सेनापतिज्यूलाई खुलापत्र : हाम्रा सीमाहरू मिचिँदा तपाईंको मन दुख्दैन ?

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

सेनापतिज्यू, नमस्कार !

आराम होइसिन्छ ? यसरी सोधौं भने यो आइस्योस्, खाइस्योस् भन्ने शाही ठकुरी लवज तपाईंले हटाइदिनुभयो भन्ने चर्चा चलेको थियो । यसकारण सरलाई सन्चै होला क्या रे भन्न चाहन्छु । अब हामी त बेरोजगार छौं, कसले सीमा मिच्छ, कसले नाकाबन्दी गर्छ, कसले अनुदान दिन्छ यिनै यिनै विषयमा किचलो गरेर समय बिताउँछौं । अब यूट्युबतिर अघोरी बाबाले स्थान जमाएका छन् । तिनको दुलहीका कुराले आम नेपाली जनता भड्किएको आभास मिलेको छ । अरू सुखदुःख चलिरहेकै छ । अनि अहिले लिपुलेकको मायामा भावुक भएर युवाहरू छाती पिटेर जागेका छन् । आन्दोलन चलेको छ । आगो बलेको छ । 


Advertisement

तपाईं पूर्णचन्द्र थापालाई प्रगतिशील सेनापतिका रूपमा मान्नेहरू धेरै छन् । मलामी, सलामी र गुलामीको लिगेसी बोकेको नेपाली सेना अब पूर्णतया व्यावसायिक बन्दैछ भन्न सकिन्छ । केही दिनअघि संयुक्त राष्ट्रसंघ जान लागेका एकजना चिनारु सिपाहीले भन्दैथिए, ‘अहिलेका चिफ साप नभएको भए हामी पहुँच नभएकाहरू कहाँ जान पाउनु ? म उहिल्यै जानुपर्ने हो, पालो मिचेर अरू गए । म अहिले ।’ यसकारण एक सिपाहीमा पनि तपाईंको छाप राम्रै देखियो । 


Advertisement

नेपाली सेनाको आफ्नै संस्कार र इतिहास छ भन्ने आभास जनतालाई पार्ने अवसर तपाईंको काँधमा आएको छ । नेपाली सेनाभित्र यथावत रहेको राणा, शाही हुकुमी शासनको विरासतलाई तोडेर जनताको सेना बनाउनुपर्नेछ अभिभारा तपाईंको काँधमा छ । 

आज यो खुलापत्रमा समसामयिक विषयमा केही टिपोटहरू व्यक्त गर्ने कोशिश गरेको छु । यसलाई आम नेपाली नागरिक, खासगरी देशभक्त एक युवा, को गुनासोका रूपमा ग्रहण गरिदिनुहुनेछ भन्ने अपेक्षा छ । हजुरलाई अवगत नै होला, भारतले गत हप्ता सार्वजनिक गरेको आफ्नो नयाँ नक्सामा कालापानी क्षेत्रलाई भारतीय सीमाभित्र राखेको छ । लिपुलेक पुरै भारततर्फ देखिएको छ । उनीहरू नेपालको भूभागमा सैन्य संरचना बनाएर बसिरहेका छन् ।

नेपालमा यसको व्यापक विरोध भइरहेको छ । नेपालको परराष्ट्र मन्त्रालयले एउटा विज्ञप्ति प्रकाशित गरी कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ भनेको छ । त्यसको प्रतिक्रियामा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले बिहीवार दिल्लीमा बोल्दै उक्त नक्साले भारतको सार्वभौम सीमा निर्धारण गरेको तर्क गर्दै नयाँ नक्साले कहीँ कतै पनि नेपालसँगको सीमा परिमार्जन नगरेको दाबी गरेका छन् । तर लिम्पियाधुरादेखि लिपुलेकसम्मको करीब ३ सय ७२ वर्ग किलोमिटरभन्दा बढी नेपाली भूभाग समेटेर भारतले गएको शनिवार आफ्नो नक्सा सार्वजनिक गरेर विस्तारवादी नीतिलाई थप मजबूत बनाएको कुरा घामजत्तिकै छर्लंग छ । यस विषयलाई नेपाली सेनाले कसरी नियालिरहेको छ । त्यो कुरा जनतालाई थाहा हुनुपर्छ भन्ने लाग्छ ।

