म्याकडोनल्डका सीईओ बर्खास्तगी प्रकरण : सहकर्मीसँग सहमतिमै रोमान्टिक सम्बन्ध सही कि गलत ?

म्याकडोनल्डले आफ्ना सीईओ स्टिभ ईस्टरब्रूकलाई सहकर्मीसँग सहमतिमा बनाएको सम्बन्धका लागि बर्खास्त गरेको छ । त्यसभन्दा एक हप्ताअघि अमेरिकी सांसद केटी हिलले पनि सहकर्मीसँग सम्बन्ध बनाएको आरोप लागेपछि राजीनामा दिएकी छन् । (नेपालको कुरा गर्दा निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकी कर्मचारीसँग सम्बन्ध राखेर उनको घर जाने गरेको विषय सार्वजनिक भएपछि अहिले उनी पुर्पक्षका लागि कारागार चलान हुनुपरेको स्थिति छ ।)

म्याकडोनल्ड र हाउस अफ रिप्रेजेन्टेटिभ्सले हाकिम र कर्मचारीबीच यौन सम्बन्धमाथि प्रतिबन्ध लगाएको छ । 


Advertisement

सहमतिमा बनाइएको सम्बन्धमा यस्ता प्रतिबन्धहरू कत्तिको उचित छन् भन्ने विषयमा धेरैपटक बहस भइसकेको छ । अनि यो प्रश्न जायज पनि छ ः पारस्परिक सहमतिमा सम्बन्ध बनाउने वयस्कहरूलाई यस्ता निर्णय गर्ने अनुमति दिनु गलत हो र ?

कार्यालयमा सम्बन्ध बनाउनमा प्रतिबन्ध लगाउने म्याकडोनल्ड र अमेरिकी संसद् पहिलो संगठन हैनन् । 


Advertisement

धेरै कम्पनीहरूले अफिसमा गरिने रोमान्सलाई रोकिरहेका छन् । विशेषगरी शक्तिमा असन्तुलनको स्थितिमा सम्बन्ध बनाउन प्रतिबन्ध छ । सन् २०१८ को जुन महिनामा गरिएको सर्वेक्षणमा ७८ प्रतिशत कर्मचारी व्यवस्थापकहरूले हाकिम र कर्मचारीबीचको सम्बन्धलाई अनुमति नदिने गरेको बताए । अनि प्राज्ञिक संस्थाहरूले पनि प्राध्यापक र विद्यार्थीबीचको सम्बन्धमा प्रतिबन्ध लगाएका छन् किनकि त्यस्ता सम्बन्धहरू समस्याग्रस्त हुने बताइएको छ । 

यस्ता प्रतिबन्धको विरोध गर्नेहरूले त्यसलाई अनावश्यक निगरानीका रूपमा लिँदै संस्थाहरूले पारस्परिक सहमतिमा सम्बन्ध बनाउने वयस्कहरूको निजी जीवन र सम्बन्धमा चियोचर्चो गर्न नहुने बताएका छन् । अर्को शब्दमा भन्नुपर्दा असल नियत भएका दुई बुद्धिमान् मानिसले आफ्नो सम्बन्धमा रहेको शक्तिसन्तुलन व्यवस्थापन गर्न सक्छन् भन्ने कुरामा विश्वस्त हुनुपर्छ । 

असन्तुलित सम्बन्ध
शक्तिमा रहेका मानिसहरूले असन्तुलित सम्बन्धको बाध्यकारी प्रकृति पहिचान गर्न नसक्नु प्रमुख समस्या हो । 

विद्यावारिधि गरिरहेकी लरेन डीभिन्सेन्ट र भानेसा के बोह्न्सले गरेको एक अध्ययनले सहकर्मीहरूप्रति रोमान्टिक पहल गरिँदा रोमान्स गर्न चाहेको व्यक्तिले त्यसलाई अस्वीकार गर्न कति असहज अनुभव गर्छन् भन्ने कुरालाई बेवास्ता गर्ने गरिएको पाइयो ।

मनोवैज्ञानिक एडम गालिन्स्कीले पावर एम्प्लिफिकेसन इफेक्ट नामक सिद्धान्त ल्याएका छन् र उनको भनाइअनुसार, हाकिमले नम्र अनुरोध गर्दा पनि कर्मचारीलाई निर्देशन दिएको जस्तो लाग्छ । हाकिमले सुमधुर भाषामा प्रेम प्रस्ताव गर्दा पनि कर्मचारीले त्यसलाई बाध्यकारी बनाइएको ठान्न सक्छन् ।

तर शक्तिमा रहेका मानिसहरू आफूले पार्ने प्रभावका विषयमा अनभिज्ञ रहने गर्छन् किनकि उनीहरू अर्को पक्षको दृष्टिकोणलाई खासै अंगीकार गर्दैनन् । हाकिमको अनुरोध मान्न बाध्य भएको अनुभव कर्मचारीले गर्छन् भन्ने कुरा शक्तिशाली मानिसहरूले थाहै पाउँदैनन् । 

त्यसैले शक्तिमा रहेका मानिसले आफूभन्दा तलका कर्मचारीसँग रोमान्टिक सम्बन्ध राख्दा शक्तिको दुरुपयोग गरिरहेको हुन सक्ने कुराको ख्याल गरिरहेका हुँदैनन् । 

हाकिम र कर्मचारीहरूबीचको यौन सम्बन्धमा प्रतिबन्ध लगाउँदा अनेकौं उद्देश्यहरू पूरा गर्छन् । जस्तो, हाकिमको रोमान्टिक प्रस्ताव नमान्दा कर्मचारीले प्रतिशोधको जोखिम बेहोर्नुपर्ने हुन सक्छ र प्रतिबन्धले त्यसलाई रोक्छ । अनि प्रतिबन्ध रहँदा हाकिमसँग रोमान्टिक सम्बन्ध राख्ने कर्मचारीलाई हाकिमले प्राथमिकता दिएको भन्ने आरोप पनि लाग्न पाउँदैन । 

कहिलेकाहीँ असल नियत भएका अनि बुद्धिमान् मानिसहरूले पनि शक्तिमा रहँदा गल्ती गर्न सक्छन् भन्ने कुरालाई विचार गरेर नै कर्मचारीसँगको सम्बन्धमा प्रतिबन्ध लगाइएको हो ।

द कन्भर्सेसनमा प्रकाशित भानेसा के बोन्सको आलेखमा आधारित
 

कमेन्ट गर्नुहोस्