशेषज्ञहरूले प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न छाडेको अनुमान गरेका छन् । केही चरण डायलासिस गरेपछि मिर्गौलाले सामान्य रूपमा काम गर्न सक्ने सम्भावना रहेपनि प्रधानमन्त्रीको उमेर, स्वास्थ्यमा देखिएका अन्य समस्या र पहिलो प्रत्यारोपण लामो समय अगाडि भइसकेको अवस्थाले 'किड्नी रिभाइभ' हुने सम्भावना अत्यन्त न्यून रहेको देखिन्छ । 

सुमेरु अस्पतालमा कार्यरत मिर्गौला प्रत्यारोपण विशेषज्ञ डाक्टर सन्तोष गुरुङ डायलासिस 'सपोर्टिभ ट्रिटमेन्ट' मात्र भएकाले पुनः प्रत्यारोपणमा जानुको विकल्प नरहेको बताउँछन् ।

प्रस्तुत छ, लोकान्तरले डाक्टर गुरुङसँग गरेको संक्षिप्त कुराकानी : 

प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाबारे तपाईंले के बुझ्नुभएको छ ?

उहाँको १२ वर्षअघि प्रत्यारोपण गरेको मिर्गौलाको काम गर्ने क्षमता कम हुँदै गएको हो । अब यसपछि दुईवटा विकल्प मात्र छन् उहाँसँग– पहिलो डायलासिसलाई नियमित गर्ने अथवा पुनः प्रत्यारोपणका लागि तयारी गर्ने । 

दोस्रोपटक प्रत्यारोपणमा कत्तिको जोखिम छ ?

जसरी अन्य जुनसुकै सर्जरीहरू जोखिमपूर्ण छन्, मिर्गौला पुनः प्रत्यारोपण पनि जोखिमपूर्ण त हुन्छ नै । 

सिंगापुरमा उहाँले प्लाज्मा फेरोसिस गरेर आउनुभयो, त्यो उपचार प्रक्रिया असफल भएको हो ?

रगतमा प्लाज्मा भन्ने हुन्छ, जसले एन्टीबडी बोक्ने काम गर्छ, त्यसलाई झिकेर नयाँ प्लाज्मा राख्ने प्रक्रिया हो प्लाज्मा फेरोसिस ।

शरीरमा बढी भएको एन्टीबडी बिस्तारै कम गर्दै लैजाने प्रक्रिया हो त्यो । तर त्यो नै अन्तिम उपचार चाहिँ होइन । शरीरले एन्टीबडी बनाउने काम जारी राख्छ । तत्कालका लागि त्यो सान्दर्भिक थियो ।

अहिले डायलासिस गरिएको छ, त्यो पनि सहायक उपचार पद्धति नै हो । प्लाज्मा फेरोसिस सफल या असफल हुँदैन, बिरामीको कन्डिसन हेरेर त्यो गरिन्छ र अर्को स्टेपका लागि तयारी गरिन्छ । 

अबको विकल्प के त ?

बिरामीलाई तत्काल अप्ठ्यारो पर्दा गर्ने प्रक्रियाहरू हुन्, प्लाज्मा फेरोसिस र डायलासिस दुवै । ट्रान्सप्लान्टमा जाने बेलासम्म बिरामीको कन्डिसन स्टेबल राख्न यी विधिहरू प्रयोग गरिन्छ । 

अन्तिम विकल्प भनेको मिर्गौला पुनः प्रत्यारोपण नै हो किनभने बिरामीका लागि डायलासिस भन्दा प्रत्यारोपण नै उपयुक्त हुन्छ ।

सामाजिक, आर्थिक र अन्य हिसाबले पनि प्रत्यारोपण बिरामीका लागि सहज हुन्छ । अझ प्रधानमन्त्रीजस्तो हाइप्रोफाइल व्यक्तित्वका लागि नियमित डायलासिस अलि कम इफेक्टिभ देख्छु मैले ।

एकचरण डायलासिस गर्न कति समय लाग्छ ? यसले बिरामीलाई थप कमजोर बनाउँछ ?

