पारस र सन्दीपबिनाको टोलीले नै खेल्दैछन् इमर्जिङ टिम्स एसिया कप

काठमाडौं –बंगलादेशमा यही कात्तिक २८ देखि मंसिर ७ सम्म आयोजना हुने इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १५ सदस्यीय खेलाडी टोली घोषणा गरेको छ।

बुधबार राति घोषित टोलीमा पूर्वकप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने छैनन्। पारस र सन्दीप यूएईमा सोही समयमा टीटेन लिग खेल्न जान लागेकाले टोलीमा नराखिएको हो।


Advertisement

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीको अन्य खेलाडीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, पवन सरार्फ, सन्दीप जोरा, सुसन भारी, ईशान पाण्डे, मोहमद आरिफ सेख, अविनाश बोहोरा र कुशल भुर्तेल छन्। कुशलले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्।

टोलीको प्रशिक्षकमा उमेश पटवाल, फिजियोमा विक्रम न्यौपाने, प्राविधिकमा रमन सिवाकोटी र व्यवस्थापकमा प्रशान्तविक्रम मल्ल छन्। यस प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ। नेपालको समूहमा भारत, आयोजक बंगलादेश र हङकङ छन्। नेपालले कात्तिक २८ गते भारतसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ।

नेपालले दोस्रो खेल कात्तिक ३० गते हङकङ र तेस्रो खेल मंसिर २ गते आयोजक बंगलादेशसँग खेल्नेछ। समूह ‘ए’मा   श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान छन्। समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

कमेन्ट गर्नुहोस्