रंगकर्ममा जमेका ‘प्रकाश', जसले कर्णाली उज्यालो बनाइरहेका छन्

शेरबहादुर थापा
शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

सुर्खेत – कर्णाली प्रदेश आफैंमा कला साहित्यको आधार स्तम्भ पनि हो । यो प्रदेशको आफ्नै मौलिक कला तथा साहित्य छ । आफ्नै भेषभुषा र परम्परा पनि छ । यही परम्पराको जगमा टेकेर कर्णालीमा रंगमञ्चमार्फत उज्यालो छर्ने युवा हुन् प्रकाश पौडेल ।

उनी अहिले वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा बरिष्ठ अधिकृतका रूपमा कार्यरत पनि छन् ।


Advertisement

भारतीय टीभीको प्रभाव

उनी सानै उमेरमा हुँदा भारतीय टीभीको प्रभुत्व थियो सुर्खेतमा । कला साहित्य क्षेत्रमा लाग्ने र रंगकर्ममा लाग्ने रुची भएकाहरू सिरियल आउने दिनमा उनीहरू विद्यालयनै नजाने गरेको उनी स्मरण गर्छन् ।

उनमा यतिसम्म कला क्षेत्रमा लाग्ने भूत सवार थियो कि उनी अभिनय भन्दैमा जहाँ पायो त्यहीँ, जतिबेला पायो उतिबेला निर्धक्कका साथ गर्ने गर्दथे ।

‘दुरदर्शन च्यानलबाट महाभारत, रामायण जस्ता धार्मिक सिरियल दिने भएकाले हामी स्कूल छोडी स्कूल नजिककै भिडियो हलमा ३ रुपैयाँको टिकट काटेर हेर्न जान्थ्यौं । त्यहाँ सिरियलको शुभारम्भमा देखिएका भगवानको चित्र देख्दा मानिसहरूले टीभीमा फूलका थुंगा बर्साउँदा हल मालिकलाई टीभी जोगाउन हम्मेहम्मे पर्थ्यो,' उनी सम्झन्छन् ।

‘गाउँमा क्लब खोल्ने, क्लबका पदाधिकारीहरु छनोट गर्दा पूर्ण प्रजातान्त्रिक विधि अपनाउने, जहाँ मत खसाल्नका लागि घैंटोको प्रयोग समेत गर्ने गर्थ्यौं,’ उनी भन्छन्, ‘मेरो जीवनको कलायात्राको थालनीका रूपमा वि.सं २०४३ सालमा हाम्रो घर नजिककै आफन्तको गोठमा हामीले सांष्कृतिक कार्यक्रम आयोजना गरेका थियौं । प्रतिव्यक्ति २५ पैसा टिकटमा सञ्चालन गरिएको कार्यक्रममा मैले त्यतिखेर चटपटेको मार्केट निकै फस्टाएकाले त्यही चटपटे बेच्ने व्यक्तिको अभिनय गर्दे पेक वाला पेकिङवाला भन्दै रंगमंचभित्र प्रवेश गर्ने अवसर पाएको थिएँ ।' तर त्यतिखेर आफूले रंगमञ्चको  यात्रालाई अगाडि बढाउन नसकेको उनले बताए ।

उनी विस्तारै फूटवल खेलतिर रमाउन थाले । त्यसैले फूटबल, पम्प, सिलेक्सन सामूहिक किन्ने र त्यसको व्यवस्थापन गर्ने जिम्मा उनले लिन थाले ।

व्यवस्थापनबाट उनी बिस्तारै फूटबल खेलाडीको रूपमा चिनिन थाले । गोलकीपरको भूमिकामा देखिने प्रकाशले थुप्रै प्रतियोगितासमेत खेले । तर उनको फूटबल यात्रा त्यति लामो हुन सकेन । एकपटक कीपिङ गरिरहँदा डाइभ हान्दा उनको घुँडाको बीच हड्डीमा मसिनो ढुंगा गडेकाले फुटबललाई निरन्तरता दिन सकेनन् ।

सडक नाटकमा अवसर

सुर्खेतमै पहिलो पटक २०४७ सालमा सडक नाटक भित्र्याउने अवसर आफूहरूले पाएको उनको भनाइ थियो । ‘त्यतिखेर हामीले 'म भनेको हामी' नामक सडक नाटक सुर्खेत उपत्यकाका विभिन्न चोक बस्तीमा प्रदर्शन गरि भारी प्रशंसा बटुल्न हामी सफल भयौं, त्यसपछि मैले मेरो जीवनलाई रंगयात्रातिर मोड्दै बाल पुस्तकालयवाटै हामीले कोही किन बर्वाद होस, समाप्त असमाप्तजस्ता नाटक गर्ने, पुस्तकालयवाट साहित्यिक भित्ते पत्रिका सञ्चालन गर्ने जस्ताकाम गरेका थियौं,’ उनी भन्छन् ।