डायलासिस गर्न सामान्य रूपमा ४ घण्टा लाग्छ । रगत सफा गर्दा प्रोटिन लगायत रगतमा आवश्यक कुराहरू पनि खेर गइरहेको हुन्छ । चार घण्टासम्म बिरामीले खान पनि पाइरहेको हुँदैन । यस्ता कुराहरूले बिरामीलाई थप कमजोर बनाउन सक्छ । तर डायलासिस गर्दा बेहोश नै बनाएर गर्नुपर्ने चाहिँ हुँदैन । 

हप्तामा कतिपटक गर्नुपर्छ डायलासिस ?

डायलासिस हप्तामा ३ पटक गर्नैपर्छ । विश्वभरि नै हप्तामा ३ पटक गर्ने चलनचल्तीमा छ । तर कतिपय स्रोत र साधनले नभ्याएको अवस्थामा, बिरामी आर्थिक रूपमा कमजोर छ भने २ पटकले पनि काम चलाउन सकिन्छ । २ पटक गर्दा पोटेन्सियल रिस्क अलि बढी नै हुन्छ । विशेष गरेर साउथ एसियन देशहरूमा २ पटकसम्म गर्ने अभ्यास अझै पनि छ । तर मेडिकल स्ट्याण्डर्डले हप्तामा ३ पटक गर्नैपर्छ भन्छ । 

पुनः प्रत्यारोपणमा जान प्रधानमन्त्रीको मेडिकल टीमले जोखिम देखेको हो ?

त्यो त उहाँहरूले जान्ने कुरा भयो । पुनः प्रत्यारोपणमा जान विभिन्न मापदण्डहरू हेर्नुपर्ने हुन्छ । जस्तै सिंगापुरमा प्लाज्मा फेरोसिस भयो, शरीरमा एन्टीबडीको मात्र कति थियो र अहिले कति छ, उहाँहरूले जान्नुभएको होला । अहिले डायलासिस हुँदैछ । 

जोखिम कति छ भनेर उहाँहरूलाई नै थाहा छ । तर सामान्य रूपमा बाहिरबाट हेर्दा पुनः प्रत्यारोपण जस्तो अर्को राम्रो विकल्प देखिँदैन । 

नेपालमा अहिलेसम्म मिर्गौला पुनः प्रत्यारोपण भएको उदाहरण छ कि छैन ?

हामीले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पुनः प्रत्यारोपण गरेको उदाहरण छ । पुनः प्रत्यारोपण गर्न त्यति गाह्रो हुँदैन । पूर्व तयारी राम्रोसँग गरेर राम्रोसँग केयर गर्‍यो भने दोस्रोपटकको प्रत्यारोपण सफल भएका बिरामीहरू हाम्रै अगाडि छन् । 

नेपाली डाक्टरहरूसँग प्रधानमन्त्रीको त्यो स्तरको स्वास्थ्य जोखिम लिने हिम्मत छ ?

उहाँ देशको प्रधानमन्त्री पनि हो, हाइ प्रोफाइल भन्छौं हामीले । कुनै कारणवश सानो कमजोरी भइहाल्यो भनेपनि ठूलो असर पर्छ । जोखिम लिने/नलिने भन्ने त उहाँको मेडिकल टीमले नै हो ।

मेडिकल टीमले चाहेको खण्डमा पुनः प्रत्यारोपण गर्न गाह्रो छैन । उहाँ त देशको जिम्मेवारी सम्हाल्ने मान्छे पनि हो ।

उहाँले जनताको अपेक्षा अनुसार काम गर्नुपर्छ । पुनः प्रत्यारोपणपछि नियमित डायलासिस गर्दा खर्च हुने समय उहाँले अन्य कामका लागि लगाउन सक्नुहुन्छ । 

नेपाली अस्पताल र विदेशी अस्पतालमा गरिने पुनः प्रत्यारोपणमा के फरक छ, विदेश नै जानुपर्ला र ?

प्रक्रिया र पद्धति यहाँ र विदेशमा उही हो । जसरी पहिलोपटक प्रत्यारोपण हुन्छ, दोस्रोपटकको प्रत्यारोपण पनि त्यसैगरी गर्ने हो । यहाँ पहिलो प्रत्यारोपणपछि के समस्या आएको थियो, त्यसलाई चाहिँ ख्याल गर्नुपर्छ ।

दोस्रोमा केही बढी मेहेनत त लाग्ने नै भयो । नेपालमा मिर्गौला प्रत्यारोपण गर्ने अस्पतालहरू पनि विदेशीजत्तिकै सक्षम छन् । 

कमेन्ट गर्नुहोस्