हाम्रो सेना कहिले जाने हो सीमामा ? लिपुलेकतर्फ कमान्डो फोर्स किन नपठाउने ? के नेपाली सेनाको काम बाटोको ठेक्कापट्टा मात्रै हो ? त्यस्तो त हैन होला । 

कश्मीर मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा उठाउँदै आएको पाकिस्तानले भारतीय नियन्त्रणरेखा (एलओसी)मा १०० विशेष कमान्डो फोर्स उतारेको छ । उनीहरूले आफ्नो सीमामा सैन्य हस्तक्षेप बढाइरहेका छन् । भारतको नयाँ नक्सालाई पनि पाकिस्तानको सरकार, खासगरी सेना प्रमुख, ले नै स्वीकार गर्न नसक्ने बताएका छन् । भारतको केवल पाकिस्तानसँग हैन, उत्तरको छिमेकी देश चीनसँगको सीमामा पनि विवादहरू रहँदै आएका छन् । जस्तो कि, कालापानी र लिपुलेक जस्तै दोक्लमका बारेमा त्यहाँ ठूलै लफडा भएको नजीर छ । भुटान देश कमजोर नै भए पनि उसले चीनलाई गोप्य रूपमा सहयोग माग्यो । दोक्लम क्षेत्र चीन र भुटानको सीमा क्षेत्र त हो नै तर नजिकै भारतीय सीमा पनि छ । दोक्लमभन्दा करीब ३० किलोमिटर तल चुम्बी उपत्यकाको पुछारमा चीन, भुटान र भारतको सिक्किम राज्यको सीमा जोडिन्छ ।

चीन, भारत र भुटान तीन मुलुकको सीमा जोडिएको दोक्लम क्षेत्रमा चीन र भारतका लगभग तीन हजार सैनिक आमनेसामने भएर बसेका थिए । पछिल्लो समयमा चीन र भारतीय सेनाको सीमामा भएको विवादको भिडियो निकै चर्चामा समेत रहेको थियो । चीन र भारतले सीमाक्षेत्रको पहिलो पंक्तिमा बस्ने सैनिक जवानहरूलाई निःशस्त्र राख्ने गरेका छन् ताकि दुवै पक्षबीच तुरुन्तै मुठभेड नचुलियोस् । पहिलो पंक्तिमा रहेका सिपाहीलाई हतियार मात्र हैन, हातखुट्टाले हानाहान गर्न पनि निषेध गरिएको छ । सीमाक्षेत्रमा घम्साघम्सी पर्‍यो भने यी सैनिकहरू छाती र जिउले एकअर्कालाई ठेलाठेल गर्छन् ।

आफ्नो सीमाभित्र छिरेका ‘शत्रु’ सेनालाई ठेलाठेल गरेरै सीमा कटाउन खोज्छन् । केही यस्तै दृश्य देखिएको थियो । तर हाम्रो हकमा भने के तर्क सुनिन्छ भने भारतसँग हाम्रो सेना लड्न सक्दैन त किन सीमामा जाने ? सीमामा सेना जाने भनेकै लड्न जाने हो भन्ने भ्रम छ हामीकहाँ । मलाई लाग्छ, यो हास्यास्पद सोच हो । 

नेपालको सम्दर्भमा धेरैले नेपाल–भारत सीमामा देखिएका समस्याहरूलाई राजनीतिक कारण मात्रै देखाएर विश्लेषण गरेको देखिन्छ, सुनिन्छ, पढिन्छ । यसमा राजाहरू, नेताहरूलाई दोष थोपार्ने काम पनि गरिन्छ । केही हदसम्म यो सत्य नै होला तर पूर्ण सत्य यही मात्र हो जस्तो मलाई लाग्दैन । 