मध्यम परिवारमा हुर्केका प्रकाशले कुनैबेला जागिर गर्दै रंगकर्ममा जीविकोपार्जन गर्नेसम्म सोचेका थिए । तर त्यसले मूर्तरूप लिन केही समय कुर्नुपर्‍यो ।

उनका बुवा प्राथमिक विद्यालयका शिक्षक । त्यसैले बुवाको कमाइले मात्रै घर चल्ने अवस्था थिएन । आर्थिक समस्याबाट बाहिरिन उनले ट्युशन कक्षा पनि सञ्चालन गरे ।

उनले मेहलकुना माविमा गणित पढाउने अवसर पाए । उनले त्यहाँ दुई वर्षभन्दा बढी अध्यापन गरेपछि नगरपालिकाको आयोगमा परीक्षा दिएर उत्तीर्ण भए । विसं २०५३ सालपछि उनी नगरपालिकाको कर्मचारीको रूपमा कार्यरत छन् ।

‘वि.सं.२०५० सालपौष १७ गते गणेश प्रसाद गौतमको जन्मदिनमा स्थानीय कलाकारहरूको जमघटले बागिना समूहको स्थापना भए पश्चात मेरो कलायात्राले निरन्तरता पायो,’ उनी स्मरण गर्छन्, ‘यसै संस्थाको संस्थागत विकासमा गणेश दाई, ललित सिंजाली, याम आचार्य, गोविन्द दाई लगायत टीमसँग मैले काम गर्ने अवसर पाएँ ।

उनले रेडियो नेपालमा ‘बिहे’, ‘आजकी चेली’, ‘कथा भित्रका व्यथा’, ‘युगारम्भ’, ‘घर झगडा’ जस्तानाटकहरूमा अभिनय गरेका छन् । ‘जिविसको हलदेखि सडकसम्मका विभिन्न गाइजात्रे र अन्य समसामयिक नाटकमा उनी अभिनयमार्फत प्रस्तुत भए ।

पछिल्लो समयमा रेडियोमा समेत नाटकहरू बज्न थाले । त्यसपछि दर्जनौं रेडियोका धाराबाहिक नाटक एवं कार्यक्रम र सडक नाटकहरूमा समेत उनले अभिनय गरे ।

उनले अहिलेसम्म सयौं नाटकमा अभिनय गरिसकेका छन् । ‘मैले खेलेका विकासे नाटक त अव म गन्न नसक्ने भइसकेँ । उनले कुष्ठरोग, महिला हिंसादेखि संविधानसभा सम्बन्धी जनचेतनामूलक नाटकहरू समेत खेलेका छन् ।

'क्षयरोग र कुष्टरोग, परिवार नियोजन, एचआईभी एड्स, संविधानसभा सम्बन्धी रोल्पादेखि बैतडीसम्मको मध्य तथा सूदुरपश्चिममा नाटक यात्रा मेरो जीवनका अविष्मरणीय यात्राको रूपमा मैले लिने गरेको छु,' उनी भन्छन् ।

यति मात्रै होइन, सुर्खेत जिल्लाका विभिन्न स्थानमा ‘म भनेको हामी’, ‘समितिको चर्तिकला’, ‘कुर्ची दौड’, ‘जीवन बन्धन’, ‘अंशकी बंस’, ‘म कसरी हार्छु ?’, ‘यम राजको सन्देश’, ‘तुसारा भित्रका मुनाहरू’, ‘जीवन के हो ?’, ‘बेथिति’, ‘आजकी चेली’, ‘पक्कै मरिन्छ’, ‘यूगाराम्भ’, ‘मेरो देश मुर्छा परेको छ’, ‘बेलाको बोली’, ‘दोषी को ?’, ‘मौन धारण’, ‘मन बाँध है' लगायत झण्डै ५ दर्जन नाटकहरूमा उनले अभिनय गरेका छन् ।

यस्तै रेडियो नेपालद्वारा आयोजित रेडियो नाटक महोत्वसवमा महेन्द्र गिरीद्वारा लिखित घर झगडानाटक मार्फत् दोस्रो स्थान प्राप्त गर्न सफल प्रकाश सांस्कृतिक संस्थानद्वारा नेपालगञ्जमा आयोजित क्षेत्रीय नाटक महोत्सवमा सर्वोत्कृष्ट बन्न सफल भए । रंगयात्राकै क्रममा बीबीसीको 'कथा मीठो सारंगी' नाटक श्रृंखलामा मिठुको कथामा पनि उनले अभिनय गरेका छन् ।

