ट्रम्पमाथि अदालतले लगायो २० लाख डलर जरिवाना

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पमाथि न्युयोर्कको एक अदालतले २० लाख डलर जरिवाना लगाएको छ । 

सन् २०१६ मा चुनाव अभियानका बेलामा च्यारिटीको रकम खर्च गरेकोमा उनलाई दोषी ठहर गरेर जरिवाना लगाइएको हो । यो पैसा उनले नाफामा चलिरहेको कम्पनीको ऋण चुकाउन तथा आफ्नो पेन्टिङ किन्न खर्च गरेको बताइएको छ । ट्रम्प र उनका वकिल चाहिँ यी आरोपहरू राजनीतिबाट प्रेरित भएको भनी लामो समयदेखि बताइरहेका छन् । 


Advertisement

ट्रम्पविरुद्ध अभियोजन पक्षले च्यारिटीको उपयोग चेकबूक झैं गरेको बताएको छ । त्यसपछि च्यारिटी डोनल्ड जे ट्रम्प फाउन्डेसन बन्द भएको थियो । 

न्युयोर्क अदालतका न्यायाधीशले फैसलामा ट्रम्पमाथि लगाइएको जरिवाना उनकै च्यारिटीमा जान्थ्यो तर त्यसको अस्तित्व नभएकाले राष्ट्रपतिले अब आठ फरक फरक च्यारिटीलाई दान गर्नुपर्ने बताए । 

फैसलामा उल्लेख भएअनुसार, ट्रम्पको चुनावी अभियानअन्तर्गत आयोवा प्राइमरी इलेक्सनका लागि अमेरिकाका पूर्व सैनिकहरूले निकै पैसा जम्मा गरेका थिए । तर ट्रम्पले त्यसको निजी उपयोग गरेर आफ्ना जिम्मेवारीको उल्लंघन गरे । 

एजेन्सी
 

कमेन्ट गर्नुहोस्