राजनीतिक कारण मात्रै सबैथोक होइन । हाम्रा सीमाहरूको रक्षा गर्नका लागी नेपाली सेनाले के कस्तो भूमिका खेल्यो र सरकारले कस्तो सुरक्षा रणनीति बनायो भन्ने सवाल प्रमुख हो जस्तो लाग्छ । सीमा रक्षा भन्नेबित्तिकै सीमामा गएर फायर खोलिहाल्ने भन्ने पनि हैन । मलाई लाग्छ, हाम्रो सेनाको बर्दी नै सीमा रक्षाको लागि काफी हुन्छ । तर हाम्रो शासकहरूले न यसबारे कहिल्यै सोचे, न सेनाले नै सीमा रक्षालाई गम्भीरताका साथ लिएको आभास जनतालाई भयो । यस कुरामा सेनापतिज्यू पनि सहमत हुनुहुन्छ भन्ने लाग्छ । सीमाको बारेमा नेपाली सेना किन गम्भीर हुन सक्दैन भन्ने आजको मुख्य प्रश्न हो । भारत र चीनसँग जोडिएका सीमा वरिपरि काँडेतार लगाउन त नसकिएला तर हाम्रो

देशको झण्डा गाडेर झण्डामुनि बर्दीधारी नेपाली सेना राख्न त पक्कै सकिएला । अनि लड्नै नसक्ने त सेना हुँदैन होला । 

नाकाबन्दीको समयमा नेपाली सेनाले निकै ठूलो सकारात्मक भूमिका खेलेको हो भन्ने सुनिन्छ । मलाई त्यो हो जस्तो पनि लाग्छ । सेनाको डिप्लोमेसी सफल भएकै हो । अब यो सीमाका बारेमा पनि सेनाले डिप्लोमेसीको भूमिका चाल्न जरूरी छ । यहाँको भारतीय दूतावासमा घाँटी फुट्ने गरी कराएर हुनेवाला केही हैन । लिपुलेक, कालापानीको आफ्नो भूभाग मिचियो भन्दै युवाहरू भारतीय दूतावासको अगाडि आक्रामक शैलीमा प्रदर्शन गरिरहेका छन् । हो, यो युवाहरूको आक्रोश हो, स्वाभाविक छ । तर नेपालीहरूको आक्रोश भने वर्षौंदेखिको हो । हाम्रो सेना कहिले जाने हो सीमामा ? लिपुलेकतर्फ कमान्डो फोर्स किन नपठाउने ? के नेपाली सेनाको काम बाटोको ठेक्कापट्टा मात्रै हो ? त्यस्तो त हैन होला । 

कुनै पनि देशमा सीमा रक्षाको काम सेनाको हुन्छ । हो, रणनीति सरकारको हुन्छ । तर जसले जतिसुकै गफ गरे पनि सेनाको प्रमुख काम भनेको सीमा रक्षा नै हो । अझ हाम्रो जस्तो भौगोलिक रूपमा संवेदनशील देशमा सेनाको प्रमुख काम सीमा रक्षा नै हो । राजनीतिक रूपमा हामीले हाम्रो सीमाका बारेमा भाषण गर्न सकौंला, सीमाका बारेमा गीत, गजल, कविता लेख्न सकौंला, भावुक भएर रुन पनि सकौंला तर व्यावहारिक रूपमा सीमाको रक्षा गर्ने काम सेनाकै हो । लाइन अफ कन्ट्रोल खडा गरेर २० किलोमिटर वारिपारि पठाएर सेना तैनाथ हुने सीमाको नियममै पर्छ । तर नेपाल–भारतको कुनै पनि सीमामा हाम्रोतर्फको सुरक्षाबलका रूपमा न सेना देखिन्छ, न त प्रहरी नै । सिमानाहरू पुराना पिल्लरहरूको भरमा छन् । यस युगमा मानिसकै भरोसा हुन्न, अब पिल्लरको के कुरा ? 

पढ्नुहोस्, यो पनि :

कालापानी–लिपुलेक अतिक्रमण : भारतीय पक्षको चुनौती– नेपालले आफ्नो नक्सा जारी गरे हुन्छ !