उनले फिल्मी क्षेत्रमा समेत काम गरेका छन् । ‘बन्धकी’, ‘एक दिन, ‘एकादेशको कथा’मा  उनले अभिनय गरेका छन् ।

कला, संस्कृतिको संरक्षण तथा विभिन्न सामाजिक क्षेत्रमा विशेष योगदान दिए बापत वीरेन्द्रनगर जेसिजबाट उत्कृष्ट युवा २०७० सम्मानलगायत अपांग सशक्तिकरण, आदिवासी जनजाति वीरेन्द्रनगरलगायत थुप्रै संस्थाहरूले सम्मान एवं कदर पत्रद्वारा उनलाई सम्मान गरिएको छ ।

सहायक स्तरबाट सरकारी जागिर थालनी गरेता पनि उनले आफ्नो शैक्षिक र कार्यगत क्षमतालाई अघि बढाउँदै गए । त्यसैको उपलब्धीका रूपमा वि.सं.२०६० सालदेखि नगरपालिकामा सञ्चालित गाउँ नगर साझेदारी कार्यक्रमको मेनेजर पदमा काम गरे । सरकारी जागिरकै क्रममा उनले भारत, बंगलादेश, इन्डोनशिया, थाइल्याण्ड, कतारलगायत युरोपका फिनल्याण्ड, डेनमार्क, स्वीडेनको भ्रमण गरेका छन् ।

आरंग नेपालको सचिवका रूपमा रहि आफूलाई नाट्य क्षेत्रमा कलाकार, लेखक र निर्देशकका साथै अन्य साहित्यका विद्यार्थीका स्थापित गराउने जमर्को गरिरहेको उनको भनाइ छ ।

कला नै परिचयको स्तम्भ

जागिरे जीवन बिताइरहे पनि बचेको समय कला क्षेत्रमै खर्चने गरेको उनले बताए । कला नै परिचयको आधार स्तम्भ भएको उनको भनाइ छ । ‘जबसम्म हामीले मौलिक कला र साहित्यको संरक्षण गर्न सक्दैनौं तबसम्म हामीले हाम्रो परिचय संसारमा दिन गाह्रो हुन्छ,’ उनी भन्छन्, ‘त्यसका लागि सबै युवाको सक्रियता आवश्यक छ । जबसम्म कला र साहित्यको जगेर्ना गर्न सकिँदैन तबसम्म हामीले हाम्रो परिचयलाई राम्ररी दिन सक्दैनौं ।’

उनले कर्णालीका रोग, भोक, शोक र अभावजस्ता समाजिक समस्यालाई न्यूनीकरण गर्न पनि रंगमञ्चको प्रयोग गर्न सकिने बताए ।

‘रंगमञ्चले निराश भएको व्यक्तिलाई उर्जावान बनाइदिन सक्छ । आश लाग्दो बनाइदिन सक्छ । र उसलाई जीवनप्रतिको माया मोह जागृत गराइदिन सक्छ,’ उनी भन्छन्, ‘कला क्षेत्रले नै कर्णालीको जातीय भेदभाव, बालविवाह, छाउपडी प्रथा उन्मुलन गर्नको लागि रचनात्मक भूमिका निर्वाह गर्न सक्छ ।’

उनले राज्य एक्लैले सामाजिक कुप्रथा अन्तय गर्न नसक्ने भएको बताउँदै कलाकारको सहयोगमा राज्यले जनचेतनामूलक कार्यक्रम गरेको खण्डमा कर्णालीलाई साँच्चिकै कर्णाली बनाउन सकिने उनको धारणा छ । उनले राज्यले पनि नाट्य क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।

‘अहिले घरआँगनमै सरकार आएको छ । कर्णाली सरकारले नै खस आर्य संसकृतिसँग सम्बन्धित सबै कला र साहित्यका पाटाहरूको उत्खनन गर्न र संरक्षण तथा सम्वर्द्धन गर्दै तिनको प्रचारप्रचार गर्न जरुरी छ,’ उनी भन्छन्, ‘यसका लागि हामी कला क्षेत्रमा लागि रहेकाहरूले राज्यलाई के सहयोग गर्नुपर्छ हामी तयार छौं ।’

कमेन्ट गर्नुहोस्