हाम्रो देशमा नेपाली सेनाको बलियो फर्मेसन छ । सेनाको आफ्नै इतिहास पनि छ । शायद संसारको सबैभन्दा पुरानो सेनाहरूको सूचीमा हाम्रो देशको सेनाको नाम अग्रपंक्तिमा आउने गर्छ । तर सेनाले के गर्दैछ, कस्तो भूमिका खेल्दैछ भन्ने कुरा आम जनतालाई थाहा छैन ।  म केही महिनाअघि दार्जिलिङ गएको थिएँ । हरेक वर्ष नेपालीका घर जमीन भारततर्फ एक दुई मिटरका हिसाबले सर्छन् भन्ने गुनासो सुनिएको थियो । सिमानामै भारतका सेना थिए, तर नेपालपट्टि कतै थिएनन् । सीमा भनेको देशको सबैभन्दा अन्तिम भूभाग हो । यो देशको मेरुदण्ड हो । देशको मेरुदण्डलाई अंग्रेजहरूबाट खोसेर भारतीयहरूले बडो चलाखीपूर्वक रक्षा गरिरहेका छन् । तर हामी एकदमै निकम्मा भएका छौं । देशको सानोतिनो भाग मिचिँदै गयो भने अन्तिममा देशै नरहन पनि सक्छ ।

आपसी समझदारीका साथ पुराना नक्सा तथा डकुमेन्टका आधारमा नेपाल–भारत सीमा विवाद समाधान गर्नुपर्नेमा भारतले त्यसलाई नकार्दै आएको छ । सीमा विवाद समाधानको विषय उठेपछि भारतले सुस्ता र कालापानी क्षेत्रबाहेकका विषयमा मात्र छलफल गर्न सकिने बताउँदै आएको छ । सबैलाई थाहा भएकै कुरा हो, सन् १८१६ मार्च ४ मा दुई देशबीच सुगौली सन्धि भएपछि नेपालले आफ्नो भूमि गुमाएको छ । सुगौली सन्धिपछि नेपालले मेची नदीदेखि टिष्टासम्म, महाकाली नदीदेखि सतलज र तराई क्षेत्रसमेत गुमायो । त्यतिबेला नेपाल तराईविहीन थियो । सन १८१६ डिसेम्बर ११ मा नेपालले पूर्वी तराईको राप्ती–कोशी क्षेत्र फिर्ता पायो भने १८६० नेभेम्बर १५ मा पश्चिम तराइको बाँके, बर्दिया, कैलाली, कञ्चनपुर फिर्ता पाएको थियो । अब अझ कति गुमाउनुपर्ने हो ? सीमाको गीत कति गाउनुपर्ने हो ? त्यो भने अनिश्चित छ ।  

हाम्रो देशमा सीमा रक्षाको कुनै रणनीति छैन भन्ने लाग्छ । सीमा सुरक्षा बलको अवधारणा लागू गरिएकै छैन । खुला सीमाहरू भगवान् भरोसामा चलेका छन् । चीनको सीमाक्षेत्रमा हेर्‍यो भने पनि नेपालका प्रहरीहरू पालमुनि बसिरहेका देखिन्छन् भने चीनतर्फ सेनाहरू ब्यारेकमा बसिरहेका देखिन्छन् । भारतकै हकमा कुरा गर्ने हो भने भारतले सेन्ट्रल आर्म्ड पुलिस फोर्सेस (सिएपिएफ) अन्तर्गत विभिन्न ६ वटा फोर्स गठन गरेको छ । त्यसमध्ये एक सशस्त्र सीमा बल (एसएसबी) हो । एसएसबी भारत–चीन युद्धपछि सन १९६३ मा गठन गरिएको हो । एसएसबीलाई सीमा निगरानी, अवैध आप्रवास तथा तस्करी नियन्त्रण गर्ने जिम्मेवारी छ । तर नेपालको सिमानामा भएका एसएसबीको काम भने नेपालको सीमा मिच्ने, सानो विवादमा गोली चलाउने र नेपाली बस्ती लुटपाट गर्ने गरेको देखिन्छ । नेपालको सुरक्षा अंगले सीमा त के नेपाली जनताको धनजनको रक्षा पनि गर्न नसकेको स्थिति छ । 

कुनै पनि देशमा सीमा रक्षाको काम सेनाको हुन्छ । हो, रणनीति सरकारको हुन्छ । तर जसले जतिसुकै गफ गरे पनि सेनाको प्रमुख काम भनेको सीमा रक्षा नै हो । अझ हाम्रो जस्तो भौगोलिक रूपमा संवेदनशील देशमा सेनाको प्रमुख काम सीमा रक्षा नै हो ।

जस्तो कि, एक रेकर्डका अनुसार २०७३ सालमा कञ्चनपुरका गोविन्द गौतमको भारतीय सुरक्षाकर्मीको गोलीबाट निर्मम हत्या हो । सीमा विवादको प्रतिकारमा लाग्दा उनले ज्यान गुमाउन पुगे । भारतीय सुरक्षाकर्मीले गोली बर्साइरहेका थिए । यताबाट जनताहरू ढुंगा हानिरहेका थिए । हाम्रोतर्फ कुनै सुरक्षा अंगको उपस्थिति थिएन । त्यसअघि भारतीय सुरक्षाकर्मीले बर्दियाका हर्कबहादुर शाहीको पनि हत्या गरेका थिए । २०६७ मा बर्दियाको जमुनीका ५२ वर्षीय शाहीको पनि एसएसबीले गोली हानी हत्या गरेको थियो । मोरङमा पनि २०६८ सालमा अमाहीबरियातीका वासुदेव साहको हत्या भयो । त्यतिबेला प्रहरी हवल्दार शम्भु चौधरीमाथि भारतीय सुरक्षाकर्मीले गोली प्रहार गरेका थिए । त्यस्तै, २०७२ सालमा मोरङकै रानी भन्सारमा भारतीय सुरक्षाकर्मी आएर नेपाल प्रहरीका असई प्रदीप गिरीमाथि आक्रमण गरेर उनको हतियार समेत लुटेको थियो ।

२०७२ जेठमा बर्दियाको जमुनीबजारमा धनबहादुर सुनार, किरण राई र गोरे नेपालीलाई बाख्रासहित भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएर जेल पठाए । २०७२ मंसिरमा झापाको केचनाबाट एसएसबीका १३ जवान नेपाल प्रवेश गरेर ज्यादती गरे । एसएसबीले केचनाका मोहम्मद आलमलाई कुटपिट गरेका थिए । २०७२ कै मंसिरमा सुनसरीको भन्टाबारीमा नेपाली भूमिमै आएर अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादवमाथि भारतीय सुरक्षाकर्मीले गोली बर्साए । यति धेरै घटनाहरू हुँदा समेत सरकारले कुनै गम्भीर कदम चालेको छैन । न सेना नै यसबारेमा संवेदनशील भएर अगाडि बढेको देखिन्छ । 

यी घटनाका बारेमा नेपाली सेना अपडेटेड छैनन् त ? हाम्रा सीमा मिचिँदा नेपाली सेनाको मुटु दुख्दैन ? अहिले पनि नेपालको भारतसँग सीमा जोडिएको २६ जिल्लामध्ये २३ जिल्लाका ७१ ठाउँमा सीमा अतिक्रमण भएको र ६० हजार ६६२ हेक्टर नेपाली भूमि अतिक्रमणमा परेको छ । पुराना नक्सा र दस्तावेजमा भने महाकाली नदीको मुहान लिम्पियाधुरा उल्लेख छ । तर १९६२ मा भारत–चीन सीमायुद्धका कारण भारतीय सेनाले नेपाली भूमिमा अड्डा जमाएको हो । नेपालका २३ वटा जिल्लामा भने भारतले कुनै न कुनै रूपमा नेपाली जमीन अतिक्रमण गरेको छ । सबैभन्दा धेरै सुदूरपश्चिमको दार्चुला जिल्लाको व्यास र आसपासका क्षेत्रमा नेपाली भूमि अतिक्रमण भएको छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा सबैभन्दा धेरै ३७० वर्गकिलोमिटर जमीन भारतले अतिक्रमण गरेको छ । दार्चुलापछि सबैभन्दा धेरै नवलपरासीको भूमि मिचिएको छ । सुस्ता र आसपासको क्षेत्रमा भारतले १४५ वर्गकिलोमिटर जमीन मिचेको छ । नेपालको ६०६ वर्गकिलोमिटर क्षेत्रफल मिचिए पनि अहिलेसम्म फिर्ताका लागि सरकारी पक्षबाट कुनै पहल हुन सकेको छैन । यसकारण फेरि पनि सेनापतिज्यूलाई प्रश्न छ ः हाम्रा सीमाहरू मिचिँदा तपाईंको मुटु दुख्दैन ?
 

कमेन्ट गर्नुहोस्